स्वतन्त्रता खोज्दा काटिएका पखेटा
दुई जर्मनीको एकीकरणसँगै आफ्नो देशको अस्तित्व र विशिष्ट पहिचान मेटिंदाको युगीन पीडालाई जेनी एर्पेन्वेकले आख्यानमा सुमसुम्याएकी छन्।
साहित्य, दर्शन, विज्ञान लगायत क्षेत्रमा जर्मन-योगदान अतुलनीय छ। साहित्यमा गेटे, फ्रान्ज काफ्का, हर्मन हेस, बर्तोल ब्रेख्त, हेनर मुलर, गुन्टर ग्रासका कृति अद्यापि रुचिपूर्वक पढिंदै छन्। यस्तै, जर्ज विल्हेम फ्रेडरिक हेगेल, म्याक्स सिलर, फ्रेडरिक निच, कार्ल मार्क्स, मार्टिन हाइडेगर, अर्थर सोपनहावर जस्ता जर्मन दार्शनिकका विचारले विश्व अझै तरंगित छ।
जर्मन लेखकहरूले आफ्नो देशको उपद्रवी विगतबारे खुलेर लेखे। उनीहरूले नाजीकालीन बर्बरताले देशको अनुहारमा कालो पोतेको ठाने। एन फ्रान्कको द डायरी अफ अ यङ गर्ल नाजी क्रूरताको यस्तै एक दसी हो।
दोस्रो विश्वयुद्धमा पराजयपछि जर्मनीको विभाजन र पुनः एकीकरणले धेरै तहमा गहिरो प्रभाव पार्यो। पूर्वी जर्मनीमा जन्मेहुर्केकी लेखक जेनी एर्पेन्वेकका लागि जर्मनी विभाजन प्रत्यक्ष नभोगेको विगत थियो, तर एकीकरणको साक्षी रहिन् उनी। एकीकरणपछि औसत नागरिक त उत्साहित बने, तर उनी बिथोलिइन्।
जेनीसँगको मेरो चिनजान धेरै लामो छैन। केही वर्षअघि मात्र उनी मेरो साहित्यिक राडारमा देखिइन्। कोभिड महाव्याधिअघिको एक साँझ थियो। नियमित गइरहने काठमाडौं ठमेलस्थित नेपाल बूक डिपोको किताबको खातमा आँखा डुलाउँदै थिएँ। एउटा किताबको आकर्षक गाता र शीर्षकले तान्यो। शीर्षक थियो- गो वेन्ट गन (सन् २०१७)। माथिपट्टि रातो अक्षरमा लेखकको नाम अंकित थियो- जेनी एर्पेन्वेक।
कहिल्यै नसुनेको लेखक भए पनि किताबको लयात्मक शीर्षकले मोहित बनायो र केही नसोची किनें। जुन उत्साहले किताब किनिन्छ, त्यस अनुसार पढ्न जाँगर चल्दैन। यो किताब पनि र्याकमा पाँच वर्ष थन्किएर मलाई गिज्याइबस्यो।
गत वर्ष वर्षा याम लगत्तै गो वेन्ट गनका पाना पल्टाउन थालें। यसमा उनले अफ्रिकी शरणार्थीको दर्दनाक भोगाइलाई समभावले हेर्दै आख्यानको मालामा उनेकी छिन्।
उनै जेनीको पछिल्लो आख्यान काइरोज् (सन् २०२३)ले अनुवाद साहित्यका लागि दिइने यस वर्षको अन्तर्राष्ट्रिय बूकर पुरस्कार पायो। जर्मन भाषाबाट यसको अनुवाद माइकल हफम्यानले गरेका हुन्।
यो उपन्यासको उठान एउटा मृत्युको समाचारबाट गरिएको छ। हान्सको मृत्युको खबर सुनेपछि क्याथेरिना आफ्नो विगतमा विचरण गर्न थाल्छिन्। उनीहरूबीचको सम्बन्धका विविध पाटा खुल्दै जान्छन्।
