दुनियाँलाई घर न घाटको बनाउने थईन्द्रको ठगीधन्दा
ग्रेनाइट, क्वार्जाइटका खानीका नक्कली दस्तावेज बनाई दुई दशकदेखि दुनियाँलाई ठग्दै आएका थईन्द्र रिजालले धेरैलाई ‘घर न घाट’ को बनाएका छन्। प्रहरी प्रशासनलाई उनको यो बदमासीबारे सबै थाहा छ, तर राजनीतिक र प्रहरी संरक्षणमा थईन्द्र राजसी ठाँटबाँट सहित निर्धक्क घुमिरहेका छन्।
‘तँलाई नेपालले जन्म र पहिचान दियो, बदलामा के दिइस्?’ २६ वर्ष हङकङमा पसिना बगाएपछि इन्द्रकुमार राईको मनमा एक दिन एकाएक देशप्रेम पलायो।
भक्तपुरे शैलीको बुट्टेदार गेटबाट छिर्नासाथ बायाँतिर पृथ्वीनारायण शाहदेखि हालसम्मका नेपाली शासकहरूको कार्यकाल मिति सहितको फोटो। दायाँतिर तत्तत् समयका समाज र रहनसहन तस्वीर। एक छेउमा क्लब हाउस। एकापट्टि आधुनिक भवन र अर्कोतिर खरले छाएका, टाटीको बेरामा माटोले लिपेका गाउँले भुइँघरहरू। सिकुवाहरूमा ढिकी, जाँतो ...।
यस्तै रिसोर्टको स्केच बोकेर इन्द्रकुमार २०७८ असोजमा काठमाडौं ओर्लिए।
त्यसका लागि सिन्धुपाल्चोकको खाडीचौर क्षेत्रमा २०० रोपनी जति जग्गा खोजिरहेको वेला सहयोगी भाइ कुमार मगरले बेथानचोक, काभ्रेपलान्चोकका दिनेश लामासँग भेट गराएपछि भव्य एग्रो-रिसोर्टको स्केच केरमेट भयो।
लामाले बेथानचोक गाउँपालिका–५, च्यासिङखर्कमा काठमाडौंका एक व्यवसायीले ठूलो ग्रेनाइट खानी सञ्चालन गर्न साझेदार खोजिरहेको सुनाए। ती व्यवसायी थिए, थईन्द्र रिजाल।
कहाँ एग्रो-टुरिज्म, कहाँ ग्रेनाइट उद्योग! तर त्यसमा पनि मनग्गे रोजगारी सिर्जना हुन्छ भन्नेमा उलाई विश्वस्त गराइयो। मुनाफामा त आकाश–जमीन छँदै थियो। मुनाफाले पहिलो महत्त्व पाउने नै भयो।
१८ हजार रुपैयाँमा स्कार्पियो जीप रिजर्भ गरेर तत्कालै बेथानचोक पुगेका उनलाई च्याल्टी खोला आसपासदेखि माथि डाँडासम्म ग्रेनाइट उत्खनन गर्न सकिने ठाउँ देखाइयो। त्यो वेलासम्म ‘काठमाडौंका ठूला व्यवसायी’ ले भेट दिएका थिएनन्।
अर्को दिन रिजालले हात्तीसार, काठमाडौंको नेपाल हाउस रेस्टुरेन्टमा बोलाए। उत्तमकुमार गौतम पनि उनीसँगै थए। नेपालका खानी र बहुमूल्य पदार्थबारे कुनै पनि खनिजविद्भन्दा कम नलाग्ने रिजालले च्यासिङखर्कको ग्रेनाइट भण्डारबारे यति राम्ररी बताए कि राई मन्त्रमुग्ध भए।
उनले उत्खनन हुन सक्ने ग्रेनाइटको अनुमानित परिमाण, लागत र मुनाफाबारे विज्ञ टोलीको प्रतिवेदनसँगै प्रशोधनपछि उत्पादन हुने ग्रेनाइटको नमूना पनि थमाए। ‘एलआर मिनरल्स प्रालिका लागि तयार गरिएको’ २२ पेजको सम्भाव्यता अध्ययन प्रतिवेदनमा ६६ अर्ब ४८ करोड रुपैयाँ नाफा हुने उल्लेख थियो (हे. प्रतिवेदन)।
अब राईले उक्त खानीको लाइसेन्स दुई करोड रुपैयाँमा किन्ने ‘डिल’ भयो। राईले २५ लाख रुपैयाँको चेक त्यही वेला काटिदिए। बैना दिएको ६ महीनाभित्र थप ७५ लाख रुपैयाँ बुझाएपछि लाइसेन्स हस्तान्तरण हुने तय भयो।
“७५ लाखसँगै तीन महीनाभित्र साटिने गरी एक करोड रुपैयाँको चेक दिनुपर्ने लगायत सातबुँदे करार सम्झौतामा २०८० वैशाख १७ गते हस्ताक्षर भयो,” राई भन्छन्, “लाइसेन्स रिजालकै समूहकी चण्डेश्वरी केसीको नाममा थियो।”
