‘भारतले नेपाललाई उपदेश दिने हैसियत गुमायो’
‘ट्रम्पको जितपछि अमेरिकनहरू विश्वलाई लोकतन्त्रको उपदेश छाँट्न सक्नेछैनन्। यसैगरी, मोदी नेतृत्वको भारत पनि नेपालका जनतालाई उपदेश दिने हैसियतमा रहेन। अहिले दुनियाँमा कसैले कसैलाई लोकतन्त्रको उपदेश दिने नैतिक बल राख्दैन।’
भारतमा राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)को बौद्धिक र भाजपाको सांगठनिक अगुवाइमा चलेको ‘सांस्कृतिक राष्ट्रवाद’ को राजनीतिपछि समकालीन भारतीय राजनीतिमा सत्तासँग आँखा जुधाएर प्रश्न गर्न सक्ने ‘बल’ भएका हिम्मतिला मान्छेहरू औंलामा गन्न सकिने मात्र छन्। पूँजी र सत्ताको लौरोले डामिन थालेपछि हिजो लोकतन्त्रका संवाहक ठानिएका प्राज्ञ, बौद्धिक र सञ्चारकर्मी या त ‘जयश्री राम’ को भजनमण्डलीमा समाहित हुन पुगेका छन् या डरले मुख सिलाएर कुनामा खुम्चिएका छन्।
आवाजविहीनको आवाज भनी प्रचारित संयन्त्र जति सबै सत्तासँग लहसिएपछि भुइँमान्छेका आवाज बोलिदिने मान्छेकै भारतमा संकट छ। यस्तो संकट बेहोरिरहेको समाजमा सत्ताको डन्डासँग नडराई निर्धक्क प्रश्न गर्न सक्ने प्राज्ञ तथा राजनीतिज्ञ हुन्, प्रा.योगेन्द्र यादव। कान्तिपुर कन्क्लेभमा ‘लोकतन्त्र विमर्श’ गर्न काठमाडौं आएको छेक पारी बहुआयामिक व्यक्तित्व यादवसँग हामीले नेपाल-भारत सम्बन्ध, सांस्कृतिक राष्ट्रवाद, लोकतन्त्र र शिक्षा प्रणालीमाथि डेढ घण्टा लामो संवाद गरेका छौं।
हाम्रो जस्तै बहुसांस्कृतिक भारतमा घृणाको राजनीतिले समाजलाई छियाछिया बनाउँदै लगिरहेको र १०० वर्षअघि स्थापित आरएसएस जसले नेपाललाई पनि अखण्ड भारतको अंग ठान्दछ, उसले भारत र नेपालमा हिन्दू राष्ट्र बनाउन फैलाइरहेको राजनीतिले हामीकहाँ पनि डढेलो लगाउन खोजिरहेको खोजमूलक रिपोर्ट तपाईंले हिमालखबरमा पढ्दै आउनुभएको छ। यो संवाद त्यही जटिल प्रश्न खोज्ने प्रक्रियाको निरन्तरता पनि हो। भारतमा चलिरहेको विषाक्त राजनीतिलाई थुनछेक गरी कसरी हामीबीच रहेको लामो जनस्तरीय सम्बन्धलाई सपार्न सकिन्छ भन्ने विषयमा पनि यो संवादले सम्बन्धित निकाय र व्यक्तिलाई सघाउ पुग्ने अपेक्षा गरेका छौं। साथै, यसले हाम्रो दुई देशीय सम्बन्धको बहुआयामिक पाटोलाई दृष्टिगत गर्न पनि मद्दत गर्ने नै छ।
हिन्दी भाषामा गरिएको संवादलाई सम्पादन सहित नेपालीमा रूपान्तरण गरिएको छ। प्रस्तुत छ, प्रा. यादवसँग हिमालखबरका लागि जेबी पुन मगरले गरेको संवाद :
तपाईं नेपालमा कति चोटि आउनुभयो?
शायद म ५/६ चोटि आएँ होला। जब म प्राज्ञिक कर्ममा थिए, हामी ‘स्टेट अफ द डेमोक्रेसी इन साउथएशिया’ मा काम गरिरहेका थियौं। नेपाल अध्ययनका क्रममा आउजाउ हुन्थ्यो। त्यति वेला हामीले के बुझ्यौं भने, दक्षिणएशियाली स्तरको छलफल गर्न यदि कतै सम्भव छ भने नेपाल एउटा उपयुक्त स्थान हुन सक्दछ। किनकि भारतमा गर्दा पाकिस्तानलाई समस्या हुन्थ्यो। हामीलाई लाग्यो, नेपाल एउटा यस्तो सर्वस्वीकार्य स्थल हो जहाँ जमघट हुन कसैलाई कुनै आपत्ति छैन।
त्यसैले हामीले नेपाल सम्बन्धमा छलफल गर्ने बैठक मात्र यहाँ गरेनौं, दक्षिणएशियाली भेटघाट पनि यहीं आयोजना गर्यौं। कैयौं वर्षसम्म मैले यहाँका साथीहरूसँग सिक्ने मौका पनि पाएँ। प्राज्ञिक कर्म गर्दागर्दै बीचमा म राजनीतिमा सक्रिय भएँ। त्यसयता लामो कालखण्डसम्म नेपाल आगमन हुन सकेन। यसपालि लामो समयपछि नेपाल आउने संयोग जुर्यो। निकै खुशी लागिरहेको छ।
तपाईंलाई नेपालका कुन कुन चीजले लोभ्याउँछन्?
मलाई यहाँको ‘आर्किटेक्चर’ ले असाध्यै लोभ्याउँछ। मलाई यहाँको काष्ठकला असाध्यै अनौठो र सुन्दर लाग्छ। अहिले हामी जहाँ छौं पाटन, यो त विश्व सम्पदाको उत्कृष्ट नमूना नै लाग्दछ। म काठमाडौं र पोखरा घुमेको छु। यहाँको प्राकृतिक सौन्दर्यको जति बखान गरे पनि कम हुन्छ। अर्काे कुरा, यहाँ सहजता र सरलता छ। कृत्रिमता र आडम्बर छैन। पहाडी भेगमा बस्ने मान्छेहरूमा यो विशेषता भेट्छु। यो म भारतको पहाडी भूभाग जस्तै- हिमाञ्चल, उत्तराखण्ड र उत्तरपूर्वी पहाडहरूमा पनि देख्छु। यो सरलताले मलाई आकर्षित गर्दछ। मैदानी संस्कृतिबाट टाढा रहेकाहरूमा अझै पनि श्रमको प्राधान्य छ। ती श्रम विना बाँच्न सक्दैनन्। तिनको प्रकृतिसँग अन्तर्सम्बन्ध छ। यसले मलाई सधैं आकर्षित गर्छ।
म भारतको समाजवादी राजनीतिक धारा (राममनोहर लोहिया र जयप्रकाश नारायण)सँग जोडिएको छु। त्यो धारासँग नेपालको निकै पुरानो सम्बन्ध छ। आजको पिंढीलाई थाहा पनि नभएको त्यति वेलाको नेपाली कांग्रेसको जुन राजनीतिक आन्दोलन छ, त्यति वेला नेपाली कांग्रेसको भारतीय कंग्रेसभन्दा समाजवादी आन्दोलनसँग नजीकको सम्बन्ध थियो। समाजवादी धाराको एउटा राम्रो पक्ष के थियो भने, उनीहरूले नेपालसँगको आफ्नो लगावलाई आधिपत्यका रूपमा कहिल्यै हेरेनन्। किनकि सामान्यतः ठूला छिमेकी देशहरूको साना छिमेकी देशहरूप्रति बन्ने राय समानतामा आधारित हुँदैन। समाजवादी धाराबाट आएको हुनाले ममा यस्तो चिन्तन कहिल्यै पलाएन।
त्यसैले नेपालको सार्वभौसत्ताको सम्मान गर्दै त्योसँगको सहज सम्बन्ध रहँदै आयो। म यो सम्बन्धलाई अझै प्रगाढ बनाइनुपर्छ भन्ने मान्यता राख्दछु। तर समस्या कहाँ आइदियो भने, दक्षिणएशियामा यस्तो स्थिति बनेको छ, हाम्रो जुन किसिमको स्वाभाविक मित्रता हुनुपर्थ्यो, त्यसको बीचमा राजनीति आई बिगार्ने काम गरिरहेको छ। अहिले यस्तो विचित्र राजनीति बनिरहेको छ, जसले हाम्रो सांस्कृतिक र भौगोलिक एकतालाई रोक्ने काम गरिरहेको छ।
तपाईंलाई चुनावी विश्लेषक, राजनीतिशास्त्री, समाजशास्त्री, राजनीतिकर्मी या एक जोधाहा आन्दोलनकर्मी, के भनेर चिन्ने?
