छिन्ताङमा क्रान्तिको दियो बाल्नेहरू ५० वर्षपछि भेट्दा
प्रहरीले १६ जना सहकर्मी मारेपछि तितरबितर भएका धनकुटाको छिन्ताङका क्रान्तिकारी युवा पाँच दशकपछि उही ठाउँमा बुढ्यौली छोपेको अवस्थामा भेट हुँदा भावुक देखिए।
असारको महीना गर्मी है भयो
ए लै... रुमालले हम्क न
छत्तीसै साल कात्तिकको महीना
शहीदै भए आजको दिनमा
ए लै... यो मनमा सम्झना।
धनकुटाको खाल्सा क्षेत्र भनेर चिनिने छिन्ताङ, खोकु, आँखीसल्ला लगायत गाउँमा बर्सेनि कात्तिक पूर्णिमापछिको मंगलबारबाट पापानी (वाडाङ्मी) चाड शुरू हुन्छ। यो पर्वमा ६ दिन र ६ रातसम्म ढोल बजाउँदै पापानी गीत गाउने र नाच्ने गरिन्छ। आफन्तसँग भेटघाट गरेर १५ दिनसम्म मनाइने पापानीमा बाहेक अन्य समयमा पापानी गीत गाउन र ढोल बजाउन पाइँदैन।
यस पटक भने पापानी चाड शुरू हुनुभन्दा ११ दिनअघि कात्तिक २३ मा छिन्ताङको पञ्चकन्यामा शहीदका शालिक अगाडि उभिएर खनप्रसाद राईले यी पंक्ति सुसेले। शहीदको सम्झनामा खनप्रसादले नै यो गीत कोरेका थिए। शहीद पनि उनकै गाउँले र आफन्त थिए।
सांस्कृतिक नियमका कारण गीत गाउँदा ढोल बजाइएन। तैपनि शहीदका शालिक अगाडि पापानी गीत सुनाउने मौका जुराएको थियो, २०३६ सालको छिन्ताङ काण्डमा ज्यान गुमाएका १६ जना शहीदका सहयोद्धाको जमघटले। उनीहरू झन्डै ५० वर्षपछि छिन्ताङमा भेला भएका थिए, कात्तिक २२ मा।
२०२६ साल ताका धरानबाट कवि तथा कम्युनिस्ट कार्यकर्ता बम देवान र गोविन्द विकल शिक्षकका रूपमा छिन्ताङ पुगेका थिए। दिनभर स्कूलमा पढाउने उनीहरू रातभर भूमिगत रूपमा स्थानीयलाई संगठित गरेर कम्युनिस्ट दर्शनको प्रशिक्षण दिन्थे। यो चाल पाएपछि सरकारले दुवैलाई पक्राउ गर्यो र जागीरबाट समेत निकाल्यो।
२००८ सालदेखि नै कम्युनिस्ट संगठित भएको छिन्ताङ क्षेत्रमा देवान र विकलको सक्रियतापछि मझिया (जिम्मावाल) प्रथा विरुद्ध आन्दोलन भयो। आन्दोलन बढ्दै जाँदा २०३६ कात्तिक २३ देखि २९ गतेको अवधिमा छिन्ताङ, खोकु र आँखीसल्ला गाउँमा १६ जना स्थानीय मारिए। दर्जनौं जेल परे भने कतिपय भागेर परदेशतिर लागे। गाउँमा सन्नाटा छायो।
यस घटनालाई ‘छिन्ताङ काण्ड’ का नामले चिनिन्छ। जेलबाट छुटेका पनि कम्युनिस्ट संगठनतिर लागेनन्, तितरबितर भए। कतिपय त गाउँ छोडेर तराई झरे, अन्य शहरतिर लागे। उनीहरूबीच लामो समय कुराकानी, भेटघाट भएन।
छिन्ताङ काण्डका पहिलो शहीद थिए, गोपाल आनन्द राई। प्रहरीले २०३६ कात्तिक २३ मा उनको हत्या गर्यो। उनकै छोरा योगेन्द्र राईले बुबाका सहयोद्धाको भेट गराइदिए, यही कात्तिक २२ गते साँझ। ४५ वर्षअघि आफ्ना बुबाले बिताएको अन्तिम साँझ सम्झिंदै योगेन्द्रले त्यति वेलाका सहयोद्धालाई खानपिन गराएर आफ्नै घरमा राखे।
छिन्ताङ काण्डको ४५ वर्षपछि धरानबाट बम देवान आउने खबरले उत्साहित बनेका थिए, ज्येष्ठ नागरिक। कोही लौरो टेक्दै, कोही छोरा-नातिको सहरामा योगेन्द्रको आँगनमा आइपुगेका थिए। जमघटको चाँजोपाँजो मिलाउने शहीद गोपाल आनन्द स्मृति प्रतिष्ठानका अध्यक्ष योगेन्द्रलाई उनीहरू सोधिरहेका थिए, ‘बम देवान पक्कै आउँछन् त? खै कति वेला आउँछन्?’