इन्द्रकुमार राईले ग्रेनाइट खानीको लाइसेन्स लिने ‘डिल’ गरेको खुश खबरी फोनबाट सुनाउँदा हङकङमा रहेकी श्रीमती खुशी भइनन्। पितापुर्खाको पालादेखि गरिआएको खेतीसँग जोडिने होटल व्यवसाय बाहेक थाहै नपाएको अरू क्षेत्रमा नलाग्ने सल्लाह उनले दिइन्।
“मैले नयाँ क्षेत्रमै गरेर देखाउने अड्डी लिएपछि श्रीमतीसँग ६/७ महीना ठासाकठुसुक पर्यो,” इन्द्रकुमार भन्छन्, “त्यसले गर्दा नेपालको मेरो खातामा पैसा आउन ढिला भयो।”
यता रिजालले सम्झौता अनुसार ६ महीनाभित्र ७५ लाख रुपैयाँ जम्मा गर्न दबाब दिन थालेपछि राईले भक्तपुरको सिपाडोलमा रहेको चार आना दुई दाम जग्गा प्रतिआना १९ लाखका दरले ७८ लाखमा नामसारी गरिदिए।
“मालपोतमा कम मूल्य देखाए थोरै राजस्व लाग्छ भने,” राई भन्छन्, “तर मैले देशलाई नठग्ने अडान लिएपछि कानून अनुसार ७८ लाखकै राजस्व आठ लाख रुपैयाँ आधा–आधा तिरियो।”
थईन्द्रले जग्गा नामसारी भएको भोलिपल्ट खानी तथा भूगर्भ विभाग गएर लाइसेन्स नामसारी गरिदिने बताउँदै तीन महीनापछि दिनुपर्ने ९६ लाख रुपैयाँको चेक सोही दिन काटिदिन आग्रह गरे। इन्द्रकुमारले खाता रित्तो रहेको बताउँदा उनले ‘पैसा आउँदै गर्छ, चेक चाहिं काटिदिन’ भने।
“हामीबीच आत्मीयता र विश्वास यति बढेको थियो कि मैले पैसा नभए पनि चेक दिएँ,” इन्द्रकुमार भन्छन्।
त्यसको दुई महीनापछि २०८० पुसमा थईन्द्रले व्यक्तिको नाममा खानीको लाइसेन्स नामसारी नहुने भएकाले स्वामित्व हस्तान्तरणका लागि कम्पनी चाहिने बताए। जे गर्नु छ देशमै गर्ने मनसुवा राखेर नेपाल फर्केका इन्द्रले कृषि, होटल, रेस्टुरेन्ट चलाउन जेएलके इन्भेस्टमेन्ट प्रालि दर्ता गरिसकेका थिए, त्यही कम्पनीको नाममा सारिदिन भने।
त्यसपछि तर्किन थालेका थईन्द्रले एकल स्वामित्वको कम्पनीमा खानीको लाइसेन्स हस्तान्तरण गर्न नमिल्ने कानून रहेछ भन्दै अर्को अत्तो थापे। कम्पनीलाई बहुल स्वामित्वको बनाउन भन्दै उनैले बोलाएको वकीलले मागेको ६५ हजार खर्च इन्द्रले खुरुक्क दिए।
अब च्यासिङखर्कको ग्रेनाइइट उद्योगको लाइसेन्स जेएलकेको नाममा आयो भनेपछि इन्द्रले अनौपचारिक छलफलका लागि २०८० माघ ६ गते बिहान थईन्द्र, बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारी, वडा नम्बर ५ का अध्यक्ष राजकुमार वाइबा र पालिकाका प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीलाई भक्तपुरको जर्मन होम्स हस्पिटालिटीमा निम्त्याए, तर थईन्द्र आएनन्।
सम्झौताको ६ नम्बर बुँदामा रहेको ग्रेनाइट खोजतलास गर्ने क्रममा कागजात तयार गर्ने, कानूनी प्रक्रियाको जटिलता र उल्झनमा पहिलो पक्ष (थईन्द्र रिजाल)ले सहयोग गर्ने शर्त अनुसार छलफल राखेको थिएँ,” इन्द्र भन्छन्, “त्यसअघि रातबिरात भए पनि आउने, जति वेला सोध्यो उति वेला यसरी काम गर्ने भनेर सल्लाह दिने गरेका उनी आएनन्।”
“कसैले कानून अनुसार ग्रेनाइटको काम गर्दा पालिकालाई पनि राजस्व आउने भएकाले हामीले सहजीकरण गरिदिने भएका थियौं, नीति पनि बनाएका थियौं,” गाउँपालिका अध्यक्ष अधिकारीले हिमालखबरसँग भने, “त्यसैले भक्तपुरको जर्मन होम्स गएका थियौं, तर कुराकानी खासै उपलब्धिपूर्ण भएन।”
लाइसेन्स नै नक्कली
थईन्द्र नआएपछि उपलब्धिपूर्ण जमघट गराउन नसकेका इन्द्र त्यही दिउँसो खानी तथा भूगर्भ विभाग पुगे। त्यसअघि थईन्द्रले विदेश बसेर आएको व्यक्तिले खानीमा लगानी गर्न लागेको कर्मचारीले चाल पाए भने ‘काम बिग्रने’ भन्दै विभाग नजान भनिरहन्थे।