यीमध्ये कुनै एक चुन्नुपर्यो भने म आफूलाई राजनीतिकर्मीका रूपमा चिनाउन चाहन्छु। राजनीतिकर्मका अलग अलग आयाम छन्। म सधैं भन्छु- राजनीति योगधर्म हो। राजनीतिलाई म पाँच आयामबाट हेर्दछु। राजनीतिको अर्थ चुनाव- सत्ताको राजनीति। दोस्रो, आयाम संघर्ष- आन्दोलनको राजनीति। तेस्रो, राजनीतिको रचनात्मक काम। चौथो, ज्ञानको राजनीति जसले नयाँ सिर्जना गर्न र नयाँ ‘थ्योरी’ बनाउने गर्दछ। पाँचौं चाहिं आफूले आफूलाई हेर्न र आफूसँग सम्बन्ध कायम गर्ने साधना। म पाँचै चीजलाई राजनीति मान्दछु। त्यसैले म राजनीतिकर्मी हुँ।
धेरै समय लेखपढ गर्ने प्राज्ञिक कर्ममा बित्यो। तर त्यहाँ पनि के लाग्थ्यो भने, म यसमा ‘फिट’ छैन। किनभने म हरेक चीजलाई राजनीतिक चश्माबाट हेर्दथें। म प्रश्न गर्दथें, जुन काम प्राज्ञहरू गर्दैनथे। प्राज्ञिक कर्ममा हुँदा अरू सोच्दथे- यो सक्रिय अभियन्ता भयो। अहिले राजनीतिमा छँदा सबैलाई लाग्दछ, यो धेरै अध्ययन गर्छ। त्यसैले म यता पनि उता पनि ‘मिसफिट’ छु।
तपाईं तथ्यांकशास्त्री (चुनावी विश्लेषक)को भूमिकामा पनि राम्रो हुनुहुन्थ्यो नि?
म चुनावी विश्लेषणमा जोडिनुका पछाडि एउटा संयोग थियो। मैले कैयौं वर्षसम्म चुनावको विश्लेषण गरें। मेरो धेरै चीजमा रुचि थियो जसमध्ये एक चुनाव पनि थियो। त्यसैले चुनावी विश्लेषण गर्दथें र त्यसको भविष्यवाणी गर्नमा मलाई प्राविधिक रुचि थियो। यो मैले प्रणय रोयबाट प्रभावित भई सिकेको थिएँ। यो मेरो जीवनको अनेकन् आयाममध्ये एउटा सानो ‘स्लाइस’ मात्र थियो। यसलाई उठाएर टेलिभिजनमा राखियो। जब सबैले मलाई टेलिभिजनको पर्दामा देखे, सबैले मलाई त्यही नजरले हेर्न थाले। मानिलिऊँ, तपाईंले गर्ने धेरै चीजमध्ये गजबको कफी बनाउने सीप पनि छ। यदि तपाईंलाई कफीका निम्ति टिभी शोमा ल्याइदिने हो भने तपाईंको सारा जीवन खत्तम हुनेछ। सबैले भन्न थाल्नेछन्, ‘ऐ तिमी कफीवाला हो, होइन?’ मेरो करिअरमा पनि यही भयो, ‘टाइपकास्ट’ गरिदिए। जबकि त्यो काम मेरो जिन्दगीको १० प्रतिशत पनि थिएन। त्यसैले २०१२ मा मैले चुनावी भविष्यवाणी नगर्ने भनी कान समातें।
तर २०२४ को लोक सभा चुनावमा त गर्नुभयो र त्यसमा तपाईंले गरेको विश्लेषण सही पनि सावित भो, है?
मैले २०१२ मा ‘मलाई भविष्यवाणी गर्नुभन्दा पनि भविष्य बनाउनमा रुचि छ’ भनी कान समाते पनि २०२४ को चुनावमा चुनावी विश्लेषकको चोला फेरि पहिरिएर फर्कनुपर्यो। २०२४ मा भारतमा जे भइरहेको थियो, त्यो अचाक्ली थियो। पूरै मूलधारका मिडिया भाजपा र मोदीको कब्जामा थिए। सबै मिडियाले ‘यो पालि मोदीले ४०० पार गर्छन्’ भन्दै बाजा बजाइरहेका थिए। भाजपाले दाबी गरेभन्दा बढी संख्या टेलिभिजनले बोलिरहेको थियो। यी मिडियाले मोदीको ८० भन्दा बढी विज्ञापनरूपी अन्तर्वार्ता गरे। म गाउँ गाउँ घुमिरहेको थिएँ, पछि थाहा भयो, तपाईं पनि चुनावी रिपोर्टिङमा गाउँ गाउँ घुमिरहनुभएको थियो, जबकि वस्तुगत यथार्थ चाहिं अर्कै थियो। त्यसपछि मलाई लाग्यो- ‘यो त तेरो ड्यूटी हो, तैंले गर्नै पर्छ।’ त्यसपछि मैले फेरि आफ्नो ड्यूटी शुरू गरें। संयोग मिल्यो- मैले गरेको भविष्यवाणी ठीक निस्क्यो। मैले भाजपाको २४० देखि २६० को बीचमा सीट आउने प्रक्षेपण गरेको थिएँ।
त्यति वेला मलाई सबैले गाली गरे। मित्रहरूले ‘तैंले जिन्दगीभर कमाएको चुनावी विश्लेषकको ख्याति पानीमा मिसाउने भइस्’ भन्दै गाली गरे। किनकि मैले गरेको प्रक्षेपण मिडियामा आएको भन्दा भिन्न थियो। कोही तथ्य बोलिरहेका छैनन् र जो बोलिरहेका छन्, ती सबै झूट बोलिरहेका छन्। मलाई लाग्यो, यस्तो वेला लोकलाई तथ्य बताउन जरूरी छ। यस्तो अवस्थामा मुख नखोले मर्ने वेला आफैंले आफैंलाई धिक्कार्ने अवस्था आउनेछ भनी मैले तथ्य बताउन छाडिनँ।
म पनि लोक सभा चुनावी रिपोर्टिङबाट फर्किएर काठमाडौंका सञ्चारकर्मी र गण्यमान्यहरूलाई ‘यसपालि मोदी कमजोर हुँदै छन्। दाबी गरिएभन्दा धेरै कम सीट आउँदै छ’ भन्दा धेरैले पत्याएनन्। मैले भारतका सर्वसाधारण मतदातासँग कुरा गरेका आधारमा यस्तो प्रक्षेपण गरेको थिएँ। तर इन्डियन मिडियाबाट आइरहेको सूचना स्रोतले धारणा बनाएका कारण तिनलाई मेरो कुरा पत्याउने आधार दिइरहेको थिएन।
मलाई पनि सबैले सोध्छन्, ‘तेरो चुनावी प्रक्षेपण कसरी ठ्याक्कै मिल्न गयो?’ तिनलाई मेरो जवाफ हुन्छ, ‘केही गर्न जरूरी छैन। सर्वसाधारणसँग कुरा गर। यही हो फर्मुला।’ समस्या के छ भने, हाम्रोमा चुनावी विश्लेषण नेता, पत्रकार र केही गण्यमान्य व्यक्तिहरू एकापसमा कुरा गरेर गर्छन्। ती सर्वसाधारणसँग कहिल्यै कुरा गर्दैनन। यदि तपाईंले पनि चुनावी प्रक्षेपण गर्ने हो भने मेरो एउटै अचुक सुझाव छ, ‘कोही पत्रकारसँग कुरा नगर्नाेस्, कोही नेतासँग कुरा नगर्नाेस् र पढेलेखेकाहरूसँग पनि कुरा नगर्नाेस्। आँखा चिम्म गरेर सर्वासाधारणमाझ गई उनीहरूसँग चिया पिउँदै कुरा गर्नाेस्, घरमा जानोस् र सोध्नोस्, तपाईंलाई तिनले सबै वस्तुस्थिति बताइदिन्छन्।
हामी अहिले नेपाल-भारतबीच रहँदै आएको जनसम्बन्धमाथि कुरा गरिरहेका छौं। तर मोदी सरकारले नेपालमाथि नाकाबन्दी लगाउँदा जनस्तरबाट त्यहाँको सरकारलाई जुन किसिमले दबाब दिनुपर्थ्यो, त्यस्तो दबाब आएको देखिएन। मेरा मित्रहरूलाई त यो नाकाबन्दीबारे नै थाहा रहेनछ। तपाईंले यो कमी महसुस गर्नुभएन?
