फोहरमा कुहिरहेको मोहर
काठमाडौं उपत्यकामा उत्पादन हुने फोहरमध्ये १२ प्रतिशत कागज हुन्छ जसलाई जलाएर, गाडेर वा कुहाएर वातावरण र स्वास्थ्यमा हानि पुर्याउनु साटो पुनः प्रयोगमा ल्याउन त्रिभुवन विश्वविद्यालयबाट सिक्न सकिन्छ।
देशकै सबैभन्दा ठूलो त्रिभुवन विश्वविद्यालयमा लाखौँ विद्यार्थी अध्ययन गर्छन्। हरेक वर्ष स्नातक र स्नातकोत्तर तहका विभिन्न संकायमा गरी दुई लाखदेखि तीन लाखसम्म विद्यार्थी परीक्षामा सामेल हुन्छन्। परीक्षा नियन्त्रण कार्यालयका प्रशासन प्रमुख नवीन्द्र भण्डारीका अनुसार तिनका लागि आठदेखि १८ लाख प्रतिसम्म उत्तरपुस्तिका खपत हुने गर्छ।
परीक्षाफल प्रकाशनपछि त्रिविले ती उत्तरपुस्तिका के गर्छ त? परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार २०५२ सालअघि यस्ता उत्तरपुस्तिका जलाउने गरिएकामा अहिले तिनलाई कागजकै रूपमा पुनरुत्पादन गर्ने गरिएको छ। यसबाट कागज खरीदमा हुँदै आएको खर्च समेत कम भएको छ।
पहिले त्रिविले यस्ता उत्तरपुस्तिका जलाउँदै आएकोमा यसबाट वातावरणमा असर पुगेको भन्दै तीव्र आलोचना भएपछि पुनरुत्पादनका लागि भृकुटी कागज कारखानामा पठाउन थालेको थियो। सन् १९८५ मा स्थापित भृकुटी नेपालको पहिलो कागज कारखाना हो जुन अहिले बन्द भइसकेको छ। भृकुटी बन्द भए पनि त्रिविले फोहोरका रूपमा जलाइने कागज ठेक्कामार्पmत अन्य कागज कारखानामा पठाउँदै आएको छ।
“त्रिविले वातावरणलाई ख्यालमा राखेर कागज पुनरुत्पादनमा पठाउन थालेको हो,” परीक्षा नियन्त्रक जोशी भन्छन्, “कागज जलाउँदा छेउछाउका कुरा पनि सुन्नुपर्ने, पेट्रोल सकिने अनि त्यसकै लागि छुट्टै मान्छे समेत खटाउनुपर्ने झन्झट थियो। त्यसैले पेपर कम्पनीसँग कुरा गरेर कागज बेच्न थालेका हौँ।”
यसरी कागज बेच्दा त्रिविलाई आर्थिक लाभ समेत भइरहेको छ। प्रशासन प्रमुख भण्डारी कागजबाट वार्षिक १०/१२ लाखसम्म आम्दानी हुने गरेको बताउँछन्। उनका अनुसार उत्तरपुस्तिकाहरू नतीजा प्रकाशनको चार महिनासम्म सुरक्षित राखिन्छन्। त्यसपछि कागज धुल्याउन ठेक्का लगाउने गरिएको छ।
फोहर व्यवस्थापनका क्षेत्रमा काम गर्दै आएको डोको रिसाइकलका अनुसार अहिले अन्य केही सरकारी निकाय, विद्यालय सहितका संघसंस्थाले पनि रद्दीमा मिल्किएको कागज पुनःप्रयोगमा ल्याउने गरेका छन्। यसबाट वातावरणसँगै वन संरक्षणमा समेत केही योगदान पुगेको छ। तर अहिले पनि उपयोग भइसकेको कागज बढीजसोचाहिँ फोहरकै थुप्रोमा फाल्ने प्रवृत्ति छ। खास गरी उपभोक्ताका घर र अन्य कार्यालयबाट निस्कने कागज अन्य फोहरमा मिसिएर ल्यान्डफिल साइट पुग्ने गरेको छ।