थईन्द्रको व्यवहार पूरै बदलिएपछि विभाग पुगेका इन्द्रले त्यहाँ विभिन्न सूचनासँगै वरिष्ठ खानी इन्जिनीयर केके झा र भूगर्भविद् बलराम कार्कीको टीमले तयार गरेको भौगर्भिक प्रतिवेदन पनि पाए, जुन पढेर उनी छाँगाबाट खसे झैं भए।
२०८० फागुनमा तयार गरिएको प्रतिवेदनमा च्याल्टी खोलामा ग्रेनाइट भए पनि त्यो लाइसेन्स प्राप्त क्षेत्रभित्र नपर्ने, अनुमति लिएको स्थानमा मानव बस्ती, स्कूल लगायत भौतिक संरचना रहेकाले ढुंगा खानी चलाउन उपयुक्त नहुने उल्लेख छ। २०८० असोजमा चण्डेश्वरी केसीको नामबाट विभागमा बुझाइएको प्रगति प्रतिवेदनमा उल्लिखित कुराहरू स्थलगत अध्ययनमा नदेखिएको समेत उक्त प्रतिवेदनमा छ।
खानी तथा खनिज पदार्थ नियमावलीको नियम १९ मा राष्ट्रिय तथा सार्वजनिक हित तथा सुरक्षाका लागि छुट्याइएको स्थान र प्राचीन स्मारक, शहर, चिहान, मसानघाट, सार्वजनिक बाटो, घाट, बाँध, पैनी, पाइपलाइन, किल्ला, गढी, छाउनी, मन्दिर, मस्जिद, गिर्जाघर, कारखाना आसपासका ५० मिटरभित्र उत्खनन गर्न नपाउने व्यवस्था छ। यो कानूनी व्यवस्था अनुसार समेत ग्रेनाइट उत्खनन गर्न नमिल्ने प्रतिवेदनमा छ।
“मलाई त च्याल्टी खोला आसपास र माथि डाँडामा पनि ढुंगा निकाल्ने भनेर देखाइएको थियो,” इन्द्र भन्छन्, “तर लाइसेन्स लिएको ठाउँ त गाउँ पो रहेछ। स्कूल र वडाध्यक्ष राजकुमार वाइबाको घर त्यहीं रहेछ।”
आफू ठगको फेला परेको चाल पाएपछि फेरि खानी विभाग पुग्दा उनले थईन्द्रको अर्को बदमासी चाल पाए। उनले जेएलके कम्पनीमा चण्डेश्वरी केसीको नाममा १० प्रतिशत शेयर कायम पनि गरेका रहेछन्।
त्यसपछि इन्दले उक्त शेयरको समेत हिसाब जोडेर आफ्नो पैसा र जग्गा फिर्ता मागे। त्यसको बदलामा थईन्द्रले ९६ लाख रुपैयाँको चेक नसाटिएको भन्दै काठमाडौं जिल्ला अदालतमा चेक अनादरको मुद्दा हाले, २०८० माघ १८ गते। न्यायाधीश कृष्णप्रसाद शर्मा नेपालको इजलासले यही मंसीर २ गते पक्षमा फैसला सुनायो।
“सामान छ भनेर मैले चेक दिएको हो। तर सामान नै नभएको यो मुद्दासँग जोडिएको ठगीमा अनुसन्धान भइरहेको बेहोरा अदालतले प्रहरीबाट झिकाएको कागजातमै छ,” इन्द्र भन्छन्, “अदालतले यो जान्दाजान्दै चेकको मुद्दा मात्रै देख्यो, ठगी देखेन।”
इन्द्रकुमारले थईन्द्र विरुद्ध ठगीको जाहेरी दिए/नदिएकोबारे अदालतले गत भदौ ११ गते जवाफ माग्ने आदेश दिएको थियो। कात्तिक ९ गते प्रहरीले जाहेरी दर्ता भएर अनुसन्धान भइरहेको जवाफ अदालतलाई दिएको थियो ।
त्यसपछि इन्द्रको न्यायका लागि दौडधूप शुरू भयो। उनी २०८० चैतमा काठमाडौं जिल्ला प्रहरी परिसरमा उजुरी लिएर पुगे, तर दर्ता भएन। प्रहरीले थईन्द्रलाई बोलाएर छलफलसम्म गरायो। लाइसेन्सप्राप्त क्षेत्रमा ग्रेनाइट रहेको प्रमाणित गर्न तीन दिन समय मागेर उम्किएका थईन्द्र त्यसपछि फर्किएर आएनन्।
थईन्द्र सम्पर्कमै नआएपछि इन्द्र फेरि २०८१ वैशाख ५ गते जाहेरी लिएर प्रहरीकहाँ पुगे। प्रहरीले फेरि दर्ता गर्न मानेन। प्रहरीले जाहेरी लिन नमाने सरकारी वकीलको कार्यालयमा सिकायत गर्न पाउने कानूनी व्यवस्था छ। सरकारी वकीलको कार्यालयले उनको जाहेरी दर्ता गरेर अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दियो।