त्यो अध्याय जसलाई नाकाबन्दी भनिएको छ, त्यो भारत-नेपालको जनस्तरीय सम्बन्धको सुन्दर इतिहासमा साह्रै दुःखद अध्याय हो। भारत सरकार भन्छ- नाकाबन्दी नै गरिएको छैन। त्यसबारे तत्कालीन परराष्ट्रमन्त्री सुष्मा स्वराजले त्यसको पक्षमा संसद्मा लामो भाषण नै दिइन्। नाकाबन्दीबारे भारत सरकारको पक्ष के हो, तपाईंलाई थाहा नै छ। नेपालमा पनि यसबारे एकमत देखिंदैन। केही दल भारतीय नाकाबन्दी शब्द प्रयोग गर्दैनन्। यसबारे टिप्पणी गर्ने र त्यसको तथ्य जाँच गर्ने काम मेरो होइन। यो काम परराष्ट्र मामिला र कूटनीति मामिला हेर्नेहरूले गर्ने कुरा हो।
तर भारत-नेपाल जनएकता समर्थकको नाताले मेरा निम्ति सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने, मेरो छिमेकीले मेरो देशले आफ्नो घाँटी दबाइदियो भन्ने महसूस गरेको छ, त्यसको प्राविधिक पक्षमा नगईकन मेरा निम्ति यो एउटा तथ्य हो कि मेरो छिमेकीलाई यस्तो महसूस भएको छ। यो घाउ हो। यो घाउमा मल्हम लगाउने काम हामी सबैको हो। पहिलो जिम्मेवारी सधैं ठूलो छिमेकीको हुन्छ। उसले लगाउनुपर्छ, पहिला मल्हम। संयोगले म यस्तो देशमा बस्छु, जुन भौगोलिक रूपले नेपालभन्दा ठूलो छ। जो दक्षिणएशियाका विभिन्न देशसँग जोडिएको छ।
हामी बारम्बार भन्छौं, भारत-नेपाल सम्बन्ध अनौठो छ। दुई देशबीच खुला सिमाना छ। ५० र ६० को दशकमा नेपाल र भारतको राजनीतिमा समेत सीमा थिएन। नेपाली नेता भारतमा गएर चुनाव प्रचार गर्दथे भने भारतीय नेताहरू नेपालमा आई चुनाव प्रचार गर्दथे। भारत-नेपाल जस्तो खुला सिमाना संसारमा कहीं छैन। यस्तो अनौठो सम्बन्ध दुनियाँको आदर्श हुनुपर्थ्यो। यस्तो सम्बन्ध माथि अहिले कटुता आएको छ र त्यसले पीडा दिएको छ। यसलाई सम्बोधन गर्नुपर्छ। तर यसमा समस्या के भइदिएको छ भने, सन् ५० र ६० को दशकमा भारतका नेता र पत्रकारलाई नेपालमा के भइरहेको छ भन्ने कुराको जानकारी हुन्थ्यो। हामी नेपाललाई विदेश मन्त्रालयको आँखाबाट हेर्दैनथ्यौं। हामी आफ्नै आँखाबाट हेर्थ्यौं।
अहिले हामी विदेश मन्त्रालयको आँखाबाट भारत-नेपाल सम्बन्धलाई हेर्छौं। मिडिया पनि विदेश मन्त्रालय के चाहन्छ, त्यही सूचना दिइरहेको छ। त्यसैले भारतका अधिकांश जनतालाई नेपालबारे थाहा छैन। तपाईं जुन नाकाबन्दीको कुरा गर्दै हुनुहुन्छ, त्यसबारे भारतका जनतालाई थाहै थिएन। आजभोलि नेपालबारे भारतीय जनता त्यति मात्र जान्दछन्, जति चीनबारे जान्दछन्। यो जानकारी तिनले टेलिभिजनबाट प्राप्त गर्छन्। यो जानकारी त्यही हो जुन विदेश मन्त्रालय जान्न चाहन्छ। त्यसैले दुई देशका जनताले भारत र नेपालमा के भइरहेको छ भन्ने सूचना इतिहासमा झैं मिडियाबाट होइन, जनस्तर सम्बन्धबाट बुझ्दा तथ्य थाहा पाइन्छ, जुन अहिले भइरहेको छैन।
जुन घाउ बल्झिएको छ, त्यो ठीक गर्न द्विपक्षीय कुराकानी जरूरी छ। तर यस्ता कुराकानी नेता, विदेश मन्त्रालय, जासूसी संयन्त्र र मिडिया मार्फत गरिनु हुँदैन। यसले समाधान दिंदैन, जनस्तरबाट हुनुपर्दछ। हामीबीच ‘रोटीबेटीको सम्बन्ध’ छ, हामीलाई भारत र नेपालमा के भइरहेको छ भनी जान्न किन चाहियो मिडिया? लद्दाखमा के भइरहेको छ भन्ने यथार्थ त्यहाँका सर्वसाधारणलाई थाहा छ, तर मिडियाले उल्टो देखाइरहेको छ। वस्तुगत यथार्थ र टेलिभिजनको पर्दामा देखिने यस्तो भिन्नतालाई यदि हामीले हटाउन सक्यौं भने यस्तो तथ्यले दक्षिणएशियाली एकतालाई बलियो बनाउने सामर्थ्य राख्दछ। हामीबीच सम्बन्ध सुधारको बलियो सूत्र हो, यो। यो बनाउन हामी सबैले बल गर्न जरूरी छ।
हामी देख्दै छौं, २०१४ यता भारतमा आरएसएसको डिजाइनमा एक खालको राजनीति चलिरहेको छ, जसले अल्पसंख्यक मुसलमान, दलित, आदिवासी विरुद्ध घृणा गर्न सिकाइरहेको तपाईंहरू बताइरहनुभएको छ। यो राजनीतिको हावा हाम्रोमा पनि छिरेको छ। आरएसएसको सक्रियता यहाँ पनि बढेको छ। नेपाल र भारतको सामाजिक संरचना करीब करीब उस्तै छ, बहुसांस्कृतिक। यो राजनीतिले बहुसांस्कृतिक समाजलाई ध्रुवीकरण गराइरहेको तपाईंलाई सुन्दा थाहा लाग्दछ। यस्तो विषाक्त राजनीतिबाट कसरी बच्ने?
अमेरिकामा डोनल्ड ट्रम्पको जितपछि विश्वलाई धेरै नोक्सान त हुनेछ, तर एउटा राम्रो काम पनि भएको छ। अब अमेरिकनहरूले विश्वलाई लोकतन्त्रको उपदेश छाँट्न सक्नेछैनन्। यसैगरी, मोदी नेतृत्वको भारत पनि नेपालका जनतालाई उपदेश दिने हैसियतमा रहेन। अहिले दुनियाँमा कसैले कसैलाई लोकतन्त्रको उपदेश दिने नैतिक बल राख्दैन। त्यसैले म पनि उपदेश दिन सक्ने अवस्थामा छैन।
नेपालमा आरएसएसको बढ्दो राजनीतिक प्रभावबारे म बिल्कुल अनभिज्ञ थिएँ। यहाँ आएपछि मित्रहरूबाट यसबारे थाहा भयो। मेरो अनुमान अलि अलि प्रभाव परेको होला भन्ने थियो, तर आरएसएसले यहाँ जुन रफ्तारमा गहिरो प्रभाव जमाउने प्रयत्न गरिरहेको रहेछ, त्यसबारे साँच्चिकै थाहा थिएन। यो सुनेर मलाई असाध्यै दु:ख लागेको छ। दु:ख यसकारण लाग्यो, भारत र नेपालमा हिन्दूको नाममा, बाङ्लादेश र पाकिस्तानमा इस्लामको नाममा, श्रीलंकामा सिंहली वर्चस्वको नाममा हुने राजनीति यी सबै हाम्रो प्रकृति विरुद्धका हुन्। यो दक्षिणएशियाली प्रकृति होइन। हामीले दक्षिणएशियालाई पनि जबर्जस्ती यूरोपको चश्माले हेरेर त्यस बमोजिम समाजलाई बदल्ने प्रयत्न गरिरहेका छौं।