नेपालमा कागजजन्य फोहर कति उत्पादन हुन्छ भन्ने तथ्यांक सरकारी/गैरसरकारी कुनै निकायसँग छैन। “सामान्य अनुमान मात्र गर्न सकिने हो, ठ्याक्कै यति हो भन्ने हामीसँग डाटाबेस छैन,” डोको रिसाइकलका सदस्य भुवन चालिसे भन्छन्, “कागजको फोहोरको तथ्यांक काठमाडौं महानगरसँग पनि छैन।”
अध्ययनहरूमा उल्लेख भएअनुसार कागज जलाउँदा वातावरणमा नकारात्मक असर पर्छ। कागजको मुख्य तत्त्व सेल्युलोजले अक्सिजनसँग प्रतिक्रिया गर्दा कार्बनडाइअक्साइड उत्पादन हुन्छ। यससँगै हानिकारक कार्बन मोनोक्साइड, मिथेन र अन्य हानिकारक रसायन पनि उत्पन्न हुन सक्छन्। त्यसैले फोहोर कागजको प्रत्यक्ष सम्पर्कले स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ।
चालिसेका अनुसार काठमाडौँमा गरिएको एक अध्ययनले लामो समय कागजका फोहर संकलन गर्ने कामदारमा श्वासप्रश्वासमा समस्या, छालाको एलर्जी, संक्रमणको जोखिम रहने देखाएको छ। “त्यसैले फोहोर व्यवस्थापनमा काम गर्ने कामदारले पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई) प्रयोग गर्नु उचित हुन्छ तर काठमाडौंमा फोहोर व्यवस्थापनमा संलग्नहरूले प्रयोग गरेको देखिँदैन,” उनी भन्छन्।
अर्कातिर काठमाडौँ महानगरपालिकामा फोहोर व्यवस्थापन सधैँको समस्या बन्दै आएको छ। थुप्रै संस्था र घरहरूबाट निस्कने कागज अहिले पनि फोहरका ट्रकमा हालेर बन्चरे डाँडास्थित ल्यान्डफिल साइट पुर्याउने गरिएको छ। फोहरले आफ्नो ठाउँ प्रदूषित भएको जस्ता कारण देखाउँदै स्थानीय बासिन्दाले पटकपटक अवरोध पनि गर्दै आएका छन्।
डोको रिसाइकलका अनुसार काठमाडौँ उपत्यकामा दैनिक करीब १४५० मेट्रिकटन फोहर उत्पादन हुन्छ। तीमध्ये ५५ प्रतिशत जैविक प्रकृतिका हुन्छन् जसलाई खेतीपाती सपार्ने मलमा बदल्न सकिन्छ। ३५ प्रतिशत फोहरचाहिँ प्रशोधन गरेर पुनः प्रयोगमा आउने सामग्री बनाउन सकिन्छ। तिनमा फलाम, विद्युतीय सामग्री, प्लास्टिक, कागज आदि पर्छन्। यसरी हेर्दा ल्यान्डफिल साइट नै पुर्याउनुपर्ने फोहर १५ प्रतिशत मात्र हुन सक्छ। यसो गर्दा ल्यान्डफिल साइटमा फोहरको भार र प्रदूषण पनि कम हुन्छ। “विद्यालय र कलेजबाट उत्तरपुस्तिका लगायत कागजी फोहोर पनि ठूलो मात्रामा निस्कन्छन्। यिनलाई पुनः प्रयोगमा ल्याउने दर भने कम छ,” चालिसे भन्छन्।
डोको, जमर्को जस्ता संस्थाले विभिन्न कार्यालयहरूमा फोहरमा मिल्काउने तयारी गरिएका ठूलो परिमाणका कागज ठेक्कामा लिएर प्रशोधन गरी पुनः प्रयोगमा ल्याउने गरेका छन्। तर, फोहरको थुप्रामा मिसिइसकेको कागज यसरी व्यवस्थापन हुन सकेको छैन।
