क्रसर माफियालाई सबक सिकाएर बिदा भएकी संरक्षणकर्मी
अवैध उत्खनन रोक्न खोज्दा मारिएका दाजु दिलीपका हत्यारालाई जेल पुर्याएकी संगम महतो आफू पनि दाजुकै बाटो पछ्याउँदै संरक्षणकर्ममा होमिएकी थिइन्।
मध्य असारको चर्को घाममा उनी औरही खोलामा निर्माणाधीन ‘दिलीप चुरे वाटिका’ मा व्यस्त थिइन्। एक हातमा बेल्चा अनि अर्को हातमा मुछिएको बालुवा–सिमेन्टको भाँडो। यही रूपमा देखेकी थिएँ, उनलाई पहिलो पटक। त्यही दिन (२०७९ असार १८) बिहान ९ बजे धनुषाको श्रीपुर पुगेर फोनमा संवाद भएको थियो।
“दिदी भेट्नुहुन्छ भने यही वाटिकामा आउनू। यतै कुरा गरौंला। काम छोडेर त निस्कन मिल्दैन,” उनले भनिन्। म खुरुखुरु उतै लागें। औरही खोला तरेर वाटिका नजीक पुगेपछि उनले हाँसोले स्वागत गर्दै भनिन्, “दिदी, खोला तर्न बानी नहुँदा त गाह्रो हुन्छ। डराउनु पर्दैन, केही हुँदैन।”
खोला तर्नु के दुःख र? उनी आफैं त योभन्दा कैयौं ठूलो खतरासँग जुधिरहेकी थिइन्। खोलाको अवैध दोहन गर्ने क्रसर माफियाहरूलाई एक्लै प्रतिकार गरिरहेकी थिइन्। यिनै साहसी संगम महतो २७ वर्षको कलिलो उमेरमै संसारबाट बिदा भएको खबर आएको छ। कल्पनामा सम्म नरहेको यो खबर पत्याउन मलाई निकै गाह्रो परिरहेछ।
पहिलो पटक भेटेदेखि नै उनको अमिट छाप परेको छ मलाई। खोलाको अवैध उत्खनन रोक्ने क्रममा मारिएका दाजु दिलीप महतोको न्यायका लागि माफियाहरू विरुद्ध हत्केलामा ज्यान राखेर अघि बढेकी बहिनी हुन् उनी।
महतो परिवारकी छोरी, दुई सन्तानकी आमा, कमलकी पत्नी, दुई दिदी र एक दाजुकी बहिनी, तीन बहिनी र एक भाइकी दिदीका रूपमा सीमित उनको परिचय पछिल्लो समय ‘ओमप्रकाश महतो (दिलीप) पर्यावरण संरक्षण प्रतिष्ठान’ को अध्यक्ष एवं ‘दिलीप चुरे वाटिका’ को संस्थापकका रूपमा विस्तारित थियो। क्रसर माफिया विरुद्ध धनुषा हुँदै काठमाडौं, माइतीघरसम्म आएर आन्दोलन छेडिन्। ‘मुबोली’ रकम दिने भन्दै दाजुको हत्यालाई पैसासँग साट्न खोज्नेहरू विरुद्ध मुद्दा हाल्ने आँट देखाइन्।
दिलीपको न्यायका लागि सडकमा धर्ना बस्नुपरोस् वा आमरण अनशन, सबथोक गर्न तयार थिइन् संगम। दमले मरणासन्न बनाउँदा पनि घरको मियो बनेर बाबुआमा र साना भाइबहिनीलाई सम्हालिरहेकी थिइन्। वातावरण संरक्षणका लागि आन्दोलन छेडेर युवाहरूलाई आँट र साहस बाँडिरहेकी थिइन्।
अब उनका यी सबै विशेषण सम्झनामा सीमित भएका छन्। निःसन्देह उनको मृत्युको कारण रोग नै हो। तर मरण दाजुकै जस्तो अकालको बन्न पुग्यो। अनि उनी गुम्दा दिलीप गुम्दा जसरी नै समाज र वातावरण क्षेत्रले होनहार अभियन्ता गुमायो। महतो परिवारको मूल खम्बा नै ढल्यो।