किनकि हामी दक्षिणएशियाली देश सबैको प्रकृति बहुसांस्कृतिक छ। अलग अलग समुदायको बसोबास छ। एकअर्कासँग घुलमिल गरेर बस्दै आएका छन्। हिजो म पाटनमा घुमिरहेको थिएँ, मेरो नजर गणेशजीको मन्दिरमा गयो। त्यहाँ गणेशको मूर्ति पनि थियो र मन्दिर परिसरमै बौद्ध धर्मसँग सम्बन्धित अर्काे मूर्ति थियो। यो एउटा दृष्टान्त हो- एउटा सानो मन्दिरमा हिन्दूज्म र बुद्धिज्म सँगै भेटिन्छ, जुन अलग अलग धार्मिक मान्यता हुन्। तर यहाँका स्थानीयलाई कहिल्यै लागेन कि यी दुई फरक मान्यता हुन्। यो दक्षिणएशियाको विशिष्टता हो। यसरी नै हामी रहँदै आएका छौं।
तर यसरी मिलेर बसेको भारत र नेपाली समाजमा हिन्दू बहुसंख्यकवाद र बाङ्लादेश र पाकिस्तानमा इस्लाम वर्चस्ववादको नाममा जसरी हिन्दूत्व र इस्लाम राजनीति शुरू भएको छ, त्यो अत्यन्त खतरनाक छ। यो हाम्रो दक्षिणएशियालाई बर्बाद गर्ने राजनीति हो। तपाईं श्रीलंकालाई हेर्न सक्नुहुन्छ। आजभन्दा ५०-६० वर्षअघि श्रीलंका दक्षिणएशियाको सबैभन्दा सम्पन्न र सुन्दर देश थियो। त्यसपछि शुरू भयो, सिंहला वर्चस्वको राजनीति। बहुसंख्यक सिंहलाले अल्पसंख्यक समुदायलाई ‘यदि श्रीलंकामा बस्नु छ भने सिंहला भाषा अनिवार्य बोल’ भन्दै दबाब दिन थालेपछि त्यसको नतीजा गृहयुद्धमा परिणत भयो। आखिर सिंहली दम्भले श्रीलंकाले के पायो? त्यति राम्रो देश बर्बाद भयो। आज स्थूल रूपमा हेर्दा एक देश देखिए पनि मानसिक रूपमा श्रीलंका दुई देशमा विभाजित छ। यो हामी सबैले सिक्नुपर्ने पाठ हुनुपर्दछ।
यो त्यही ८० प्रतिशतवाला बहुसंख्यकवादी राजनीति हो जुन अहिले भाजपा र उसको माउ संस्था आरएसएसले गरिरहेका छन्। तपाईंले संख्याको फाइदा उठाई त्यसबाट एक चोटि जबर्जस्ती गर्न सक्नुहुन्छ, तर दीर्घकालीन रूपमा त्यो अत्यन्त खतरनाक बन्न पुग्दछ। तपाईंले अहिले गरेको दमनको मूल्य भोलि आउने तपाईंको पुस्ताले चुकाउनुपर्ने हुन्छ। यो यथार्थ भारत र नेपाल दुवै देशका सबैले बुझ्न जरूरी छ।
तपाईंले अल्पसंख्यकको कुरा उठाउनुभयो। जब इङ्ल्यान्डमा एउटा हिन्दू प्रधानमन्त्री बन्छ, त्यसको निकै ठूलो उत्सव मनाइन्छ। यो म बुझ्न सक्दछु। भोलि कोही नेपाली व्यक्ति अमेरिकाको सिनेटर या गभर्नर बन्यो भने त्यसले नेपालीलाई खुशी नै हुनेछ। तर यसरी उत्साह मनाउनेहरूलाई अलिकता पनि लाजशरम छैन। जुन इङ्ल्यान्डमा हिन्दूको जनसंख्या पाँच प्रतिशत पनि छैन त्यहाँ एउटा हिन्दू प्रधानमन्त्री बन्न सक्दछ, तर के भारतमा कोही मुसलमान प्रधानमन्त्री बन्न सक्दछ? अहिलेको राजनीतिमा के त्यस्तो सम्भावना छ? त्यसैगरी, अमेरिकाका हिन्दूकै कुरा गरौं। तिनले त्यहाँ हिन्दू धर्म बचाउने भन्दै ठाउँ ठाउँमा मन्दिर बनाउँदै हिंडेका छन्।
तिनैले भारतको विश्व हिन्दू परिषद्लाई पनि त्यही कामका निम्ति पैसा पठाइरहेका छन्, जुन बहुत राम्रो कुरा हो। तर के तिनले कहिल्यै सोचेका छन् कि जुन क्रिश्चियन देशले उनीहरूलाई यस्तो स्वतन्त्रता दिइरहेको छ, जसका कारण हिन्दू धर्म र आफ्नो सांस्कृतिक मान्यता निर्धक्क बचाएर राख्न सकिरहेको छ, जसमा उनीहरूलाई गर्व छ, यदि यो गर्वयोग्य कुरा हो भने उनीहरूले पनि आफ्नो मातृभूमिमा अल्पसंख्यकहरूले पनि त्यही स्तरको सुरक्षा प्राप्त गर्ने निश्चितता गरिदिनुपर्यो। तर अमेरिकामा अल्पसंख्यक हुनुको फाइदा उठाइरहेका उनीहरूले त्यस्तो गर्ने कुरा त छाडिदिनोस्, उल्टै भारतमा आएर अल्पसंख्यकलाई दबाउने राजनीति गरिरहेका हुन्छन्। यो कस्तो पाखण्ड हो?
मलाई सधैं के लाग्छ भने, आरएसएस राजनीतिको जडमा पाखण्डपन छ। हिन्दू राष्ट्रको कुरा नै एउटा झन्झट हो। हिन्दू आफैंमा एउटा व्यापक शब्द हो। यो महासागरमा विभिन्न पन्थ र सम्प्रदाय छन्। मैले अन्य धर्मलाई नराम्रो भन्न खोजेको होइन, तर हिन्दू धर्म इस्लाम, यहुदी र क्रिश्चियन धर्म जस्तो होइन। ती एउटै खालका धर्म हुन्। ती धर्ममा एउटा पुस्तक हुन्छ, एउटा भगवान् हुन्छ, एउटा चर्च हुन्छ, एउटा अवधारणा हुन्छ। यी धर्मलाई एउटा सीमारेखाले बाँधिएको र तदनुरूप एउटा संरचनामा ढालिएको हुन्छ। हिन्दू धर्म यस्तो होइन। यसमा न ढोका हुन्छ न ताला हुन्छ, न कुनै चौकीदार हुन्छ न सीमा हुन्छ।
हिन्दू धर्मको यही विशेषता नै यसको सौन्दर्य हो। तर जब तपाईं हिन्दूलाई राष्ट्रसँग जोड्नुहुन्छ, राजनीतिसँग जोड्नुहुन्छ, त्यसपछि तपाईंलाई राष्ट्रका निम्ति सीमा चाहियो, ताला चाहियो, चौकीदार चाहियो। हिन्दू धर्मका कुरीतिको लाख आलोचनाका बावजूद म हिन्दू हूँ। किनभने म हिन्दू परिवारमा जन्मिएँ, मृत्युपश्चात् पनि म हिन्दू नै कहलाइनेछु। मलाई केही घोषणा गर्नै पर्दैन कि उप्रान्त म हिन्दू भएँ। मेरी श्रीमती मन्दिर जान्छिन्, म जाँदिनँ। हिन्दू धर्मको सौन्दर्य नै यसमा छ। यो सौन्दर्यलाई बचाइराख्नु हिन्दू धर्मको ठूलो उपलब्धि हुनेछ। तर दुर्भाग्य के भइदिएको छ भने, हामी हिन्दू धर्मलाई एउटा ‘नक्कल संस्कृति’ मा रूपान्तरित गर्दै छौं।
तपाईंकोमा अंग्रेजको उपनिवेशी शासन आएन। हाम्रोमा आयो। औपनिवेशिकताको सबैभन्दा दुःखद पक्ष के हो भने, हाम्रो सभ्यता र संस्कृतिमाथि हमला भयो। जब तपाईंको सभ्यता र संस्कृतिमाथि हमला हुन्छ, तब बिस्तारै दासत्व स्विकार्दै जानुहुन्छ। मनोबल गुम्छ। त्यसैले १९औं शताब्दीमा भारतमा आत्मग्लानि, हीनताबोध र असुरक्षाभाव बढ्दै गयो। यो हीनताबोध र असुरक्षाभावले दासता मात्र बढाउँदैन अर्कातर्फ त्यसले आक्रामकता पनि बढाउँदछ। त्यसपछि भनिन्छ, ‘मेरा भारत महान्, हिन्दू धर्म विश्वको सबैभन्दा ठूलो धर्म हो, हामी विश्वगुरु हौं, हाम्रोमा पाँच हजार वर्षअघि प्लास्टिक सर्जरी हुन्थ्यो, प्रागैतिहासिक कालमा हाम्रो जहाज हुन्थ्यो।’ यी सब मूर्खतापूर्ण कुरा हीनताबोध र असुरक्षाभावबाट पैदा हुन्छ।
