उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता
स्थानीय तहको उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता गरिंदै छ।
निर्वाचन आयोगका अनुसार आज बिहान १० देखि बेलुकी ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने कार्यक्रम छ। उम्मेदवारी दर्ताका लागि सबै तयारी पूरा भएको आयोगले जनाएको छ।
विभिन्न कारणले स्थानीय तहमा जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका मेयर र उपमेयर एक–एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पद रिक्त छन्। रिक्त पदका लागि मंसीर १६ गते उपनिर्वाचन हुँदै छ।
यससँगै आयोगले आजदेखि निर्वाचन आचारसंहिता पनि लागू गरेको छ। उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्र सार्वजनिक पदधारण गरेका व्यक्ति, निकाय तथा अधिकारीलाई निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागू गर्ने निर्णय गरेको आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले बताइन्।
नेपाल सरकार र मन्त्री, प्रदेश सरकार र प्रदेशमन्त्री, संवैधानिक निकाय र सोका पदाधिकारी, नेपाल सरकार वा प्रदेश सरकारका निकाय र सोका पदाधिकारी, स्थानीय कार्यपालिका र सोका सदस्य, संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारीलाई आचारसंहिता लाग्नेछ।
यसैगरी, मतदाता, विकास साझेदार संस्था, सरकारी वा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना तथा परियोजनाका कर्मचारी, मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था तथा सो संस्थाका कर्मचारी, निजी क्षेत्रका ब्यांक तथा वित्तीय संस्था, सहकारी संस्था, व्यापारिक तथा औद्योगिक क्षेत्र, सोका पदाधिकारी, कर्मचारी तथा कामदार, वस्तु वा सेवाप्रदायक व्यावसायिक संस्थाका पदाधिकारी, कर्मचारी तथा कामदार र आयोगले तोकेका अन्य निकाय वा व्यक्तिले आचारसंहिताको पालना गर्नुपर्नेछ।
आचारसंहिता विपरीतका कार्य भए/गरेको पाइएमा वा हुन सक्ने पर्याप्त आधार र कारण देखिएमा मौखिक, लिखित, सामाजिक सञ्जाल, विद्युतीय माध्यम वा अन्य कुनै तरीकाले उजुरी दिन पनि आयोगले आग्रह गरेको छ।