नक्कली डाक्टर बीपी तिम्सिनाको फर्जी उपचार
आफूलाई आयुर्वेदिक चिकित्सकका रूपमा चिनाउँदै आएका पाथीभरा आयुर्वेदिक अस्पतालका सञ्चालक बिजुलीप्रसाद तिम्सिनाको उपचार पद्धति र उनको छद्म विज्ञानबारे हिमाल-खोज।
“राइस कुकरमा (पकाएर) खाएपछि थाइराइड बढ्यो, आँखाको पावर गयो, क्यान्सर बढ्यो, किड्नी फेल भयो, मेमोरी गयो, के चाहियो त्यसपछि ...” आफूलाई आयुर्वेदिक चिकित्सक दाबी गर्ने बिजुलीप्रसाद (बीपी) तिम्सिनाको यो भिडिओ सामाजिक सञ्जाल फेसबूक र यूट्यूबमा भाइरल छ।
नेपाल पूर्व एचडी नामको फेसबूक पेजमा मात्रै यो भिडिओ २४ लाख पटक हेरिएको छ, ४३ हजार जनाले लाइक गरेका छन्। भिडिओमा तिम्सिनाले राइस कुकरमा खाना पकाएर खाँदा थाइराइडदेखि क्यान्सर र मिर्गौला बिग्रिनेसम्मका रोग लागेरै छोड्ने ठोकुवा गरेका छन्। उनले गर्दै आएका स्वास्थ्य सम्बन्धी अनगिन्ती दाबीमध्ये यो पछिल्लो उदाहरण मात्रै हो, जसको स्वतन्त्र पुष्टि गर्न सकिंदैन। विज्ञानले पुष्टि नगरेका अनगिन्ती दाबी गरिएका उनका यस्ता कैयौं भिडिओ छन्, जुन लाखौं पटक हेरिएका छन्, हजारौं पटक शेयर भएर असीमित नागरिकसम्म पुगेको छ।
वैज्ञानिक अनुसन्धानहरूले राइस कुकरमा भात पकाउँदा कुनै स्वास्थ्य जोखिम हुने भरपर्दो र व्यापक रूपमा स्वीकार गरिएको तथ्य देखाउँदैनन्। अनुसन्धानहरूले मुख्यतया चामलमा हानिकारक रसायन आर्सेनिकको मात्रा हुने, तर यो चामल पकाउने उपकरणसँग नभई चामलको खेती र तयारी प्रक्रियासँग सम्बन्धित हुने उल्लेख गरेका छन्। तिम्सिनाले भने हिमालखबरसँगको कुराकानीमा राइस कुकरमा पकाउँदा ‘फ्री रेडिकल्स’ निस्किने र त्यो स्वास्थ्यका लागि घातक हुने बताए। उनले भने, “विश्व स्वास्थ्य संगठनले यसबारे भित्रभित्रै अनुसन्धान गरेको छ, त्यो बाहिर सार्वजनिक गरिएको छैन। त्यसैले धेरैलाई यो थाहा छैन।”
हामीले राइस कुकरमा खाना पकाउँदा फ्री रेडिकल्स उत्पन्न हुने तिम्सिनाको दाबीलाई पुष्टि गर्ने कुनै वैज्ञानिक तथ्य-प्रमाण फेला पार्न सकेनौं। त्रि-चन्द्र क्याम्पसकी रसायनशास्त्रकी उपप्राध्यापक ज्योति गिरी राइस कुकरमा पकाएर खाँदैमा मिर्गौला खराब हुने वा क्यान्सर जस्ता रोग लाग्ने भन्ने अनुसन्धान अहिलेसम्म आफूले नदेखेको बताउँछिन्। उनी भन्छिन्, “जुनसुकै तत्त्व र रसायन आवश्यकताभन्दा बढी शरीरमा प्रवेश गरेमा हानि पुग्छ। तर राइस कुकरमा पकाउँदैमा त्यस्तो खानेकुरा विषाक्त हुन्छ भन्ने अनुसन्धान फेला परेको छैन।”
काठमाडौं बत्तीसपुतलीस्थित होटल द्वारिकाजको अगाडिपट्टि छ, पाथीभरा आयुर्वेदिक हस्पिटल प्रालि। यसैका सञ्चालक हुन्, बिजुलीप्रसाद तिम्सिना। यसअघि उनको अस्पताल सिनामंगलमा थियो। यो अस्पतालमा जाँच गराउन आउनेको दिनहुँ लामो लाइन हुन्छ, कतिपय वेला त उनलाई देखाउन केही दिन पर्खनु समेत पर्छ। गानोगोला बिग्रिएका (ग्यास्ट्रिक)देखि क्यान्सरका बिरामीसम्म उनको अस्पतालमा धाउँछन्। त्यहाँ जँचाउन जानेमा सर्वसाधारण नागरिकदेखि पेशाकर्मी, सरकारी कर्मचारी र सार्वजनिक छवि भएका व्यक्तिहरू समेत छन्। र, सबैका लागि उनी सम्मानित चिकित्सक हुन्।
तिम्सिना आफूलाई आयुर्वेदको चिकित्सक दाबी गर्छन्, बिरामी हेर्छन्, औषधि सिफारिश गर्छन्। तर सत्य कुरा के हो भने उनी चिकित्सक होइनन्। उनको नाम आयुर्वेद चिकित्सा परिषद् नेपालको चिकित्सक सूचीमा समावेश छैन।
स्वघोषित चिकित्सक !
