हत्या गरिएका पत्रकारका आफन्त भन्छन्- बदनाम गराउन चोरीको आरोप लगाइयो
कुटपिट गरि हत्या गरिएका कैलालीका सामाजिक अभियन्ता तथा सञ्चारकर्मी सुरेश भुललाई बदनाम गराउन चोरीको आरोप लगाइएको परिवारजनले बताएका छन्।
कैलालीको गौरीगंगा नगरपालिका-११, कान्तिपुर गाउँका सूचना अभियन्ता एवं पत्रकार सुरेश भुललाई स्थानीयले कात्तिक २४ गते कुटपिट गरेका थिए। बाख्रा चोरेको आरोप लगाएर कुटपिट गरिएका सुरेशको उपचारका क्रममा मृत्यु भयो।
सुरेशका दाइ गणेश भुलका अनुसार, कात्तिक २३ गते बिहान शौचालय जाने समयमा नजिकै रहेको वडा कार्यालयअगाडि बाख्रा देखेका थिए। “कसैको होला, बाँधेर राखिदिनुपर्यो भनेर ल्याएका थिए,” गणेश भन्छन्, “चोरेको भए त पसलमै किन बाँधेर राख्थे?”
सुरेशको औषधि पसल पनि वडा कार्यालय नजिकै छ। उनले सीएमए पढेका थिए। अनमी पढेकी उनकी पत्नी कल्पना वडा कार्यलयकै बर्थिङ सेन्टरमा कार्यरत छिन्।
स्थानीय विष्ना भुलको बाख्रा तीन दिनअघि हराएको थियो। कात्तिक २३ गते सुरेशको पसलमा बाँधेको देखेपछि उनलाई चोरेको आरोप लगाए। त्यसपछि सात-आठ जनाको समूहले कुटपिट गरेको उनी सुनाउँछन्।
दुवै पक्षबीच वडा कार्यालयमा छलफल भयो। सुरेश बाख्रा नचोरेको अडानमा कायमै रहे भने विष्ना पक्षले चोरी गरेको आरोप लगाइरह्यो। उनीहरूले एक लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने माग गरे। दुवै पक्षबीच विवाद बढ्न थालेपछि इलाका प्रहरी कार्यालय, मसुरियामा खबर गरेको वडाध्यक्ष साहेबलाल चौधरी बताउँछन्।
त्यसपछि दुवै पक्ष प्रहरी कार्यालयमा पुगे। त्यहाँ पनि बाख्राधनीले एक लाख दिनुपर्ने माग गरिराखे। केही नचलेपछि सुरेश ३० हजार रुपैयाँ दिन सहमत भएको दाइ गणेश सुनाउँछन्। इलाका प्रहरी कार्यालयले भने पैसाको कुरा नभएको र दुवै पक्षबीच झगडा नगर्ने सहमति गरिएको जनाएको छ।
कात्तिक २४ गते साँझ विष्ना लगायत गाउँले पैसा माग्न सुरेशको घरमा आए। सुरेशले अरुसँग सापट मागेको र उनीहरू पैसा लिएर आउँदै गरेकाले केही समय पर्खिन आग्रह गरे।
त्यतिवेला फर्किएका उनीहरू केही समयपछि फेरि सुरेशको घरमा आए। यस पटक भने एक लाख रुपैयाँ दिनुपर्ने माग गरेको गणेश सुनाउँछन्। “फेरि विवाद शुरू भयो, आठ-दश जनाको समूहमा आएका उनीहरूले कुटपिट गरे,” गणेश भन्छन्।
निर्घात कुटपिटबाट घाइते भएका सुरेश त्यही ढले। उनकी पत्नी कल्पनाले राति नै उपचारका लागि धनगढी लगिन्। उपचारका क्रममा धनगढीमा रहेका वेला सुरेशले दलित पत्रकारहरूको सामाजिक सञ्जालको ग्रुपमा प्रहरीकै अगाडि आफूलाई कुटपिट गरिएको म्यासेज लेखका थिए। तर प्रहरीले भने कुटपिट भएपछि मात्रै घटनास्थल पुगेको दाबी गरेको छ।
