कोशीका पूर्व मन्त्री अधिकारीलाई दुई दिन हिरासतमा राख्न अनुमति
कोशी प्रदेशका पूर्व मन्त्री लिलाबल्लभ अधिकारीलाई दुई दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
मानव तस्करीको आरोप लागेका अधिकारीलाई आइतबार विराटनगरबाट पक्राउ गरिएको थियो। उनलाई काठमाडौं ल्याएर जिल्ला अदालतमा पेश गरिएको हो।
जिल्ला अदालतले दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले बताए। यसअघि पक्राउ गरिएका तीन जनालाई हिरासतमा राख्ने म्याद दुई दिन बाँकी भएकाले अधिकारीलाई हिरासतमा राख्ने समय पनि मिलान गरिएको हो।
पूर्व मन्त्री अधिकारी विरुद्ध सरकारी कागजात कीर्ते र मानव बेचविखनको कसूरमा अनुसन्धान थालिएको छ। यअसघि पक्राउ परेका तीनै जनालाई पनि दुवै कसूरमा पक्राउ गरिएको थियो।
कात्तिक १३ गते अधिकारीसँगै रसुवाका कञ्चन देवकोटा, खोटाङका दावा शेर्पा र जनक राई जापानका लागि उडेका थिए। आर्ट्स काउन्सिल टोकियोले आयोजना गरेको ‘इन्टरनेशनल कन्फेरेन्स अन ओपन एक्सेस टु कल्चर’ कार्यक्रममा भाग लिन गएका उनीहरूलाई जापानको अध्यागमनले नारिता अन्तर्राष्ट्रिय विमानस्थलबाटै फिर्ता पठाएको थियो।
देवकोटा, शेर्पा र राई नेपाल फिर्ता भएकै दिन पक्राउ परेका थिए। पूर्व मन्त्री अधिकारीलाई भने आज पक्राउ गरिएको हो।