लगानी पर्खिरहेको धनकुटे एभोकाडो
बजेटको अभावले सुस्ताएको धनकुटाको एभोकाडो कार्यक्रमबाट लाभ विस्तार गर्ने हो भने प्रदेश र संघ सरकारले लगानीका लागि मुठी खोल्नुपर्छ।
‘धनकुटे बिस्कुट’ जस्तै ‘धनकुटे एभोकाडो’ ब्रान्डले बजारमा राम्रो स्थान बनाउँदै आएको छ। एभोकाडोले धनकुटाको पहिचान बनाउने कदमको सूत्रपात २०७५ सालमा भएको थियो। त्यस वर्ष धनकुटा नगरपालिकाले आधाररेखा सर्वेक्षण गरी एभोकाडो परियोजना शुरू गर्यो र व्यावसायिक खेतीको प्रवर्द्धन थाल्यो।
नगरपालिकाले समयक्रममा एभोकाडोको राजधानी घोषणा, पार्क निर्माण, राष्ट्रिय महोत्सव, नर्सरी सुधार जस्ता कार्यक्रम गर्यो। यस्तो प्रयास र लगानीबाट ठूलो उपलब्धि हासिल भयो। एभोकाडो र यसको बिरुवा लिन विभिन्न जिल्लाका मानिस धनकुटा पुगे। यसबाट स्थानीय पर्यटन प्रवर्द्धन पनि भयो। देशका ३९ वटा जिल्लामा धनकुटाबाट एभोकाडोका बीउ र बिरुवा गएको तथ्याङ्क छ।
नगरपालिकाले गरेको लगानीबाट धनकुटामा एभोकाडो खेती कसरी फैलिएको छ भनेर जान्न २०७८ सालका यी तथ्याङ्क हेरौं। कार्यक्रम शुरू हुँदा यसको खेतीमा एक हजार ९६२ किसान परिवार संलग्न थिए, त्यो बढेर चार हजार ९२६ परिवार पुग्यो। यस्तै, चार हजार ४० रोपनीमा शुरू गरिएको खेती १२ हजार ९९ रोपनीमा फैलियो। एभोकाडोको उत्पादन वार्षिक ७७ हजार ७५० किलोबाट बढेर दुई लाख ३९ हजार ४१८ किलो पुग्यो भने आम्दानी वार्षिक २३ लाख ३२ हजार ५ सयबाट बढेर तीन करोड १९ लाख ८३ हजार पुग्यो। यस्तै, विरुवाबाट हुने वार्षिक आम्दानी ६ लाख ६७ हजारबाट बढेर २९ करोड ३८ लाख ३४ हजार रुपैयाँ पुग्यो।
केही वर्षअघिसम्म यस्तो उत्साहजनक परिणाम दिन सक्रिय रहेको एभोकाडो परियोजना पछिल्लो दुई वर्षयता सुस्ताएको छ। बजेट अभावका कारण नगरपालिकाले केही सूचना निकाल्ने बाहेक अन्य कार्यक्रम गर्न सकेको छैन। कोरोना महामारीपछि शुरू भएको आर्थिक सङ्ककट २०७९ को स्थानीय तह निर्वाचनपछि झनै गहिरिँदा एभोकाडो परियोजना निष्क्रियप्रायः छ।
ठूलो लगानीको खाँचाे
धनकुटामा एभोकाडो परियोजना सफल रहेका वेला यसको श्रेय लिन सङ्घसंस्थादेखि प्रदेश सरकारसम्म अग्रसर भए। त्यही वेला कोशी प्रदेश सरकारले एभोकाडो कार्यक्रमका लागि ८५ लाख रुपैयाँ सहयोग गरेको थियो। तर पछिल्लो समय लगानीको खाँचो परेका वेला प्रदेश सरकारले मुठी खोलेको छैन।
एभोकाडो खेती अहिले किसानकै बलबुतामा भइरहेको छ जसकारण उत्पादन, बजारदेखि प्रविधिसम्मका समस्याबाट किसान घेरिएका छन्। एभोकाडोको विषयगत प्रवर्द्धन र विकास गर्ने अनुसन्धान केन्द्र तथा कृषि ज्ञान केन्द्र कहीं पनि छैन। जिल्लाको कृषि ज्ञान केन्द्र तथ्याङ्क अद्यावधिक र केही कृषि अनुदान कार्यक्रम वितरणमा सीमित देखिन्छ। कतिसम्म भने एभोकाडोका जातमा किसानले राखेको नाम नै अहिलेसम्म चलिरहेको छ। कम्तीमा पाख्रीबास कृषि अनुसन्धान केन्द्रले किसानले प्रयोगमा ल्याएका जातलाई यिनको विशेषता बताउँदै सिफारिश गरिदिए धेरै सजिलो हुने थियो।
धनकुटा नगरमा एभोकाडो खेतीमा मुख्यतया तीन समस्या देखिन्छन्। पहिलो, वेला नभई किसानले फल टिप्ने। दोस्रो, कलिलैमा फल झर्ने। तेस्रो, फल्न थालेका बोट मर्ने। विगतमा एभोकाडो खेतीको विस्तारमा सराहनीय काम गरेको नगरपालिकाले अहिलेका समस्या समाधान गर्न सक्ने देखिँदैन। किनभने कृषि वैज्ञानिकहरूको लामो अनुसन्धानबाट मात्र यी समस्या निराकरण हुन सक्छन् र त्यसका लागि ठूलो बजेट चाहिन्छ। धनकुटा नगरपालिकासँग यी कुरा छैनन्।
