रूखले रोकेन पहिरो
वनले बाढीपहिरो रोकथाम गर्छ भन्ने अवधारणालाई रोशी, नक्खु र झ्याप्ले खोलाका घटनाले गलत साबित गरिदिएका छन्।
गत असोज दोस्रो साताको तीनदिने झरीपछि आएको बाढीपहिरोमा परेर २४९ जनाले ज्यान गुमाए। तीमध्ये ३५ जना धादिङको झ्याप्ले खोलामा पुरिएका थिए। काठमाडौंको थानकोटबाट करीब पाँच किलोमिटर पश्चिममा पर्ने झ्याप्ले खोलामा वनबाट खसेको लेदोले एउटा बस र दुइटा माइक्रोबस पुरेको थियो।
त्यहाँका बासिन्दा श्यामकुमार लामा असोज ११ गते राति रूख सहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको बताउँछन्। उनी भन्छन्, “पहिरोमा बगेका रूखले सडक अवरुद्ध नगरेको भए यति धेरै क्षति हुँदैनथ्यो कि?”
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मनसुन सकिने वेलाको अविरल वर्षापछिको बाढीपहिरोले ४६ अर्ब रुपैयाँभन्दा बढीको क्षति गर्यो। यतिविघ्न क्षति पुर्याउने बाढीपहिरोमध्ये धेरैको उद्गमबिन्दु वन रहेको देखिन्छ।
असोजको बाढीपहिरोमा १२ जनाले ज्यान गुमाएको काभ्रेको रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामा यो घटनापछि रूखले पहिरो रोक्छ भन्नेमा आफूलाई विश्वास लाग्न छाडेको बताउँछन्। “वनै बगेको छ। रोशी खोलामा बाढीपहिरोले बगाएका मुढैमुढा देख्न सक्नुहुन्छ,” लामाले हिमालखबरसँग भने, “रूख रोप्यो भने पहिरो जाँदैन त भन्यौं, तर यो कुरा कस्तो खालको जमीन हो भन्नेमा पनि भर पर्दो रहेछ। रूखले मात्रै पहिरो थाम्दो रहेनछ।”
वनमै पहिरो गएको यो पहिलो घटना भने होइन। सिन्धुपाल्चोक, म्याग्दी, जाजरकोट लगायत स्थानमा घना वन चिरेर पहिरो गएका थिए। २०५० साउन १९ मा कुलेखानीमा वन भएकै क्षेत्रबाट पहिरो गएका थिए। चार महीनाअघि मात्र दुई वटा बसमा सवार ६२ जनाको ज्यान लिएको चितवनको सिमलताल पहिरोमा पनि वनले क्षतिको छेकबार गरेको देखिंदैन।
असार २८ मा भएको सिमलताल दुर्घटनाको छानबिन गर्न गृह मन्त्रालयबाट गठित ६ सदस्यीय कार्यदलको प्रतिवेदनले लेदो, गेग्रान सहितको पहिरोले यात्रुबस त्रिशूलीमा खसालेको निष्कर्ष निकालेको छ। प्रतिवेदनमा भनिएको छ, ‘...बाढीसँगै आएको ठूलो परिमाणको लेदो र गेग्रानले सडक क्रस गर्दै गरेका दुई वटा सवारीसाधनलाई धकेलेर त्रिशूली नदीमा खसालेको देखिन्छ।’
जलाधारविद् मधुकर उपाध्याको धारणा पनि कार्यदलको प्रतिवेदनसँग मिल्दोजुल्दो छ। उनी भन्छन्, “लेदो पानी जस्तो बग्ने भएकाले त्यसलाई रूखले छेक्न सक्दैन, बरु त्यसले रूखलाई पनि लतारेर लान्छ, सिमलतालमा पनि त्यही भएको हो।”
पहिरो रोकथामको भाष्य नै गलत
बोटबिरुवाका जराले जमीनलाई बलियो बनाउने र वर्षा हुँदा बोटबिरुवाले आवश्यक पानी सोसेर अरू पानी सतहमा बगाउने भएकाले बाढीपहिरो न्यूनीकरणमा वनको भूमिका महत्त्वपूर्ण मानिन्छ। वृक्षरोपण गरे बाढीपहिरोबाट बचिन्छ भन्ने कुरा नेपालमा सिकाउन थालिएको आधा शताब्दी भइसकेको छ। तर वन क्षेत्र बढ्दा पनि बाढीपहिरोले गर्ने क्षति घटेको छैन।
पछिल्लो २० वर्षको आँकडा हेर्दा वन क्षेत्र उल्लेख्य बढेको देखिन्छ। सन् २००० मा ५९ लाख १५ हजार ५१८ हेक्टर (३९.९९ प्रतिशत) रहेको वन क्षेत्र दुई दशकमा बढेर ६७ लाख १९४५ हेक्टर (४५ प्रतिशत) पुगेको वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रले तयार पारेको प्रतिवेदन ‘न्याशनल ल्यान्ड कभर मनिटरिङ सिस्टम अफ नेपाल’ मा उल्लेख छ। जगजाहेर छ, यो अवधिमा पहिरो खस्ने क्रम बढिरहेकै छ।