त्यसपछि पनि सरकारी वकीलको कार्यालयको पत्र नै हराएको भनेर प्रहरीले आलटाल गर्यो। सरकारी वकीलको कार्यालयको निर्देशन पाएको करीब एक महीनापछि २०८१ असार १७ गते जाहेरी दर्ता भए पनि लामो समय अनुसन्धान अघि बढेन।
जाहेरीसँगै चण्डेश्वरी केसीको नामबाट लाइसेन्स जेएलके कम्पनीमा नामसारी भएको, खानी सम्बन्धी ऐन, नियममा लाइसेन्स बिक्रीवितरणको व्यवस्था नरहेको र ठगीको कार्यक्षेत्र आफ्नो नभएको व्यहोरा खुलाइएको खानी विभागको पत्र पनि बुझाइएको थियो।
तर प्रहरी महानिरीक्षक (आईजी) वसन्तबहादुर कुँवरले परिसरलाई ‘जाहेरीबारे केही नगर्न’ भनेपछि अनुसन्धान रोकिएको एक प्रहरी अधिकृत बताउँछन्। “पीडित जति धाए पनि आईजीबाटै दबाब आएपछि ‘क्रस’ गरेर जाने अवस्था रहेन,” ती अधिकृत भन्छन्।
आईजी कुँवरको परिवार नेपाली कांग्रेससँग आबद्ध छ। उनका सहोदर दाजु बाबुराम कुँवर राष्ट्रपति रामचन्द्र पौडेलका कानूनी सल्लाहकार हुन्। उनी यसअघि सुशील कोइराला प्रधानमन्त्री छँदा २०७० फागुनदेखि २०७२ असोजसम्म महान्यायाधिवक्ता थिए।
पूरै सिध्याउने चाल
दिनैपिच्छे धाउँदा समेत जाहेरी दर्ता नभइरहेकै अवस्थामा इन्द्र अति जरूरी परेर हङकङ फर्किए। उनी हङकङमै छँदा ह्वाट्सएपमा एउटा पत्रको फोटो आयो, जुन पढेर उनका नौ नाडी गले।
पत्रमा इन्द्रले अर्कैको नामबाट नेपाली नागरिकता लिएको भन्दै उजुरी परेपछि छानबिन भइरहेको उल्लेख थियो। जिल्ला प्रशासन कार्यालय, सुनसरीमा काठमाडौंका उत्तमकुमार गौतमले उजुरी हालेको कागजातबाट खुल्छ।
थईन्द्रका साझेदार उत्तमकुमारले के गुरुङको आईडीबाट ह्वाट्सएपमा पठाएको सन्देश पढेपछि इन्द्रले केही महीनाअघि धुम्बाराहीको थकाली रेस्टुरेन्टमा भएको जमघट सम्झिए, जहाँ थईन्द्र, उनका छोरा सुयज्ञ, उत्तमकुमार र उनी थिए।
खानपिन चलिरहेकै वेला थईन्द्रले इन्द्रलाई बाहिर लगेर ‘इन्द्रजी, तपाईं गुरुङको छोरा, राईको कागजपत्र बोकेर हिंड्नुभएको छ, नेपालमा ब्ल्याकमेल गर्न सक्छन् है’ भनेका थिए। इन्द्र सम्झन्छन्, “नेपालमा मेरो कोही शत्रु नरहेको र कसैको कुभलो नचिताएकाले त्यस्तो नहोला भनेको थिएँ।”
त्यसको १५ दिनपछि उत्तमकुमारले फोन गरेर इन्द्रलाई आमाको नागरिकता मागेका थिए। उनी भन्छन्, “एउटा खानीको स्वामित्व मिलाउन तपाईंको आमाको नाममा राख्नुपर्ने भयो, थईन्द्र दाइले तपाईंलाई हाम्रो टीमको विश्वासिलो सदस्य भनेर त्यसो गर्न आँट्नुभएको हो भनेको थियो।”
त्यसपछि उनले आमाको नागरिकता पठाइदिए। अर्को दिन उत्तमले बाउपट्टिको बाजेको पनि नाम मागे, इन्द्रले सहजै पठाइदिए। त्यतिखेर आफ्नो बारे सबै सूचना बटुलेको कुरा इन्द्रले ह्वाट्सएपमा आएको पत्र पढेपछि बुझे। त्योसँगै आफूलाई मटियामेट पार्न लागेको पनि पत्तो पाए।
सन्त गुरुङबाट इन्द्र राई
मोरङको सुन्दरहरैंचामा जन्मिएका इन्द्रकुमार राईको खास नाम सन्तकुमार गुरुङ हो। ब्रिटिश–गोर्खा लाहुरे बन्ने उनको चाहना थियो, तर भर्ती हुन सकेनन्। भारतीय सेनामा छानिए, तर गएनन्।
सुनसरीको बक्लौरीकी एक महिलासँग सन्तकुमारको पारिवारिक चिनजान थियो। उनी ब्रिटिश–गोर्खा सैनिक विधवा थिइन्। हङकङमा जन्मेको उनको एक छोरा १३/१४ वर्षको उमेरमा बितेको थियो।
