ट्रेल दौडमा सुनमायाको सीमापार सफलता
एकपछि अर्को अन्तर्राष्ट्रिय ट्रेल दौडमा नयाँ कीर्तिमान बनाएर जित्दै आएकी नेपाली धाविका सुनमाया बुढा आगामी वर्ष स्पेनमा हुने विश्व प्रतिस्पर्धामा दौडने तयारीमा छिन्।
नेपालकी अल्ट्रा-म्याराथन धावक सुनमाया बुढा एकपछि अर्को इतिहास रचिरहेकी छन्। दुई महीनायता मात्र उनले चीन पुगेर दुई ठूला उपाधि हात पारिसकिन्। १९ अक्टोबरमा ६० किलोमिटरको अल्ट्रा-ट्रेल निन्घाई र २ नोभेम्बरमा १०५ किलोमिटरको साइगु ट्रेल दौड जितेकी उनले यी दुवैमा नयाँ कीर्तिमान समेत बनाएकी छन्।
जुम्लाको किसान परिवारमा जन्मिएकी हुन् सुनमाया। छोरी घरायसी काममै रमाउनुपर्छ, अन्यत्र लाग्न हुँदैन भन्ने पुरुषसत्तात्मक परम्पराकै पालक थिए अभिभावक। उनले दौडको शुरूआत पहिले समाजको त्यही सोचकै विरुद्धमा गरिन्। त्यही संघर्षले आज उनलाई धावन क्षेत्रमा छुट्टै पहिचान दिलाएको छ। जुम्लाको सेरोफेरो मात्र होइन, देशको सीमाबाट समेत बाहिर निस्केर अन्तर्राष्ट्रिय पहिचान बनेको छ। विश्वका प्रतिष्ठित प्रतियोगिताहरूकी उत्कृष्ट धाविका हुन्, आज २६ वर्षीया सुनमाया।
चीनमा भिड्नुअघि उनीसँग यूरोपमा हात परेका केही उपलब्धिको उत्प्रेरणा थियो। २९ अगस्टमा फ्रान्सको आल्प्समा आयोजित प्रतिष्ठित होका यूटीएमबी मोन्ट–ब्लांक दौड सुनमायाका लागि उपलब्धमूलक रहेन। त्यसमा दूरी नै पूरा गर्न सकिनन्। तर ७ सेप्टेम्बरमा स्वीट्जरल्यान्डको स्वीशपिक्स ट्रेल म्याराथनमा महिलातर्फ पहिलो भइन्। पुरुषसँगको तुलनामा पनि दोस्रो स्थानमा रहिन्। १४ सेप्टेम्बरमा इटालीको कुर्मायरमा भएको ३० किलोमिटर दूरीको टीओआरएक्स–२०२४ दौडमा महिलातर्फ सबैलाई उछिनिन्। समग्रमा पनि पाँचौं भइन्। यो आफैंमा कीर्तिमान बन्यो।
सन् २०२४ लाई आफ्ना लागि अद्भुत उपलब्धिको वर्ष बनाएकी सुनमायाको अबको लक्ष्य सन् २०२५ को विश्व पर्वतीय तथा ट्रेल रनिङ च्याम्पियनशिप हो। स्पेनको क्यानफ्रान्क–पिरिनियोसमा सेप्टेम्बरमा हुने यो प्रतियोगितामा सोझै दौडन पाइँदैन, छनोट हुनुपर्छ। छनोटका लागि आवश्यक अंक ‘रनिङ स्टोन्स’ पुर्याउनुपर्ने हुन्छ। यसका लागि यूटीएमबी अन्तर्गत आयोजित ट्रेल रनिङ प्रतियोगितामा देखाएको प्रदर्शनलाई आधार बनाइएको छ। १०० माइल दौडको चार, १०० किलोमिटर दौडको तीन र ५० किलोमिटर दौडको दुई अंक प्राप्त हुन्छ।
