साइबर क्राइमको आरोपमा प्रसाईं पक्राउ
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ।
प्रसाईंलाई साइबर क्राइममा अनुसन्धान गर्न मंगलबार भक्तपुरबाट पक्राउ गरिएको सीआईबीका प्रवक्ता होविन्द्र बोगटीले बताए। थुनामा राखेर अनुसन्धानको अनुमति लिन प्रसाईंलाई अदालत लैजान लागिएको बोगटीले जानकारी दिए।
प्रसाईंले सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीको विषयमा कम्बोडियामा लगानी रहेको भन्दै दाबी गरेका थिए। प्रधानमन्त्री अध्यक्ष रहेको पार्टी नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नक्कली कागजात बनाएर भ्रम सिर्जना खोजिएको बताएका छन्।
‘देशको प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिका विरुद्धमा नक्कली कागजात तयार गरी जनतामा भ्रम सिर्जना गर्नु राष्ट्र र जनताका विरुद्धको षड्यन्त्र हो,’ सामाजिक सञ्जाल एक्समा पोखरेलले लेखेका छन्, ‘कुनै पनि समाजका लागि षड्यन्त्र र अराजकता त्यस समाजको भविष्यलाई बर्बाद बनाउने विषवृक्ष हो। यस प्रकारको षड्यन्त्र र अराजकताबाट राष्ट्र र समाजलाई सुरक्षित गर्नु हामी सबैको कर्तव्य हो।’