गोदावरीमा भेटियो विश्वकै नयाँ फूल प्रजाति
ललितपुरको गोदावरी र गण्डकीबाट पनि नमूना संकलन गरिएको स्टेलारिया फूलको प्रजाति विश्वकै निम्ति नयाँ भएको पहिचान भएको छ। यसको नाम वनस्पतिविद् संगीता राजभण्डारीको सम्मानमा ‘स्टेलारिया राजभण्डारीई’ राखिएको छ।
ललितपुरको गोदावरीमा फूल फुल्ने नयाँ वनस्पति प्रजाति भेटिएको छ। विश्वकै निम्ति नयाँ पत्ता लागेको स्टेलारियाको नयाँ प्रजातिबारे फाइटोट्याक्सा जर्नलको १४ नोभेम्बर २०२४ को संस्करण (भोलम ६७१, अंक ३)मा प्रकाशित राशिका काफ्ले, नीलम पाण्डे, गौरव पर्मारको लेखमा उल्लेख छ।
थपिएको यो वनस्पति प्रजातिसँगै गोदावरी र यस आसपासको क्षेत्रमा भेटिएर अभिलेखमा समेटिएका फूल फुल्ने रैथाने वनस्पति प्रजातिको संख्या आठ पुगेको छ।
स्टेलारियाको नयाँ प्रजातिलाई ‘स्टेलारिया राजभण्डारीई’ नाम दिइएको छ। वनस्पतिविद् तथा त्रिभुवन विश्वविद्यालयको वनस्पतिशास्त्र केन्द्रीय विभागकी प्रमुख संगीता राजभण्डारीको सम्मानमा यो नाम राखिएको हो।
नयाँ प्रजातिका विशेषता
झार अन्तर्गतको अभिजालो भनिने वनस्पतिको परिवार क्यारिओफाइलेसीमा स्टेलारिया सहितका करीब १०० जाति छन्। स्टेलारिया जातिमा १२० प्रजाति सूचीकृत भइसकेका छन्। यो जाति अन्तर्गतका वनस्पति मूलतः यूरोप र एशियामा पाइन्छन्। नेपालमा स्टेलारिया जाति अन्तर्गत यसअघि १७ प्रजाति सूचीकृत थिए। माथि उल्लिखित लेखले स्टेलारियाका थप दुई प्रजाति प्रमाणित गरिदिएको छ।
अप्रिलदेखि जुलाईसम्म फुल्ने स्टेलारिया राजभण्डारीईको फूल सेतो हुन्छ। यसको स्वरूप ३० सेन्टिमिटरसम्म लामो हुने स्टेलारिया नेपालेन्सिस्सँग मिल्दोजुल्दो हुने रहेछ।
क्यारिओफाइलेसी वनस्पति परिवार अन्तर्गतका फूलमा पाँच वटा पुष्पपत्र हुन्छन्। यसो हुँदा यो परिवारका करीब १०० वटा जातिमै पाँच वटा पुष्पपत्र हुने नै भए। स्टेलारिया राजभण्डारीईको फूलको तस्वीर हेर्दा भने १० वटा पुष्पपत्र जस्तो देखिन्छ। तर त्यस्तो होइन। हरेक पुष्पपत्र चिरिएर दुई वटा जस्तो देखिने भएकाले १० वटा भए जस्तो लाग्ने हो।
पुष्पपत्र चिरिएको आकृति फाइटोट्याक्सामा प्रकाशित लेखमा समाविष्ट चित्र १ ‘इ’, २ ‘एफ’ र ३ ‘एफ’ मा देखिन्छ। क्यारियोफाइलेसी परिवारक फूलको पुष्पपत्र चिरिएको (बिफिड पेटल) हुन्छ भनेर लेखिएको पढेको थिएँ, तर यति धेरै चिरिएको हुन्छ भन्ने थाहा थिएन।
स्टेलारिया राजभण्डारीईको पुष्पदल पाँच वटा र पुंकेसर पनि पाँच वटा छन्। तर स्टेलारिया जातिका सबै प्रजातिमा पुंकेसरको संख्या पाँच वटा मात्र हुँदैन। उदाहरणका लागि, स्टेलारिया नेपालेन्सिस् र स्टेलारिया न्युटोमेन्टोसामा १०-१० वटा पुंकेसर हुन्छन् (हेर्नुहोस्, चित्र २ ‘डी’ र ३ ‘डी’)।
गजब सहकार्य
स्टेलारिया राजभण्डारीई समावेश रहेको अनुसन्धान लेख काफ्ले, पाण्डे र पर्मार गरी तीन जनाले लेखे। तर यसको व्याख्या ती तीनमध्ये काफ्ले र पर्मारले गरेका छन्। अध्ययनमा पाण्डेको पनि महत्त्वपूर्ण भूमिका रह्यो।
उक्त लेख तयार गर्न प्रविन भण्डारीको महत्त्वपूर्ण भूमिका रहेको देखिन्छ। भण्डारीले लेखमा समाविष्ट तस्वीर स्टेरोमाइक्रोस्कोप र स्क्यानिङ इलेक्ट्रोन माइक्रोस्कोपीबाट खिचेका छन्।
यस प्रजातिको नमूना काठमाडौं उपत्यकाका साथै गण्डकीबाट पनि संकलन गरिएको छ। स्थलगत अध्ययनमा वासुदेव पौडेल, बालकृष्ण घिमिरे, लक्ष्मी थापा, मनीषा नगरकोटी, निरूपा थापा, सर्वेश बराल र योगेन्द्रविक्रम पौडेलले सहयोग गरेको उल्लेख छ।