टेलिभिजन कार्यक्रम बहसका लोकप्रिय प्रस्तोता थिए, इन्द्र लोहनी (दिवंगत)। डेढ दशकअघि उनको कार्यक्रममा निम्त्याइएका तिम्सिनालाई पहिलो प्रश्न गरिन्छ, “तपाईं डाक्टर?”
तिम्सिनाले सहज तरीकाले जवाफ दिन्छन्, “हजुर।”
लोहनीले फेरि सोध्छन्, “केको डाक्टर?”
तिम्सिना नधकाई भन्छन्, “आयुर्वेदको।”
तिम्सिनालाई सार्वजनिक लोकप्रियता यही टेलिभिजन शोले दिएको थियो, सँगसँगै उनको झूटको प्रकाश पनि यसैबाट भएको थियो। उनले आफ्नो अर्को एक भिडिओमा पनि आफू डा. भएको भनी चिनाउँछन्। सञ्चारमाध्यममा दिएका कतिपय अन्तर्वार्तामा प्रस्तोताले चिकित्सकका रूपमा चिनाउँदा पनि तिम्सिनाले त्यसको खण्डन गरेका छैनन्। तर हिमालखबरको खोजले तिम्सिना आयुर्वेदका चिकित्सक नभएको फेला परेको छ। उनी आयुर्वेद कविराजसरह समेत होइनन्, वैद्यसरह मात्रै हुन्। अर्थात्, आयुर्वेद चिकित्सा परिषद्को अभिलेखमा उनको नाम १५ महीने तालीमबाट प्राप्त हुने आयुर्वेद चिकित्सा व्यवसायी द्वितीय तहमा राखिएको छ। उनले २०६५ साउन २७ गते ४०४ नम्बरमा सहायक आयुर्वेदिक स्वास्थ्य कार्यकर्ताको अनुमति लिएका थिए।
कहिल्यै चिकित्सा परीक्षा उत्तीर्ण गरेर काउन्सिलबाट प्रमाणपत्र नलिएका तिम्सिना आफूलाई सार्वजनिक रूपमा आयुर्वेद चिकित्सक भनेर चिनाउन चाहन्छन्, उनीसँग जँचाउन आउनेले त्यसै गरी चिन्छन्। कानूनतः गैरचिकित्सकले चिकित्सक भनेर दाबी गर्न पाइँदैन। अझ, बिरामी जाँच्न र औषधि सिफारिश गर्न त झनै पाइँदैन। आयुर्वेद विज्ञानमा स्नातक तह उत्तीर्णलाई मात्रै आयुर्वेदिक चिकित्सक मानिन्छ। उत्तीर्ण भएर मात्रै पुग्दैन, बिरामी जाँच्न र औषधि लेख्न आयुर्वेद चिकित्सा परिषद्बाट अनुमति पनि प्राप्त गर्नुपर्छ। परिषद्का रजिस्ट्रार डा. निर्मल भुसालले तिम्सिनाले आयुर्वेद चिकित्सकको प्रमाण नलिएको पुष्टि गरे। उनले भने, “परिषद्को अभिलेखमा अहिलेसम्म उनी आयुर्वेद चिकित्सा व्यवसायी द्वितीय तह हुन्, चिकित्सक होइनन्।”
आयुर्वेद चिकित्सा परिषद् ऐन, २०४५ को दफा ४.२ ले चिकित्सकको योग्यता तोक्दै ‘मान्यता प्राप्त शिक्षण संस्थाबाट आयुर्वेद विज्ञानमा आयुर्वेदाचार्य वा वैद्यरत्न वा आयुर्वेद स्नातक वा सो सरह उत्तीर्ण’ भन्ने व्यवस्था गरेर आयुर्वेद स्नातक र सोभन्दा माथिको आयुर्वेदको शैक्षिक योग्यता भएको तथा आयुर्वेद चिकित्सा परिषद् नेपालमा दर्ता भएका व्यक्तिलाई चिकित्सक भन्ने उपाधि दिने उल्लेख गरेको छ। नेपाल मेडिकल काउन्सिल ऐन, २०२० को दफा २ ले पनि ‘चिकित्सक’ भन्नाले मान्यताप्राप्त शिक्षण संस्थाबाट आधुनिक चिकित्सा प्रणाली अन्तर्गत चिकित्साशास्त्रमा स्नातक उपाधि प्राप्त गरी सो सम्बन्धी व्यवसायमा लागेको व्यक्ति भनी उल्लेख गरेको छ। तर यी दुवै कानूनी व्यवस्था अनुसारको योग्यता नभएका तिम्सिनाले चिकित्सकका रूपमा आफूलाई चिनाएर बिरामी जाँच्ने र औषधि सिफारिश गर्ने धन्दा निर्बाध चलाइरहेका छन्।
उनको अस्पतालमा देखाउन अन्य चिकित्सकको पनि नाम राखिए पनि बिरामी जाँचेर औषधि सिफारिश गर्ने काम तिम्सिनाले नै गर्छन्। नेपाल आयुर्वेद चिकित्सक संघका पूर्व अध्यक्ष तथा आयुर्वेद चिकित्सा परिषद्का पूर्व सदस्य डा. प्रकाश ज्ञवाली निजी अस्पतालमा योग्यता नपुगेका व्यक्तिले चिकित्सकका रूपमा बिरामी जाँचेर औषधि सिफारिश गर्न नमिल्ने बताउँछन्। उनी भन्छन्, “आयुर्वेदमा स्नातक नभएका व्यक्तिले चिकित्सकको सहयोगीका रूपमा वा चिकित्सकको रेखदेखमा काम गर्न मिल्छ, आफैं चिकित्सक बनेर बिरामी हेर्न र औषधि लेख्न मिल्दैन।”
