दार्चुला जीप दुर्घटनामा आठ जनाको मृत्यु
दार्चुलामा जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
मालिकार्जुन जात्राबाट गोकुलेश्वरतर्फ गइरहेको म १ ज ३३८ नम्बरको जीप शुक्रबार बिहान शैल्यशिखर नगरपालिका-५ स्थित सिराड खोलामा दुर्घटना भएको हो। दुर्घटनामा ६ जनाको घटनास्थलमै र दुई जनाको उपचारका लागि लैजाने क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए।
दुर्घटनामा दार्चुलाका शैल्यशिखर नगरपालिका-५, लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल, २८ वर्षीया शान्ति रावल, शैल्यशिखर-९ नकतडका ४५ वर्षीय दिलीप विष्ट, बैतडीको डिलासैनी-५ का १५ वर्षीय सञ्जीव बोहरा, भारतको उत्तर प्रदेशस्थित बिजनौर जिल्लाका ४५ वर्षीय मोहमद सफिर र १८ वर्षीय मोहमद बसिम, शैल्यशिखर-९ गोकुलेकी ३५ वर्षीया मीना लेखक र डिलासैनी गाउँपालिका-५ का वीरेन्द्रसिंह बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा भारतको उत्तर प्रदेशस्थित बिजनौरका सुहिल साह, बैतडीको डिलासैनी-५ का उत्तम रोकाया, शैल्यशिखर-५ का सन्दीप रावल र प्रकाश रावल तथा मालिकार्जुन गाउँपालिका-८ का सुनील जोशी घाइते भएका छन्। जोशी जीप चालक हुन्। घाइतेको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ।