कहिले राजा भएका थिए महीपति सेन?
महीपतिले ताप्लेजुङको चाँगे क्षेत्रका लिम्बू राजा सूचीका नाममा वि.सं. १७५४ साउनमा जारी गरेको मोहरले उनी बाबुराम आचार्य सहितका ऐतिहासिकहरूले लेखेको भन्दा दश वर्षअघि नै विजयपुरको राजा भएको प्रमाणित हुन्छ।
तत्कालीन विजयपुर राज्यका सेन राजा र त्यहाँका पुस्तैनी अधिकारप्राप्त लिम्बू चौतरियाबीच बेमेल हुँदा कहिले राजा त कहिले चौतरियाले राजधानी छाडेर भाग्नुपर्ने परिस्थिति आउँथ्यो। यसै गरी भाग्न बाध्य भएका राजामध्ये एक थिए, महीपति सेन।
महीपति र तत्कालीन चौतरिया विचित्र रायबीच निकै ठूलो बेमेल थियो। त्यसैले महीपति आफ्नो राज्यबाट पलायन भई एकपटक शरणार्थीका रूपमा तिब्बतको राजधानी ल्हासासम्म पुगेका थिए। तब विचित्र रायले मकवानपुरका राजा हेमकर्ण सेनका भाइ जगत् सेनलाई विजयपुरमा आमन्त्रण गरी केही समय त्यहाँको राजा थापेका थिए। पछि महीपति सेन प्रवासबाट फर्केर आई विजयपुरमा पुनःस्थापित भएका थिए (बाबुराम आचार्य, नेपालको सङ्क्षिप्त इतिहास–२०६३ः१८५)।
पाल्पाका प्रसिद्ध राजा मुकुन्द सेनका कान्छा छोरा लोहाङ सेनका सन्तान हुन्, महीपति। राज्य बाँडिने क्रममा लोहाङ मकवानपुरका राजा भए। उनलाई लिम्बूहरूले पूर्व लगेर विजयपुरमा शासन गरिरहेका विजयनारायण रायविरुद्ध युद्ध गरी त्यहाँको पनि राजा बनाए। पछि लोहाङ सेन मकवानपुर फर्की त्यहीँ रहेर विजयपुरमा पनि शासन गर्थे। विजयपुर लिम्बू चौतरियाहरूको जिम्मामा रहन्थ्यो।
वंशावली अनुसार लोहाङपछि उनकी रानी अनुपावतीतिरबाट जन्मेका राधव (राधवनरेन्द्र) सेन त्यहाँका राजा भए। उनीपछि रानी दुर्गावतीतिरबाट जन्मेका हरिहरइन्द्र सेन मकवानपुरका राजा भए। उनीपछि रानी महादेवीतिरबाट जन्मेका शुभ सेन मकवानपुरका राजा भए। शुभका दुई छोरामध्ये एक महीपति र अर्का माणिक्य सेन हुन् (साफल्य अमात्य, प्राचीन नेपाल सङ्ख्या ४९–५२ (संयुक्ताङ्क)–पुस २०३५–साउन २०३६ः१९)।
हरिहरइन्द्र सेनको पालापछि विजयपुर राज्य मकवानपुरबाट छुट्टियो। विजयपुरमा शुभ सेन नभई उनका भतिजा विधाताइन्द्र सेन राजा भए। उनले काका शुभसँग लडेर विजयपुर राज्य अधीन पारेका थिए।
हरिहरइन्द्र सेनका उत्तराधिकारी छत्रपतिइन्द्र सेनको युवराज अवस्थामै देहान्त भयो। हरिहरइन्द्रले छत्रपतिइन्द्रका छोरा विधाताइन्द्रलाई नभर्ई रानी महादेवीतिरका छोरा शुभलाई उत्तराधिकारी घोषणा गरेका थिए। तर विधाताइन्द्रले विजयपुरका लिम्बूहरूलाई हात लिई आफूलाई त्यहाँको राजा घोषणा गरे। त्यसपछि शुभले ललितपुर, भक्तपुर र गोरखाको सहयोगमा गुमेको राज्य फिर्ता लिने कोशिस गरे पनि १७ गाउँ मात्र जिते, पूरै मोरङमा अधिकार जमाउन सकेनन्। त्यसपछि कोशी नदी सिमाना भएर मकवानपुर र विजयपुर राज्य विभाजित भए। विजयपुरमा विधाताइन्द्र नै राजा कायम भए (डा. राजाराम सुवेदी, प्राचीन नेपाल सङ्ख्या १४७–असार २०५८ः४४–४५)।