आयुर्वेद चिकित्सा ऐन, २०४५ को दफा ५.१ ले आयुर्वेद चिकित्सा परिषद्मा दर्ता नभएका चिकित्सकले व्यवसाय गर्न नपाइने उल्लेख गरेको छ। यद्यपि ऐनले आयुर्वेद विज्ञानमा आयुर्वेदशास्त्री वा वैद्यभूषण, आयुर्वेदमा प्रमाणपत्र वा सो सरह, सहायक आयुर्वेद कार्यकर्ता वा सो सरहको शैक्षिक योग्यता हासिल गरी स्वतन्त्र रूपमा चिकित्सा व्यवसाय गर्न चाहने वा नेपाल सरकारको सेवामा रहेको आयुर्वेद समूहका प्राविधिकहरूले आयुर्वेद परिषद्बाट गठित उपसमितिको रजिस्ट्ररमा दर्ता गराई आयुर्वेद चिकित्सा व्यवसाय गर्न मिल्ने व्यवस्था गरेको छ। तर तिम्सिनाले यो कानूनी प्रावधान अनुसार समेत अनुमति लिएको अभिलेख देखिंदैन।
त्यसभन्दा पनि गम्भीर कुरा, तिम्सिना आफैंले बनाएको दाबी सहित औषधिका पुरिया र धूलो बिक्री गरिरहेका छन्, जुन सोझै कानून विपरीत छ। कानून अनुसार औषधि व्यवस्था विभागमा दर्ता नभई कसैले पनि औषधि बनाएर बिक्रीवितरण गर्न पाउँदैन। औषधि ऐन, २०३५ ले औषधि उत्पादन गर्न सिफारिश लिएर उद्योग स्थापना गर्नुपर्ने, उत्पादन अनुज्ञापत्र (प्रोडक्ट लाइसेन्स) लिनुपर्ने, औषधि दर्ता गराएर मात्रै बिक्रीवितरण गर्नुपर्ने व्यवस्था गरेको छ। दर्ता तथा लेबल नभएको औषधि बिक्रीवितरण गर्न ऐनले रोक लगाएको छ। परम्परागत रूपमा आयुर्वेद चिकित्सक तथा विज्ञले तयार गरेका औषधि समेत आयुर्वेद चिकित्सा परिषद्मा सूचीकृत भएमा मात्रै बिरामीलाई दिन मिल्ने आयुर्वेद चिकित्सा परिषद्का रजिस्ट्रार निर्मल भुसाल बताउँछन्। “तैपनि त्यस्तो औषधि व्यापारिक हिसाबले बिक्रीवितरण गर्न मिल्दैन,” उनी भन्छन्।
तिम्सिना चाहिं वैद्यले आफ्नो अध्ययनबाट औषधि बनाएर बिरामीलाई जुनसुकै देशमा दिन पाउने दाबी गर्छन्।
अप्रमाणित उपचार पद्धति
तिम्सिनाको चिकित्सा शैलीको अनुभव गर्न यो संवाददाताले कात्तिक ३० को दिउँसो बिरामी बनेर उनको अस्पताल पुगी नाम लेखायो। रु. ५०० तिरेर झन्डै दुई घण्टा कुरेपछि जँचाउने पालो आयो। हिमाल संवाददाताले उच्च रक्तचापको समस्या भएको बताएपछि तिम्सिनाले दुवै हातका नाडी केही बेर समाते र भने, “तपाईंको मुटुले ७० मिलिमिटर रगत पम्प गर्नुपर्ने ६८ मिलिमिटर मात्रै पम्प गरिरहेको छ, त्यही भएर समस्या भएको हो।”
उनकै अस्पतालकी सहयोगीले केही क्षणअघि मात्रै रक्तचाप नापेर स्वस्थ व्यक्तिको जति हुनुपर्ने हो त्यति अर्थात् १२०/८० रहेको रेकर्ड गरेकी थिइन्। तर तिम्सिनाले तीनथरी औषधि सिफारिश गरे, जसमा कागजको ससाना पुरियाभित्र राखिएका धूलो पनि थिए। जुन तिम्सिनाले आफैंले बनाएको बताए।
करीब १० वर्षअघि पनि यो संवाददाता उच्च रक्तचापकै व्यथा लिएर उनको अस्पताल पुगेको थियो। त्यति वेला उनले नाडी छामेर भनेका थिए, “तपाईंलाई सानोमा कुकुर, बिरालो जस्ता कुनै जनावरले टोकेको हुनुपर्छ, त्यसको बिख शरीरमा बाँकी रहेकाले रक्तचाप उच्च भएको हो।” मैले यस्ता जनावरले टोकेको सम्झना नभएको बताए पनि उनले भनेका थिए, “तपाईंले थाहा नहुने गरी टोकेको हुनुपर्छ।” मैले हुन सक्छ भनेर सम्मतिमा टाउको हल्लाएपछि तिम्सिनाले हरेक बिहान घ्यूमा मरिच मिचेर खाने विधि सहित विभिन्न खाले औषधि सिफारिश गरेका थिए। त्यो विधि र उनले दिएका औषधिले रक्तचाप नघटाएपछि मैले एलोप्याथिक भनिने आधुनिक चिकित्सा विज्ञानलाई अवलम्बन गरेर रक्तचाप घटाउने औषधि खान शुरू गरेको थिएँ।