भारतीय सम्भ्रान्तहरूमा सधैं पश्चिमी गोरा र सभ्यताप्रति एकखालको दासतापूर्ण संस्कार रहयो। ‘उनीहरू सबैभन्दा उच्च हुन्, उनीहरू जस्तै बन्नुपर्छ’ भन्ने मनोभावना बन्यो। त्यसपछि उनीहरूको जस्तो शहर बनाउनुपर्यो। त्यस्तै गगनचुम्बी भवन बनाउनुपर्यो। तिनकै जस्तो किताब लेख्नुपर्यो।
दुर्भाग्यवश भारतमा आएको दुईथरी राजनीति, ‘सेक्युलर र अहिलेको हिन्दूत्व राजनीति’ दुवै हीनताबोध र असुरक्षाभावबाट पैदा भएका राजनीति हुन्। भारतीय सन्दर्भमा कुरा गर्दा, यूरोप र अंग्रेजको मानसिक गुलामी गर्ने काम भाजपाले जति अरू कसैले गरेको छैन। यिनीहरूको एउटै सपना छ, जर्मनी जस्तो राष्ट्र बनाउने। जर्मन जस्तो राष्ट्र बनाउने प्रयास पाकिस्तानले गर्यो। उसको हालत के छ? बाङ्लादेश किन अलग भयो? सबैलाई थाहा छ। यसका बावजूद पनि भाजपा नक्कल गर्न खोजिरहेको छ।
भाजपा भारतलाई हिन्दू पाकिस्तान बनाउन खोजिरहेको छ। नेपाल र भारतमा हिन्दू धर्मावलम्बीको संख्या बढी छ, जसले हामीलाई स्वाभाविक रूपमा जोडिरहेको छ। संस्कार र संस्कृतिमा समानता छ। यस्तो समानता भएकाले दुवै देशका जनताले एकचीज बुझ्नुपर्दछ, हिन्दू धर्मलाई आरनमा हालेर त्यसलाई क्रिश्चियानिटी र इस्लाम जस्तो धर्म बनाउने प्रयत्न गर्नु हुँदैन। त्यसले हिन्दू धर्मलाई नोक्सान हुन्छ। भारत र नेपाललाई नोक्सान हुन्छ। र, अन्ततः त्यसले विश्वलाई पनि असर गर्छ। सागरमा बाँध लगाउने प्रयत्नले न हाम्रो भलो हुन्छ न अर्काको भलो हुन्छ।
तपाईं आरएसएस प्रवर्द्धित सांस्कृतिक राष्ट्रवादलाई यूरोपबाट आयातीत भन्दै हुनुहुन्छ, जबकि उनीहरू यसलाई भारतखण्डमा उत्पादित अर्गानिक विचार मान्दछन्।
यो झूट हो। सांस्कृतिक राष्ट्रवाद शतप्रतिशत आयातीत हो। नक्कल हो। यो १९औं शताब्दीको जर्मन राष्ट्रवादबाट प्रेरित अवधारणा हो। आरएसएसका नेताहरूका हिरोहरू को को थिए? बिस्मार्क, मुसोलिनी र हिटलर जस्ता नेताहरू थिए। नपत्याए तपाईं उनीहरूका साहित्य पढ्नोस्। हामीले यूरोपको राष्ट्रवादी इतिहास पढ्दा रक्तरञ्जित घटनाले भरिएका पानाहरू मात्र भेट्छौं। बहुसांस्कृतिक हिसाबले तपाईं पूरा यूरोपलाई एकातर्फ र दक्षिणएशियालाई एकातर्फ राखिदिनोस्। पूरै यूरोपको विविधता दक्षिणएशियाको भन्दा निकै कम हुन्छ। उनीहरूले ४० देश बनाएका छन्, हामीकहाँ सात वटा छन्।
तपाईंले अन्य दक्षिणएशियाली देशलाई छाडिदिनोस्, भारतलाई मात्र लिनोस्, तैपनि यूरोपका ४० देशको भन्दा भारतको विविधता ज्यादा छ। त्यसैले यस्तो विविधतालाई बाँधिराख्न भारतको अवधारणा थियो ‘अनेकतामा एकता’। सबै मिलेर एक ठाउँमा बस्नेछौं भन्ने थियो। कसैले कसैको पहिचानमाथि औंला नउठाउने समझदारी थियो। तिमी पन्जाबी हौ, तिमी द्रबिडियन हौ, तर तिमी भारतीय हौ। तर यूरोपको राष्ट्रवाद यस्तो होइन। उसको राष्ट्रवादको चुरो थियो- तिमी पहिला यो भन ‘तिमी पन्जाबी हौ कि भारतीय हौ? दुईमध्ये एउटा रोज।’ यो ‘एक राष्ट्र, एक भाषा, एक धर्म, एक संस्कृति’ यूरोपियन अवधारणा अहिले आरएसएसले नक्कल गरिरहेको छ। त्यसैले सांस्कृतिक राष्ट्रवाद मानसिक दासताको परिणाम हो।
भारतको राष्ट्रवाद भारतीय राष्ट्रिय आन्दोलनबाट निस्किएको हो जसमा नेपाली राजनीतिकर्मीहरूको पनि ठूलो योगदान छ। आफ्ना छिमेकीलाई दबाउने राष्ट्रवाद भारतको कहिल्यै थिएन। भारतको राष्ट्रवादले मलाई दक्षिण अफ्रिकासँग जोड्यो। ल्याटिन अमेरिकासँग जोड्यो। भारतको राष्ट्रवाद बान्डुङ (असंलग्न नीति पारित गर्ने १९५५ को इन्डोनेशियामा सम्पन्न सम्मेलन)मा गयो। विश्वभरका औपनिवेशिक देश र प्रताडित समाजलाई जोड्ने राष्ट्रवाद थियो। स्वतन्त्र भारतको पहिलो काम थियो- चीनलाई संयुक्त राष्ट्रसंघमा सदस्यताको माग राख्नु। किन? किनकि हामीलाई चीनसँग डर थिएन। हामीलाई लाग्थ्यो- ऊ पनि हामी जस्तै प्रताडित देश हो। हाम्रो छिमेकी हो। मित्र हो।
यूरोपको राष्ट्रवाद एक बिरामी हो। त्यो बिरामीलाई हामी कहाँ किन आयात गरिरहेका छौं? पहिलो विश्वयुद्ध, दोस्रो विश्वयुद्ध कसले जन्मायो? यूरोपको राष्ट्रवादले जन्मायो। त्यस्तो बिरामीलाई आदर्श मानी घरमा ल्याउने काम जस्तो नराम्रो कुरा के हुन सक्दछ? आरएसएसले यही बिरामी भारतमा आयात गरेर त्यसलाई नेपालमा निर्यात गर्न खोजिरहेको छ। त्यसैले यदि उनीहरू नेपालमा आएर हिन्दू राष्ट्रको कुरा गर्छन् भने उनीहरूलाई सोध्नुपर्छ- ‘तपाईंहरू भारतमा अखण्ड भारतको कुरा गर्नुहुन्छ, के त्यसो भए तपाईंहरू नेपालमा आएर यो भन्न खोजिरहनुभएको छ कि नेपाल पनि दिल्लीबाट सञ्चालन हुन्छ?’
अखण्ड भारतको अर्थ त यही नै हुन्छ।
तपाईं गरीब, कृषक, दलित, आदिवासीका हकलाई लिएर सत्तासँग डटेर प्रश्न गर्नुहुन्छ। तर दार्शनिक तथा ऐतिहासिक यूभल हरारीले ‘नयाँ विश्व प्रविधिको जञ्जालमा यति फस्दै गएको छ कि तीन प्रतिशत पूँजीपतिहरूको हातमा झन् झन् धन संग्रह हुँदै गएको छ र ती झन् बढी शक्तिशाली हुँदै गएका छन्। त्यसले गरीब र सीमान्तीकृत वर्गलाई अझ बढी प्रताडित गर्ने अवस्था बन्दै छ’ भनिरहेका छन्। नेपाल र भारत जस्तो देशका जनताले यस्तो विश्वमा आफूलाई कसरी जिउँदो राख्न सक्लान्?