चित्रकलाकी विद्यार्थी हुन्छिन् क्याथेरिना। आफूभन्दा ३४ वर्ष जेठो लेखक हान्ससँग मोहित छिन्।
उपन्यासमा मध्य भागपछिको कथानकमा पीडा प्रगाढ बन्दै जान्छ। क्याथेरिना र हान्सबीचको सम्बन्ध कटु बन्दै जान्छ। हान्स दिनप्रतिदिन कठोर हुन्छन्।
क्याथेरिना र हान्सबीच उमेरको असमानता बिस्तारै घृणा र हिंसामा बदलिन्छ। जब क्याथेरिनाले अर्को युवकसँग रात बिताएको घटना हान्सले चाल पाउँछन्, उनको पुरुषत्वले हिंस्रक स्वरूप लिन्छ। क्याथेरिनाले शारीरिक र मानसिक यातना पाउन थाल्छिन्। जबकि आफूले गरेका कैयौं रासलीलाका किस्सा उनी क्याथेरिनालाई खुलेर सुनाइरहेका हुन्छन्। श्रीमती लुडविग र किशोर छोराको अनुपस्थितिमा क्याथेरिनाको शरीरसँग खेलिरहेका हुन्छन्।
सम्बन्धका यी असमान आयामले हामीलाई हाम्रै समाजतर्फ फर्काउँछ। जहाँ पुरुषले स्त्री साथीसँगको गोप्य कर्मलाई कुनै बहादुरी र कीर्तिमान जस्तै गरी साथी सर्कलमा बखान गर्छ। अनि पुरुषको यौनकाण्डलाई महिमामण्डन गर्ने जमात अझै छ। त्यस्तो अपराधलाई अपराध नै मानिंदैन, बरु पीडित महिलाले चरित्रगत लाञ्छना र अनेक गालीगलौज पाउँछे। अपराध गर्नेहरूले सजिलै उन्मुक्ति पाउँछन् पनि। समाजको नजरमा महिलाहरू भने सीता/सावित्री/सहनशीला सुशीला आदि मिथकीय पात्र झैं परीक्षामा खरो उत्रिनुपर्छ।
काइरोज्को कथानक सन् १९८६ देखि १९९२ सम्मको समयरेखामा वर्णित छ। पूर्वी र पश्चिम जर्मनीको एकीकरणअघि र पछिका यी अध्याय मार्फत एकीकरणअघि र पछिका विपरीत आयामलाई जेनीले मिहिन ढंगले छिचोलेकी छन्। पूर्वी जर्मनी (जर्मन डेमोक्रेटिक रिपब्लिक) १९९० अक्टोबर ३ मा आधिकारिक रूपमा पश्चिम जर्मनी (संघीय गणतन्त्र जर्मनी)सँग विलय भएको थियो, विभाजनको ४५ वर्षपछि।
२० वर्षे केटी र ५० कटेको केटाबीचको सम्बन्ध मार्फत जेनीले झन्डै एक शतकको जर्मन इतिहास उधिनेकी छन्। भर्खर युवावयमा छिरेकी र अनेक सपना सजाएकी क्याथेरिना हान्सको कठपुतली बनाइन्छिन्। उनीहरूबीचको सम्बन्ध शंका, घृणा र यातनाको चरणबाट गुज्रिन्छ। दुई व्यक्तिको असमान सम्बन्ध पूर्वी जर्मनी र पश्चिम जर्मनीबीचको असमानताको विम्ब बनिदिन्छ। दुई देशको एकीकरणपछि बर्लिनको पर्खाल ढलेसँगै सामूहिकता, सामुदायिकता जस्ता पूर्वी जर्मनीका केही उदाहरणीय विशेषता गायब भए। आफ्नो देशको अस्तित्व र पहिचान मेटिंदाको छटपटीलाई जेनीले आख्यानमा सजाएकी छन्।