रोचक त के भने, ग्यास्ट्रिकको उपचार खोज्दै सोही अस्पतालमा पुगेका मेरा सहकर्मीलाई पनि तिम्सिनाले नाडी छामेर हरेक बिहान घ्यूमा मरिच मिसाएर खाने विधि सिकाएर पठाएका रहेछन्। अर्थात्, ग्यास्ट्रिक र उच्च रक्तचापको उपचारमा एकै विधि।
तिम्सिनालाई पत्याएर ठगिएका चितवनको श्री राष्ट्रिय आधारभूत विद्यालय, रत्ननगरका शिक्षक रमेशचन्द्र आचार्यको अनुभवले तिम्सिनाको उपचार शैली कति घातक छ भन्ने झल्को दिन्छ। छारेरोग पीडित आचार्य एक साथी मार्फत तिम्सिनाको अस्पतालमा पुगेका थिए, करीब चार वर्षअघि। तिम्सिनाले पूर्ण सुनिश्चितताका साथ उपचार हुने बताएपछि उनले त्यहाँको महँगो औषधि खान शुरू गरे। यो क्रम दुई वर्षसम्म जारी रह्यो।
हरेक महीना आचार्यलाई चितवनबाट फलोअपका लागि बोलाइन्थ्यो र पाँच हजार रुपैयाँभन्दा बढीको औषधि भिडाइन्थ्यो। तर उनको रोग बीसको उन्नाइस भएन। तिम्सिनाको औषधि पत्याएर एलोप्थापिक औषधि खान छोडेपछि उनलाई व्यथा बल्झिन्थ्यो। “दुई वर्षभन्दा बढी समय औषधि खाएँ होला, तर मलाई त्यो ओखती भनिएको धूलोले रत्तिभर काम गरेन। डेढ लाख जति बुझाएपछि गल्ती भएको महसूस गरेर उनको अस्पताल धाउन छोडें,” आचार्य भन्छन्।
तिम्सिनाको उपचार पद्धतिले आचार्यको रोगलाई थप कडा बनायो। उनले तिम्सिनाले दिएका धूलोका पुरिया खान थालेपछि केही समय खाँदै आएको औषधि (एलोप्थापिक) रोकेका थिए, जसले गर्दा उनलाई थप कडा खालका औषधि खानुपर्ने भयो। तिम्सिनाको अस्पतालमा छिरेपछि पासोमा परेको जस्तो महसूस हुने आचार्य बताउँछन्। “उहाँमा उपचारको होइन, कुरा गरेर फसाउने अद्भुत कला छ। यो कलाले पासोमा परेकामध्ये एक म हुँ, अरू हजारौं छन्,” उनी भन्छन्।
तिम्सिनाको अस्पतालमा काठमाडौंका फोटोग्राफर जस राईको पनि तीतो अनुभव छ। हिमालखबरसँगको कुराकानीमा राईले पाँच वर्षअघि आफ्नो छोरालाई पिसाब थैलीको पत्थरी निको हुने भन्दै कम्तीमा ६ महीना औषधि दिएको बताए। उनका अनुसार तिम्सिनाले उनका सात वर्षीय छोरालाई अनेकौं खानेकुरा बार्न लगाएका थिए, जसले गर्दा उनको छोरा कुपोषित जस्तो देखिन थालेका थिए। “एक त खानेकुरा बार्न लगाएर छोराको करङको हड्डी समेत देखिन थालेको थियो, अर्कातिर नाडी छामेको भरमा अब निको भयो भनेर पठाए, तर समस्या ज्यूँका त्यूँ थियो,” उनले भने।
तिम्सिनाको औषधिले काम नगरेपछि मेडिसिटी र ग्रीनसिटी अस्पताल गएर दुई पटक छोराको पत्थरीको उपचार गराउनुपरेको राईले बताए। “आयुर्वेदिकको चक्करमा उतिवेलै रु. ४०/५० हजार सकियो। त्यो ठगी रहेछ भन्ने पछि मात्रै थाहा पाएँ,” उनले भने।
तिम्सिनाको औषधिलाई पत्याएर ज्यानै जोखिममा परेकाहरू समेत छन्। २०७९ असोजमा नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य एवं संविधानसभा सदस्य बालकृष्ण ढुंगेल घरकै शौचालयमा ढलेर बिते। उनले तिम्सिनाको पाथीभरा अस्पतालबाट आयुर्वेदिक औषधि खाँदै आएका थिए। बालकृष्णका काकाका छोरा रहेका ओखलढुंगाको लिखु गाउँपालिकाको वडा नम्बर ९ का वडाध्यक्ष केशवहरि ढुंगेलले आधुनिक चिकित्सा अन्तर्गत उपचार गर्न पटक पटक सुझाव दिंदा पनि बालकृष्णले नमानेर तिम्सिनाको औषधिमा भर परेको सुनाए। उनले भने, “२०७९ भदौमा खुट्टा सुन्निएको देखेपछि मैले उन (बालकृष्ण)लाई अन्य अस्पताल जान सुझाव दिएको थिएँ। तर उनले तिम्सिनालाई असाध्यै भर गरे। तिम्सिनाले शरीरमा विकार छ, निस्किएपछि सन्चो हुन्छ भन्दा रहेछन्, तर एक महीनापछि नै बालकृष्णको निधन भयो।”