झमक्कै साँझ परेपछि देवान कोट-पाइन्ट र ढाका टोपी ढल्काएर धरानबाट छिन्ताङ आइपुगे। पाँच दशकअघि मझिया प्रथा विरुद्ध लड्न सिकाउने मान्छे भेट्दा उनीहरू भावुक बने। साँझपखको मधुर उज्यालोमा सबैको अनुहार मलिन देखिन्थ्यो।
देवानले अधिकांशको अनुहार चिन्न सकेनन्। नाम भन्दै गएपछि ठम्याए र गफिन थाले। अल्लारे उमेरमा भूमिगत क्रान्तिमा होमिएका २० जनाभन्दा बढी योद्धा पाँच दशकपछि एकै ठाउँमा भेटिंदा दिल खोलेर गफिन थाले। विगत सम्झिएर हाँसे, भावुक बने।
पूर्व सहयोद्धालाई भेट्न खोकुबाट छिन्ताङ आइपुगेका परशुराम राई भूमिगत रूपमा संगठन निर्माण गरेको सुनाउँछन्। “राति राति साथीहरूको डेरामा जम्मा भएर संगठनका काम गर्थ्यौं। अहिले जस्तो दिउँसो भाषण गर्न सक्ने अवस्था थिएन,” उनी भन्छन्, “भेट होला भन्ने सोचेकै थिइनँ। ५० वर्षपछि साथीहरूलाई भेट्दा अचम्म लाग्यो।”
साढे सात वर्ष जेल बसेका खोकुकै ८८ वर्षीय पोखमान राईले उहिलेका धेरै कुरा बिर्सिसकेका रहेछन्। पुराना सहकर्मी भेट्दा भने भूमिगत संघर्षका केही घटना झल्झली याद आएको बताउँछन्। “अहिलेका युवा जस्तो बोल्न त जानिंदैन, तर त्यस वेला जानी-नजानी समाज परिवर्तनका लागि काम गरेका थियौं,” राई सुनाउँछन्, “त्यो वेलाको अहिले पनि याद आउँछ।”
कम्युनिस्ट नेता तथा कार्यकर्तालाई जोगाउन लुकाएर राखेका पिलियाटारका शेरबहादुर राईले गोलीकाण्डपछि गाउँ छोडे। भागेर भारतको मेघालयस्थित कोइलाखानी पुगे। लामो समयपछि गाउँ फर्किएका उनी ४५ वर्षअघिका कुरा सम्झिंदै भन्छन्, “मैले अनिकालको वेला पनि ढुटोपीठो खुवाउँदै ६ महीनासम्म यता र उता लुकाएर जोगाएँ। नत्र अहिले यहाँ आउने कति साथीहरू शहीद भइसक्थे।”
यसबीचमा उनले कहिल्यै साथीहरूलाई भेट्न पाएनन्। यति वेला भने उनी खुशी देखिन्थे। त्यही खुशीमा शेरबहादुरले देवानलाई सोधे, “विकल चाहिं कहाँ छ अहिले?”
कविता, गीत र नाटक मार्फत समाजमा भिजेका विकल अझै पनि धेरैको मनमा बसिरहेका छन्। भेटघाटका क्रममा अधिकांशले देवानलाई विकलकै बारेमा सोधे। सबैको प्रश्न थियो, ‘साँच्ची, विकल कहाँ छ?’