पुनः प्रयोग गर्न मिल्ने कागज अन्य फोहरका डंगुरमा मिसिँदा वातावरणीय समस्याहरू निम्तिएको वातावरणविज्ञ ज्योति गिरी बताउँछिन्। “व्यवस्थापनको कमीका कारण काठमाडौंमा ठूलो मात्रामा कागज फोहोरमा नष्ट भइरहेको छ,” उनी भन्छिन्, “यो समस्या समाधान गर्न फोहोरलाई स्रोतमै छुट्ट्याएर व्यवस्थापन गर्नुपर्छ।”
आफ्नो कार्यालयबाट निस्कने पुराना कागजात पुनः प्रशोधनका लागि ठेक्का लगाउने काठमाडौं महानगरपालिकाले उपभोक्ताबाट फोहोरमा मिसिएर आउने कागज भने त्यसो गर्न सकेको छैन। यद्यपि अहिले सात-आठ वटा वडाबाट कागजका फोहर छुट्ट्याएर व्यवस्थापन गर्न थालिएको महानगरका सहायक प्रवक्ता धु्रवकुमार काफ्ले बताउँछन्। ती वडाबाट आउनेमध्ये टेकुमा २९ प्रकारका सुक्खा फोहर छुट्ट्याएर बाँकी बन्चरे डाँडा पठाइने गरेको उनको भनाइ छ। “काठमाडौँ महानगरबाट ठूलो मात्रामा फोहोर निस्किन्छ, अहिले हामीले सानो मात्रामा काम थालिरहेका छौं,” काफ्ले भन्छन्।
महानगरकै प्रमुख वातावरण व्यवस्थापक सरिता राई भने अहिलेसम्म ५ वटा वडामा मात्र फोहर छुट्ट्याउन सकिएको बताउँछिन्। “प्रत्येक दिन भिजेको र सुक्खा फोहर छुट्ट्याइन्छ। सुक्खा फोहरमा कागज, बोटल, फलाम आदि पर्छन्। ती कवाडी संकलकलाई बेच्ने गरिएको छ,” उनी भन्छिन्।
विश्व ब्यांकले गरेको अध्ययन अनुसार विश्वभरि प्रत्येक वर्ष करीब २.१ अर्ब टन फोहोर उत्पादन हुन्छ जसमा कागजको हिस्सा ठूलो हुन्छ। यसमध्ये करीब १९ प्रतिशत मात्र पुनः प्रशोधन गरिन्छ, बाँकी असुरक्षित तरीकाले फ्याँक्ने गरिएको छ। सन् २०५० सम्ममा विश्वव्यापी फोहोर उत्पादन ३.८ अर्ब टन पुग्ने अनुमान छ।
विशेष गरी न्यून आय भएका देशहरूमा ९३ प्रतिशत फोहोर खुला रूपमा थुपारिन्छ जसले माटो-पानी प्रदूषित बनाउनुका साथै रोगको जोखिम समेत बढाउँछ। कागज उत्पादनलाई वनविनाशको प्रमुख कारण मानिँदै आएको छ। यस्तोमा फोहोर कागजको पुनः प्रयोग र व्यवस्थापन गर्दा कच्चा पदार्थको आवश्यकता घट्नुका साथै रूख कटान समेत कम हुन्छ। रूख कटान गर्दा जैविक विविधता मासिनुका साथै कार्बन सोस्ने वनको क्षमता समेत खस्कन्छ। तब वातावरणमै त्यसको असर पर्छ।
एक अध्ययन अनुसार पुनः प्रयोग गरिने कागज उत्पादनमा नयाँ कागज उत्पादनको तुलनामा ६४ प्रतिशत कम ऊर्जा र ५८ प्रतिशत पानी कम प्रयोग हुन्छ। पुनः प्रयोग गरिएको एक टन कागजले करीब १७ वटा रूख, ७ हजार ग्यालिन पानी बचत गर्छ।