अर्कातिर, तिम्सिनाको औषधिले निको भएको भन्नेहरू पनि प्रशस्तै छन्। सुर्खेतबाट आएर काठमाडौं बस्ने देवमाया बुढामगर घुँडा दुख्ने रोग लिएर गत साता पाथीभरा अस्पताल पुगेकी थिइन्। उनले यसअघि पनि कब्जियत र सिस्ट भएका वेला तिम्सिनाले दिएको औषधि खाएको बताइन्। “औषधि खाएको वेला ठीक हुने रहेछ, आयुर्वेदिक औषधिको समस्या चाहिं सधैं खाइरहनुपर्ने रहेछ,” उनले भनिन्।
सामुदायिक वनकी पैरवीकर्ता भारती पाठकले पनि ग्यास्ट्रिक र पाइल्सको समस्या पाथीभरा अस्पतालको औषधिले निको भएको बताइन्। उनले ६ महीना तिम्सिनाले दिएको औषधि खाएपछि र मुख बारेपछि समस्या समाधान भएको तर मुख बार्न छोडेपछि फेरि समस्या बल्झिएको बताइन्। “पछि त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सकलाई देखाएर औषधि खाँदा समस्या समाधान भयो,” उनले भनिन्।
पत्रकार/लेखक मोहन मैनाली पनि ढाडको नशा च्यापिएको समस्या लिएर पाँच वर्षअघि तिम्सिनाको अस्पताल पुगेका थिए। उनले आफ्नो समस्या सामान्यभन्दा अघि बढिसकेको र केही अप्ठ्यारो तहमा पुगिसकेकाले आफूलाई त्यहाँको उपचारले निको नभए पनि सामान्य खालको नशा च्यापिएकाको भने थेरापीबाट उपचार हुने जस्तो महसूस गरेको बताए। “त्यहाँको उपचारले निको हुँदै हुँदैन भन्दिनँ, यद्यपि गाईको पिसाब वा अरू औषधिको वैज्ञानिक पुष्टि नभएकाले ती अचुक औषधि हुन् भनेर भर चाहिं गर्दिनँ,” उनले भने। उनले आफ्ना एक साथीको पाइल्सको समस्या तिम्सिनाले दिएको औषधिले चट्टै निको पारेको ती साथीले बताएको पनि सुनाए।
तिम्सिनाको सप्तर्षि हर्बल प्रालि नामको औषधि कम्पनी पनि छ। यो झापाको दमकमा दर्ता भए पनि भौतिक रूपमा उद्योग नभेटिएपछि औषधि व्यवस्था विभागले केही वर्षअघि यसको नवीकरण नै बन्द गरेको थियो। यही कम्पनीले त्रिफला जस्ता सबै आयुर्वेदिक औषधि कम्पनीले उत्पादन गर्दै आएका सामान्य खालका आयुर्वेदिक औषधि उत्पादन गर्छ। आयुर्वेदशास्त्रले उल्लेख गरे बमोजिम उत्पादन हुने यस्ता औषधि ग्यास्ट्रिक, पाइल्स आदिमा लाभदायक पनि हुन्छन्।
तिम्सिनाले आफूलाई आयुर्वेदिक चिकित्सक दाबी गरे पनि उनी आफैं भने बजारमा उपलब्ध अरू आयुर्वेदिक औषधिलाई प्रभावकारी मान्दैनन्। एउटा भिडिओमा उनले भनेका छन्, “बजारमा बेच्न भनेर राखिएका आयुर्वेदिक औषधिबाट स्वास्थ्य लाभ चाहिं हुँदैन, यो भ्रम हो।” तर उनी आफूले तयार गरेका औषधि आफूकहाँ जँचाउन आएका बिरामीलाई बेच्छन्। नेपाल आयुर्वेद चिकित्सक संघका पूर्व अध्यक्ष तथा आयुर्वेद चिकित्सा परिषद्का पूर्व सदस्य डा. प्रकाश ज्ञवाली प्रमाणित नभएका जस्तोसुकै धूलो वा वस्तु आयुर्वेदिक हुन नसक्ने दाबी गर्छन्। उनी भन्छन्, “आयुर्वेदशास्त्र र ग्रन्थमा उल्लेख गरिएको प्रक्रिया बमोजिम तयार गरिएका वा अनुसन्धानबाट परीक्षण गरी प्रमाणित भएका औषधि मात्रै आयुर्वेदिक हुन्, जुनसुकै वनस्पतिको धूलो, झोल वा चक्की आयुर्वेदिक हुँदैनन्।”
कसले गर्छ कारबाही?