सन्तले उनै आमाको हङकङमा जन्मेको छोरो बनेर २०५४ सालमा सुनसरी जिल्ला प्रशासनबाट नागरिकता लिए। त्यतिखेर अरूको आईडी मिलाएर हङकङ जाने लहर थियो। सन्त पनि इन्द्रकुमार राई बनेर गए।
सन् १९९७ मा बेलायतले हङकङ छाड्दा भूतपूर्व गोर्खा सैनिक परिवारलाई आवासीय सुविधा दिएको थियो, जुन नेपालमा ‘हङकङ आईइी’ का नामले चिनिन्छ।
त्यसबाट धेरैका लागि हङकङ आकर्षक रोजगारीको गन्तव्य बनेपछि तत्कालीन नेपाल सरकारले पनि कागजपत्र मिलाउन नीति खुकुलो बनाइदिएको थियो। त्यसपछि सन्तकुमारले जस्तै अरूको आईडी (हङकङमा जन्मेको प्रमाणपत्र) किनेर धेरै नेपाली हङकङ पुगे, जुन ‘ओपन सेक्रेट’ बनेको थियोे।
इन्द्रकुमार राई बनेर हङकङ पुगेका सन्तकुमार गुरुङले २६ वर्षसम्म दायाँबायाँ केही नसोची मिहिनेत गरे। त्यस अवधिमा उनले रेस्टुरन्ट, निर्माण क्षेत्र, सुरक्षा गार्ड र ड्राइभरको काम गरे। सन् २००९ देखि २०१३ सम्म ‘शिपिङ टाइकून’ तुङ ची ह्वा परिवारको कार चलाएको उनी बताउँछन्। हङकङको ठूलोमध्येको एक व्यापारिक घराना हो।
तुङ ची ह्वा हङकङ द्वीप चीन अधीन भएपछिको पहिलो कार्यकारी प्रमुख छानिएका थिए। उनको परिवारको ‘ड्राइभर कम बडीगार्ड’ बनेको अवधिमै नेपाल फर्केर केही गर्ने योजना बनाएको इन्द्रकुमार बताउँछन्, जो अहिले ठगीको शिकार बनेर न्यायको खोजीमा भौंतारिन विवश छन्।
ठगीको पासोमा परेर चेक अनादर र नागरिकता कीर्ते मुद्दा खेपिरहेका उनको जाहेरी भने प्रहरी कार्यालयमा कारबाहीको पर्खाइमा छ। त्यसमाथि देशविहीन हुनुको पीडा छँदै छ।
घातमाथि प्रतिघात
आफू विरुद्ध ठगीको जोहेरी दिएर इन्द्र हङकङ फर्किएपछि थईन्द्र रिजालले नेपालमा नागरिकता कीर्तेको मुद्दा हाले। “उसले मलाई हङकङमै रोक्न नागरिकता केश लगाएर पक्राउ पुर्जी जारी गरायो, तर म नेपाल फर्किएर जिल्ला प्रशासन कार्यालय सुनसरी गएर १९ दिन हिरासतमा बसें,” इन्द्र भन्छन्।
सुनसरी जिल्ला अदालतले तोकेको साढे तीन लाख धरौटीमा छुटेका उनको इन्द्रकुमार राई नामको नेपाली नागरिकता रहेन। उनले त्यो नामबाट नेपालमा जोडेका सम्पत्ति र पासपोर्ट पनि रोक्का भएका छन्।
“मलाई थईन्द्रले ठगेन मात्र, अभियुक्त र अनागरिक बनाएको छ। हङकङ फर्कने बाटो पनि बन्द भयो,” उनी भन्छन्, “सन्तकुमार गुरुङको नामको नागरिकता कायम गरिदिन निवेदन दिएको, तर कहिले हुन्छ थाहा छैन।”
उनका श्रीमती, छोरा र छोरी हङकङमै छन्। परिवारसँग भेट्न पाउन उनलाई असम्भव जस्तै बनेको छ। “मेरो जीवन अलपत्र परेको छ,” उनी भन्छन्।
प्रहरीले थईन्द्र विरुद्धको जाहेरी बेवास्ता गरेपछि तिहारअघि उनी दुःख पोख्न गृहमन्त्री रमेश लेखक समक्ष पुगे। गृहमन्त्रीको सचिवालयले काठमाडौं परिसरका प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीलाई फोन गरिदियो। त्यसपछि यो केसमा प्रहरीको चासो पलाएको छ।
प्रहरीले बुझ्दा खानी विभागमा चण्डेश्वरी केसीले बुझाएको स्थलगत प्रतिवेदन नै झूटो भएको थाहा भएको छ। र पनि, ठगीमा आरोपित थईन्द्र रिजाल विरुद्ध पक्राउ पुर्जी जारी हुन सकेको छैन।
एकपछि अर्को शिकार
