ट्रम्पको नेतृत्वमा युद्ध छिटै सकिन्छ : जेलेन्स्की
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले डोनल्ड ट्रम्प अमेरिकी राष्ट्रपति बनेपछि रूससँगको युद्ध छिटै समाप्त हुने कुरामा आफू विश्वस्त रहेको बताएका छन्।
राष्ट्रपतीय चुनावमा विजयी भएपछि ट्रम्पसँग भएको फोनवार्तालाई जेलेन्स्कीले सकारात्मक बताएका छन्। यद्यपि रूससँगको वार्ताका विषयमा ट्रम्पले कुनै विशेष शर्त राखे/नराखेकोबारे उनी मौन रहेको बीबीसीले उल्लेख गरेको छ।
ट्रम्पको प्राथमिकता भनेको युद्ध समाप्त गर्नु र युक्रेनलाई दिइने अमेरिकी सैन्य सहयोग रोक्नु रहेको छ।
युक्रेनी मिडिया आउटलेट सस्पिल्नेसँगको कुराकानीमा जेलेन्स्कीले भने, “नयाँ अमेरिकी प्रशासनको नीतिले गर्दा युद्ध छिटै समाप्त हुनेछ। यो उनीहरूको दृष्टिकोण र आफ्ना नागरिकप्रतिको प्रतिबद्धता हो।”
उनले आगामी वर्षभित्र कूटनीतिक माध्यमबाट युद्ध अन्त्य गर्ने लक्ष्य राखेको बताए। तर अहिले युद्धक्षेत्रमा स्थिति जटिल रहेको र रूसी सेनाले फाइदा लिइरहेको बताएका छन्। अमेरिकी कानून अनुसार जेलेन्स्कीले ट्रम्पसँग औपचारिक भेटघाट गर्न जनवरीको शपथग्रहण कार्यक्रम पर्खनुपर्नेछ।
ट्रम्प र जेलेन्स्कीबीचको सम्बन्धमा उतारचढाव देखिंदै आएको छ। विशेषगरी सन् २०१९ मा जो बाइडेन परिवार विरुद्ध जेलेन्स्कीमाथि अनुचित दबाब दिएको आरोपमा ट्रम्पले महाअभियोगको सामना गर्नुपरेको थियो।
यद्यपि विगतका मतभेदहरू बावजूद ट्रम्पले जेलेन्स्कीसँग आफ्नो सम्बन्ध सौहार्दपूर्ण रहेको बताउँदै आएका छन्। न्यू योर्कमा भएको भेटघाटपछि ट्रम्पले युद्ध समाधानको आश्वासन दिए पनि त्यसको विस्तृत योजना भने सार्वजनिक गरेका छैनन्।
डेमोक्रेटिक पार्टीका नेताहरूले ट्रम्पमाथि रूसी राष्ट्रपति पुटिनप्रति झुकाव राखेको आरोप लगाएका छन्। उनीहरूका अनुसार ट्रम्पको नीतिले युक्रेनलाई आत्मसमर्पण गर्न बाध्य पार्नेछ, जसले समग्र यूरोपको सुरक्षामा जोखिम निम्त्याउन सक्छ।
तर जर्मन चान्सलर ओलाफ स्कोल्जले ट्रम्पसँगको कुराकानीपछि जर्मन मिडियालाई बताए अनुसार ट्रम्पको युद्धप्रतिको दृष्टिकोण सोचेभन्दा बढी सन्तुलित रहेको बताए।
युक्रेनलाई सैन्य सहयोग गर्ने मुलुकमध्ये अमेरिका सबैभन्दा ठूलो दाता हो। यसै वर्ष अमेरिकी संसद्ले ६१ अर्ब डलरको सैन्य सहायता प्याकेज स्वीकृत गरेको छ। जर्मनीको किल इन्स्टिच्यूटका अनुसार फेब्रुअरी २०२२ देखि जुन २०२४ सम्म अमेरिकाले युक्रेनलाई करीब ५५.५ अर्ब डलर बराबरको सैन्य सहयोग उपलब्ध गराइसकेको छ।