मकवानपुर राज्य विभाजित हुने क्रममा पछिल्लो पटक सबैभन्दा कान्छो राज्यका रूपमा माझकिरात चौदण्डी देखा पर्यो।
दुई राजाको अपहरण
मकवानपुरमा शुभ र विजयपुरमा विधाताइन्द्रले राज्य गरिरहँदा यी दुवै काका–भतिज मुगलको अपहरणमा परे। शुभले आफ्नो राज्यमा योग्य मन्त्री नभेटेपछि तनहुँका राजा दिग्विजय सेनसँग मागेर परशुराम थापा र प्रद्युम्न उपाध्यायलाई मन्त्रीका रूपमा ल्याएका थिए। तर यी दुवै नमकहराम निस्के। यिनीहरू शुभ र विधाताइन्द्रलाई पक्रेर ल्याउने मुगल नबाब इस्फुन्दियार खानको षड्यन्त्रमा सामेल भए। यही क्रममा शुभ जनकपुर आसपास घेरिए। भतिज विधाताइन्द्र विजयपुरबाट त्यहाँ पुगी उनलाई छुटाए।
यसपछि हर्ष बढाइँ भइरहेका वेला प्रद्युम्नका नातेदार कालु उपाध्यायले काका–भतिजलाई फेरि पक्राउ गरी इस्फुन्दियार खानलाई बुझाइदिए। दुवैलाई दिल्ली चलान गरियो। सेनहरूको आधिपत्य रहेको दक्षिणी क्षेत्रको ज्यादा भूभाग मुगलले कब्जामा लिए। शुभ र विधाताइन्द्रलाई जबरजस्ती मुसलमान बनाएर ‘जात पतित’ गराइयो। उनीहरूलाई उद्धार गरेर सेन राजवंश जोगाउन विधाताइन्द्रकी रानीले लिम्बू भारदारलाई गुहारेकी थिइन्।
त्यस वेला दक्षिण भारतबाट फर्कंदै गर्दा दिल्लीका नबाब औरङजेवको बाटैमा मृत्यु भयो। पूर्णिया र दरभङ्गामा रहेका मुगल अफिसर लिएर इस्फुन्दियार खान दिल्लीतर्फ लागे। लडाइँमा औरङजेवका प्रतिनिधि छोरा आजम शाहको मृत्यु भयो। सेनहरूको दक्षिणी भूभाग लिएर बसेका मुगलहरू त्यहाँबाट हटेपछि विजयपुर र मकवानपुरका मन्त्रीहरूले आपसमा सल्लाह गरी शुभका अमरावतीपट्टिका छोराहरूमध्ये मान्धाता (महीपति) लाई विजयपुर र माणिक्य (मानिक) सेनलाई मकवानपुरको राजा बनाई शान्ति कायम गराएका थिए (बाबुराम आचार्य, श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी–२०६१ः१८–१९)।
रानी इन्दुविधाताराजराजेश्वरीले त्यस वेला विजयपुरका लिम्बू भारदार चेम्जोङ राय लगायत लिम्बूहरूलाई सहयोगका लागि आह्वान गरेको ऐतिहासिक पत्र जनकलाल शर्माले प्राचीन नेपाल सङ्ख्या ४ (२०२५ साउनः३४–३५)मा प्रकाशमा ल्याएका छन्। संवत् १७६३ असोजमा लेखिएको यो पत्रको बेहोरा यस्तो छः
।।श्री लहा श्री ..........जी।।
।।स्वस्ति श्री रूपनारायणेत्यादिविविधविरुदावलिविराजमान मानोन्तममहाराजा श्री हिन्दुपति राजराजेश्वर श्री मदिधाता इन्दराजराजेश्वरी श्री श्री महारानी जीवदेवीनां सदा शोभागतिहाबीत्री शचीनाम
चेमजेगराये यई आवाराये इन्दराये छगमीराये माजीम राये वाआजी राय गवात्रा राये शीहा राय श्री.....
के आशीषपूर्वक पत्रमीदं कार्जन्च आगे पूर्वमह नीमकहराम ही धुम उठी वभूते रामकीश्न थापाले मेजल हैतो
पान्चपत्र दरशन तो कीत शोभा शुवा मजकुरकरलह्रो बरीके हानतुजाहि महतोदरे शवके जश होय से कर
त इती सम्वत् १७६३ साल माहआशीच वदो ६ गद रोमो र जीतपुर पारवानगी धम्मागत दुअरीआं....
तीन तिथि : कुन प्रामाणिक ?