खनिजजन्य पदार्थको व्यवसाय गर्ने नाममा थईन्द्रबाट ठगिएको इन्द्रकुमार एक्ला होइनन्, सबभन्दा खराब अवस्थामा पुर्याइएका पात्र मात्र हुन्। थईन्द्रले खानीमा ठगी शृंखला चलाएको दुई दशक पुग्न लागेको यो रिपोर्टिङको दौरान बुझियो।
राजनीतिबाट ‘उद्योग’ मा आएका थईन्द्रले २०६७ सालमा जागृति इन्डस्ट्रीज नामक कम्पनी खोलेर सिन्धुपाल्चोकको साविक शिखरपुर गाविसमा ४.९५ वर्गकिलोमिटर जग्गामा क्वार्जाइट खोजतलास गर्ने लाइसेन्स निकाल्छन्। र, धनुषाका मनोज शाहलाई पहिलो पीडित बनाउँछन्।
“असाध्यै सुकिला भएर हिंड्थे, मानव जातिकै भलाइ हुने आध्यात्मिक कुरा गर्थे, परिवारकै सदस्य जस्तो व्यवहार गर्थे। मोटरसाइकलको शोरूम चलाइरहेको मलाई त्यसरी प्रभावमा पारेर आफ्नो कम्पनीमा आधा शेयर लिन भने,” शाह सम्झन्छन्।
त्यसका लागि रिजालले शाहबाट पहिलो पटक २०६७ माघमा तीन लाख रुपैयाँ लिए। त्यसपछि भूगर्भविद्को खर्च, भौगर्भिक प्रतिवेदन लिन, परीक्षणका लागि ढुंगा भारत पठाउन, साइटमा जान लगायत खर्च लिइरहे।
थईन्द्रकी कान्छी पत्नी लक्ष्मी रिजालले २०६९ माघ ४ गते हस्ताक्षर गरेको कागजमा उनीहरूले शाहबाट पटक–पटक गरेर कुल १२ लाख रुपैयाँ लिएको देखिन्छ।
“र पनि उनले शेयर कानूनी रूपमा दिएनन्। पैसा फिर्ता माग्दा उल्टै धम्क्याउन थाले, देवता जस्ता देखिएका मान्छे दानव निस्किए,” शाह भन्छन्, “एक फोनमा सिध्याउन सक्छु भन्न थालेपछि डर लागेर पैसा माया मारिदिएँ।”
धनुषाका मनोज शाहलाई पन्छाएपछि २०६९ सालको अन्तिमतिर थईन्द्रले ५० लाख रुपैयाँ लिएर इन्जिनीयर भूषण खरेललाई आधा शेयर बेचे। त्यसपछि कम्पनीका लागि भन्दै थईन्द्रले पैसा मागिरहे, खरेलले कुल ७० लाख बुझाए।
अन्त्यमा ‘यो ठीक मान्छे छैन’ भन्ने परेपछि खरेलले कम्पनी छाड्ने भए। उनको शेयर मूल्यांकन एक करोड २५ लाख गरेर त्यसको ३५ प्रतिशत उमाकान्त सुवेदी भन्ने व्यक्तिलाई बेच्ने ‘प्रबन्ध’ थईन्द्रले नै मिलाउने सहमति भयो। तर सुवेदीले दिएको चेक साटिएन भन्दै थईन्द्रले आफूलाई पैसा नदिएको खरेलले हिमालखबरसँग बताए।
“त्यही वेला म कामविशेषले अस्ट्रेलिया गएँ। फर्किएर आउँदा मेरो बाँकी १५ प्रतिशत शेयर पनि नक्कली कागजात बनाएर थईन्द्रले आफ्नो नाममा पारेको थाहा पाएँ,” खरेलले भने, “अनि यस्तो ठगले थप तनाव दिन्छ भनेर पछि लाग्न छोडियो।”
त्यतिन्जेल बालकृष्ण पंगेनीलाई पनि थईन्द्रले आफ्नो कम्पनीमा जोडेका थिए। “हामी व्यापारी धेरैजसो विश्वासमा कारोबार गर्छौं,” थईन्द्रलाई २७ लाख दिएको बताउने पंगेनी भन्छन्, “पैसा लिएर शेयर दिन आनाकानी गरेपछि मैले उसको संगतै छोडिदिएँ।”
खरेल र पंगेनीले थईन्द्रको ठगी विरुद्ध काठमाडौं प्रहरीमा जाहेरी चाहिं दिएका थिए, २०७४ मा। त्यस वेला एसएसपी छविलाल जोशी (हाल सहकारी ठगीमा प्रहरी हिरासतमा रहेका पूर्व डीआईजी) काठमाडौं प्रहरी प्रमुख थिए।
“जोशीले थईन्द्रलाई बोलाएर छलफल गराए, तर जाहेरीलाई अगाडि बढाएनन्,” खरेल भन्छन्, “प्रहरीले नै चासो नलिएपछि ठगको पछि लाग्नुभन्दा आफ्नो बाटो लाग्नु ठीक सोचियो।”
थईन्द्रले त्यसपछि पूर्व प्रधानसेनापति छत्रमानसिंह गुरुङका छोरा प्रबल र बुटवलका सुरेशजंग रायमाझीलाई आफ्नो ‘खानी उद्योग’ मा साझेदार बनाए। थईन्द्रको ठगी धन्दा थाहा पाएपछि भने आफूहरू अलग भएको रायमाझीले बताए।