छनोटमा प्रतिस्पर्धा यति कसिलो हुन्छ कि एक–एक अंक पनि महत्त्वपूर्ण भइदिन्छ। बुढाले चीनको पहिलो दौडबाट दुई अंक जम्मा गरेकी छन्। अब डिसेम्बरमा थाइल्यान्डको च्याङमाईमा हुने यूटीएमबी १०० किलोमिटर दौडमा सहभागी हुने तयारीमा छिन्।
“यूरोप र चीनमा दौडनुमा धेरै फरक छ,” हालै काठमाडौंमा भएको भेटमा सुनमायाले भनिन्, “चीनमा धेरै साना पहाड भए पनि धावनमार्ग समतल छ। उचाइ पनि समुद्री सतहबाट खासै माथि छैन। मौसम ठिक्कको तातो छ।”
सुनमायालाई निन्घाई दौडपछिको यात्रा सहज रहेन। साइगु ट्रेलको तयारीमा लाग्न जम्मा १३ दिन बाँकी थियो। चोटका कारण दैनिक डेढ घण्टा मात्र अभ्यास गर्न सकिन्। झन् प्रतियोगिताको चार दिनअघि गोलीगाँठोमा असह्य पीडा शुरू भइदियो। चीनको सर्वाधिक प्रतिष्ठित प्रतियोगिता मानिने साइगु ट्रेलमा मुख्यतया चिनियाँ धावकको बाहुल्य रहन्छ। प्रतियोगिताको प्रचारप्रसार वीच्याट र वेइबो जस्ता चिनियाँ सामाजिक सञ्जालमा मात्र गरिने हुँदा अन्तर्राष्ट्रिय धावक कम सहभागी हुन्छन्।
“गोलीगाँठोको पुरानो समस्या दोहोरिएपछि आत्मविश्वास केही कमजोर भयो,” सुनमाया सुनाउँछिन्, “प्रशिक्षकले एउटा दौड सकिए लगत्तै अत्यधिक अभ्यास गर्दा यस्तो समस्या आएको हुन सक्ने बताउनुभयो।”
चोटका कारण केही समय हिंडडुल समेत रोक्न पर्यो। गोलीगाँठोमा तातो र चिसो पानीले सेक्दै मालिस गराइन्। फिजियोथेरापिस्टलाई देखाउँदा पो थाहा भयो– गोलीगाँठोमा केही भएकै रहेनछ। खुट्टाको तल्लो भागको मांसपेशी तन्किएकाले दुखेको रहेछ। कारण जे भए नि शरीर सामान्य स्थितिमा थिएन। तापनि बुढाको टोलीले साइगु ट्रेलमा सहभागी हुने निर्णय लियो। यो प्रतियोगितामा धावकले पहिलो पाँच किलोमिटर पूरा गरेर समापन रेखामा फर्किनुपर्ने र त्यसपछि मात्र बाँकी १०० किलोमिटर दौडनुपर्ने नियम थियो।
“हामीले पहिलो पाँच किलोमिटर पूरा गरेपछि मात्र अगाडि बढ्ने कि नबढ्ने भन्ने निर्णय लिने योजना बनायौं,” उनी सुनाउँछिन्, “शुरू र अन्तिमतिर केही असजिलो भए पनि बाँकी समय दौडिन निकै सजिलो भयो।” अपेक्षा विपरीत बुढाले अद्भुत प्रदर्शन गरिन्। नौ घण्टा ३२ मिनेट ४७ सेकेन्डमा दौड पूरा गर्दै नयाँ कीर्तिमान बनाइन्। दोस्रो स्थान हासिल गरेकी चिनियाँ धाविका टाङ जिन्यान ३० मिनेटभन्दा बढीले पछाडि रहिन्। बुढा प्रतिकिमी औसत पाँच मिनेट २८ सेकेन्डको गतिले दौडिएकी थिइन्। साइगु ट्रेलको आधिकारिक फेसबूक पेजमा सार्वजनिक एक मिनेट लामो भिडियोमा बुढालाई दर्शकले हौस्याइरहेको र विजयरेखा पार गर्दा उनी मुस्कुराइरहेको देखिन्छ।