कोभिड-१९ महाव्याधिको समयमा तिम्सिनाले कोरोना संक्रमितलाई उपचार गर्ने पद्धति पत्ता लगाएको दाबी गरे। उनले आफ्नो अनुसन्धानबाट भेटिएको भन्दै औषधि उपलब्ध गराउँथे, त्यसको न आयुर्वेद चिकित्सकलाई जानकारी थियो न आधुनिक विज्ञानलाई। कोभिड नलागेकालाई उक्त भाइरस नसर्ने तथा लागिसकेकालाई निको बनाउने उनको दाबी थियो।
तिम्सिनाले बाटुलपाते, जौ र मरिच मिलाएर बनाएको औषधि, गाईको गहुँतले रोगीलाई अत्यन्त छिटो निको बनाउने बताउँथे। न्यूज २४ टेलिभिजनको कार्यक्रम ‘सिधाकुरा जनतासँग’ का तत्कालीन सञ्चालक रवि लामिछानेले तिम्सिनासँगको अन्तर्वार्ता प्रसारण गरेका थिए। उनले अनुसन्धानबाट प्रमाणित नभएका जडीबुटीलाई समेत कोरोनाको औषधि भन्दै बिक्रीवितरण गरेपछि नेपाल आयुर्वेद चिकित्सक संघले २०७७ भदौ १८ गते उनको औषधिले भ्रम सिर्जना गरेको भन्दै यस विरुद्ध सार्वजनिक विज्ञप्ति नै जारी गरेको थियो।
हिमालखबरसँगको कुराकानीमा तिम्सिनाले कोरोनाको उपचार गर्ने औषधि आफूले पत्ता लगाएर सयौंलाई निको बनाएको दाबी गरे। “तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि कोरोना लागेको थियो, मैले नै ७० घण्टामा रोग निको पारेको हुँ,” उनले भने। प्रधानमन्त्री ओलीलाई अम्बाको पातले कोरोना भाइरस विरुद्ध लड्न मद्दत गर्ने कुरा आफूले नै सुनाएको पनि उनले दाबी गरे। “मैले प्रधानमन्त्रीज्यूलाई अम्बाको पातको सेवनले भाइरस विरुद्ध लड्न मद्दत गर्ने कुरा भनेको थिएँ, उहाँले त्यो सार्वजनिक रूपमा भनिदिनु पनि भयो। तर कसले हो, बेसारले पनि निको हुन्छ भनेर सुनाइदिएछ, त्यो पनि भन्नुभयो। तर बेसारले कोरोना निको हुने होइन,” उनले भने।
तिम्सिनाले कोरोना विरुद्धको औषधि पत्ता लगाएका कारण २४ देशले त्यसलाई स्वीकार गरेको र विश्व स्वास्थ्य संगठन सहितका संस्था मिलेर आफूलाई ‘एशियन डाक्टर अफ अनोररी’ अवार्ड दिएको पनि दाबी गरे। तर त्यस्तो खाले अवार्ड तिम्सिनाले पाएको अभिलेख हामीले भेटेनौं।
उनका कैयौं यस्ता दाबी छन्, जुन आयुर्वेदशास्त्र र आधुनिक औषधि विज्ञान कतै पनि प्रमाणित छैनन्। जस्तै- एउटा भिडिओमा उनी भन्छन्, “मुटुको समस्या बढेमा कतै नगई पीपलको झरेको पातमा दुई चिम्टी काँचो चामल हालेर पान जस्तो हरेक बिहान खाए ३१ देखि ४० दिनसम्ममा मुटुमा भएको अवरोध खुल्छ।”
निमको तेलबाट क्षयरोग निवारण हुनेदेखि पलाँसको चोप लगाउँदा १० दिनमा रतन्धो निको हुने तथा रगतमा हुने प्लेटलेट्स सयौं गुणा बढाउन सकिने दाबी उनले गरेका छन्। सिंदुरे वनस्पतिको जराको पानी एक-दुई थोपा मात्रै दुई मात्रा खाँदा निमोनिया निको हुने तथा ऐंसेलुको जरा उमालेर तीन दिन खाँदा टाइफाइड निको हुने जस्ता विधि उनले सुझाउने गरेका छन्। कुनै एक वनस्पतिबाट बनेको खाटमा सुतेमा जुनसुकै रोगबाट मुक्ति हुनेदेखि गाईको गहुँत पानीमा केही थोपा मिसाएर पिउँदा कोलेस्ट्रोल नहुनेसम्मका दाबी उनका छन्।
कुभिन्डोको बोक्रा नौ महीना खाए मधुमेह निको हुने उनको दाबी छ। करेला र मेवा एकै पटक खाएमा मृत्यु समेत हुन सक्नेदेखि कोलेस्ट्रोल, मधुमेह र उच्च रक्तचापका तीन थरी औषधि खानेलाई ६/७ वर्षमा क्यान्सर भइछाड्ने जस्ता डरलाग्दा तर्क उनका छन्। एक ठाउँमा त उनले भनेका छन्, “आल्मुनियम र सिल्भरका भाँडामा पकाएर खानेलाई भगवान् श्रीकृष्ण आए पनि बचाउन सक्नुहुन्न।”
