पूर्व सभामुख ढुंगानाको राजकीय सम्मान सहित अन्त्येष्टि
पूर्व सभामुख दमननाथ ढुंगानाको पशुपतिस्थित आर्यघाटमा राजकीय सम्मान सहित अन्त्येष्टि गरिएको छ।
ढुंगानाको सम्मानमा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो। पार्थिव शरीरमा उनका छोराहरूले दागबत्ती दिएका थिए।
उनलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, उपसभामुख इन्दिरा राना, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आर्यघाट पुगेका थिए।
कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत ढुंगानाको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा मंसीर २ गते निधन भएको थियो।
नेपालमा बहुदलीय व्यवस्था, लोकतन्त्र, शान्ति र मानव अधिकारका पक्षमा जीवनपर्यन्त वकालत गरेका ढुंगानाले मुलुकमा विगतको माओवादी सशस्त्र द्वन्द्व अन्त्य गरी शान्ति बहाली गर्न समेत महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। राजनीतिक क्षेत्रमा देखिएका विकृति र विसंगतिबारे स्पष्ट र खरो प्रतिक्रिया दिंदै आएका उनी संविधान तथा कानूनका ज्ञाता थिए।
२०४८ सालमा काठमाडौं-२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि सभामुख बनेका थिए। नेपालको संसदीय व्यवस्था र प्रजातान्त्रिक मूल्यमान्यतालाई संस्थागत गर्न उनको ठूलो योगदान छ।