हरारीले तीन प्रतिशत भनेका छन्, तर मलाई लाग्दछ, विश्वका एक प्रतिशतभन्दा पनि कम मान्छेको हातमा पूँजी थुप्रिंदै गएको छ। आजको वास्तविक समस्या नै यही हुन गएको छ। विश्वभर जसरी एउटा विचार प्रक्षेपण गरिएको छ, अग्रगमनका निम्ति आधुनिक प्रविधि अत्यावश्यक छ। यसमा एउटा भ्रम छ। यसमा एउटा ठूलो झूट लुकेको छ। आधुनिक प्रविधिको पछाडि कोष्ठमा लेखिएको छ, तर हामी देखिरहेको छैनौं जहाँ लेखिएको छ, ‘आधुनिक पश्चिमा प्रविधि’। जुन समाजमा म छु, जुन अर्थव्यवस्थामा म छु, त्यहाँ विकसित हुने प्रविधिले कहिल्यै कमजोर तप्कालाई फाइदा गर्दैन, त्यसले पूँजीपतिलाई नै फाइदा गर्छ।
पश्चिममा प्रशस्त पूँजी छ, तर श्रमशक्तिको कमी छ। हामीकहाँ श्रमशक्तिको प्रचुरता छ। त्यसैले जति पनि प्रविधि बन्छन्, ती सबैको एउटै ध्येय हुन्छ- कमभन्दा कम श्रमशक्ति लागोस्। यस्तो प्रविधि बनाउन उनीहरूसँग जति पनि पैसा छ। श्रमको सहभागिता घटाउने काम नै आजको प्रविधिको मुख्य काम हो। अत्याधुनिक प्रविधि खास देशको खास अर्थतन्त्र जसको आधिपत्य उच्च वर्गको हातमा हुन्छ, त्यस्ताको हित पक्षपोषण गर्न बनाइएको हुन्छ। समाज निरपेक्ष प्रविधि केही हुँदैन।
अत्याधुनिक प्रविधिका नाममा म काठमाडौंमा पनि देखिरहेको छु- अग्ला अग्ला घरहरू बढ्दै गएका छन्। विश्वको सबैभन्दा कमसल जमीन (भूकम्पीय जोखिम क्षेत्र)मा यस्ता संरचना बनाइएका छन्। माफ गर्नुहोला, यो त ‘सामूहिक आत्महत्या’ हो। म भारतका पहाडमा पनि यस्तै संरचना बढिरहेको देख्दछु। यी संरचना देखेर मलाई असाध्यै डर लाग्दछ। यो सब किन भइरहेका छन्, किनकि हामीलाई आधुनिक देखिनु छ। तपाईं साततले घरको साटो सात वटा घर बनाउन सक्नुहुन्छ, तर हामीलाई आधुनिक देखिनु छ त्यसैले अग्ला घर ठड्याउनु छ। पश्चिमाहरूको यस्तो नक्कलले न हामीलाई भौतिक सुख दिनेछ न त्यसले हाम्रो सांस्कृतिक स्वाभिमानको रक्षा गर्नेछ।
विश्वका ९० प्रतिशत जनता आफूलाई पश्चिमाको पुच्छर सम्झन्छन्। यूरोपमा दुई प्रतिशतले खेती गर्छन्। अमेरिकामा चार प्रतिशतले कृषिकर्म गर्छन्। त्यसैले हामीकहाँ पनि किसान खत्तम हुन्छन, खेती खत्तम हुन्छ, पाँच प्रतिशतले मात्र खेती गर्छन् भन्छौं। आधुनिक युगको विकासक्रममा यस्तै हुन्छ भन्दै ती तर्क गर्छन। म यसलाई दास मानसिकता भन्छु। यो मानसिक अभिशापको शिकार हामी पनि भएका छौं, तपाईं पनि हुनुहुन्छ। आजको विश्वलाई यस्तो मानसिकताबाट बाहिर निस्कन सबैभन्दा ठूलो चुनौती छ। हो, हामी अहिले नै अमेरिकाको वर्चस्व बदल्न सक्दैनौं। पूँजीवादलाई तत्काल हटाउन सकिंदैन। आधुनिक प्रविधिमा गएको दुनियाँलाई तत्काल बदल्न सकिंदैन। तर हाम्रो आफ्नो मानसिकता त बदल्न सक्छौं नि। त्यसैले हामी मिलेर यस्तो सामूहिक परिकल्पना गर्नुपरेको छ, जहाँ यूरोप र अमेरिकाको नक्कल नगरिएको होस्।
मानिलिनोस्, यदि अत्याधुनिक वैज्ञानिक प्रयोगशाला नेपाल, बाङ्लादेश र भारतमा हुन्थ्यो भने हामी के भन्थ्यौं हौंला? हामी भन्थ्यौं, ‘मलाई यस्तो प्रविधि चाहियो जसका निम्ति श्रमशक्तिको चिन्ता नगर, तर पूँजी कमभन्दा कम लागोस्।’ हामीकहाँ पक्कै पनि पश्चिमाभन्दा भिन्न प्रविधि उत्पादन हुन्थ्यो। हामीलाई त्यस्तो प्रविधि चाहिएको छ जुन तपाईं हाम्रो हितार्थ होस्।
यो सबै कुरा बताउन हामीलाई थुप्रा स्वतन्त्र मिडियाहरू चाहिन्छन्। तर तपाईं नै भन्नुहुन्छ- आजका मिडिया मृतप्रायः भइसके। यस्तो हो भने तपाईंले भनेको सामूहिक प्रयत्न कसरी सम्भव होला?
मैले मिडिया मृतप्रायः भनेको होइन, स्वतन्त्र मिडिया छैन भनेको हुँ। भन्न त हुँदैन, तर मिडिया मृत भइदिएको भए हामी कम्तीमा कैयौं समस्याबाट बच्थ्यौं। पछिल्ला १० वर्षमा भारतमा टेलिभिजन नभइदिएको भए हिन्दू-मुसलमानबीच जुन घृणाभाव उत्पन्न गराइएको छ, त्यो हुँदैनथ्यो। जति ठूलो मात्रामा हिन्दी च्यानलमा दिनहुँ घृणा देखाइन्छ, मुसलमान विरुद्ध विशुद्ध अफवाह फैलाइन्छ, त्यसको तुलनामा खण्डन निकै सानो आउँछ। त्यसले मान्छेको दिमागमा घृणा भर्ने काम गरिरहेको छ। समस्या यो होइन कि मिडियाले कम काम गरिरहेको छ, समस्या यो हो- मिडियाले सही काम गरिरहेको छैन, बरु गलत काम गरिरहेको छ।
म जब राजनीतिशास्त्र पढ्दै थिएँ, त्यति वेला मिडियालाई लोकतन्त्रको एउटा स्तम्भका रूपमा पढाइन्थ्यो। तर यदि आज मसँग सोधियो भने मिडिया हाउसमै बसेर म आज यो कुरा भन्दै छु- ‘यदि लोकतन्त्रलाई कतैबाट खतरा छ भने त्यो मास मिडियाबाट छ। लोकतन्त्रमाथि मिडियाबाटै हमला भइरहेको छ।’ भारतको सन्दर्भमा भन्नुपर्दा विष ओकल्ने, घृणा फैलाउने र झूट फैलाउने यो मिडियालाई कसरी रोक्न सकिन्छ? मसँग यसको उत्तर छैन।
लोकतन्त्रलाई बलियो बनाउने भनी दाबी गरिएको सामाजिक सञ्जालले त झन् बढी भ्रम फैलाइरहेको अध्ययनहरू सार्वजनिक भइरहेका छन्। त्यसमाथि तपाईंको टिप्पणी के छ?
सामाजिक सञ्जालमा एउटा राम्रो भएको छ, मिडियाले सूचना लुकाउन सक्दैनन्। व्यक्तिको हातहातमा मोबाइल छ, उसले सूचना सार्वजनिक गरिहाल्छ। गौतम अडानीको सम्पत्ति कति बढ्यो? कसरी बढ्यो? उनको मोदीसँग कस्तो सम्बन्ध हो? यो मूलधारे मिडियामा पाइँदैन, द वायरमा आउँछ, सामाजिक सञ्जाल हुँदै म पढ्न पाउँछु। तर पछिल्लो समय पूँजी र सत्ताको सामाजिक सञ्जालमा पनि नियन्त्रण भइसक्यो। शुरूमा लाग्थ्यो- सरकारको मूलधारे मिडियामा मात्र नियन्त्रण छ, सामाजिक सञ्जाल जनताले चलाइरहेका छन्, तर होइन रहेछ। उसको सामाजिक सञ्जालमा पनि कब्जा भइसकेछ।
अहिले सामाजिक सञ्जाल नै भाजपाले चलाइरहेको छ। भ्रम फैलाउने फ्याक्ट्री खोलेर बसेको छ। अहिले भ्रम फैलाउने माध्यम सामाजिक सञ्जाल बन्न पुगेको छ। आज पूँजीपतिको पैसा र मास मिडिया लोकतन्त्रका निम्ति सबैभन्दा ठूलो चुनौती हुन गएका छन्। म मिडियाको व्यक्ति नभएकाले यी सबैमा मेरो चिन्ता छ, तर यसबाट कसरी बच्ने भन्ने मसँग समाधान छैन।
मैले राव साहेब कसबेको पुस्तक हिन्दू राष्ट्रवाद : सावरकर और राष्ट्रिय स्वयंसेवक संघ पढिरहेको थिएँ। त्यसमा रोचक कुरा भेटें। त्यसमा लेखिएको छ- ‘नरेन्द्र मोदीलाई प्रधानमन्त्री बनाउन भाजपा र आरएसएस दुवैको नेतृत्व तयार थिएन। उनलाई ओवीसी (पिछडिएको जाति) भएका कारण र मुख्यतः केही पूँजीपतिहरूको दबाबमा प्रधानमन्त्रीको उम्मेदवार बनाइएको हो’ भनी लेखिएको छ। के हो सत्य हो?