उनले लगानी रकम खुलाउन चाहेनन्, तर त्यो रकम फिर्ता लिएरै कम्पनी छाडेको बताए। “सोचे जस्तो नभएपछि हामीले छाडेका हौं,” उनले भने। थईन्द्रबाट रकम फिर्ता पाउने सम्भवतः गुरुङ र रायमाझी मात्र हुन्।
थईन्द्रले नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकाललाई पनि कुनै वेला साझेदार बनाएका थिए। उनले आफूलाई झुक्यानमा पार्न खोजेको ढकालले बताए।
“हेटौंडाको खानीमा साझेदारी गर्ने भन्दै आएर मलाई केही रकम खर्च गराए,” ढकाल भन्छन, “तर मान्छे ठीक किसिमको नभएको थाहा पाएर मैले छाडिदिएँ।”
अर्को कम्पनी
अहिले जागृति इन्डस्ट्रीज जीवन बुढाथोकी समूहको हातमा छ। सधैं आफूहरूलाई मात्र पैसा हाल्न लगाएपछि थईन्द्रलाई कम्पनीबाट अलग पारेको बुढाथोकीले बताए।
जागृतिको स्वामित्व गुमाएपछि थईन्द्रले ओमकृष ग्रेनाइट कम्पनी खोलेर खानी विभागबाट लाइसेन्स लिएका छन्। कम्पनी सञ्चालकमा एक जना बाहेक सबै उनकै परिवारका रहेको ओमकृषको वेबसाइटले देखाउँछ।
त्यस अनुसार थईन्द्र संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत छन् भने छोरा सुयज्ञ रिजाल उपाध्यक्ष, जेठी पत्नी शान्ता केसी सहसंस्थापक, अमेरिका बस्ने अर्का छोरा सुयश रिजाल अन्तर्राष्ट्रिय बजार निर्देशक।
कम्पनीको अन्तर्राष्ट्रिय प्रतिनिधि दीपाञ्जली बुढाथोकी रिजाल अमेरिकामै बस्ने थईन्द्रकी बुहारी हुन्। उत्तमकुमार गौतम प्रबन्ध निर्देशक छन्, जो यो कम्पनीमा थईन्द्रको परिवार बाहेकका एक मात्र व्यक्ति हुन्।
ओमकृषले २०७७ सालमा मकवानपुरको भीमफेदीमा ग्रेनाइट खोजतलासको लाइसेन्स लिएको थियो। भीमफेदीमै थईन्द्रको नाममा ग्रेनाइट खोजतलासको अर्को लाइसेन्स छ भने सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा उनका छोरा सुयज्ञको नाममा क्वार्जाइट खोजतलासको लाइसेन्स छ।
काभ्रेको बेथानचोकमा झूटो प्रतिवेदन दिएर खोजतलास गरिरहेको चाल पाए पनि खानी विभागले थईन्द्र रिजाल संलग्न अरू खानीको कागजपत्र छानबिन गरेको छैन।
बेथानचोकमा रिजालले गलत गरेको भनेर प्रहरीलाई लेखिसकेको खानी विभागको भूविज्ञान महाशाखाका सिनियर डिभिजनल सिस्मोलोजिस्ट ठाकुरप्रसाद कँडेलले बताए। उनी संलग्न अन्य क्षेत्रको लाइसेन्सको विषयमा पनि अब निगरानी हुने उनले जनाए।
“खानी खोजतलासको लाइसेन्सवाला थुपै हुन्छन्, जनशक्ति अभावमा सबैलाई नियमन गर्न गाह्रो छ,” कँडेल भन्छन्, “लाइसेन्सवालाले परामर्श संस्थाद्वारा तयार पारेको रिपोर्टलाई विश्वास गरिंदै आएको थियो।”
कानूनले भने खोजतलास अनुमति पाएकाहरूको कामबारे नियमनको जिम्मा विभागलाई दिएको छ। खानी तथा खनिज पदार्थ ऐनको दफा २३ मा खनिज कार्य भए/नभएको निरीक्षण वा जाँचबुझ गर्न विशेषज्ञ खटाउन सक्ने व्यवस्था छ। खोजतलास र उत्खननको कामलाई ऐनमा खनिज कार्य भनी परिभाषित गरिएको छ।
कानूनले अधिकार दिए पनि विभागले आफ्नो दायित्व पूरा नगरेको यो घटनाबाट देखिएको छ।
खानी तथा खनिज पदार्थ नियमावलीको नियम ५३ क मा विभागको अनुमतिमा खोजतलास वा उत्खननको अनुमतिपत्र नामसारी हुने व्यवस्था भए पनि लाइसेन्स बिक्री गर्न पाइने/नपाइने उल्लेख छैन। प्रहरीलाई विभागले पठाएको पत्रमा भने लाइसेन्स बिक्री गैरकानूनी भएको उल्लेख छ।
