महाकवि विद्यापतिले १२ वर्ष बिताएको राजबनौली
विद्यापतिका महत्त्वपूर्ण कृतिहरूको रचनास्थल मानिएको महोत्तरीको बनौलीको संरक्षणका लागि प्रदेश सरकारले १२ करोड रुपैयाँ छुट्ट्याए पनि काम अलपत्र छ।
मैथिली साहित्यका महाकवि विद्यापतिको स्मृतिदिवस मिथिला क्षेत्रमा बुधबार विविध कार्यक्रम गरी मनाइँदै छ। कविकोकिल उपाधिले समेत परिचित यी कविले रचेका गीत-कविता यति लोकप्रिय छन् कि ती मिथिलाको हरेक शुभकार्यमा गाउने गरिन्छ। भारतको मिथिला क्षेत्रमा जन्मिएका विद्यापतिले करीब १२ वर्ष नेपालमा पनि बिताएका थिए।
उनको रचनाका अनेकौं पाण्डुलिपि नेपालका पुस्तकालयमा सुरक्षित छन्। विद्यापतिले आश्रय लिएको महोत्तरीको पिपरा गाउँपालिकास्थित राजबनौली भने उपेक्षित छ। मधेश प्रदेश सरकारले यो ठाउँको सौन्दर्यीकरण र विकासका लागि करीब १२ करोड रुपैयाँको योजना अघि सारे पनि परिवर्तन देखिएको छैन।
इतिहासविद्हरूका अनुसार हालको बनौलीगाउँ १५औं शताब्दीमा राजबनौलीका रूपमा थियो। त्यहीँ विद्यापतिले कतिपय महत्त्वपूर्ण रचनाहरू गरेका थिए। त्यति वेला मिथिलाका राज्य र दिल्लीका शासकबीच युद्ध भइरहन्थ्यो। एकपटक गजरथपुर राज्यका राजा शिव सिंहलाई शत्रुले आक्रमण गर्दा राजपण्डित एवं कवि विद्यापति ठाकुरलाई रानी लखिमाको सुरक्षाको जिम्मेवारी दिइएको थियो। तब उनले रानीलाई बनौली गाउँको आश्रयमा ल्याएका थिए जहाँ उनका मित्र द्रोणवार वंशका शासक पुदायित्यको शासन थियो।
राजाको आज्ञाअनुकूल कर्तव्यनिष्ठ भएर रानीको सुरक्षामा खटिएका विद्यापति रानीलाई श्रीमद्भागवत वाचन गरेर सुनाउँथे। त्यहीँ बसेर उनले श्रीमद्भागवतलाई संस्कृतबाट मैथिली भाषामा उल्था गरे। रानीलाई पतिवियोगको पीडा भुलाउन विभिन्न गीतसमेत लेखेर सुनाउँथे।
मटिहानीस्थित संस्कृत क्याम्पसका प्राध्यापक अवधेश चौधरीका अनुसार बनौलीको आश्रयमा रहँदा विद्यापतिले धेरै विरहका गीत-कविता रचना गरे जो मिथिलामा अहिले पनि लोकप्रिय छन्। “विद्यापतिका धेरै लोकप्रिय जति पनि रचना छन्, ती सबै बनौलीमा नै रचिएका हुन्। १२ वर्ष भनेको सानो कालखण्ड होइन। त्यही वेला उनले मिथिलालाई धेरै सम्पदा दिए,” उनी भन्छन्।
विद्यापतिले बनौलीमै लिखनावली र दुर्गाभक्तितरंगिणी पुस्तकको रचना गरेका थिए। सोही लिखनावलीका आधारमा मल्लकालमा प्रशासनिक कार्य सञ्चालन हुन्थ्यो। मैथिली भाषाको विकासमा महत्त्वपूर्ण योगदान गरेका विद्यापतिका रचना संस्कृत, प्राकृत र र अबहट्ठ भाषामा पनि प्रकाशित छन्। मैथिलीमा उनले शक्ति-आराधना, नचारी, कृष्णलीला, प्रणय सहितका गरी हजारभन्दा बढी गीत रचेका छन् भने अबहट्ठमा दुईवटा खण्डकाव्य कीर्तिलता र कीर्तिपताका छन्। त्यस्तै संस्कृत, प्राकृत र मैथिलीमा गोरक्षविजय तथा संस्कृत र प्राकृतमा मणिमञ्जरी नाटक उपलब्ध छन्।
विद्यापतिले प्रवासकाल बिताएको स्थान कुन हो भन्ने कुरा विवादरहित भने छैन। कतिपयले उनी सप्तरीमा रहेको बनौलीमा बसेको तर्क गर्छन् त कतिपयले सिरहामा। जनकपुरका साहित्यकार राजेन्द्र विमलका विचारमा चाहिँ जनकपुरको छेउ अर्थात् महोत्तरीको बनौली नै विद्यापति बसेको ठाउँ हो। “त्यो ठाउँमा पल्ली शब्दको प्रयोग हुन्छ, यसको अर्थ गाउँ हो। त्यहाँ दोनौली छ जो पुरादित्यको दरबार होला,” उनी भन्छन्, “मिथिलाको तत्कालीन भूगोल अध्ययन गर्दा महोत्तरीको बनौलीलाई नै विद्यापति बसेको स्थान मान्न सकिने पर्याप्त आधार पाइन्छ।”
अहिले यो राजबनौली अतिक्रमणको चपेटामा परेको छ। तत्कालीन रानीको नाउँमा बनाइएको लखिमा सर (पोखरी) समेत मिचिएको छ। यस ऐतिहासिक स्थलको संरक्षण र संवर्द्धनका लागि मधेशका तत्कालीन मुख्यमन्त्री लालबाबु राउतले १२ करोड रुपैयाँ विनियोजन गरेका थिए।
यस अन्तर्गत विद्यापति बसेको डिह (स्थान) मा संग्रहालय बनाउने, त्यसमा उनले रचना गरेका कृति संरक्षण गर्ने, डिहसँगै रहेको पोखरीमा चारैतिर घाट बनाएर छठ-घाटका रूपमा प्रयोग गर्ने, विद्यापतिको स्मारिका बनाउने, बालवाटिका, सुविधासम्पन्न सभाकक्ष र शौचालय बनाउने जस्ता योजना अघि सारिएको थियो। तर, ठेकेदार कम्पनीले काम अलपत्र छाडेपछि स्थानीय बासिन्दा निराश छन्।
अहिले पोखरी जीर्ण बनेको छ भने सरकारले आधाउधी बनाएका संरचना पनि अलपत्र छन्। स्थानीय दीपेन्द्र ठाकुर यस स्थलको विकासका लागि आफूहरू सरकारका विभिन्न निकाय धाए पनि तिनले गम्भीरता नदेखाएको बताउँछन्। “प्रदेश सरकारले बजेट विनियोजन गरेपछि हर्षित थियौं तर अहिले काम नै अलपत्र छ,” उनी भन्छन्।
यो ठाउँमा जमिन खन्दा वेलाबखत विभिन्न पुरातात्त्विक सामान समेत पाइने गरेको छ। तर ऐतिहासिक स्थलको उत्खनन र पुरातात्त्विक सम्पदा संरक्षणमा पुरातत्त्व विभागको ध्यान देखिँदैन।