“चिनियाँ प्रतियोगिताको व्यवस्थापन र त्यहाँका मानिसमा दौडप्रतिको लगाव देखेर म छक्क परें,” उनले अनुभव सुनाइन्, “धावकका लागि चेकपोइन्टमा खाजा र फलफूलको राम्रो प्रबन्ध थियो। दौड सकिएपछि पनि बफे र मालिसको व्यवस्था गरिएको थियो।”
चीनमा उत्कृष्ट प्रदर्शन गरेपछि सुनमायाले अहिले कैलास नामक चिनियाँ कम्पनी र नाइटकोरको प्रायोजन पाएकी छन्। कैलासले पर्वतारोहण र ट्रेल रनिङका सामग्री उत्पादन गर्छ भने नाइटकोरले हेडल्याम्प निर्माण गर्छ। लामो दूरीको रात्रिकालीन दौडका लागि हेडल्याम्प अत्यावश्यक मानिन्छ। यसअघि उनले अर्को ब्रान्ड नर्थ फेसको पनि प्रायोजन पाएकी थिइन्।
यी कम्पनीको प्रायोजनले सुनमायालाई जीवन सहज त बनाइदिएकै छ, पूर्णकालीन अभ्यास गर्ने अवसर समेत दिलाएको छ। “बसोबास, खानपिन र प्रशिक्षणको चिन्ता छैन। दौडका वेला उनीहरूको उत्पादन लगाउने शर्तमा आफूलाई आवश्यक सबै उपकरण, जुत्ता र लुगा पाइरहेकी छु,” उनी भन्छिन्।
सुनमायाले अहिले अस्ट्रेलियाका प्रख्यात ‘इन्डुरेन्स’ दौड प्रशिक्षक एन्डी डुबोइसको मार्गदर्शनमा अभ्यास गर्दै आएकी छन्। हङकङमा रहँदा डुबोइसबारे थाहा पाएकी उनले प्रशिक्षण लिने चाहना दर्शाउँदै तत्काल फेसबूकमा सम्पर्क गरेकी थिइन्। बुढाको विगतको तालीम, खानपान र प्रशिक्षणविधि विस्तृतिमा बुझेपछि डुबोइस तालीम दिन तयार भएका थिए। अहिले उनी बुढाका मुख्य प्रशिक्षक हुन्। हरेक साता अनलाइन भेटघाट हुन्छ। त्यहीं उनी कति समय दौडने, कति दूरी पार गर्ने आदि कुरा सिकाउँछन्। “मेरो तालीम तालिका व्यवस्थित छ, हप्ताको तीन दिन गति बढाउने अभ्यास, दुई दिन उकालो दौड, बुधबार लामो दूरीको दौड र एक दिन ट्र्याकमा २००, ४०० र ८०० मिटरका विभिन्न चरण,” सुनमाया सुनाउँछिन्, “हप्तामा चार पटक शारीरिक शक्ति बढाउने व्यायाम पनि गर्छु।”
अबका दिन उनी निकै व्यस्त तालिकामा हुनेछिन्। डिसेम्बरमा थाइल्यान्डमा अनि जनवरीमा हङकङमा हुने प्रतियोगितामा भाग लिने योजना बनाएकी छिन्। यो धपेडीको लक्ष्य एउटै छ– सन् २०२५ मा हुने विश्व च्याम्पियनशिप।
“सरकारले सहयोग गरे विश्व च्याम्पियनशिपमा नेपालबाट चार–पाँच जना धावकको सहभागिता हुन सक्छ,” सुनमाया भन्छिन्, “सरकारी सहयोग नपाए प्रायोजनप्राप्त खेलाडीले मात्र त्यहाँ पुग्ने मौका पाउन सक्छन्।”