माइग्रेनदेखि छारेरोगसम्म, कलेजोको रोगदेखि रक्तचाप नियन्त्रणसम्म हरेक रोगका उपचार उनीसँग छ। उनले हिमालखबरसँग कुरा गर्दै राइस कुकरमा पकाएको खानामा पाराअक्साइड रेडिकल्स हुने र ती खाना देख्दा चिनेर ग्रन्थि नखुल्ने भएकाले त्यस्तो खाना खाऊँ खाऊँ नलाग्ने बताए। उनले भने, “म अध्ययन विना बोल्दिनँ, अब राइस कुकरमै पकाएर खान्छु भनेर कसैले जिद्दी गर्छ भने खाए खाऊन्, मरून्, म केही भन्दिनँ।”
आयुर्वेद चिकित्सक संघका पूर्व अध्यक्ष डा. प्रकाश ज्ञवाली आयुर्वेदशास्त्रमा उल्लेख भए बमोजिम जडीबुटी तयार पार्ने प्रक्रिया तथा मात्रा मिलाएर सेवन गरे मात्रै रोग निको हुने बताए। शास्त्रमा उल्लेख नभएको वा अनुसन्धान तथा परीक्षणबाट प्रमाणित नभएको विधिलाई आयुर्वेदिक र भरपर्दो मान्न नसकिने उनको तर्क छ। उनले तिम्सिनाले दिने कैयौं औषधिमा स्टेरोइड्स पनि मिलाइने गरेको आफूले थाहा पाएको बताए। “त्यसै कारण घुँडा दुख्ने लगायत रोगमा तिम्सिनाले दिएको औषधिको एक-दुई मात्राले नै काम गरेको जस्तो अनुभव बिरामीले गर्छन्। तर त्यो दीर्घकालीन रूपमा हानिकारक छ,” उनले भने। स्टेरोइड्सले विभिन्न रोगसँग लड्न मद्दत गर्छ र प्रतिरक्षा प्रणालीलाई पनि मजबूत बनाउँछ। तर यो जटिल स्वास्थ्य अवस्थामा मात्रै चिकित्सकले सिफारिश गर्छन्। यसका कैयौं साइड इफेक्ट छन्, जसमा हर्मोन प्रणालीको असन्तुलनदेखि कलेजो बिगार्ने र कार्डियोभास्कुलर (मुटु सम्बन्धी प्रणाली) मा गडबडीसम्मको जोखिम हुन्छ। त्यसैले चिकित्सकले छोटो अवधिका लागि मात्रा मिलाएर मात्रै स्टेरोइड्स मिसिएको औषधि दिने गरेको डा. ज्ञवालीले बताए। “एलोप्याथिक चिकित्सकले त सितिमिति स्टेरोइड्स मिसिएको औषधि चलाउँदैनन्। यो त एक हदसम्म गम्भीर अवस्थामा मात्रै चलाइने औषधि हो,” उनले भने।
तिम्सिना भने आफूलाई आयुर्वेदिक चिकित्सक भन्नेहरूले लामो समयदेखि अनेकौं आरोप लगाएर खेदिरहेको तर सफल नभएको बताउँछन्। उनले आफूलाई प्रशासन लगाएर समेत सिध्याउन खोजे पनि आफू बलियो रूपमा स्थापित भइरहेको बताए। कोरोनाकालमा भ्रम छरेको आरोप सहित उनको अस्पतालमा औषधि व्यवस्था विभागले २०७७ असोजमा छापा हानेर कोरोना सम्बन्धी भनिएको औषधिको बिक्रीवितरणमा प्रतिबन्ध लगाएको थियो। तर तत्कालीन प्रधानमन्त्री ओलीले नै आफ्नो कुरा सुनेर आयुर्वेदिक औषधिको महत्त्व बताएपछि आफूमाथिको धरपकड कम भएको तिम्सिनाले बताए। उनले आफ्नो अनुसन्धानले पत्ता लगाएको औषधि सम्बन्धी निष्कर्ष अहिले संसारभरि पुर्याइरहेको र चीन, क्युबा, भारत, ब्रुनाई, मलेशिया, अस्ट्रेलिया, संयुक्त अरब इमिरेट्स (दुबई), भूटान, थाइल्यान्ड आदि देशमा सरकारसँगको सहकार्यमा आयुर्वेदिक औषधि उत्पादन र प्रयोगमा काम गरिरहेको बताए।
“म ६ हजार ५०० भन्दा बढी जडीबुटी चिन्छु, अब चीनले मिलेर काम गर्न भनिरहेको छ। कतिपय देशले मलाई नेपाल छोडेर आउन भनिरहेका छन्, तर मैले यही भिडिरहन्छु भनेको छु,” उनले भने। उनले भारतका दुई विश्वविद्यालयमा भिजिटिङ प्रोफेसरका रूपमा महीनाको तीन वटा कक्षा लिने गरेको तथा यूएई, भूटान, मलेशिया, ब्रुनाई र अस्ट्रेलिया सरकारको आयुर्वेद सम्बन्धी विज्ञका रूपमा काम गरिरहेको पनि बताए। हामीले यी देशसँग तिम्सिनाले गरिरहेको भनिएको कामबारे इन्टरनेटमा जानकारी खोज्दा केही पनि भेट्न सकेनौं। यद्यपि उनले वर्ल्ड बूक अफ रेकर्डस्बाट अक्टोबर २०२४ मा आयुर्वेद मार्फत दीर्घरोगको उपचारमा योगदान गरेको भन्दै सर्टिफिकेट्स अफ एक्सिलेन्स पाएको फेला परेको छ। वर्ल्ड बूक अफ रेकर्डस् बेलायतको संस्था हो, तर यसको अभिलेखीकरणको प्रणाली, प्रमाणीकरणको पद्धति र मापदण्ड तथा विश्वसनीयतामा शंका जनाइने गरिएको छ।