कथावाचनको आकर्षक शैली हो, स्मृति। काइरोज्मा सम्झनाका अनेक पत्र उप्किन्छन्। अघि र पछि गर्दै घटना जोडिन्छन् कतै, अनि कतै समानान्तर अघि बढ्छ- प्रेम कथा र जर्मनीको गाथा मार्फत।
पढ्दै जाँदा उपन्यासमा लेनिन, गोर्की, काफ्का, ब्रेख्तका प्रसंग आउँछन्। यस्तै, यूरोपेली चित्रकला, गीतसंगीतको पनि बाक्लै उपस्थिति छ। बिथोविन, चोपिनका संगीतको अनुगुञ्जन छ। क्याथेरिनाको संसारबाट अर्को विस्तारित संसारमा पुग्छन् पाठक। विधागत यो संयोजन लोभलाग्दो छ।
अधबैंसे लेखक हान्स संगीत, फिल्म र किताबको पारखी छन्। तरुनी क्याथेरिनालाई उनले कलाका विविध आयामबारे पाठ सिकाइरहेको भान हुन्छ। सम्भोगरत अवस्थामा उनी रुचिका संगीत बजाउँछन्, विभिन्न कलाकारका कलाको चर्चा गर्छन्। यिनै कलात्मक रुचि सेतु बनिरहन्छ, उनीहरू नजिकिनुमा र प्रतिकूलताबीच सम्बन्धमा रहिरहनुमा। यी दुई पात्रबीचको पहिलो संसर्गको रात बजेको गीत ‘इम्मोर्टल भिक्टिम्स’ निकै प्रतीकात्मक छ।
जर्मनी विभाजनमा दोषी मानिएका र एकोहोरो खेदिएका तत्कालीन पूर्वी जर्मनका प्रमुख एरिक होनेकर विरुद्ध पश्चिमा लेखकहरूको भाष्य त सुने/पढेकै हो। तर विपरीत धार समातेर ती भाष्य विरुद्ध उभिने जेनीको यो कलात्मक साहस प्रशंसनीय छ।
नारायण ढकालले तीन संवत्सर (२०५२ साल) कृतिको एक निबन्धमा लेखेका छन्, ‘एरिक होनेकरलाई मुद्दा लगाएर जेल पठाउँदा मलाई धेरै दुःख लाग्यो। एउटा इतिहास, एउटा सम्मान र एउटा आदर्शको यस्तो क्रूर दुर्गति! यो घटनापछि धेरै दिन त छटपटिएँ।’ दूर भूगोलका हाम्रा लेखकको यस्तो छटपटी थियो भने जेनीका त बाजे नै कम्युनिस्ट रुझानका थिए। त्यस पृष्ठभूमिमा हुर्केकी उनलाई पूर्वी जर्मनीको पहिचान मेटिंदा दुःख नलाग्ने कुरै भएन।
दुई जर्मनीको एकीकरणपछि बर्लिन वरपरका पुराना स्मारकहरू भत्काइए। मार्क्स, स्टालिन लगायत नेता तथा अन्य स्थानीय नामकरणलाई पश्चिम जर्मनीको पहिचानले विस्थापन गरियो। एकीकरणपछि पूर्वी जर्मनीको अस्तित्व समाप्त भएको र एकीकृत जर्मनीमा पश्चिम जर्मनीको संविधान, संस्कृति, व्यवस्था हावी भएको तथा पूर्वी जर्मनी केवल फूटनोटमा सीमित भएको ठान्छिन् जेनी।
एक अन्तर्वार्तामा जेनीले दुःखेसो नै पोखेकी छिन्, ‘एकीकरणपछि संयुक्त जर्मनीको नयाँ संविधान हुने सम्झौता थियो। तर पश्चिम जर्मनीको संविधान लादियो। स्वतन्त्रता उपहारमा मिलेको थिएन, यसका लागि मूल्य चुकाउनुपर्यो। जसलाई वर्तमान ठानें, त्यो विगत भइसकेको छ। मेरो बाल्यकाल संग्रहालयमा थन्कियो।’
