महाप्रज्ञको ‘मनलाई जिते जित’ पुस्तक सार्वजनिक
आचार्य श्री महाप्रज्ञको पुस्तक मनलाई जिते जित सार्वजनिक भएको छ।
काठमाडौंको कमलपोखरीस्थित जैन भवनमा आयोजित कार्यक्रममा प्रेक्षा ध्यानसाधक मुनि श्री रमेश कुमार जी, व्यवसायी शेखर गोल्छा, महावीर जैन निकेतनका अध्यक्ष लोकमान्य गोल्छा, बागमती प्रदेशका सामाजिक मामिलामन्त्री हरिप्रभा खड्गी, जोन्टा क्लबकी पूर्व अध्यक्ष सीमा गोल्छा, जितो नेपालका अध्यक्ष कमल कुमार बेगानी लगायतले पुस्तकको विमोचन गरेका छन्।
कार्यक्रममा बोल्दै पुस्तकका प्रकाशक शेखर गोल्छाले आध्यात्मिक ग्रन्थ मनलाई जिते जितमा आचार्य श्रीले ध्यानशिविरमा दिएका प्रवचन समावेश रहेको बताए। “यो ग्रन्थका नेपाली भाषाका सम्पादक मेरा बुबा हुलासचन्द गोल्छा हुनुहुन्थ्यो। बुबाको विरासतलाई सम्मान, उहाँप्रतिको अहोभाव, आदरभाव अभिव्यक्त गर्नु पनि यस प्रकाशन पछाडिको मुख्य भाव हो,” गोल्छाले भने।
त्यस्तै, मुनि श्री रमेश कुमार जीले मनलाई जिते जितका लेखक आचार्य श्री महाप्रज्ञजी जैन श्वेताम्बर तेरापन्थ धर्मका दशौं आचार्य भएको उल्लेख गर्दै पुस्तकमा आचार्य महाप्रज्ञले प्रेक्षा ध्यानका रूपमा ध्यानको एक अद्वितीय वैज्ञानिक विधिको विकास गरिएको विशद व्याख्या रहेको बताए।