ट्रम्पको आगमनले नेपाललाई के असर पर्छ?
ट्रम्पको दोस्रो कार्यकालले अमेरिका, चीन र भारतबीचका सम्बन्धलाई प्रभावित गर्नेछ भने यसको अप्रत्यक्ष असर नेपालमा पनि पर्नेछ।
डोनल्ड ट्रम्पको पुनःसत्तारोहण र रिपब्लिकन पार्टीको सिनेटमा बहुमतले अमेरिकामा मात्र होइन, विश्वभर नै गम्भीर असर पार्नेछ।
यसले दक्षिणएशियामा वासिंगटनको चीन र भारतसँगको दृष्टिकोण र व्यवहारमा अप्रत्याशित परिवर्तन ल्याउनेछ। नेपालमा यसको प्रभाव कस्तो हुन्छ भन्ने अमेरिका र दुई विशाल छिमेकी देशको आगामी चार वर्षको सम्बन्धमा निर्भर रहनेछ।
“कमला ह्यारिसको तुलनामा, ट्रम्प बहुपक्षीय एवं सहयोगीलाई कायम राख्नेमा भन्दा प्रत्यक्षवादी र एकपक्षीय हुने प्रवृत्ति देखिन्छ,” राष्ट्रिय सभाका सदस्य तथा पूर्व विदेशमन्त्री विमला राई पौड्याल भन्छिन्, “ट्रम्पका नीतिहरू वर्तमान विश्व व्यवस्थालाई अझ विभाजित बनाउने डर रहेको छ।”
ट्रम्प नेतृत्वको अमेरिकाले छोड्न बाध्य भएको क्षेत्रीय र वैश्विक नेतृत्त्वको खाली स्थान पूरा गर्न भारत र चीन सक्षम हुनेछन्। युरोप र एशियाका पारम्परिक सहयोगीसँगको सम्बन्धलाई विसर्जन गर्ने वा विलम्बित गर्नेमा ट्रम्पको कदमले भारत र चीनलाई लाभान्वित गराउनेछ।
भारत प्रत्यक्ष रूपमा पश्चिमी गुटमा रहे पनि नयाँ दिल्ली आफ्नै स्वतन्त्र रूपरेखा बनाउन चाहन्छ। यसले आफ्नो बढ्दो आर्थिक शक्तिको प्रयोग गरेर युरोपेली युनियन र अमेरिकालाई धम्क्याउँदै छ। उदाहरणका लागि पश्चिमी प्रतिबन्धका बावजुद पनि भारतले रूसबाट तेल आयात गरिरहेको छ।
रणनीतिक मामिला हेर्ने काठमाडौंस्थित इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभ्लपमेन्ट स्टडिज (आईआईडीएस)का सिनियर फेलो अखिलेश उपाध्याय भन्छन्, “परम्परागत सुरक्षाको दृष्टिकोणबाट हेर्दा नेपाल दुई छिमेकी चीन र भारतको बीचमा परेको छ। चीन र अमेरिकाबीच शक्तिको प्रतिस्पर्धा छ र भारतको झुकाव कतातिर हुनेछ भन्ने स्पष्ट छैन।”
यदि ट्रम्प चीनबाट आयात हुने सामानमा थप शुल्क लगाउँछन् भने भारत पनि त्यसबाट लाभान्वित हुन सक्छ। बाइडेन–ह्यारिस प्रशासनले चीनलाई सीमा शुल्क र अन्य प्रतिबन्धको माध्यमबाट दण्ड दिइरहेको भए पनि विगतमा ट्रम्प चीनसँग अझ आक्रामक रहेका थिए।
“एकातिर, भारत क्वाडमा अमेरिकासँग निकट छ, अर्कोतिर, यो रूस र चीनसँग मिलेर काम गर्ने ब्रिस्क्स र संघाई सहयोग संगठनमा पनि सक्रिय छ,” उपाध्याय थप्छन्, “हाम्रा दुई ठूला छिमेकी देशहरू चीन र भारतको अमेरिकासँग सम्बन्ध कसरी विकास हुन्छ भन्ने कुरा अझै हेर्नुपर्ने हुन्छ।”
‘शत्रुको शत्रु मित्र हुन्छ’ भन्ने सिद्धान्तको आधारमा वासिंगटनले बढ्दो चिनियाँ आर्थिक र सैन्य प्रभावको प्रतिरोधका लागि भारतलाई आधार मानेको छ। तर नयाँ दिल्ली अमेरिकाका रणनीतिक हितहरूसँग सधै कदम मिलाउन तयार रहेको छैन। भारत आफ्ना छिमेकी देशसँग अमेरिकाको बढ्दो संलग्नता पनि मन पराउँदैन।
ट्रम्पको प्रशासनले एक गम्भीर नकारात्मक प्रभाव पार्न सक्छ। उदाहरणका लागि, अमेरिकामा भारतीय आईटी कर्मचारीको प्रवेशमा कडाइ गर्न सक्छ, जसले नेपाली विद्यार्थीको अमेरिकी रोजगारमा पहुँचलाई कमजोर पार्नेछ।
