मर्दी हिमाल चढ्ने क्रममा लडेका गाइड तामाङको शवस्थल भेटियो
मर्दी हिमाल आरोहणका क्रममा गत कात्तिक २५ गते लडेका गाइड लालबहादुर तामाङको शवस्थल मंगलबार बिहान भेटिएको छ।
खोज तथा उद्धार टोलीले हेलिकप्टरबाट गरेको रेकीका आधारमा उनको शवस्थल भेटिएको माछापुच्छ्रे गाउँपालिका-९ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीले जानकारी दिए। दुर्घटनास्थल पाँच हजार ४०० मिटरमा रहेका कारण शव निकाल्न उद्धार टोलीलाई चुनौती थपिएको छ। क्षेत्रीले भने, "बिहान शवस्थल पत्ता लागेपछि शव निकाल्न टोली जान लाग्दै छ। निकै अप्ठेरो ठाउँमा भएकाले समस्या भइरहेको छ।’
सनराइज कम्पनीमा मुख्य गाइडका रूपमा रहेका ६२ वर्षीय तामाङले एक जना नर्वेली नागरिक र चार जना नेपाली गरी पाँच सदस्यीय टोलीको नेतृत्व गरेका थिए। गत कात्तिक २३ गते हाई क्याम्पबाट टोली मर्दी हिमाल आरोहणका लागि उक्लिएको थियो। कात्तिक २४ गते मर्दी आधार शिविरमा क्याम्प बनाएका उनीहरू कात्तिक २५ गते बिहानै आरोहणका लागि माथि चढेका थिए। नर्वेका नागरिकलाई मर्दी हिमाल चढाउने र आफू पनि चढ्ने योजनाका साथ पुगेका तामाङ आरोहणका क्रममा लडेर बेपत्ता भएका थिए। विदेशी नागरिकले आधार शिविर आएर अरु नेपाली टोलीलाई खबर गरेपछि घटनाबारे पत्ता लागेको थियो। तामाङको खोजी तथा उद्धारका लागि पर्यटक प्रहरीको टोली, वडाध्यक्ष, व्यवसायी लगायतले प्रयास गरेका थिए।
करिब पाँच हजार ५८७ मिटरको उचाइमा रहेको मर्दी हिमाल आरोहणका लागि अनुमति आवश्यक नपर्ने भएकाले पछिल्लो क्रममा मर्दी हिमाल आरोहण रोजाइमा पर्न थालेको छ।