सुरेशले कात्तिक २५ गते केही सहकर्मीलाई फोन गरेर आफूलाई कुटपिट गरेको जानकारी पनि दिएका थिए। आफू सूचनाको हकका लागि सक्रिय रहेकाले कुटपिट गरिएको बताउँदै उनले कात्तिक २६ गते प्रहरीमा उजुरी दिने र आफूलाई सहयोग गर्न आग्रह गरेका थिए। तर, उनको कात्तिक २६ गते बिहान धनगढीस्थित निसर्ग अस्पतालमा उपचारकै क्रममा मृत्यु भयो।
उनकी पत्नी कल्पनाले कुटपिट गर्नेहरूविरुद्ध किटानी जाहेरी दिएकी छन्। त्यसका आधारमा आठ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी नायव उपरीक्षक कविन्द्रबहादुर बोहराले बताए।
पक्राउ पर्नेमा पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका-११ का ६५ वर्षीय जंगबहादुर भुल, २३ वर्षीय विशाल विक, १८ वर्षीय दिनेश विक, १८ वर्षीय दिनेश भुल, ४५ वर्षीया बिस्ना भुल, ३८ वर्षीया रमा रावल, ३१ वर्षीय धर्मसिँह विक र २४ वर्षीय रमेश रावल छन्। त्यस्तै, कुटपिटनमा संलग्न गौरीगंगा-९ का ४० वर्षीय पवन बोगटी भने फरार रहेको प्रहरीले जनाएको छ।
कुटपिट गर्दा र प्रहरीमा पनि सुरेशले बाख्रा चोरी नगरेको बताएका थिए। उनले वडा कार्यालयको सीसीटीभी हेर्न आग्रह गरेका थिए। वडा कार्यालयको सीसीटीभीमा पनि गेटमा उभिइरहेको बाख्रालाई लगेको देखिएको वडाध्यक्ष चौधरी बताउँछन्। “सीसीटीभीमा पनि चोरेको देखिएन, उनले भनेअनुसार नै वडा कार्यालयको गेटमा रहेको बाख्रालाई लगेको देखिन्छ,” चौधरी भन्छन्, “त्यति भन्दा पनि कसैले मानेनन्। सीसीटीभी फुटेज पनि प्रहरीलाई बुझाएका छौं।”
सुरेशले बाख्रा नचोरेको, बरु सुरक्षित राखेको दाइ गणेश बताउँछन्। “चोरीको आरोप लगाएर बदनाम गराउन खोजिएको छ, यो योजना बनाउने सबैलाई कारबाही हुनुपर्छ,” उनी भन्छन्।
सुरेश पत्रकारिता सँगसँगै सूचनाको हक सम्बन्धी अभियानमा संलग्न थिए। कैलाली जिल्ला स्तरीय समितिको सदस्य भएर सूचनाको हक प्रयोग गरेर थुप्रै सूचना मागेका थिए। विशेषगरी वडा कार्यालय, सामुदायिक वन, सहकारी संस्था, विद्यालय लगायतमा सूचना मागेका थिए।
यसमा उनलाई धम्की पनि आएको सूचनाको हकका जिल्ला अध्यक्ष दीपक उपाध्याय बताउँछन्। सूचनाको हक कैलालीको फेसबूक ग्रुपमा म्यासेज गरेर आफूलाई धम्की आएको पनि जानकारी गराएका थिए। ग्रुपमा ‘ममाथि कुनै पनि वेला आक्रमण हुन सक्छ’ भनेर लेखेका थिए। “यस्तो घटना होला भन्ने अनुमान गरेका थिएनौं,” अध्यक्ष उपाध्याय भन्छन्, “सुरेशको हत्या सूचनाको माग गरेकै कारण हो भन्ने लागेको छ।”
सुरेश सुदूरपाटी अनलाइनमा कार्यरत थिए। उनी दलित पत्रकार संघ, कैलालीका सचिव पनि हुन्।