इन्द्रकुमार राईले भने थईन्द्र रिजाल समूहकी चण्डेश्वरी केसीको नाममा रहेको लाइसेन्स दुई करोड रुपैयाँमा किनेको कागजातबाट देखिन्छ। किनबेचपछि लाइसेन्स नामसारी हुँदा समेत आफैंसँग रहेका कागजात नक्कली भएको विभागले भेउ पाएन।
सरकारी निकायले भेउ पाएपछि पनि कारबाही नहुनुको भेउ आफूले नपाएको इन्द्रकुमार बताउँछन्।
रिजालको राजनीतिक सम्बन्ध
मेलम्ची–१०, सिन्धुपाल्चोकका थईन्द्र रिजाल अहिले सत्ताधारी दल नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि छन्। उनी गिरिजाप्रसाद कोइराला (जीपीके) फाउन्डेशन, सिन्धुपाल्चोकका संस्थापक संयोजक समेत हुन्।
यो कुरा फेसबूक पेजमा खुलाएका उनले आफू फाउन्डेशनकी अध्यक्ष सुजाता कोइराला, नेताद्वय शेखर कोइराला र शशांक कोइरालासँग निकट सम्बन्धमा रहेको बताउने गरेका छन्। गृहसचिव गोकर्णमणि दुवाडीसँग पनि उनले राम्रो सम्बन्ध बनाएको सिन्धुपाल्चोक कांग्रेसका एक नेताले बताए।
थईन्द्र नेपाली कांग्रेस निकट प्रजातान्त्रिक कानून व्यवसायी संघ (डीएलए)का अध्यक्ष सीताराम केसीलाई लिएर काठमाडौं प्रहरी कार्यालयमा आफू विरुद्ध इन्द्रकुमार राईले दिएको जाहेरीबारे बुझ्न आएको प्रहरी स्रोत बताउँछ।
शुरूमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा रहेका थईन्द्र त्यसपछि क्रमशः नेकपा (माओवादी) र कांग्रेसमा लागेका थिए। कुनै वेला उनलाई कानूनी सल्लाह दिएका अधिवक्ता याम भट्टराईका अनुसार थईन्द्र २०३९ सालमा सिन्धुपाल्चोकको शिखरपुर गाउँ पञ्चायतको प्रधानपञ्च चुनिएका थिए।
दुई श्रीमती रहेका थईन्द्रले केही समय बीएम ओभरसिज नामक मेनपावर कम्पनी समेत चलाएका थिए, जुन पछि अनुप जंगमलाई बेचे। थईन्द्रले २५ लाख रुपैयाँ ऋण नतिरेर सन् २००८ मा मेनपावर कम्पनी भिडाइदिएको जंगम बताउँछन्।
“एक महीनालाई भनेर लगेको ऋण आठ महीनासम्म नतिरेपछि मैले बाध्य भएर मेनपावर लिनुपर्यो,” उनले भने, “म अर्कै क्षेत्रको मान्छे, यत्रो वर्ष मेनपावर चलाएर बस्नुपर्यो, जुन हालसालै बेचेर मुक्त भएको छु।”
थईन्द्रलाई चिन्नेहरूका अनुसार उनी खानीका सम्भावित लगानीकर्ता पहिचान गरेर ठूल्ठूला होटल–रेस्टुरेन्टमा भेट्न बोलाउँछन्। आफू ठूलो व्यवसायीको झल्को दिने गरी ठाँटिएर जान्छन् अनि रामायण, गीताका श्लोक र बुद्धवाणीहरूको उद्धरण सहित कुराकानी गर्छन्।
थईन्द्र रिजाल फाउन्डेशन नामक फेसबूक पेजमा पनि यस्ता वाणीहरूको उद्धरण गरिएका स्टेटस देखिन्छन्। यस्ता सत्वाणी छर्दै उनले गरेको ठगीे चाहिं दशकौं छोपिएको छ।
आर्थिक अपराध भएकाले अनुसन्धानका जटिलता पहिल्याउन केही समय लाग्ने काठमाडौं प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त रजौरेले हिमालखबरलाई बताए। उनले भने, “पीडितलाई न्याय दिने गरी अनुसन्धान भइरहेछ।”
तर प्रहरीको केही व्यवहारले न्यायको बाटामा तगारा देखाएको थईन्द्रका पछिल्ला पीडित सन्त/इन्द्रकुमार बताउँछन्। न्यायप्रतिको आशा भने जीवितै रहेको उनले बताए।
“नरनाता, साथीभाइको माझमा म फलेको रूख जस्तो थिएँ। आपत्विपत्मा पर्दा मकहाँ आउनेहरू धेरै थिए। आज त्यो रूखलाई खरानी पार्न खोजिएको छ,” उनी भन्छन्, “यो अवस्थाबाट उठ्न चाहन्छु। जति चाँडो न्याय मिल्छ, उति छिटो उठ्न सक्थें।”