सन् २०१४ मा ७५ वटा पहिरो गएकामा १० वर्षपछि त्यो संख्या ह्वात्तै बढेर २०२४ मा ९९६ पुगेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक छ। प्राधिकरणका अनुसार २०२३ मा ४९४, २०२२ मा ३२७, २०२१ मा ३५८, २०२० मा ४९२ वटा पहिरो गएका थिए भने २०१९ मा ४४९, २०१८ मा ४१७, २०१७ मा ३३८, २०१६ मा २२४ र २०१५ मा पहिरोका ६२ वटा घटना अभिलेखमा छन्।
बाढीपहिरोको रोकथाम सम्बन्धी अवधारणा नै गलत भएको कतिपय विज्ञहरू बताउँछन्। सन् १९७० को दशकमा नेपालको वन विनाशले गर्दा बाङ्लादेशमा बाढीपहिरो आयो भन्ने गलत भाष्य बनेको र त्यसैका आधारमा नीति निर्माण भएको जलाधारविद् उपाध्या बताउँछन्। “त्यही गलत भाष्यकै आधारमा परियोजना सञ्चालन भए, दातृ निकायबाट पैसा आयो, नीति बने। पचास वर्षमा त्यो सही होइन रहेछ भन्ने धेरै उदाहरण देखिसकेका छौं, तर पुनर्विचार गरेका छैनौं,” उनी भन्छन्।
रोशी, नक्खु, झ्याप्ले खोला, सिमलताल लगायत घटनाले हामीलाई पढाइँदै आएको रूख रोपे पहिरो जाँदैन भन्ने कुरा नै गलत भएको उपाध्या बताउँछन्। “झ्याप्ले खोलामा रूखले टन्न ढाकेको पाखामै पहिरो खस्यो। पानीले ढिस्को राम्ररी भिजेको वेला रूखको वजन पनि पहिरोको कारण बन्न सक्छ। यसको अर्थ हो, कतिपय अवस्थामा रूखले पहिरो बढाउँछ पनि,” उनी भन्छन्, “नक्खु र रोशीमा क्रसरको उत्खनन त कारण हो नै, त्योसँगै बाढीपहिरोमा छेउछाउका जंगल पनि सोहोरिएर आएको छ।”
एकातिर बाढीपहिरो रोकथाम सम्बन्धी हाम्रो धारणा नै गलत देखिन्छ भने अर्कातिर वर्षाको फेरिएको प्रवृत्तिका कारण बाढीपहिरोको जोखिम झनै बढेको छ। गत असोज १२ गते २५ स्थानमा २४ घण्टामा अहिलेसम्मकै ठूलो वर्षा रेकर्ड भएको थियो। त्यस दिन मकवानपुरको दामनमा ४१० मिलिमिटर वर्षा भएको थियो। त्यसको साढे दुई महीनाअघि नेपालमा वर्षा मापन हुन थालेको ७७ वर्षयताकै धेरै वर्षा पश्चिम नेपालमा रेकर्ड भयो। असार २४ गते बिहान ८ः४५ बजेको रेकर्ड अनुसार २४ घण्टामा कञ्चनपुरको दोधारामा ६२४, हनुमाननगरमा ५७३.६ र सुन्दरपुरमा ५५५.८ मिलिमिटर वर्षा भएको थियो। जल तथा मौसम विज्ञान विभागले २००३ सालमा वर्षा मापन गर्न शुरू गरेयता यति धेरै वर्षा भएकै थिएन।
मौसमविद्हरू अतिवृष्टिका घटना बढ्दै जान सक्ने बताउँछन्। अत्यधिक वर्षाले निम्त्याउने बाढीपहिरोको जोखिम न्यूनीकरणका लागि रोकथामका वैज्ञानिक उपाय अपनाउनुको विकल्प छैन। जलाधारविद् उपाध्याले पोखरी र पहिरो पुस्तकमा लेखेका छन्, ‘जराले अड्काएर माटो अडिंदैन, बरु माटोमा जरा अड्काएर रूख ठडिन्छ।’ उनका अनुसार भिरालो जमीनमा जाने पहिरो (स्यालो ल्यान्डस्लाइड) भने रूखले जोगाउन सक्छ, किनभने डेढ-दुई मिटरसम्म रूखको जरा फैलिएको हुन्छ।
अत्यधिक वर्षापछि रूखहरूकै भारले पहिरो निम्तिन सक्ने उपाध्याको विश्लेषण छ। ‘वर्षामा माटोले सोस्न सक्ने क्षमताभन्दा कैयौं गुणा बढी पानी पर्छ। त्यस्तो अवस्थामा परेको ठूलो पानी प्रायः सबै जमीनमाथि नै बग्न थाल्छ,’ उनले पुस्तक (पृष्ठ १५)मा लेखेका छन्, ‘त्यसैले वर्षाको समयमा जमीन पूरा भिजिसकेको छ भने ठूलो पानी पर्दा जंगलले पानी सोस्न र बाढी कम गर्नमा खास मद्दत गर्दैन, बरु जग्गा कमजोर वा भिरालो छ भने जंगलको भारले पहिरो चल्न सक्छ।’
वर्षाको परिवर्तित प्रवृत्तिलाई ध्यानमा राखेर रोकथामका प्रभावकारी उपाय अपनाउनुपर्ने उपाध्याको सुझाव छ। उनी भन्छन्, “रोशी, नक्खु र झ्याप्ले खोलाको बाढीपहिरोमा त रूखले जोगाउने होइन, उल्टै समस्या थप्ने काम गर्यो। हामीले अपनाएको समाधानको उपाय नै समस्या भएर आएको हो कि? पुनर्मूल्यांकन गरौं।”
यो पनि पढ्नुहोस् :