जलवायु संकटका संकेत : बढ्दो मनसुनी गर्मी, अस्वाभाविक वर्षा
यो वर्षको मनसुनमा तापमान र वर्षाको प्रवृत्तिमा देखिएका कयौं अस्वाभाविक प्रवृत्तिले जलवायुमा आएको फेरबदलको स्पष्ट संकेत गर्छ।
तीव्र रूपमा बढ्दै गइरहेको जलवायु परिवर्तनको स्पष्ट संकेतका रूपमा गत मनसुनमा नेपालले ‘रेकर्ड ब्रेकिङ’ तापमानको अनुभव गर्यो। चार दशकयताकै न्यूनतम तापक्रम अत्यधिक धेरै अभिलेख भयो भने अधिकतम तापक्रम पनि सर्वाधिक उच्चमध्ये एक रह्यो। यसले जलवायु दृष्टिकोणले विश्वकै सबैभन्दा संवेदनशील क्षेत्रमध्ये एक हिमालय क्षेत्रमा बढ्दो तापमानको चिन्ताजनक तस्वीर देखाउँछ।
जल तथा मौसम विज्ञान विभागका अनुसार, यो वर्षको मनसुनमा नेपालमा सन् १९८१ यताकै सबैभन्दा धेरै न्यूनतम तापक्रम अभिलेख भएको छ। न्यूनतम तापक्रम धेरै हुनुको अर्थ रातमा पनि गर्मी बढेको बुझाउँछ। मनसुन अवधि (जेठ अन्तिम सातादेखि असोज अन्तिमसम्म) मा देशका अधिकांश स्थानमा अधिकतम र न्यूनतम तापक्रम औसतभन्दा माथि रहेको विभागले जनाएको छ। कतिपय क्षेत्रमा त सरदर तापक्रम नै २.७ डिग्री सेल्सियससम्म फरक देखिएको छ। त्यसैले यो वर्ष अत्यधिक तातो वर्षका रुपमा दरिएको छ।
त्यसो त, यो वर्ष मात्रै अपवादका रुपमा तातो हुन पुगेको होइन। बितेको वर्ष सन् २०२३ त पछिल्लो चार दशकयताकै सर्वाधिक तातो वर्षमध्ये एक हुन पुगेको थियो। पोहर साल नेपालको वार्षिक औसतभन्दा अधिकतम तापक्रम ०.६ डिग्री सेल्सियस र न्यूनतम तापक्रम ०.५ डिग्री सेल्सियसले धेरै रहेको रेकर्ड गरिएको थियो। यो संसारभरि नै तातो वर्ष बन्न पुग्यो। गत वर्षजस्तै यो वर्ष पनि सरदरभन्दा तापक्रम बढेको देखिनुले दीर्घकालीन रूपमा तापमानमा वृद्धि भइरहेको तथ्यलाई बल पुगेको छ।
गत मनसुन अवधिमा ११ स्टेशनले यसअघिका उच्च अधिकतम तापक्रमका रेकर्ड तोडेका छन्। दिक्तेल, धनकुटा, कन्याम, दार्चुला, बैतडी, बझाङ, जुम्ला, मुगु, भक्तपुर र बाग्लुङमा यो वर्ष रेकर्ड भए जति अधिकतम तापक्रम यसअघि कहिल्यै रेकर्ड भएको थिएन। जस्तै, जुम्लामा गत जेठ मसान्तका दिन अधितम तापक्रम ३२ डिग्री सेल्सियस रेकर्ड भयो। ३४ वर्षअघि २०४७ असार ११ गते जुम्लामा अधिकतम तापक्रम ३१.९ डिग्री सेल्सियस अभिलेख भएको थियो। त्यो रेकर्ड समेत यो वर्ष तोडियो।
त्यस्तै, काठमाडौं उपत्यकामा पनि गत मनसुनमा उखरमाउलो गर्मीको अनुभूति भएको थियो। अधिकतम र न्यूनतम तापक्रम दुवै उच्च हुँदा बढी गर्मीको अनुभूति हुन्छ। गत असार १ गते काठमाडौंमा अधिकतम तापक्रम ३५.३ डिग्री सेल्सियस पुगेको थियो, जुन २५ वर्षयताकै उच्च थियो। ‘‘यो एक वर्षको मौसमी फेरबदल मात्र नभई लगातार रुपमा बढ्दो तापमान वृद्धिको संकेत हो,” जल तथा मौसम विज्ञान विभागका मौसमविद् सुदर्शन हुमागाई भन्छन्, ‘‘न्यूनतम तापक्रम लामो समयदेखि निरन्तर बढिरहेको तथ्यांकले देखाउँछ।”
यो वर्षको मनसुनमा नेपालको न्यूनतम तापक्रम सरदरमा २१.९ डिग्री सेल्सियस पुग्यो। गत चार दशकको मनसुनमा यति धेरै न्यूनतम तापक्रम कहिल्यै पुगेको थिएन। पछिल्लो एक दशकमा कुनै मनसुनमा पनि न्यूनतम तापमान २१ डिग्री सेल्सियसभन्दा तल ओर्लिएको छैन, जबकि सन् १९८१ देखि २०११ सम्मका दुई दशकमा १५ वटा मनसुनमा न्यूनतम तापक्रम २१ डिग्री मुनी नै थिए। यसले मौसमविद् हुमागाईले भनेजस्तै न्यूनतम तापमानमा आइरहेको वृद्धिलाई बुझाउँछ।