दिलीपको हत्यापछि परिवारको सारा जिम्मेवारी उनकै काँधमा आयो। दमका रोगी बुबा र पुत्रशोकले विक्षिप्त आमाको हेरचाह, भाइबहिनीको पढाइ सबै उनको थाप्लोमा थियो। दिदीहरूको विवाह भइसकेको थियो। त्यसैले परिवार चलाउन संगम गाउँका केटाकेटी डाकेर घरमै पढाउँथिन्।
छोराको शोकले विह्वल बनेका बाबुआमाको घाउमा मलम लगाउन पनि उनी क्रसर माफिया विरुद्ध लागिन्। उनीहरूलाई जेल पुर्याइछाडिन्। त्यसपछि दाजुको सम्झनामा वाटिका बनाउँदै उनकै बाटो पछ्याई पर्यावरण संरक्षण अभियन्ता बनिन्। यो यात्रामा उनलाई बहिनी लक्ष्मी महतोले पनि सारथि बनेर सघाइन्।
क्रसर माफिया विरुद्ध ज्यानको बाजी
दिलीप महतोको हत्यापछि न्यायका लागि उनका दुई बहिनीले गरिरहेको संघर्षको कथा लेख्न म अढाई वर्षअघि मिथिला नगरपालिका–५, श्रीपुरस्थित उनीहरूकै घर पुगेकी थिएँ। त्यस दिन उनै संगमले पकाएको खाना खाँदै उनकै कोठामा रहने सौभाग्य पाएँ। बहिनी लक्ष्मी शिक्षक सेवा आयोगको परीक्षा दिन जनकपुर गएकी थिइन्। हामी राति १ बजेसम्म गफ गरेर बस्यौं। त्यस क्रममा उनले दाजुको हत्यापछि कसरी ज्यान हत्केलामा राखेर न्याय र संरक्षणको लडाइँ लडिन् भन्ने सुनाइन्।
यो कथा शुरू हुन्छ, २०७६ पुस २५ बाट। दाजु दिलीप भारतको भोपालमा इन्जिनीयरिङको पढाइ सकेर फर्किएका थिए। उनी दिदीबहिनीमध्ये संगम र लक्ष्मीसँग धेरै नजीक थिए। दाइकै भरोसा र प्रेरणा पाएर संगमले बीबीएस पूरा गरिन्। लोक सेवा आयोग परीक्षाको तयारी गरिरहेकी थिइन्। त्यही बीच एक दिन औरही खोलातिर गएका दिलीप फर्केर आएनन्। घर नजीकैको खोलामा दिनहुँ भइरहेको गिट्टी–बालुवाको अवैध उत्खनन उनलाई चित्त बुझिरहेको थिएन। प्रतिकारमा लागे। क्रसर माफियाले उनको हत्या गरिदिए। फलामको सुइरो रोपी, कुटपिट गरेर बेहोश बनाएपछि टिपरले टाउको कुल्चिइएको थियो, दुर्घटना जस्तो देखाउने गरी।
संगमले खोला नजीकैको चुरियामाई बालुवा प्रशोधन उद्योगका सञ्चालकले दाजुलाई बारम्बार धम्की दिएको सुनिरहेकी थिइन्। त्यसैले उनी त्यो दुर्घटना नभएर हत्या हो भन्दै उनी क्रसर उद्योगी विरुद्ध जाई लागिन्। उनीहरूको आवाज दबाउन धेरैतिरबाट कोशिश भयो। क्रसर सञ्चालकले दिलीपको हत्यालाई सडक दुर्घटना पुष्टि गराउने प्रपञ्च रचे। त्यसकै लागि मुचुल्का पनि नउठाई बिहानै शव पोस्टमार्टम गर्न लगिएको थियो। तर संगमले क्रसरको प्रांगणदेखि खोलाको बगरसम्म रगत लतपतिएको प्रत्यक्ष देखेकी थिइन्। हतारमा पोस्टमार्टम गर्न लागिएको विरोधमा उनीहरूले पूर्व-पश्चिम राजमार्गमा पाँच घण्टा प्रदर्शन गरे, यसमा अरू गाउँलेले पनि साथ दिए। त्यही दबाबमा परिवारका सदस्य पनि अस्पतालमा सँगै हुने गरी अर्को दिन पोस्टमार्टम गर्ने सहमति बन्यो।
