राउटे बस्तीमा बसाइँअघिको बसाइ
बस गुड्नै लाग्दा पछिल्लो सीटमा तिनै राउटे महिला देखिइन् जसलाई बिहानभर पतिले बस्ती उचाल्ने गरी गाली गर्दै थिए। उनले बड्डीचौरसम्म जाने, बसबाट कसै गरी नझर्ने अड्डी लिइन्।
यही कात्तिक १२ गते रारा ताल अवलोकन गरेर फर्किंदै थियौं। बसको सँगै सीटमा रहेका नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य मित्र प्रदीप अधिकारीले भने, “यसपालि राउटे बस्ती हेर्ने ठूलो धोको थियो, साइत पो नजुर्ला जस्तो छ।”
‘तँ चिता म पुर्याउँछु’ भने झैं सुर्खेतको कल्यान भनिने बस्ती आइपुग्दा फाट्टफुट्ट राउटेहरू राजमार्गमा हिंडिरहेका देखिए। एक महिलाको टाउकामा फलामकोे ओदान थियो। उत्तानो परेको ओदानले उनी चलचित्रतिर देखाइने यमलोककी महिला सिपाही झैं देखिन्थिन्। हामीले अनुमान गर्यौं, ‘राउटे बस्ती यतै कतै हुनुपर्छ।’
नभन्दै राजमार्गछेउमै राउटेहरूको ठूलो बस्ती देखियो। भ्रमण दलका अगुवा नेपाल लोककला प्रज्ञा प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले चालकलाई बस ‘साइड’ लगाउन भने।
यति ठूलो राउटे बस्तीमा म पहिलो पटक छिर्दै थिएँ। प्रज्ञाको टोलीले कोसेलीस्वरूप राउटेले बनाउँदै गरेको सिमल काठको कोसी किन्ने भयो। कोसी बनाउँदै गरेका युवाले त्यसको मोल ५०० रुपैयाँ बताए। “तीन वटा कोसीको एक हजारमा हुन्न?” उपकुलपतिले मोलमोलाइ गरे। तर ती युवासँग बनाउँदै गरेको एउटा कोसी मात्र थियो। त्यसैले प्रज्ञाको टोलीले अर्का युवाले बनाउँदै गरेको कोसी पनि किन्ने भयो। “एउटा कोसी तयार पार्नै दुई दिन खर्च हुन्छ। पैसा त नघटाउने,” उनीहरूको भनाइ थियो।
हाम्रो टोलीका एक सदस्यले एक राउटे बालकसँग मेरो तस्वीर खिचिदिए। त्यसपछि ती बालक तस्वीर खिच्नेसँग पैसा माग्न थाले। नपाएपछि मलाई पछ्याउन थाले। म भने एक वयोवृद्धसँग गफिन थालें। ती रहेछन् भक्तबहादुर रास्कोटी। उमेर सोध्दा ६८ वर्ष हाेइन, ६० र ८ भएँ भने। त्यहाँ ४६ परिवारका टहरा रहेछन्। महीना दिन पहिले बसाइँ आएका रहेछन्।
भक्तबहादुर हरेक प्रश्नको जवाफ दिएपिच्छे सुर्ती खान पैसा माग्थे। “बूढी बितिगया। एउटा छोरो छ, सानै छ,” उनले अलि पर उभिएका छोरातर्फ औंल्याउँदै भने, “ऊ त्यही हो, कान्छीपट्टिको छोरा। पहिलेको बूढी सन्तान नहुँदै बितिगया। कान्छी पनि बितिगया। क्या गर्ने काल आएपछि।” उनले फेरि सुर्ती खाने पैसा मागे।
“मेरो आफ्नै भाइ सूर्यनारायण यो बस्तीको मुखिया छ,” उनले आफू मुखियाको दाइ भएको फुर्को जोडे। “अनि मुखियाको दाइ भएर सुर्ती खाने पैसो माग्नुहुन्छ त ?” मैले भनें। उनले थोते दाँत देखाउँदै भने, “माग्न हुन्छ नि। हाम्रो त जीउ पाल्ने नै मागेर हो। तपाईं जस्ता मान्छेसँग माग्ने। सरकारसँग पनि माग्ने।”
“यहाँ युवाहरू कोसी बनाएर बेचिरहेका छन्। पैसा कमाइरहेका छन्। तपाईं भने हाम्रो काम नै माग्ने हो भन्नुहुन्छ। के हो यस्तो पारा?” मैले घुर्क्याएँ ।