छिन्ताङमा क्रान्तिकारी योद्धाका रूपमा चिनिने विकल बाँकी देशसँग भने प्रगतिशील साहित्यकारका रूपमा परिचित छन्। २०६४ सालमै बितिसकेका विकलबारे पूर्व सहयोद्धा भने अनभिज्ञ थिए।
जमघटमै भेटिएका गंगाबहादुर राई २०२८ सालदेखि जिम्मावाल प्रथाको विरुद्धमा आन्दोलित भएको सुनाउँछन्। छिन्ताङ काण्डमा १६ जना आफन्त र गाउँले गुमाउनुपरेको सम्झिँदा भावुक भए। शहीद परिवारका सदस्य उनी भन्छन्, “मरण दुई किसिमको हुँदो रहेछ, एउटा पर्वतभन्दा पनि गह्रुँगो र अर्को प्वाँखभन्दा पनि हलुका। उहाँहरूको मरण पर्वतभन्दा गह्रुँगो भयो। शहीद हुनुभयो।”
उमेरले सात-आठ दशक वरपरका उनीहरूले पुराना दिन सम्झिँदै अबेर रातिसम्म गफगाफ गरे। आफ्नो पालाका दुःख, संघर्ष र अहिलेका कम्युनिस्ट नेताबारे कुराकानी गरे। विगत सम्झिएर कोही भावुक थिए भने कोही जोस्सिएका थिए।
जेलनेल भोगेका ८४ वर्षीय गणेश नाइका राई त्यो वेला आफूहरू अलि उग्रै बनेको ठान्छन्। “हाम्रो पार्टी (रातो झन्डा)को लाइन उग्र थिएन, शान्तिपूर्ण रूपमा समाज परिवर्तनको क्रान्ति गरिरहेका थियौं,” राई सम्झिन्छन्, “जब कोके (कोअर्डिनेशन केन्द्र)का यमनाथ बराल आएर उग्र व्यवहार देखाए, दुस्मनलाई गिंड्ने र सैनिकसँग भिड्ने नारा लगाए, त्यसपछि सरकारले गोली चलाएको हो।” पूर्व सहकर्मीले पनि सही थापे।
२००६ सालमा भारतको कलकत्तामा पुष्पलाल श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थापना भएको थियो। नेकपाको सांगठनिक स्वरूप अनुसार पूर्व कोशी, पश्चिम कोशी, उत्तर गण्डक, दक्षिण गण्डक, मध्य गण्डक, पश्चिम गण्डक र कर्णाली गरी सात वटा प्रान्तीय कमिटी गठन भएका थिए।
२०१४ सालमा भएको दोस्रो राष्ट्रिय महाधिवेशनपछि नेकपा गुट-उपगुटमा विभाजित भयो। तेस्रो महाधिवेशनपछि नेकपा नेताहरू रूसी र चिनियाँ मतभेदसँगै अलग अलग खेमामा देखा परे। चीनमा सांस्कृतिक क्रान्ति र भारतमा नक्सलवादी आन्दोलन चलिरहेको त्यस समयमा पूर्व कोशी प्रान्तीय कमिटीका नेता-कार्यकर्ता पनि तितरबितर भए।
भारतको नक्सलवादी आन्दोलनबाट प्रभावित झापाका कम्युनिस्टले २०२८ सालमा कोअर्डिनेशन केन्द्र (कोके) स्थापना गरे। कोकेले सशस्त्र संघर्षको बाटो समायो। त्यही क्रममा २०३१ सालमा धनकुटाका कम्युनिस्टले रातो झन्डा नामको पार्टी बनाए। उनीहरूको लाइन भने शान्तिपूर्ण थियो।
छिन्ताङमा शुरूआतमा पूर्व कोशी र पछि रातो झन्डाले जिम्मावाललाई असहयोग गर्ने, अनिकालका वेला धनीमानीसँग पछि तिर्ने शर्तमा कागज गरेर धान लिने जस्ता अभियान चलाएका थिए। २०३५ सालमा तत्कालीन कोकेका कार्यकर्ता यमनाथ बराल शिक्षकका रूपमा छिन्ताङ प्रवेश गरेपछि उग्र कम्युनिस्ट गतिविधि शुरू भए।