“दिदी, तिनले हत्या नै गरेका थिए। त्यसैले बुबाआमा थाके पनि दाइका हत्यारालाई सजाय दिलाउन जीवनभर लड्नेछु,” त्यस रात संगम निकै दृढविश्वासी देखिन्थिन्। लाग्थ्यो, उनी दाजु हिंडेको बाटोमा युद्ध जित्नकै लागि होमिएकी हुन्। त्यसबीच उनलाई बारम्बार बाटो छेकेर मार्ने, केटामान्छेसँग नाम जोडेर समाजमा बदनाम गरिदिने भन्दै धम्की आयो। पैसाको प्रलोभन देखाइयो। “दिदी, दाइ त अब गयो–गयो। पैसा लिएर हामीले के गर्नु? दाइलाई मार्नेहरू जेल गए मात्र हामीलाई शान्ति मिल्छ,” उनले मसँग भनेकी थिइन्।
सडक प्रदर्शनमा पनि उनको बोली उही थियो– बरु मर्न तयार हुने, मुद्दा चाहिं फिर्ता नलिने। दाजुको हत्यापछि पनि चुरियामाई क्रसर चलिरहेकै थियो। अब संगम र लक्ष्मी दाजुले रोक्न नसकेको अवैध धन्दा जसरी पनि रोक्ने भनी अघि बढेका थिए। २०७९ असार १९ गते दिदीबहिनीले मलाई फेरि खोलातिर लगे। ढुंगा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७७ अनुसार असारदेखि भदौसम्म नदी उत्खनन गर्न पाइँदैन। तर त्यहाँ मध्य असारमा दुई वटा डोजरले धमाधम चार वटा ट्र्याक्टरमा बालुवा भरिरहेका थिए। दिदीबहिनीले तत्काल ढल्केबर प्रहरीलाई फोन गरे। तर १५ मिनेटको बाटोमा एक घण्टासम्म प्रहरी आएन।
शर्तको विवाह
२०७९ वैशाखमा संगमको धनुषाकै कमलबहादुर महतोसँग विवाह भयो। यो प्रेमविवाह थियो। यति वेला उनी दाजुको न्यायका लागि जिल्ला अदालत धाइरहेकै थिइन्। त्यसैले विवाहअघि नै शर्त राखेकी थिइन्– पतिले पनि दाजुलाई न्याय दिलाउने र संरक्षण अभियानमा सघाउनुपर्ने। विवाहपछि उनी श्रीपुरमै बसेर संरक्षण कार्यमा लागिन्। कमल पनि सँगै रहेर दिलीपको नामको वाटिका निर्माणमा जुटे।
कमल पनि दिलीप जस्तै सत्यको बाटोमा हिंडौं, सामाजिक काम गरौं भन्ने मान्छे भएकाले विवाह गरेको संगमले मलाई सुनाएकी थिइन्। त्यही वाटिकामा तीन वर्षअघि भेट हुँदा कमलले पनि संगमले सडकमा गरेको भाषणको भिडिओ देखाउँदै भनेका थिए, “यस्तो हिम्मतवाली छ मेरो बूढी। यसले बोल्दा मलाई त सुनिरहन मन लाग्छ।”
पर्यावरण संरक्षणको काममा ‘आधा बाटो दाइ हिंड्नुभयो, आधा अब हामी हिंड्नेछौं’ भन्ने संगमले दिलीपको हत्याको न्याय २०७९ फागुनमा पाइन्। अवैध उत्खनन रोक्न खोज्दा दिलीपको हत्या गरिएको ठहर्याउँदै धनुषा जिल्ला अदालतले विपिनकुमार महतो, मुनीन्द्र महतो र जितेन्द्रकुमार महतोलाई जेल सजाय तोक्यो।