जेनीले यसअघिको गैरआख्यान नट अ नोभेलः अ मेमोयर इन् पिसेज् (सन् २०२०)मा एकीकरणपछिका असमानताका विषयमा खुलेर लेखेकी छन्। जर्मनीमा शरणार्थी जीवन बिताइरहेका एशियाली, अफ्रिकीहरूसँग उनी लामै सम्पर्क र संगतमा छिन्। तिनैमध्येका एक, नाइजेरियाली वसीरको निधनमा संस्मरण कृतिमा उनले लेखेकी छिन्, ‘वसीर जर्मनी त छिरे, तर काम गर्ने अनुमति पाएनन्। जब मान्छेलाई काम गर्ने अनुमति दिइँदैन, उसका सबै आकांक्षा खरानी हुन्छन्।’
उनको अघिल्लो उपन्यास गो वेन्ट गनभित्र वसीर जस्ता धेरै अफ्रिकी शरणार्थीको पीडा र क्रन्दन छ। यसको मुख्य पात्र रिचार्ड विश्वविद्यालयको प्राध्यापनबाट अवकाश लिएपछि शरणार्थीको जीवन सहज बनाउन जुट्छ। उसले शरणार्थीहरूप्रति देखाएको समभावसँगै आप्रवासन तथा यसबाट सिर्जित पश्चिमी संसारको असुरक्षाको मानसिकता र विविधताप्रतिको उपेक्षाभाव सतहमा आउँछ।
राष्ट्रवादको राप सबैतिर चर्कै छ। हालैको अमेरिकी राष्ट्रपति चुनावमा राष्ट्रवादकै नारा अलापेका डोनल्ड ट्रम्प आप्रवासीको प्रवेशलाई असहज बनाउने संकेत गर्दै छन्। यूरोपका केही देशमा दक्षिणपन्थीहरू हावी भइरहेछन्, राष्ट्रवादकै बैसाखी टेकेर।
पूर्वी जर्मनीको विलयलाई एकीकरणपछिको शक्तिशाली जर्मनीको नयाँ भाष्य बनाउँदै जर्मन राष्ट्रवादले हुँकार गरेको जेनीलाई त्यति मन परेको छैन। बर्लिनको पर्खाल ढलेसँगै पूर्वी जर्मनीको कुनै साख रहेन। राज्यनियन्त्रित साँघुरो सामाजिक-राजनीतिक परिवेशबाट स्वतन्त्रता मिलेको ठाने धेरैले। तर जेनीको नजरमा यही स्वतन्त्रताको नाममा पूर्वी जर्मनीको अस्तित्व नामेट भयो, सबै विरासत लोप भए। उनी अझ खुलाउँछिन्, ‘जब पर्खाल ढल्यो, पूर्वी जर्मनीका मानिस खुशीसाथ पर्खालपारिका मान्छेसँग दौडिंदै मिसिन पुगे। तर उनीहरूलाई थाहा थिएन, छिटै उनीहरू दोस्रो दर्जाका नागरिक बन्दै छन्।’
काइवा समुदायका अमेरिकी आदिवासी लेखक एन. स्कट मोमाडे पराजयकै विरासत किन नहोस्, आफ्नो जाति र समुदायको कथालाई सुनाइरहनुपर्छ, लेखिरहनुपर्छ भन्थे। अस्तित्वमा नरहेको देश पूर्वी जर्मनीको विगतको गाथालाई जेनीले काइरोज् मार्फत जगाएकी छन्, जोगाएकी छन्- हान्स र क्याथेरिनाको प्रेमको बृहत् क्यानभासमा। यही आख्यानीकरणबाट मोमाडेले भने झैं जेनीले शायद आफ्नो बेचैनी आंशिक रूपमा पोख्न पाइन्।