डा. गोपालबहादुर भट्टराईले लेखेको पुस्तक धनकुटा छिन्ताङको इतिहास अनुसार २०३६ सालको तिहारअघि कात्तिक महीनामा छिन्ताङको धापस्थित आदर्श माविमा उग्र क्रान्तिकारीले करीब ६०० दर्शकमाझ ‘५० रुपैयाँको तमसुक’ नाटक प्रदर्शन गरेका थिए। स्थानीयका अनुसार त्यो कार्यक्रममा प्रस्तुत गरिएको एउटा गीत यस्तो थियोः
बाँसको भाला तिखारी, सामन्तीलाई नराखी
सैनिकसँग नभिडे, सामन्तीलाई नगिंडे
आउँदैन जनवाद मादल ठोकेर
ए छमछमी नाचेर।
यस्तो गीत र राजारानीको तस्वीरमा तिरले हानेर नाटक प्रदर्शन गरिएको सांस्कृतिक कार्यक्रमपछि छिन्ताङवासी राज्यको नजरमा परे। त्यति वेला गाउँमा मालपोत नतिर्ने, प्रहरीलाई गाउँ प्रवेशमा निषेध गर्ने, जनअदालत गठन गरेर गाउँमा विवाद मिलाउने जस्ता गतिविधि भइरहेका थिए। यस्ता गतिविधिको नेतृत्व शुरूआतमा कोकेका जिल्ला सचिव यमनाथ बरालले गरेका थिए।
डा. भट्टराईले लेखेका छन्, ‘उत्तेजित यमनाथले सिंगो राष्ट्र नै सशस्त्र संघर्षका लागि तयारी भएको भ्रम छरेर छिन्ताङवासीलाई विश्वास दिएका थिए। छिन्ताङमा अराजक, अवस्तुवादी, अवैज्ञानिक अन्यायपूर्ण उग्र गतिविधि भएकाले हत्याकाण्ड गर्नका लागि अझ सजिलो भएको थियो।’
त्यसपछि प्रहरी गाउँ पसे। चारैतिरबाट घेरा हालेर गोली हान्दै निहत्था नागरिक मारेको उनीहरू सुनाउँछन्।
साढे चार दशकपछिको कात्तिक २२ को राति विगत सम्झिँदै गफिएका उनीहरूले पनि त्यस्तै निष्कर्ष निकाले। उनीहरूको भनाइ थियोे, ‘यमनाथ बरालले त्यस्तो गतिविधि नगरेका भए हामीले १६ जना गाउँले गुमाउनुपर्ने थिएन। अरूलाई उचाल्ने टाठाबाठा भागिहाले, सोझासीधा र निर्दोष घानमा परे।’
छिन्ताङ काण्डमा गोपाल आनन्द राई, भैरवबहादुर राई, बलबहादुर खत्री, धनवीर दर्जी, गम्भीरमान दर्जी, टंकबहादुर विश्वकर्मा, लाखमान साधु राई, रणध्वज पुमा राई, केशरमान राई, गणेशबहादुर विश्वकर्मा, हाङ्खिमा राई, झगेन्द्रबहादुर राई, पुत्रमान राई, चन्द्रबहादुर दमाईं, गंगाबहादुर तुप्रिहाङ राई र रामकुमारी राई मारिएका थिए। २०७४ पुस २८ मा आएर सरकारले उनीहरूलाई शहीद घोषणा गरेको थियो।
मारिनेमध्ये केही सहकर्मी भए पनि केही पार्टीको गतिविधिमा संलग्न नरहेका निर्दोष परेको त्यस वेलाका नेता गणेश नाइका राई बताउँछन्। सहकर्मी मारिन थालेपछि मध्यरातमा तमोर नदी तरेर बाँच्न सफल भएको उनी सुनाउँछन्। अहिलेका कम्युनिस्ट नेतासँग भने दिक्कदारी जनाए। “नेपाली जनताको सुखशान्तिका लागि ज्यानको माया मारेर संघर्ष गर्यौं। साथीहरूले ज्यान गुमाए, हामीले जेलनेल भोग्यौं, तर सत्तामा पुग्ने कम्युनिस्ट नेताहरूले हामीलाई नचिने जस्तो गर्दा दुःख लाग्छ,” उनी भन्छन्।