राव साहेब महाराष्ट्रका सम्मानित चिन्तक हुन्। उनले गहिरो चीजतर्फ इशारा गरिरहेका छन्। मोदी निर्माण गर्दा कसको के नियत थियो, म त्यतातिर जान चाहन्नँ। तर मूलभूत रूपमा कसबेजीले मोदीको गुजरातका केही पूँजीपतिसँग रहेको सम्बन्धतर्फ इशारा गर्न खोजेको देखिन्छ। यो आजको कुरा होइन। यसको प्रारम्भ २००२ को गुजरात दंगाबाटै शुरू भइसकेको थियो। त्यो दंगामा तत्कालीन मुख्यमन्त्री मोदीको पनि संलग्नता रहेको बताइएपछि उनलाई कुनै धनाढ्यहरूले साथ दिएनन्। सबैले हात पछाडि गरे। मोदीलाई अछूत बनाइएको त्यस्तो अवस्थामा गौतम अडानी उनलाई साथ दिन आए। त्यसपछि गौतम सहितका केही उद्योगपतिको समूह बनाई गुजरातमा पूँजी आकृष्ट गर्न थालियो। अडानी र मोदीको सम्बन्ध त्यति वेलै देखिएको हो। चुनाव जितेपछि जब मोदी शपथ लिन दिल्ली आए, उनी अडानीको जहाजमा आए। केही पत्रकारले मोदी जुन जुन देशमा जान्छन्, त्यसको केही दिनपछि अडानीले प्रोजेक्ट पाउने तथ्य पनि उजागर गरिदिएका थिए। यो सानो कुरा होइन।
पूँजी र सत्ताको सम्बन्ध वर्तमान लोकतन्त्रको सबैभन्दा ठूलो सच्चाइका रूपमा देखिन्छ। पूँजी र सत्ताको सम्बन्ध मोदी आउनुभन्दा अगाडि पनि थियो। तर त्यति वेला जुन किसिमको सम्बन्ध थियो, त्यो सरकार र केही उद्योगपतिसँग गरिने लेनदेनको सम्बन्ध थियो। अहिलेको सम्बन्ध भिन्न किसिमको देखिन्छ। अहिले यो सम्बन्ध ‘रिलेसनशिप’ होइन, ‘पार्टनरशिप’ मा बदलिएको छ। त्यसैले हामी भारतमा भन्छौं- ‘मोदानीको सरकार’। यो सरकार मोदीको मात्र होइन। मोदी र अदानीको पार्टनरशिपमा चलेको सरकार हो। त्यसैले आरएसएस र भाजपाको सांस्कृतिक राष्ट्रवाद र हिन्दू धर्मको गौरव यो सब मुकुन्डो मात्र हो। त्यो मुकुन्डो पछाडि जुन पूँजीको मुहार छ, हरेक ठाउँमा कब्जा गर्ने पूँजीको जुन लोभ छ, त्यो उसको यथार्थता हो।
तपाईंले लोकतन्त्रमाथि आधा दर्जन किताब लेख्नुभएको छ। के मोदी र ट्रम्प जस्ता नेताहरूको उदयपश्चात् हामीले पढ्दै आएको लोकतन्त्रको परिभाषा बदलिंदै गएको हो?
लोकतन्त्र एउटा आदर्श हो। लोकतन्त्रको अर्थ ‘एउटा यस्तो राज्य जसमा हरेक व्यक्तिलाई उसको जीवनमा प्रभावित पार्ने हरेक ठूलो निर्णय गर्न सबैलाई बराबर हक प्राप्त हुनेछ’ भनिन्छ। यो मूल भाव हो। यो सुन्दर आदर्शलाई हामीले छाड्न हुँदैन। अर्काे लोकतन्त्र एक राजनीतिक व्यवस्थाको पनि नाम हो। जहाँ चुनाव हुन्छ र चुनावमा जसलाई बहुमत प्राप्त हुन्छ, उसले सरकार बनाउँछ। पहिलो आदर्श र यो यथार्थबीच कुनै सम्बन्ध हुँदैन। तर हामीले दुवैलाई एउटै नाम दिएका छौं, लोकतन्त्र। आदर्श आफ्नो ठाउँमा छ, सही छ।
आजको विश्वमा अन्य कुनै पनि राजनीतिक प्रणालीभन्दा सुन्दर आदर्श हो, यो। तर लोकतन्त्रको नाममा बहुमतको सरकार बनाउने जुन व्यवस्था चलिरहेको छ, यो व्यवस्था अत्यन्त खतरनाक व्यवस्था हो। ट्रम्पको जितले हामीलाई एउटा उदाहरण दिन्छ। तर ध्यानपूर्वक हेर्यौं भने विश्वभर यस्तै देखिन्छ। श्रीलंकामा राजापाक्षे कस्तो राजनीति गर्दथे, सबैलाई थाहा छ। उनी अल्पसंख्यक तमिल विरुद्ध खुलमखुला आक्रामक हिंस्रक राजनीति गर्दथे। उनलाई एक चोटि होइन, कैयौं चोटि श्रीलंकाली जनताले ‘लोकतान्त्रिक’ माध्यमबाट जिताएर सत्तासीन गराएका थिए।
पहिला हामीलाई भनिन्छ, लोकतन्त्र एक देवी हुन्, उनलाई सम्मान गर, पूजा गर। हामी आँखा बन्द गरेर पूजा गर्न शुरू गर्छौं। साथसाथै बताइन्छ, बहुमतले जो जितेर आउँछन् त्यो पनि लोकतन्त्र हो। हामी त्यसको पनि पूजा गर्न शुरू गर्छौं। पहिलोको पूजा गर्नाेस्, दोस्रोको नगर्नाेस्। दोस्रोबाट राजापाक्षे निस्कन्छन्, त्यसबाट मोदी निस्कन्छन्, ट्रम्प निस्कन्छन्।
यस्तो बहुमत कहाँबाट बनिरहेको छ? हामीले माथि चर्चा गरेको मिडियाहरूबाट बनिरहेको छ। मिडिया कसले चलाइरहेको छ? त्यो पैसा जसको हामीले भर्खरै कुरा गर्यौं। पूँजीपतिहरूको पैसाबाट चल्ने मिडियाको सूचनाको आधारमा निर्णय गर्ने जनता र ती जनताको बहुमतबाट चल्ने सरकारको यदि हामीले पूजा गर्न थाल्ने हो भने यो असाध्यै खतरनाक हो। विश्वमा अहिले यही भइरहेको छ। यो हामीले पूजा गर्ने लोकतान्त्रिक आदर्शको व्यावहारिक रूप होइन। त्यो आदर्शको एक विकृत स्वरूप हो। यही विकृत अभ्यासबाट अमेरिकाका जनताले एक जना महिलाद्वेषी, साम्प्रदायिक, हरसमय भ्रम छर्ने व्यक्तिलाई आँखा खोलेर मत दिए। यो बिरामीको उपचार कसरी गर्ने? यो सबैभन्दा ठूलो प्रश्न हो जुन विश्वका सबै लोकतन्त्रवादीले सोच्न जरूरी छ।
यही कारण भारतका प्रमुख प्रतिपक्षी दलका नेता राहुल गान्धीलाई जसरी तपाईंहरूले देशभर पैदलमार्च गराउनुभयो। घृणालाई प्रेममा बदल्ने नारा दिनुभयो। के त्यो अभियानले घृणाको राजनीति कम गर्न केही भूमिका खेल्यो? केही परिवर्तन देखियो?
केही परिवर्तन त अवश्य भयो। सन् २०२२ मा जब भारत जोडो यात्रा शुरू भयो, त्यस बखत उत्तर प्रदेशको चुनाव भएको थियो। भाजपाले जितेर योगी आदित्यनाथ दोस्रो चोटि मुख्यमन्त्री बनेका थिए। त्यो परिणामपछि भाजपा मात्र होइन अन्यलाई पनि के लागेको थियो भने, अब सकिंदैन। अब ‘एन्टिमुस्लिम’ राजनीति नगरी टिकिंदैन। सबै भाजपा लाइनमा लागिसकेका थिए। यस्तो वेला प्रेमको कुरा गर्न र मञ्चबाट पूँजीपतिहरूको नाम लिएर तिनको विरोध गर्न र सत्तालाई लल्कार्नु सानो कुरा थिएन। त्यसले परिवर्तन ल्याएको छ। तर बदलाव निकै लामो कर्म हो। भारतमा आरएसएसले जसरी १०० वर्षदेखि घृणा र ढाँटको सुई समाजमा घोपेको छ, त्यसको दुष्प्रभावबाट समाजलाई निकाल्न कम्तीमा २५ वर्ष लाग्नेछ। भारत जोडो यात्रा त्यसको प्रारम्भ थियो।
२०२४ को लोक सभा चुनावले त्यसमा थप काम गर्यो। सम्भावनाको झ्याल खोलिदियो। तर त्यो झ्याललाई खुला राखिराख्न गर्नुपर्ने काम निकै चुनौतीपूर्ण छ। जसरी श्रीलंकामा हिन्दू तमिलहरू विरुद्धको पूर्वाग्रह सर्वसाधारणका दिमागबाट निकाल्न सजिलो छैन, त्यसैगरी पाकिस्तानमा तालिवानले भरिदिएको विष निकाल्न निकै साह्रो छ। त्यसैले म नेपालका मित्रहरूलाई भन्छु- यस्तो विषाक्त राजनीति तपाईंकोमा भर्खर भर्खर प्रवेश गरेको छ, आरएसएसले जर्मनीको बिरामी भारतमा आयात गरेर त्यसलाई नेपालमा निर्यात गर्न खोज्दै छ। तपाईं यो ‘आयात-निर्यात’ बाट बच्नुहोला।
हाम्रो आफ्नो सभ्यता छ, संस्कृति छ। त्यसका आधारमा हामीले आफ्नो राजनीति बनाऔं। त्यो स्वस्थ राजनीति हुनेछ।
सन् २०२४ को निर्वाचनमा भाजपा कमजोर भएपछि लोकतन्त्र बलियो भएको विश्लेषण भएको थियो। तर अहिले हरियाणामा भएको चुनावमा भाजपाले जित्यो। महाराष्ट्र र झारखण्डमा हुन गइरहेको चुनावमा पनि भाजपा बलियो देखिएको भनिंदै छ। के हरियाणाको जितले कमजोर भएका मोदीको ‘नूर’ फेरि उठेको हो?