काठमाडौंमा दिदीसँग बसेर नियमित अभ्यासमा जुटिरहेकी सुनमायाका बुबाआमा जुम्लामै छन्। बुबाआमासँग कहिलेकाहीं फोनमा कुराकानी गर्छिन्। दौड जितेपछि चाहिं हरेक पटक सम्पर्क गरिहाल्छिन्।
जुम्लामा कक्षा ७ मा पढ्दादेखि दौडमा सहभागी हुन थालेकी बुढा विद्यालय स्तरका प्रतियोगितादेखि नै उत्कृष्टता प्रदर्शन गर्थिन्। त्यसपछि उनी तीन र पाँच किलोमिटर दौडमा भाग लिन काठमाडौं आइपुगिन्। “मेरो पहिलो १,६०० मिटर दौडमा दोस्रो भएँ। त्यति वेला फिनिस लाइन कहाँ छ भन्ने नै थाहा थिएन, शुरू गरेको ठाउँभन्दा अलि पर रहेछ,” उनी हाँस्दै भन्छिन्। अर्को वर्ष भने उनले त्यही दौडमा स्वर्ण पदक जितिन्।
“मेरो गाउँमा न टीभी थियो न त इन्टरनेट। बाहिरी संसारको जानकारी पाउने एउटै माध्यम रेडियो थियो,” सुनमाया आफ्नो बाल्यकाल सम्झिन्छिन्। बाहिरी संसार उति नचिनेका बुबाआमाले शुरूमा छोरीको दौडप्रतिको लगाव ठीक मानेनन्। बरु बिहे गरेर पठाइहाल्न चाहन्थे। पछि भने कुरा बुझ्न थाले। “बिहेको कुरा निकाल्न छाडे पनि प्रशिक्षणका कारण म दिनदिनै दुब्लाउँदै गएको देखेर चिन्तित हुनुहुन्थ्यो,” उनी बताउँछिन्, “उहाँहरूले आर्थिक सहयोग गर्न नसक्ने स्पष्ट पार्नुभयो।”
विद्यालयमै छँदा सुनमाया खलंगास्थित कर्णाली स्पोर्टस् क्लबमा तालीम लिन थालिन्। प्रशिक्षक थिए, हरिबहादुर रोकाया। रोकाया सन् १९८८ र १९९२ का ओलम्पिकमा नेपालका तर्फबाट म्याराथनमा प्रतिनिधित्व गर्ने र एभरेस्ट म्याराथनमा कीर्तिमान बनाएका धावक हुन्। उनका साथमा सुनमायाले निःशुल्क प्रशिक्षण र विभिन्न दौड प्रतियोगितामा सहभागी हुने मौका पाइन्।
उनी कक्षा छाडेर पनि प्रशिक्षणमा सहभागी हुन्थिन्। परिवार भने छोरी विद्यालयमै छिन् भन्ने ठान्थ्यो। “धरानमा भएको राष्ट्रिय प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको समाचार सुनेपछि मात्र परिवारले मेरो दौडबारे थाहा पायो,” उनी सम्झिन्छिन्, “त्यति वेला १५ हजार रुपैयाँ पुरस्कार पाएकी थिएँ।”
एकपछि अर्को सफलता चुम्दै अघि बढेकी उनलाई एक पटक बेलायती ट्रेल धावक रिचर्ड बुलले आयोजना गरेको १२ किलोमिटर दौडको निम्तो आयो। बुल ट्रेलरनिङनेपाल डटओआरजीका सहसंस्थापक हुन्। जुलाई २०२१ मा सुनमायाको करिअरले ठूलो फड्को मार्यो। उनी एशियन प्यासिफिक एथलिट्सको द नर्थ फेस एड्भेन्चर टीममा आबद्ध भइन्। त्यसपछि पेशागत प्रशिक्षण, व्यवस्थापन, आर्थिक सहयोग र आवश्यक उपकरण पनि पाउन थालिन्। त्यसैको परिणाम होला– डिसेम्बर २०२१ मा थाइल्यान्डको डोई इन्थानन यूटीएमबीमा नेपालकै चर्चित ट्रेल धाविका मीरा राईलाई पछि पार्दै स्वर्ण पदक जितिन्। यसलाई उनी आफ्नो पहिलो उल्लेखनीय सफलता मान्छिन्।