यो वर्षको मनसुनमा अधिकतम तापमान पनि सरदरमा ३०.७ डिग्री सेल्सियस हाराहारीमा पुगेको थियो। यो अहिलेसम्मकै दोस्रो उच्च रेकर्ड भएको तापमान हो। यो मनसुनमा अधिकतम तापमान अहिलेसम्मकै सर्वाधिक ३०.८ डिग्री सेल्सियस हाराहारीमा अभिलेख भएको थियो।
मानवसिर्जित गतिविधिका कारण पृथ्वीको तापमान बढिरहेको र त्यसले जलवायुको प्रवृत्तिमा व्यापक परिवर्तन ल्याएको वैज्ञानिकले बताउने गरेका छन्। जलवायु परिवर्तन सम्बन्धी अन्तरसरकारी प्यानल (आईपीसीसी) ले १९औं शताब्दीको अन्त्यदेखि विश्वको औसत तापक्रम १.१ डिग्री सेल्सियसले बढिसकेको उल्लेख गरेको छ। वैज्ञानिकले तेस्रो ध्रुव भनिने हिमालय क्षेत्र विश्वको औसतभन्दा धेरै छिटो तातिरहेको चेतावनी दिने गरेका छन्।
हिमालय क्षेत्र छिटो गतिमा तात्दै जाँदा यसले हिमनदी पग्लिने र दीर्घकालमा हिमालयमा हिउँ रित्तिने जोखिम रहेको अध्ययनहरूले देखाएका छन्। तापमान वृद्धिले हिउँ पग्लिएका कारण हिमतालमा पानीको मात्रा बढेर गत असारमा सोलखुम्बुको थामेको माथिल्लो तटीय क्षेत्रमा हिमताल विस्फोट भएको थियो, जसले थामे क्षेत्रमा भीषण बाढी निम्त्याएको थियो।
वर्षाको असामान्य प्रवृत्ति
मनसुनमा बढ्दो तापक्रमसँगै ऐतिहासिक रेकर्ड तोड्ने वर्षाका अभूतपूर्व घटना पनि भए, जसले जलवायु जोखिममा रहेको नेपालमा बाढीपहिरोको कहर पनि निम्त्यायो। असोज १२ मा मकवानपुरको दामनमा एकै दिन ४१० मिलिमिटर वर्षा रेकर्ड भएको थियो, जसले अत्यधिक वर्षाको तीन दशक पुरानो रेकर्ड तोड्यो। त्यही दिन देशका अन्य २५ मौसम स्टेशनले पनि अहिलेसम्मकै उच्च दैनिक वर्षा रेकर्ड गरे।
त्योभन्दा पनि अस्वाभाविक र गम्भीर वर्षा मनसुनको शुरुआतमै सुदूरपश्चिममा देखिएको थियो। असार २३ र २४ गते २४ घन्टाको अवधिमा कञ्चनपुरको दोधारामा ६२४ मिलिमिटर, हनुमाननगरमा ५७३.६ मिलिमिटर र सुन्दरपुरमा ५५५ मिलिमिटर वर्षा मापन भएको थियो। सामान्यतया मनसुन अवधिभरिको औसत वर्षाको लगभग आधाजति एकै दिनमा पानी परेको थियो। विभागले यो वर्षालाई आरिघोप्टे अर्थात् ‘क्लाउड ब्रस्ट’ भएको उल्लेख गरेको छ।
पछिल्ला वर्षमा मनसुन आफै पनि असामान्य बनिरहेको छ र यो वर्ष पनि त्यसको निरन्तरता रह्यो। सामान्यतया नेपालमा १३ जुनमा मनसुनी वायु भित्रिएर अक्टोबर २ मा बाहिरिने गर्छ। यो चार महीनाको अवधि नै मनसुन हो। यो वर्ष सामान्यभन्दा तीन दिन पहिले आएर र १० दिन ढिलो मनसुन हट्यो, जसले मनसुनलाई करीब दुई साता लामो बनाएको थियो।
मनसुन लम्बिएसँगै यो अवधिको कुल वर्षामा पनि नयाँ रेकर्ड स्थापित भयो। नेपालमा मनसुन अवधिमा सरदर एक हजार ३६९.१ मिलिमिटर पानी पर्छ। तर, यो वर्षको मनसुनमा भने एक हजार ६७०.७ मिलिमिटर पानी पर्यो। यो भनेको सन् १९८१ यताकै सबैभन्दा धेरै वर्षा भएका मनसुनमध्ये दोस्रो हो। सन् २०२० को मनसुनमा अहिलेसम्मकै धेरै पानी परेको थियो। यो वर्षको मनसुनमा एक हजार ७०० मिलिमिटरभन्दा बढी वर्षा भयो।