शुभ र विधाताइन्द्र सेन दुवै मुगलको कब्जाबाट मुक्त भई आफ्नो राज्यमा फर्केर आउन सकेको देखिँदैन। यस्तो अवस्थामा रानी इन्दुविधाताले केही वर्ष विजयपुरको राजगद्दी सम्हालेकी थिइन् भनी केही इतिहासविद्ले चर्चा गरेका छन्। तीमध्ये इमानसिंह चेम्जोङ एक हुन्। चेम्जोङले किरातकालीन विजयपुरको सङ्क्षिप्त इतिहास (२०५९ः५२) मा यी रानीले वि.सं. १७६३ देखि १७८२ सम्म गरी १९ वर्ष विजयपुरमा शासन चलाएको तथा मुगलहरूको अपहरणमा परेका राजा शुभ सेनका दुई नाबालक छोरा (महीपति र माणिक्य) उनकै संरक्षणमा विजयपुर दरबारमा हुर्किएको उल्लेख गरेका छन्।
इतिहासविद् शिवकुमार श्रेष्ठले पनि लिम्बूवानको ऐतिहासिक अध्ययन (२०५२ः४६)मा चेम्जोङकै समर्थन गर्दै उनको राज्यकाल वि.सं. १७६३ देखि १७८२ सम्म भएको दोहोर्याएका छन्। चेम्जोङ र श्रेष्ठले वि.सं. १७६३ मा यी रानीले जारी गरेको मोहरलाई यसको आधार बनाएको देखिन्छ। तर वि.सं. १७८२ सम्म शासन गरेको प्रमाण मिल्ने उनकै नाममा प्रसारित ऐतिहासिक पत्र भने पाइएका छैनन्।
चेम्जोङ र श्रेष्ठले वि.सं. १७८२ पछि महीपति सेन विजयपुरको राजा भएको उल्लेख गरेका छन्। उनीहरूको यो तर्क कति प्रामाणिक छ, यस लेखमा लेखाजोखा गरिनेछ।
नेपाली लेखकहरूले इतिहास क्षेत्रमा कलम चलाउनुभन्दा पहिल्यै नेपालको इतिहास लेख्ने फ्रान्सिस ह्यामिल्टनले एन एकाउन्ट अफ् किङ्डम अफ् नेपाल (सन् १८१९ः१३९) मा महीपतिको वास्तविक नाम मान्धाता भएको, उनले विवाहिता रानीलाई हेला गरेको, अविवाहिता (ल्याइते) हरूबाट उनका १८ जना छोराछोरी भएको तथा उनले १८ देखि २० वर्षको अवधि शासन गरेको उल्लेख गरेका छन्।
चेम्जोङ (२०५९ः५५) र श्रेष्ठ (२०५२ः१२६) ले प्रयोग गरेका परिशिष्टमध्ये एउटामा महीपतिले मुकाम विजयपुरबाट लिम्बू भारदारहरू इस राय र सुख रायलाई वि.सं. १७८२ मा गरिदिएको मोहरका आधारमा उनको राज्यकाल प्रारम्भ भएको उल्लेख गरेको देखिन्छ। महीपतिको समयमा जारी भएको ऐतिहासिक पत्रका रूपमा दुवैले यो एउटा मोहर मात्र प्रयोग गरेका छन्। तर मोहर जारी भएको तिथिमा दुवैले वि.सं. १७८२ माघ वदी रोज ८ उल्लेख गरेका छन्। उनीहरूले ‘रोज ८’ कसरी उल्लेख गरे, थाहा भएन। रोज भनेको बार हो। एक सातामा सातवटा मात्र बार हुने हुँदा रोज ८ पुग्न सम्भव छैन।
पछिल्लोपटक विजयपुरका सेनवंशको इतिहासबारे अनुसन्धान गर्ने प्रा.डा. रमेशकुमार श्रेष्ठले आफ्नो विद्यावारिधिको शोधग्रन्थ सेन वंश र विजयपुर राज्य (२०७१ः१९६) मा महीपतिको सोही मोहरलाई प्रयोग गरेका छन्। श्रेष्ठले विष्णुप्रसाद घिमिरेको पाल्पा राज्यको इतिहास भाग–२ (२०५६ः२०७) बाट लिएको उक्त मोहरको तिथिमा भने वि.सं. १७८२ माघ वदी ८ अर्थात् माघ कृष्णपक्ष अष्टमी उल्लेख गरिएको छ। श्रेष्ठ (२०७१ः१३१) ले पनि महीपतिको राज्यकाल वि.सं. १७८२ देखि १८०७ सम्म रहेको उल्लेख गरेका छन्। कतिपय विद्वान्ले महीपतिलाई वि.सं. १७६४ तिरै इन्दुविधाताले गद्दीमा राखे पनि शासन रानीले नै चलाउँथिन् भनेका छन्। तिनको तर्कअनुसार इन्दुविधाताको देहान्तपछि महीपतिले विजयपुरमा स्वतन्त्र रूपमा शासन गर्न थाले।
