विश्वकपमा पुगेको टोलीका खेलाडीलाई जनही साढे दुई लाख पुरस्कार
आईसीसी यू-१९ विश्वकपका लागि छनोट भएको नेपाली महिला क्रिकेट टोलीका खेलाडीलाई जनही दुई लाख ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले पहिलो पटक विश्वकपमा पुगेको नेपाली महिला क्रिकेट टोलीलाई प्रोत्साहनस्वरूप नगद पुरस्कार दिने निर्णय गरेको प्रवक्ता छुम्बी लामाले बताए। त्यस्तै, टोलीमा समावेश अफिसियललाई जनही एक लाख ५० हजार रुपैयाँ पुरस्कारबाट सम्मान गर्ने निर्णय भएको छ।
यूएईको अजमानमा सम्पन्न प्रतियोगितामा घरेलु टोलीलाई आठ विकेटले पराजित गर्दै नेपाल यू-१९ विश्वकपका लागि छनोट भएको थियो। नेपाली युवा टोली पहिलो पटक विश्वकपमा पुगेको हो।
यू-१९ विश्वकप सन् २०२५ मा मलेशियामा हुँदै छ। यससँगै नेपाल यू-१९ एशिया कपका लागि पनि छनोट भएको छ। एसीसीको आयोजनामा आगामी डिसेम्बरमा यू-१९ महिला एशिया कपका लागि पनि नेपाल छनोट भएको हो।
एशिया कप क्रिकेटमा नेपालसँगै पाकिस्तान, भारत, श्रीलंका, बाङ्लादेश र मलेशियाले प्रतिस्पर्धा गर्नेछन्।