पछिल्ला वर्षमा मनसुनको अवधिमा पानी पर्ने दिन लम्बिने र मनसुन ढिला सकिने प्रवृत्ति स्थापित हुँदै गएको छ। दुई दशकमा सन् २००६ र सन् २०१२ मा मात्र मनसुन सेप्टेम्बरमै बाहिरिएको थियो। नत्र हरेक वर्ष मनसुनी वर्षा नेपालमा अक्टोबरसम्मै लम्बिँदै आएको छ।
मनसुनमा देखिएका यी प्रवृत्ति जलवायु वैज्ञानिकले लामो समयदेखि दिँदै आएको चेतावनीसँग मेल खान्छन्। जलवायु वैज्ञानिकले जलवायु परिवर्तनका कारण मौसम ढाँचाहरू छिटोछिटो फेरबदल हुने तथा अस्थिर खालको हुनसक्ने, वर्षाका चरम र असामान्य घटनाहरू देखिनसक्ने बताउने गरेका छन्।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक विनोद पोखरेल विश्वव्यापी तापमान वृद्धिले वर्षाको प्रवृत्तिलाई फेर्ने भएकाले नेपालमा असाधारण घटनाहरू विकसित हुने जोखिम रहेको बताउँछन्। पोखरेलका अनुसार तापमान वृद्धिसँगै वायुमण्डलमा आद्रताको मात्रामा तीव्र रुपमा वृद्धि हुनसक्छ, जसले गर्दा तीव्र गतिमा छोटो अवधिमा धेरै पानी पर्ने जोखिम हुन्छ।
‘‘एक डिग्री सेल्सियस मात्रै तापक्रम बढ्दा पनि वायुमण्डलको आद्रता (मोइस्चर) राख्न सक्ने क्षमता कयौं गुणा बढ्छ, जसले गर्दा अस्वाभाविक रुपमा छोटो अवधिमा घना वर्षा हुनसक्छ,” पोखरेल भन्छन्, ‘‘दुःखको कुरा अब यस्ता घट्नाक्रम थप बढ्दै जाने जोखिम छ।”
मनसुनमा मात्रै होइन, अन्य ऋतुमा पनि मौसमको प्रवृत्ति फेरिएको छ। मनसुनमा बढी पानी परे पनि हिउँद भने सुख्खाग्रस्त हुने गरेका छन्। नेपालमा सामान्यतया हिउँदको अवधिमा ६०.१ मिलिमिटर पानी पर्नुपर्छ। तर, गत वर्ष हिउँदमा सरदरको १९.८ मिलिमिटर मात्रै वर्षा भएको थियो। त्यो भन्दा अघिल्लो वर्षको हिउँदमा पनि सरदरको १२.९ मिलिमिटर मात्रै पानी परेको थियो।
पछिल्लो १९ वर्षयताको हिउँदे वर्षाको तथ्यांकअनुसार, १३ वटा हिउँदमा सरदरभन्दा कम पानी परेको छ। यसले हिउँद सुख्खा भइरहेको देखाउँछ।
जलवायुविद्ले यो वर्षको हिउँद पनि सुख्खा नै हुनसक्ने अनुमान गरेका छन्। मौसमविद् पोखरेलका अनुसार यो वर्ष प्रशान्त महासागरमा ला निना भनिने मौसमी प्रणाली विकसित हुने क्रममा छ। यो प्रणाली सक्रिय हुँदा यो क्षेत्रमा हिउँदे वर्षा कमजोर हुनसक्छ।
ला निना प्रणाली विकसित भएको वेला प्रशान्त महासागरमा पानीको तापक्रम सरदरभन्दा कम हुन्छ। जसकारण हावाको बहाव परिवर्तन भएर पश्चिमी वायुलाई सक्रिय हुनबाट रोक्छ। यो प्रणाली सक्रिय हुँदा नेपालमा पश्चिमबाट प्रवेश गर्ने वायुको प्रभाव कमजोर भएर वर्षा पनि कम हुन्छ।
जल तथा मौसम विज्ञान विभागका मौसमविद् हुमागाई भन्छन्, ‘‘ला निना प्रणाली भएका वर्ष विगतमा धेरैजसो हिउँद सुख्खा भएका थिए। एकीनका साथ भन्न कठिन भए पनि यो प्रणाली विकसित भएमा हिउँदमा कम पानी पर्नसक्छ।”
पोखरेल र हुमागाईले अनुमान गरेजस्तै मनग्ये पानी परेन भने हिउँद सुख्खा भएको यो लगातार तेस्रो वर्ष हुनेछ। हिउँद खडेरीयुक्त हुँदा कृषि बालीको उत्पादनमा असर पर्नेदेखि जलविद्युत् उत्पादन क्षमता घट्नेसम्मका असर देखिनेछन्। त्यसभन्दा पनि महत्त्वपूर्ण हिउँदमा पानी नपर्दा राजधानी उपत्यकासहित देशका शहरी क्षेत्रको वायु प्रदूषण थप चिन्ताजनक बन्ने जोखिम छ।