त्यसयता उनी दाजु दिलीपलाई पर्यावरण शहीद घोषणा गर्न माग राखी सरकारी निकाय धाउँदै थिइन्। हत्याराहरू जेल परे पनि औरहीमा उत्खनन रोकिएको थिएन। त्यसलाई पूरै रोक्ने अठोटमा थिइन् संगम। त्यसैले सार्वजनिक कार्यक्रमहरूमा त्यहाँ भइरहेको अवैध धन्दाबारे सूचना फैलाउँथिन्।
उनी वेलावेला मिथिला नगरपालिकाका विभिन्न विद्यालयमा चुरे संरक्षणको महत्त्व बुझाउने कक्षा पनि चलाउँथिन्। ‘ओमप्रकाश महतो (दिलीप) पर्यावरण संरक्षण प्रतिष्ठान’ का तर्फबाट पर्यावरण सम्बन्धमा निबन्ध र वक्तृत्वकला प्रतियोगिता आयोजना गर्थिन्। पछिल्लो अढाई वर्षमा उनीसँग जति पटक संवाद भयो, त्यसमा एउटै इच्छा बारबार झल्किन्थ्यो– दाजुलाई पर्यावरण शहीद घोषणा गराउने। अर्थात्, यो यात्रामा उनले आफ्ना बारे केही सोचिनन्। सोचिन् त केवल– दाजुलाई न्याय अनि वातावरण संरक्षण।
उनले दाजुका नाममा बनाएको वाटिकामा अहिले वातावरण संरक्षण सम्बन्धी कार्यक्रमहरू हुन थालेका छन्। जहाँ उनीसँग मेरो पहिलो भेट भएको थियो। अनि उनको अभियानको प्रभाव पनि देखिएको थियो। ६ महीनाअघि मेसेन्जरमा कुरा हुँदा भन्थिन्, “दिदी, अहिले पहिला जस्तो धम्की आउँदैन। आनन्दले फिल्डमा काम गरिरहेका छौं।”
अघिल्लो वर्ष उनको छोरा जन्मियो। बहिनी लक्ष्मी अहिले त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर पढ्दै छिन्। त्यसैले लक्ष्मीले काठमाडौं र संगमले धनुषामा बसेर औरहीमा चलिरहेका अवैध क्रसर र वातावरण संरक्षणका पक्षमा आवाज उठाउँदै आएका थिए।
यहीबीच गत शनिबार एक्कासि नसोचेको खबर आयो। वातावरण संरक्षणका पक्षमा वकालत गर्दै आउनुभएका पदमबहादुर श्रेष्ठले फोनमा भन्नुभयो, “अनिताजी, खराब समाचार आयो। एक जना वातावरण संरक्षणकर्मीलाई हामीले गुमायौं। दिलीपकी बहिनी संगम बितिछन्।” संगमले एक महीनाअघि मात्र दोस्रो सन्तान छोरीलाई जन्म दिएकी थिइन्।
फोन राखेपछि मेरो दिमागमा तीन वर्षअघि हिमाल मा प्रकाशित ‘एक दिलीप मारिए, दुई जन्मिए’ शीर्षक लेख खेल्न थाल्यो जसमा मैले उनीहरूको घरमै पुगेर न्याय र संरक्षणको कथा उतारेकी थिएँ।
संगम र लक्ष्मी मधेशको देहात बस्तीका छोरी हुन् जहाँ बालविवाह, दाइजो, हिंसा, अन्धविश्वास र छोरीलाई नपढाउने कुप्रथा व्याप्त छ। छोरीचेली यसरी दबिएको समाजमा यी दिदीबहिनी दाइको हत्यारालाई तह लगाएरै छाड्ने भन्दै अघि बढे। कत्तिले तिनलाई मर्न तम्सिएका भने त कतिले आँटिला। म चाहिं यत्तिको साहसी, निडर र प्रेरक महिला मधेश मात्र होइन, पूरा नेपालमै एकदमै थोरै होलान् भन्छु।
संगम बितेको यो घडीमा मलाई लागेको छ– हामीले चुरे संरक्षणको भरपर्दो अभियन्ता गुमाएका छौं। मधेशका नदीखोलाको अवैध दोहन विरुद्धको खबरदारी गुमाएका छौं। चुरे गुम्ने जोखिम अझ बढेको छ।