हामीकहाँ वनस्पतिको अध्ययनमा थोरतिनो सरसहयोग गर्नेहरूको नाम पनि लेख वा पुस्तकमा लेखकका रूपमा राख्ने गरिएको देखिन्छ। जुन चलन गलत हो। त्यो कसीमा राखेर हेर्दा स्टेलारिया राजभण्डारीईको अध्ययन र लेखले बाटो बिराएको देखिँदैन। किनकि स्थलगत अध्ययनमा सहयोग गर्ने र महत्त्वपूर्ण तस्वीर खिच्न सहयोग गर्नेहरू पनि यो लेखका लेखक हुन सक्थे, तर यसो गरिएको छैन। उनीहरूको नाम आभार व्यक्त गर्ने क्रममा मात्र उल्लेख गरिएको छ।
लेख वा पुस्तकमा लेखकका रूपमा नाम दर्ज गर्ने र यत्तिकै सम्बन्धित व्यक्तिको बायोडाटा बढाइदिने अभ्यास गलत हो। यस प्रवृत्तिले योग्यता नभई वा काम नगरी विज्ञ वा अनुसन्धाताका रूपमा दर्ज हुने वा गराउने घातक प्रचलनलाई प्रश्रय दिन्छ।
स्टेलारियाका १९ प्रजाति
काफ्ले, पाण्डे र पर्मारले आफ्नो लेखमा स्टेलारिया राजभण्डारीईसँगै स्टेलारिया जाति अन्तर्गत स्टेलारिया न्युटोमेन्टोसाबारे थप जानकारी उजागर गरेका छन्।
स्टेलारिया न्युटोमेन्टोसा सन् १९७५ मा पत्ता लागेको थियो। त्यसअघि सन् १९७१ मा स्टेलारिया नेपालेन्सिस् विश्वकै निम्ति नयाँ भेटिएको तथ्य उजागर भएको थियो। तर समयक्रममा वनस्पतिविद्हरूले स्टेलारिया न्युटोमेन्टोसा र स्टेलारिया नेपालेन्सिस् एकै हुन् भनेर लेखिदिएको पाइन्छ। स्टेलारिया न्युटोमेन्टोसा स्टेलारिया नेपालेन्सिस्कै पर्याय भनेर लेखिएका छन्।
तर माथि उल्लिखित लेखमा काफ्ले, पाण्डे र पर्मारले स्टेलारिया न्युटोमेन्टोसा र स्टेलारिया नेपालेन्सिस् बेग्लाबेग्लै प्रजाति हुन् भनेर प्रमाण पनि राखेका छन्। तस्वीरमा यी दुईबीचको फरक प्रस्टै देखिन्छ। यसबाट नेपालमा स्टेलारिया जातिका १९ प्रजाति रहेको पुष्टि भएको छ।
स्टेलारिया जाति अन्तर्गत एशियाली दुई प्रजाति नेपालेन्सिस् र न्युटोमेन्टोसाबीच नयाँ कुरा उजागर गर्न सक्नु लेखको महत्त्वपूर्ण अध्ययन नतीजा हो। तर लेखको प्रस्तुति व्यवस्थित गरिएको भए पाठक र अध्येताहरूलाई सहज हुन्थ्यो। स्टेलारियाका राजभण्डारीई, न्युटोमेन्टोसा र नेपालेन्सिस्को फूलको मात्र तस्वीर एक ठाउँ, पुष्पपत्रको मात्र अर्को ठाउँ र बोट आदिका मात्र छुट्टाछुट्टै राखिदिएको भए तुलनात्मक अध्ययन गर्न सजिलो हुन्थ्यो। यी तीन प्रजातिमा के कति समानता र भिन्नता छन् भनेर केलाउन सुविधा हुन्थ्यो।
यति मात्र होइन, स्टेलारिया राजभण्डारीईको मात्र लेख तयार गरेको भए पनि हुन्थ्यो। न्युटोमेन्टोसा र नेपालेन्सिस्को छुट्टै लेख बनाएको भए अध्ययन गर्न सजिलो हुन्थ्यो। यति हुँदाहुँदै स्टेलारियाका तीन प्रजातिबारे एउटै लेखमा पढ्न पाउनुमा पनि स्वाद छ।
गोदावरीमा फूल फुल्ने वनस्पतिको नयाँ प्रजाति भेटिनुले त्यस क्षेत्रका थप रैथाने वनस्पति चिनाउने सम्भावना रहेको संकेत गर्छ। वनस्पति अध्येताहरूले गोदावरी क्षेत्रमा स्थलगत अध्ययन-अनुसन्धान गर्नुपर्छ। गोदावरीमा नेपाल सरकारको राष्ट्रिय हर्बेरियम तथा वनस्पति प्रयोगशाला र राष्ट्रिय वनस्पति उद्यान छन्। उक्त क्षेत्र वनस्पतिविद्हरूको कार्यस्थल भएर हो वा वनस्पति उद्विकासका निम्ति महत्त्वपूर्ण भएर हो, भूगोलको क्षेत्रफलका आधारमा आठ रैथाने प्रजातिको अभिलेख हुनुले निकै महत्त्व राख्छ।
सरकारी वनस्पति अध्येताले भत्ताका लागि दूरदराजमा गएर स्थलगत अध्ययन गर्दै आएका छन्। काठमाडौं उपत्यकाभित्रकै गोदावरीमा अध्ययन हुन बाँकी रहेछ। वनस्पतिविद्हरूको कार्यक्षेत्र रहेको यो ठाउँ खोज तथा अध्ययनको हिसाबले बत्तीमुनिको अँध्यारो नरहोस्।