धनकुटा नगरपालिकाभित्र एभोकाडोका केही अगौटे रूख छन्। तिनमा छिटो फल लाग्ने र छिप्पिने भएकाले त्यसैका आधारमा धेरै किसानले चाँडै फल टिप्ने गरेका छन्। यो समस्या समाधान गर्न अगौटे रूख भनेर चिनो लगाउनुपर्छ र फल टिप्ने वेला अनुगमन समेत गरिनुपर्छ। यस्तै, फल झर्ने र बोट मर्ने समस्याको निदान र उपचार कृषि प्राविधिक र वैज्ञानिकले मात्र पार लगाउने विषय हो। यस काममा पाख्रीबास कृषि अनुसन्धान केन्द्रले नै अगुवाइ लिनुपर्छ।
यस्तो काम सानातिना परियोजनाले पार लगाउन सक्ने अवस्था छैन। यसर्थ एभोकाडोको राजधानीमा व्यावसायिक खेती सुधार्ने हो भने केन्द्र वा प्रदेश सरकारले धनकुटा नगरपालिकामा ठूलो परियोजना नदिई नहुने परिस्थिति सिर्जना भएको छ।
उक्त परियोजनाले एभोकाडोका निम्न पाटोमा लगानी गर्नुपर्छः
क) उपभोग वृद्धि
पछिल्लो समय धनकुटे एभोकाडोको बजार सन्तोषजनक भए पनि राम्रो मूल्य पाइरहेको देखिँदैन। सामान्यतया एभोकाडो तत्कालै खाने प्रयोजनमा धेरै उपयोग गरिन्छ। अबदेखि यसलाई होटलहरूमा विभिन्न परिकार बनाएर खुवाउने योजनामा लगानी गर्नुपर्छ। जसकारण एभोकाडोको बिक्री तथा खपत बढ्छ र किसानले राम्रो फाइदा पाउनेछन्।
ख) फल टिप्ने ज्ञान
धनकुटामा एभोकाडो राम्ररी नछिप्पिई टिपिहाल्ने समस्या बढ्दै गएको छ। कलिलैमा टिप्दा राम्रो मूल्य नपाउने, नबिक्ने मात्र हैन ब्रान्ड नै बदनाम हुने जोखिम पनि रहन्छ। त्यसैले त्यो दिन आउन नदिन किसानमा फल कुन वेला र कस्तो अवस्थामा टिप्ने भन्ने ज्ञान दिनुपर्ने हुन्छ। यस्तो ज्ञान फल खरीद गर्ने पसले वा व्यवसायीमा पनि आवश्यक हुन्छ। सही समयमा फल टिप्ने, फल टिपिसकेपछि गर्नुपर्ने कार्य, ढुवानी गर्दा ध्यान दिनुपर्ने विषयबारे किसान तथा सरोकारवालालाई राम्ररी ज्ञान दिनुपर्छ।
ग) चिप्स जडान
प्रविधिको विकासका कारण अहिले फलका बोटमा चिप्स जडान गरेर रोग, कीरा लागेको खबर कम्युटरबाटै सङ्कलन गर्न सकिन्छ। साथै, बोटमा पानी र पोषण पुगे/नपुगेको, मलको अवस्था आदिबारे सम्पूर्ण जानकारी लिन सकिन्छ। फल झर्ने र बोट मर्ने समस्या पनि चिप्सबाटै थाहा हुनेसम्मको प्रविधि विकास भइसकेको छ। यो प्रविधिको कार्यान्वयन गर्न पाख्रीबास कृषि अनुसन्धान केन्द्रको अग्रसरता चाहिन्छ। त्यसका लागि केन्द्रले यस सम्बन्धी अनुभवी वैज्ञानिक र अन्य स्रोतसाधनको प्रबन्ध गर्नुपर्छ।
घ) बेमौसमी फलाउने प्रविधि
नेपालको एभोकाडो कात्तिकदेखि फागुनसम्म पाँच महीना बजारमा उपलब्ध हुन्छ। अन्य समयमा बजारमा पाइने एभोकाडो युगान्डा, श्रीलङ्का, थाइल्यान्ड र अफ्रिकी मुलुकबाट आउँछन्। जेठ, असार र साउनमा एभोकाडोको मूल्य प्रतिकिलो ९ सय रुपैयाँसम्म पुग्ने गरेको छ। यसैले यो समयमा एभोकाडो फलाउने, भण्डारण गरेर राख्ने वा बाह्रै मास फलाउने प्रविधिको विकास गर्नु आवश्यक देखिन्छ। धनकुटामा बाह्रै मास फल्ने केही एभोकाडोका बोट रहेकाले यो परियोजना सफल बनाउन सकिने सम्भावना देखिन्छ।
सारमा, कृषि मार्फत आर्थिक प्रगतिको बाटो विस्तार गर्ने हो भने धनकुटाको एभोकाडो परियोजनामा कोशी प्रदेश सरकार र सङ्घीय सरकारले लगानी गर्नुपर्छ। यसो भयो भने बर्सेनि विदेशबाट आयात हुने ४० देखि ५० करोड रुपैयाँ बराबरको एभोकाडो विस्थापित गर्ने होइन, करोडौंको एभोकाडो विदेश निर्यात गर्न पनि सकिनेछ।