छिन्ताङमा भूमिगत संघर्ष गरेकामध्ये कोही विभिन्न कम्युनिस्ट पार्टीमा छरिएका छन्। कोही कांग्रेस त कोही राप्रपामा पुगेका छन्। शहीद परिवार पनि विभाजित छन्। एक समय त राजनीतिक दलहरूले अलग अलग रूपमा शहीद दिवस मनाउने गरेका थिए।
शहीद गोपाल आनन्द स्मृति प्रतिष्ठानका अध्यक्ष योगेन्द्र राई राजनीतिक दलले शहीदको नाममा पनि फोहोरी राजनीति गरिरहेको गुनासो गर्छन्। दलहरूकै कारण शहीद परिवार एक हुन नसकेको राईको भनाइ छ। “हामी नै विभाजित हुँदा छिन्ताङको विकासमा असर परेको छ, राज्यको सेवासुविधा पनि पाउन सकेका छैनौं,” उनी भन्छन्।
शहीद घोषणापछि सरकारले प्रत्येक परिवारलाई १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो। त्यो रकम अहिलेसम्म पनि नपाएको शहीदपुत्र योगेन्द्र राई बताउँछन्। बरु कोशी प्रदेश सरकारले भने शहीद परिवारलाई पाँच लाखका दरले राहत उपलब्ध गराएको छ।
स्थानीयले शहीदको सम्झनामा साविकका खोकु, छिन्ताङ र आँखीसल्ला गाविस मिलाएर शहीदभूमि गाउँपालिका नामकरण गरेका छन्। शहीदभूमि-३ का पूर्व वडाध्यक्ष समेत रहेका योगेन्द्र सरकारले अहिले पनि शहीदभूमिलाई बेवास्ता गरिरहेको गुनासो गर्छन्। “गाउँमा बाटो बनेको छ, तर वर्षा याममा हिंडिनसक्नु हुन्छ। बिजुली आएको छ, तर २०० रुपैयाँ बिल तिर्न धनकुटा बजार आउजाउ गर्दा एक हजार रुपैयाँ खर्च हुन्छ,” उनी भन्छन्।
पाँच दशकअघि छिन्ताङमा राजनीतिक चेतना फैलाउन भूमिका खेलेका देवान भने धेरै परिवर्तन भएको देख्छन्। पहिला दिनभर हिंडेर मात्र पुग्न सकिने गाउँहरूमा अहिले यातायातका साधनबाट चाँडै पुग्न सकिने यस पटक आफैंले अनुभव बटुलेको उनी सुनाउँछन्। “छिन्ताङ राजनीतिक रूपमा निकै सचेत थियो। त्यो वेलाको क्रान्तिका कारण देशविदेशमा छिन्ताङ आज पनि क्रान्तिकारी गाउँका रूपमा चिनिन्छ,” देवान भन्छन्, “शहीदका परिवार एकजुट हुन सके धेरै कुरा गर्न सकिन्छ।”
छिन्ताङ छाडेर धरान झरेपछि पञ्चायतकालमै धरान नगरका जनपक्षीय प्रधानपञ्च बनेका देवानको राजनीतिक जीवन उतारचढावसँगै बिस्तारै निष्क्रिय बन्यो। उनी साहित्यतिर लागे।
छिन्ताङ अहिले पनि नेपाली क्रान्तिकारी आन्दोलनका लागि पूण्यभूमिका रूपमा रहेको उनी बताउँछन्। “सुनसरीमा रामधुनी मन्दिरमा निरन्तर धुनी बालिन्छ। धरानका मन्दिरहरूमा आगो निभ्यो भने त्यही रामधुनीबाट आगो ल्याएर बाल्ने प्रचलन छ,” देवान भन्छन्, “अहिले देशमा क्रान्तिकारी आन्दोलन शिथिल भएको अवस्था छ। क्रान्तिको बत्ती निभ्यो भने फेरि सल्काउन छिन्ताङ आउनुपर्छ। छिन्ताङको क्रान्तिको दियो कहिल्यै निभ्दैन।”