सुर्तीले कालाम्मे दाँत देखाएर फेरि हाँस्दै उनले भने, “के गर्नु जवानीमा ता मैले पनि त्यस्तो कोसी कति बनाएँ बनाएँ। आब हातमा बल छैन।” मैले उनलाई २० रुपैयाँको नोट तेर्स्याएँ । उनले औंलो तेर्स्याउँदै भने, “उ त्यो हरियोे दिनुस् न।” १०० रुपैयाँ हात परेपछि उनी आफ्नो काम छ भन्दै तुरुन्त अलप भइहाले। सँगै तस्वीर खिचाएको बालकले १० रुपैयाँ दिएपछि पिछा छाडे।
मैले एक पटक सरर्र राउटे बस्ती नियालें। दुई-तीन ठाउँमा राँगाको भुँडी झैं देखिने कुभिन्डोको सुकुटी झुन्ड्याइएको थियो। एक छेउबाट मदिराले मस्त राउटेले ठूल्ठूलो स्वरमा श्रीमतीलाई हकारेको आवाज निकै बेरदेखि आइरहेको थियो। उता टोलीका सदस्यहरू दनादन तस्वीर खिचाइरहेका थिए।
अर्को छेउमा महिलाहरू गुजुक्क बसेका थिए। टाँक चुँडिएको ब्लाउज मिलाउँदै एक अधबैंसे वक्षस्थल छोप्ने असफल प्रयास गर्दै थिइन्। त्यहीं हँसिलो मुहारमा एक षोडशी देखिइन्। त्यो बस्तीमा उज्यालो अनुहार मैले तिनको मात्र देखें। गत वर्ष किम्फ महोत्सवमा इटालियन निर्देशक ब्रान्डोको द टाइगर्स नेस्ट सिनेमा हेर्ने मौका जुरेको थियो। त्यसमा मेरी छोरी भूमिका थारूले राउटे किशोरीको अभिनय गरेकी छिन्। मैले ती राउटे किशोरीको अनुहारमा मेरी छोरी देखें। तर सिनेमा र यथार्थमा धेरै फरक हुन्छ। राउटेहरूको जिन्दगी आफैंमा एउटा सिनेमा हो।
राउटे बस्तीको अर्को कुनामा दुई वटा डोको र तीन वटा पोको अर्कै ठाउँमा बसाइँ सर्न तम्तयार देखिए। छेउमा भेटिएका किशोरले सुनाए, “अब यहाँ नबस्ने। महीना दिन भयो, कति बस्नु।”
उता राजमार्गमा रोकिएको गाडीछेउ उभिएर दुई प्रहरी सिठी फुक्दै थिए। हामीले हतारहतार बस्ती छाड्यौं। एक प्रहरीले हकारे, “कसको आदेशले, कसको स्वीकृतिले राउटे बस्तीमा छिरेको? त्यो खिचेको सबै तस्वीर हटाउनुस्।” पछि प्रज्ञाको टोली कोसी सहित उक्लिएपछि प्रहरी केही मत्थर भए।
हामी हिंड्नै लाग्दा पछिल्लो सीटमा एक राउटे महिला बसेकी भेटिइन्। उनले बड्डीचौरसम्म जाने, बसबाट नझर्ने अडान लिइन्। ती तिनै महिला थिइन्, जसलाई उनका श्रीमान्ले बिहानभरि बस्ती उचाल्ने गरी गाली गरिरहेका थिए। प्रहरीले समेत उनलाई बसबाट झार्न सकेनन्। बरु हामीलाई सम्झाउन थाले, “यी महिला रिसको आवेगमा जाँदै छिन्। कहीं गएर आत्महत्या गरिछन् भने बसवालालाई समेत बात लाग्नेछ। राउटेलाई चढाएको एउटा अटो, अर्को ट्रक अस्ति भर्खर दुर्घटना भयो। यिनीहरू त खतरा हुन्छन्, होश गर्नुस् है।”
अन्त्यमा एक युवक आएर महिलालाई सम्झाइबुझाइ गरी बल्लतल्ल बसबाट निकाले। उनको मुहारमा कालो बादल ढाकिएको थियो। थाहा छैन, किन बस्ती छाडेर भाग्न लागेकी थिइन्। पतिको यातना अति भएर पो हो कि? महिला झरेपछि हाम्रो बस तीव्र गतिमा हुइँकियो। राउटे बस्ती ओझेल पर्दै गयो। उनीहरूका झिटीगुन्टा सम्झिँदै मेरो मनमा नारायण गोपालको गीत गुन्जिन थाल्यो– ‘भोलि उठी कहाँ जाने केही थाहा छैन...।’