सत्रकिलोमा बस र माइक्रोबस ठोक्किए, चार जनाको मृत्यु
नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका-२९ स्थित सत्रकिलोमा शुक्रबार बिहान बस र माइक्रोबस ठोक्किँदा चार जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
बिहान ३ बजे मुग्लिनबाट नारायणगढतर्फ आइरहेको बा.प्र. ०६-००१ ज ०२९८ नम्बरको माइक्रोबस र नारायणगढबाट मुग्लिनतर्फ गइरहेको बा.प्र. ०३-००१ ख २८१२ नम्बरको बस एकापसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी नायव उपरीक्षक भेषराज रिजालले बताए। दुर्घटनामा माइक्रोबसमा सवार चार जनाको मृत्यु भएको रिजालले जानकारी दिए।
रिजालका अनुसार, दुर्घटनामा गोरखाको आरुघाट गाउँपालिका-१ का ४२ वर्षीय राजबहादुर गुरुङको मृत्यु भएको छ। अन्य तीन जनाको परिचय खुलेको छैन। ४० वर्षीया महिला तथा ३२ र ३५ वर्षीय पुरुषको मृत्यु भएको उनले बताए।
त्यस्तै, दुर्घटनामा अन्य ६ जना घाइते भएका छन्। घाइतमध्ये दुई जनाको भरतपुर अस्पताल र चार जनाको चितवन शिक्षण अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।