एक समय युनाइटेड ग्रीन अर्गनाइजेशन नेपाल नामको राजनीतिक दल समेत खोलेर राजनीतिमा सक्रिय हुन खोजेका तिम्सिनाले अहिले भने राजनीति छोडेको बताए। २०७० सालको संविधानसभा निर्वाचनमा तिम्सिना अध्यक्ष भएको दलले प्रत्यक्षतर्फ ९४ र समानुपातिकतर्फ तीन हजार २२९ मत प्राप्त गरेको थियो। पार्टी बनाएर मान्छेलाई जागरूक बनाउन खोजे पनि नेपालमा त्यस्तो सम्भव नदेखिएकाले अहिले राजनीतिबाट आफू टाढा भएको बताए।
२०६६ माघमा खोलिएको पाथीभरा आयुर्वेदिक अस्पताल व्यवसायमा स्थापित हुँदै गएपछि तिम्सिनाले सिनामंगलस्थित सानो भवनबाट अहिले अस्पताललाई बत्तीसपुतलीमा ठूलो भवन बनाएर सारेका छन्। काठमाडौं बाहिर पनि यस अस्पतालका शाखा छन्। उनको अस्पतालमा जँचाउन पालो कुर्नुपर्छ, औषधिको दैनिक लाखौं रुपैयाँको कारोबार हुन्छ। तर त्यसको कुनै पनि बिलबिजक बिरामीले पाउँदैनन्। न त्यत्रो कारोबारको कर तिरिन्छ न प्रणालीमा कारोबार देखिन्छ। तिम्सिनाको ओखतीमुलोको यस्तो धन्दाबारे सम्बन्धित नियामक निकाय बेखबर छैनन्। हामीले कुरा गरेका यस सम्बन्धी नियामक निकायका प्रतिनिधिहरूले तिम्सिनाले गरिरहेको काम कानून विपरीत भएको बताए। तर कारबाहीका विषयमा लाचारी व्यक्त गरे।
औषधि व्यवस्था विभागका सूचना अधिकारी प्रमोद केसीले आफूखुशी औषधि बनाएर बिरामीलाई बिक्री गर्न नमिल्ने बताए। उनले ठूलो मात्रामा औषधिको कारोबार भए पनि त्यो करको दायरामा नआउनु गैरकानूनी रहेको पनि टिप्पणी गरे। तर त्यसको शुरूआतको कारबाही गर्ने निकाय अरू नै भएको भनी उनी पन्छिए।
आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका निमित्त महानिर्देशक डा. श्यामबाबु यादवले पनि आयुर्वेद चिकित्सा परिषद्मा दर्ता नभई चिकित्सकका रूपमा बिरामी जाँच्न र औषधि सिफारिश गर्न तथा विना दर्ताको औषधि बिक्री गर्न नमिल्ने बताए। उनले भने, “उहाँ चिकित्सक नभए पनि चिकित्सकका रूपमा बिरामी जाँच्ने र विना दर्ताको औषधि बिक्री गर्ने गरेको मैले पनि सुनेको हुँ, तर यस विषयमा कारबाही चलाउने जिम्मा आयुर्वेद चिकित्सा परिषद् र औषधि व्यवस्था विभागको हो।”
हामीले यसबारे आयुर्वेद चिकित्सा परिषद्का रजिस्ट्रार डा. निर्मल भुसाललाई सोध्दा उनले पाथीभरा अस्पताल र तिम्सिनाको कामबारे यसअघि छानबिन समिति बनाउनेबारे छलफल भए पनि त्यो थन्किएको बताए। “उहाँ कहींकतैबाट (शक्ति केन्द्रबाट) संरक्षित हुनुहुन्छ जस्तो लाग्छ। उहाँ विरुद्ध कोही उजुरी लिएर आए हामी छानबिन गर्छौं,” उनले भने।
औषधिको प्रकार, मूल्य, उपभोग मिति, उत्पादक आदि लेबल नराखिएका वस्तु बिक्री गरिएको भनी औषधि व्यवस्था विभागले २०७७ असोजमा पाथीभरा आयुर्वेदिक अस्पताल विरुद्ध कारबाही प्रक्रिया अघि बढाएको थियो। तर त्यो यत्तिकै सामसुम भयो। अहिले पनि तिम्सिनाले यस्तै धन्दा निर्बाध चलाइरहेका छन्। उनले आफू विरुद्धको कारबाही कसरी सामसुम पारे र धन्दा निर्बाध चलाउन सके भन्ने सन्देहको घेरामा छ।
तिम्सिनाले भने चिकित्सकको प्रमाणपत्रले मात्रै केही नहुने बताउँदै औषधि विज्ञानका नाममा सर्वसाधारणको स्वास्थ्य ध्वस्त बनाइएका कारण आफूले परम्परा र प्रकृतिसम्मत उपचार पद्धतिको अभ्यास गरिरहेको बताए। उनले भने, “अनुमति र प्रमाणपत्रको कुरा मामुली विषय मात्रै हो। म यस क्षेत्रको पुरानो विज्ञ हुँ। पहिले नै पढेको भए पनि अहिलेसम्म चूप लागेर बसेको हुँ। अब भने परिषद्मा अनुमतिपत्र लिन जाँदै छु।”
सम्पादन: जीवन कार्की, भाषा: प्रद्युम्न खनाल
यो पनि: योगले वियोग