उम्मेदवार सिफारिश गर्न एकीकृत समाजवादीको निर्देशन
उपनिर्वाचनका लागि उम्मेदवारको नाम सिफारिश गर्न नेकपा (एकीकृत समाजवादी)ले सम्बन्धित प्रदेश कमिटीलाई निर्देशन दिएको छ।
आगामी मंसीर १६ मा स्थानीय तहका रिक्त पदमा उपनिर्वाचन हुँदै छ। त्यसका लागि मंसीर २ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ।
एकीकृत समाजवादीले स्थानीय तहका आवश्यकता बुझेका, अनुभवी, साङ्गठनिक क्षमता भएका, जनताका समस्या समाधान गर्न सक्ने तथा विकास–निर्माणका काम गर्ने क्षमता भएका नेताको पहिचान गरी कात्तिक मसान्तभित्र सिफारिश गर्न निर्देशन दिएको सचिव सोमप्रसाद पाण्डेयले बताए।
उपनिर्वाचनका लागि सबै पार्टी उम्मेदवार चयनमा जुटेका छन्। केहीले उम्मेदवारको घोषणा गरिसकेका छन् भने केही गर्ने तयारीमा छन्।
जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका मेयर एक, उपमेयर एक र वडाध्यक्ष ३४ गरी ४४ पदका लागि उपनिर्वाचन हुँदै छ।
यससँगै एकीकृत समाजवादीले समान विचारधारा भएका पार्टीसँग सहकार्य गर्ने जनाएको छ। तर, सत्तारुढ दलहरूसँग चुनावी गठबन्धन नगर्ने निर्णय गरेको छ।