इतिहास शिरोमणि आचार्य (२०६१ः१८–१९) का अनुसार सन् १७०६ सेम्टेम्बर (वि.सं. १७६३ भदौ–असोज)मा शुभ र विधाताइन्द्र मुगलहरूको कब्जामा परेका हुन्। त्यसपछि विधाताइन्द्रकी रानीले लिम्बू भारदारलाई सहयोगका लागि पत्र दौडाएकी थिइन्। उनीहरूको सहयोगमा सन् १७०७ फेब्रुअरी (वि.सं. १७६४ माघ–फागुन) मा सेनहरूको दक्षिणी क्षेत्रमा अधिकार जमाएका मुगलहरू त्यहाँबाट हटे। मकवानपुरका मन्त्रीहरूले आपसमा सल्लाह गरी मान्धाता सेनलाई विजयपुरको र माणिक्य सेनलाई मकवानपुरको राजा गराएर शान्ति स्थापना गराएको र उनै मान्धाता पछि महीपति कहलाएको आचार्यले उल्लेख गरेका छन्। आचार्यका अनुसार महीपति वि.सं. १७६४ माघ–फागुनमा विजयपुरको राजगद्दीमा बसेको देखिन्छ।
यताबाट हेर्दा इतिहासविद्हरू इमानसिंह चेम्जोङ, शिवकुमार श्रेष्ठ र रमेशकुमार श्रेष्ठले उल्लेख गरेभन्दा १८ वर्षअघि नै महीपति सेन विजयपुरको राजगद्दीमा बसेको देखिन्छ। यी तिनै जनाले आफूभन्दा पहिले लेख्ने आचार्यको खण्डन भने गरेका छैनन्। आचार्यको श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सङ्क्षिप्त जीवनी चार भागमा वि.सं. २०२४ देखि २०२६ सम्म गरी दुई वर्ष लगाएर तत्कालीन राजदरबारबाट प्रकाशित गरिएको हो।
शङ्करमान राजवंशीले पुरातत्त्व पत्र सङ्ग्रह (२०१८ः६) मा मान्धाता सेनले लिम्बू भारदार सिया राईलाई वि.सं. १७६४ साउन सुदी ५ रोज ३ मा लेखेको पत्र प्रकाशित गरेका छन्। यसबाट हेर्दा मान्धाता पनि भनिएका महीपति आचार्य (२०६१ः१८) ले उल्लेख गरेजस्तो वि.सं. १७६४ माघ–फागुनमा नभई त्यसभन्दाअघि नै विजयपुरको राजगद्दीमा बसेको देखिन्छ।
अर्को एउटा पत्रले त यसभन्दा पनि १० वर्षअघि महीपति राजगद्दीमा बसेको देखाउँछ। ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकास्थित चाँगे क्षेत्रका आङ्बुहाङ लिम्बूहरूलाई राजा महिपतिले प्रदान गरेको मोहरको तिथिमा वि.सं. १७५४ साउन वदी ९ उल्लेख छ। यो पत्र मुकाम पारवानगीबाट जारी भएको देखिन्छ। त्यहाँका सूची राजाको नाममा जागीरबापत यो मोहर जारी गरेको देखिन्छ। इतिहासकार भगीराज इङ्नामले पछिल्लो कृति लिम्बूवानको अभिलेख सङ्ग्रह (२०८१ः८–९) मा यो मोहर प्रकाशित गरेका छन्।
यताबाट हेर्दा हाल प्रचलित मान्यताभन्दा धेरै अघि नै महीपति सेन प्रामाणिक रूपमा विजयपुरका राजा भएको देखिन्छ। महीपतिले वि.सं. १७५४ साउनको मोहरमा जसको नाममा जागीर घोषणा गरिएको हो, उसको नाम ‘सूची राजा’ लेखेका छन्। यताबाट हेर्दा आङ्बुहाङ लिम्बूमध्येबाट कुनै एक अगुवा विजयपुरबाट त्यस क्षेत्रको मान्यताप्राप्त राजा थिए भन्ने पनि स्पष्ट हुन आउँछ।
मोहरमा उल्लिखित यी राजालाई आङ्बुहाङ लिम्बूहरूले ‘सूचीहाङ’ नामबाट वंशावलीमा सम्बोधन गर्ने गरेका छन्। उनको दरबारको भग्नावशेष अहिले पनि आठराई त्रिवेणी गाउँपालिका–४ (साबिकको चाँगे गाविसको नेसुम) मा छँदै छ। यहाँ उस वेला घोडालाई दानापानी खुवाइने ढुङ्गाको ओखल पनि फेला परेको छ।