सुनमायाको बानी के छ भने, सकेसम्म जहाँ प्रतियोगिता हुँदै छ, अभ्यास पनि त्यहीं बसेर गर्ने। अहिले प्रायः कि काठमाडौं कि हङकङमा हुन्छिन्। ट्रेल रनिङ गर्दा शरीरमा ठूलो दबाब पर्छ, विशेषगरी ओरालोमा। यसले मांसपेशी जकड्ने र चोटपटक लाग्ने सम्भावना बढी हुन्छ। त्यसैले खेलाडीका लागि शरीरलाई लचिलो र सक्रिय राख्नु अत्यन्त महत्त्वपूर्ण हुन्छ।
उनको खास सपना चाहिं ओलम्पिकमा दौडने छ। विश्व ट्रेल रनिङको छाता संस्था आईटीआरएले सन् २०३२ को ब्रिसबेन ओलम्पिक र प्यारालम्पिकमा ट्रेल रनिङ पनि राखिने घोषणा गरेपछि उनी उत्साही छिन्। “ट्रेल रनिङको सबैभन्दा राम्रो पक्ष यसले तपाईंलाई प्रकृतिसँग जोड्छ,” उनी भन्छिन्, “बाटो कता मोडिन्छ, के आउँछ भन्ने उत्सुकताले बाँधिरहेको हुन्छ।” विश्वका धेरै ठाउँ घुमेकी उनलाई यूरोप सबैभन्दा मन पर्छ। यूरोपको भूबनोट नै ट्रेल रनिङकै लागि बनाए जस्तो लाग्छ।
चीनमा दौडँदा सुनमाया त्यहाँको खेलविकास देखेर छक्क परिन्। तर नेपालमा खेलाडीले सरकारबाट सामान्य सहयोग नै पाउँदैनन्। यहाँ प्रतियोगिताहरूको प्रचारप्रसार पनि हुँदैन। अनि नागरिक पनि पैसा तिरेर दौड प्रतियोगिता हेर्न चाहँदैनन्। “सरकारले वास्ता गरे राम्रै हो, तर भर पर्न सकिंदैन,” उनी दृढतापूर्वक भन्छिन्, “आफ्नो बाटो आफैंले बनाउनुपर्छ।”
सुनमायाको अन्तर्राष्ट्रिय व्यवस्थापन अहिले एशिया प्यासिफिक एथलिट टीमले र स्थानीय स्तरको व्यवस्थापन नेपाल ट्रेल सिरिजले गर्दै आएका छन्। नेपाल ट्रेल सिरिजकी निर्देशक प्रीति खत्रीका अनुसार नेपाली ट्रेल रनिङको क्षेत्रमा थुप्रै आशालाग्दा प्रतिभा छन्। “अस्ट्रियाबाट प्रायोजन पाएका सुमन कुलुङले विश्व श्रेणीमा आफ्नो स्थान मजबूत बनाएका छन्,” खत्री भन्छिन्, “त्यस्तै, रुकुमका एक युवा धावकले स्वीट्जरल्यान्डमा तालीम पाएपछि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् भने खोटाङकी एक धाविकाले एशियाली ट्रेल च्याम्पियनशिपमा आफ्नो छाप छोड्दै छिन्।”
(यो आलेख नेपाली टाइम्समा प्रकाशित रन सुनमाया रन र सुनमाया बुढा स्टेय्ज इन द रनिङ शीर्षकका दुई सामग्रीको समष्टि हो। यसलाई अन्शु खनालले अनुवाद गरेकी हुन्।)