भाजपासँग यति ठूलो मिडिया संयन्त्र छ कि उसले एउटा चुनावी जितलाई सामान्यीकरण गरेर आफ्नो पक्षमा प्रचार गर्न प्रयत्न गर्दछ। यो भाजपा ‘स्टाइल’ हो। उसलाई ‘सूर्यलाई पातले छोप्न’ महारथ हासिल छ। त्यस्तो प्रयास पनि भइरहेको छ। महाराष्ट्र र झारखण्डका बारेमा अहिले केही भन्न सकिंदैन। केही दिनपछि परिणाम आउँदै छ। दुई राज्यमा हुने यो चुनावले आउने विधान सभा निर्वाचनको मुड तय गर्ने हुनाले यो महत्त्वपूर्ण चुनाव हो। यसपछि हाम्रो ठूलो चुनाव बिहारमा हुँदै छ, आउँदो अक्टोबरमा। त्यसलाई अहिलेको परिणामले प्रभाव पार्नेछ।
लोक सभा चुनावमा हारेपछि मोदीको ‘गुब्बारा’ पच्किएको थियो। त्यसले भारतीय जनमानसमा एउटा सन्तोष उत्पन्न भएको थियो। त्यसले केही खुलापन आयो। मोदीले विवादास्पद आफ्नो घोषित नीति र कार्यक्रम लागू गर्न सकेनन्। यी राज्यमा भाजपाले जित्यो भने ऊ फेरि पुरानै लयमा फर्कनेछ र पहिले गरेकै काम शुरू गर्नेछ। त्यसैले केही चिन्ता पनि छ, तर भाजपाले जित्दैन होला भन्ने आश पनि छ।
हामी लोकतान्त्रिक अभ्यास खतरामा परिरहेको कुरा गरिरहेका छौं। भारतमा २० करोडभन्दा बढी आवादी मुस्लिम समुदायको छ। इन्डिया विश्वको दोस्रो ठूलो जनसंख्या मुसलमान बसोबास भएको देश हो। यस्तोमा आरएसएसले फैलाइरहेको घृणाको राजनीति विरुद्ध त्यो समुदायका युवाले ‘बाटो बिराए’ भने त्यसले समाज तहसनहस पार्छ र त्यसकारण पनि अल्पसंख्यक विरुद्धको घृणाको राजनीति रोक्न प्रयत्न गर्नुपर्छ भन्ने विषयमा विमर्श हुँदैन?
यो भारतको मात्र नभई विश्वभरकै खतरा हो। लोकतान्त्रिक व्यवस्थाले बहुसंख्यकको हितको रक्षा त गर्छ नै, अल्पसंख्यकको हितको रक्षा कसरी गर्ने? यो लोकतन्त्रको आधारभूत प्रश्न हो। भारतमा हिन्दू बहुसंख्यामा छन्। मुसलमान अल्पसंख्यामा छन्। तर बाङ्लादेश र पाकिस्तानमा मुसलमान बहुसंख्यामा छन्। म देख्दछु, यी आरएसएसवालाहरू हामी बाङ्लादेश र पाकिस्तानका हिन्दूहरूको रक्षा गर्छौं भन्दै उफ्रन्छन्। तर आफ्नो देशमा मुस्लिम अल्पसंख्यकको रक्षाको कुरा उठाउन त छाड्नोस्, तिनलाई दबाउन उद्यत हुन्छन्। यो कस्तो पाखण्ड हो?
इमानदार लोकतान्त्रिक राजनीति त्यो हो जसले हरेक ठाउँका अल्पसंख्यकलाई सुरक्षा दिने एउटा ‘मेकानिज्म’ बनाई तिनको संरक्षण गर्ने प्रयत्न गर्छ। लोकतन्त्रमा बहुमतको शासनको अर्थ बहुसंख्यक समुदायको शासन होइन। लोकतन्त्रमा राजनीतिक रूपमा एउटा दलको बहुमतको शासन हुन्छ जसमा हरेक समुदायले समान रूपले सहभागिता जनाउने सम्भावना रहन्छ। त्यो लोकतन्त्रको आत्मा हो। अल्पसंख्यकलाई संरक्षण नगरी कसरी लोकतन्त्र बलियो हुन्छ? यसबारे हामीकहाँ पनि छलफल भइरहेको छ। यस विषयमा विश्वभरका लोकतन्त्रवादीहरूले छलफल चलाइराख्न पर्दछ।
लोक सभा चुनावी रिपोर्टिङको वेला घुम्दा त्यहाँका सबैले ‘नेपाल पूरै चीनमय भयो’ भन्दै जिज्ञासा र चिन्ता राखेको देखें। त्यो चिन्ता सर्वसाधारणमा पनि व्यापक थियो। यस्तो गलत भाष्य कसले बनायो त्यहाँ?
नेपालको आन्तरिक राजनीतिबारे मलाई धेरै जानकारी छैन। तर यसमा केही आश्चर्य लागेको छैन, भारतमा चीनलाई आशंकाको नजरले हेर्ने गरिन्छ, विशेषतः सन् १९६२ पछि। भारतीय जनता चीनप्रति आशंकित हुनु स्वाभाविक हो। तर नेपालका निम्ति भारत जस्तै चीन पनि छिमेकी हो। यद्यपि भारतसँग जुन खालको सांस्कृतिक सम्बन्ध छ, जसरी भारतसँग खुला सिमाना छ, त्यस्तो चीनसँग छैन। तर नेपाल आफ्नो छिमेकीसँग आफ्नो आवश्यकता अनुरूप सम्बन्ध राख्न स्वतन्त्र छ। अरूले यो गर, यो नगर भनेर हुँदैन।
जनताको माझमा नेपालप्रति जुन किसिमको आशंका तपाईंले भन्नुभएको छ, त्यो चाहिं मिडियाले बनाएको हो भन्ने कुरा मैले अघि नै भनिसकें। यो जुन अवस्था आएको छ, यो हाम्रो आपसी सम्बन्धका निम्ति खतरनाक छ। यसमा गम्भीर भई काम गर्नुपर्ने जरूरी छ। फेरि भनें- विदेश मन्त्रालयको चश्माबाट हामीले दुई देशको आपसी सम्बन्धलाई हेर्न हुँदैन। सरकार त आउँछ जान्छ, जनस्तरीय सम्बन्ध त सधैं रहिरहन्छ। सानो मिडिया भए पनि दुईथरीको सत्यतथ्य समाचार दिएर यस्तो कार्यको शुरूआत गर्न सकिन्छ।
विश्वभरका शैक्षणिक संस्थाबाट हरेक दिनजसो हजारौं-लाखौं जनशक्ति दीक्षित भएर निस्किरहेका छन्। त्यही अनुपातमा शैक्षिक संस्थाको वृद्धि भइरहेको छ। र, पनि समाजमा घृणा, अशान्ति, असुरक्षा, लडाइँ, झगडा, हिंसा, असन्तुष्टि, ईर्ष्या किन बढिरहेको होला? तपाईं त शैक्षिक क्षेत्रमा पनि काम गरेको मान्छे, यसका पछाडि के कारण देख्नुहुन्छ?
शिक्षित बन्नु र ज्ञानी हुनु दुई फरक कुरा हुन्। औपचारिक डिग्री लिंदैमा समझदारी बढ्छ भन्ने हुँदैन। अमेरिकामा राम्रा शैक्षिक संस्थामा पढ्नेहरू ट्रम्पको विजयमा दु:खी होलान्, तर भारतमा म उल्टो देख्छु। यहाँ जो बढी शिक्षित छन्, तिनै घोर मोदी समर्थक छन्। यो किन भइरहेको छ भने विद्यालय र विश्वविद्यालयहरूले हामीलाई पढ्न लेख्न र बोल्न त सिकाए, तर ज्ञान दिन सकेनन्। बरु तपाईंको हातमा तरबार हाल्दिए। शिक्षाको अर्थ तरबार हो।
पहिला, तपाईंको हातमा नङ मात्र थियो, अहिले तपाईंको हातमा चक्कु र तरबार पनि आयो। तपाईंले चक्कुले अप्रेशन पनि गर्न सक्नुहुन्छ र कसैको हत्या पनि गर्न सक्नुहुन्छ। हाम्रो शिक्षाले हातमा चक्कु र तरबार त दियो, तर त्यो कहाँ र कसरी चलाउने भन्नेबारे तरीका र उद्देश्य नै सिकाउन सकेन। शिक्षाको खास अर्थ हुन्छ- आफैंले आफूलाई हेर्न सिकाउने, ‘अप्प दीपो भव’। तर हाम्रो शिक्षाले आफैंले आफूलाई हेर्नै सिकाएन। त्यो हिसाबले आधुनिक शिक्षा निकै सीमित अर्थको शिक्षा हो। मैले अघि उल्लेख गरेको ज्ञानयोग र ध्यानयोग शिक्षा प्रणालीसँग जोडिनै सकेनन्। अहिलेको आधुनिक शिक्षापद्धतिले हामीलाई राम्रो करिअर त दिन सक्छ, तर राम्रो मान्छे बनाउन सक्दैन।