केही विशेषज्ञका अनुसार, कुन पार्टी ह्वाइट हाउसमा छ त्यसले दक्षिणएशियाको नीतिमा कुनै प्रभाव नपार्न सक्छ। नेपालको सन्दर्भमा त झन् प्रभाव कम हुनसक्छ। तर, ट्रम्पको जितमा नेपाललाई प्रदान गरिने विकास सहयोग, विशेषगरी प्रजनन स्वास्थ्य, मानव अधिकार र सामाजिक सुरक्षाका क्षेत्रमा भने कमी आउन सक्छ।
काठमाडौंस्थित साउथ एशियन स्टडिज् सेन्टरका अध्येता निश्चल पाण्डेय नेपाल र अमेरिकाबीच भएका केही उच्चस्तरीय भ्रमण रिपब्लिकन पार्टीकै नेतृत्वकालमा भएको स्मरण गर्छन्। सन् १९६० मा राजा महेन्द्रको अमेरिकी कांग्रेसमा गरेको भाषण, सन् १९९० पछि गणेशमान सिंहको जर्ज बुश सिनियरद्वारा ह्वाइट हाउसमा स्वागत र सन् २००२ मा कोलिन पावेलको भ्रमण। पाण्डेय थप्छन्, “ऐतिहासिक रूपमा हेर्दा पनि डेमोक्र्याटिक पार्टीको भन्दा रिपब्लिकन पार्टीका राष्ट्रपति र प्रशासनले नेपालमा बढी रुचि राख्छ।”
यसबाहेक, अमेरिका जान इच्छुक नेपालीका लागि स्थिति अझ चुनौतीपूर्ण हुने देखिन्छ। अहिले पनि अमेरिका जान हिडेका करीब ३०० नेपाली मेक्सिकोमा रहेको तथ्यांक छ। मानव तस्कर गिहरोमार्फत उनीहरू तल्लोबाटो अमेरिका हिडेका हुन्। त्यो सीमा नाकामा अझ कडाइ गरिनेछ।
यसै वर्षको शुरूमा ब्राजिलको साओ पाउलो विमानस्थलमा अमेरिका पु¥याउने मार्गका रूपमा ‘डरियन ग्याप’ उपयोग गरी आएका १५० जना नेपाली अलपत्र परेका थिए। त्यसैगरी, ब्राजिल जाने क्रममा एडिस अबाबा विमानस्थलमा फसेका २०० नेपालीका कारण इथिओपियाले नेपालीलाई भिसा दिन बन्द गरेको थियो।
यदि मेक्सिकोले आप्रवासीलाई रोक्न नसके, ट्रम्पले मेक्सिकोबाट आयात हुने सामानमा २० प्रतिशत शुल्क लगाउने धम्की दिएका छन्। त्यसैगरी, उनले कागजपत्र नभएका एक करोड १० लाख आप्रवासीलाई देशबाहिर पठाउने योजना बनाएका छन्। उनले सबैलाई फिर्ता पठाउन त नसक्लान तर अमेरिकामा कागजातविना बसेका नेपालीले पनि त्रासमा बस्नुपर्नेछ।
ट्रम्पका चीन सम्बन्धी कडा बयान सम्भवतः बार्गेनिङ नै हुन्। तैपनि, चीन र रूसको गठबन्धनलाई कसरी सन्तुलित राख्छन् भन्ने कुरा चासोको विषय हुनेछ।
अर्कोतर्फ, बाइडेनले हुवाई र टिकटकमा लगाएको प्रतिबन्ध हटाएन। त्यस्तै, चीनको उदय सम्बन्धी अमेरिकाको सुरक्षा चिन्ता पनि द्विपक्षीय मुद्दा हो, गाजाको विषय जस्तै। यी क्षेत्रमा कमला ह्यारिसले पनि फरक रणनीति अवलम्बन गर्ने थिइनन्।
ट्रम्पले चीनसँग बढाउने आर्थिक तनावले नेपालमा पनि असर पर्नसक्ने कूटनीतिज्ञहरू बताउँछन्। पूर्व परराष्ट्रमन्त्री पौड्याल भन्छिन्, “ट्रम्पको जितले चीनसँगको आर्थिक तनाव बढाउन सक्छ, जसले नेपालको व्यापारलाई पनि असर पार्नेछ। यो कुरालाई हामीले ध्यान दिएर तयार हुनुपर्छ।”
ट्रम्पको दोस्रो कार्यकालमा संक्रमणकालीन न्याय, मानव अधिकार, लोकतन्त्र र प्रेस स्वतन्त्रता जस्ता क्षेत्रमा नेपाल जस्ता देशलाई उपदेश दिने अमेरिकाको नैतिक अधिकार कमजोर हुनेछ। यसैगरी, प्रजनन अधिकार र संयुक्त राष्ट्रसंघीय प्रणाली मार्फत नेपालमा परिवार नियोजन कार्यक्रमलाई दिइने सहयोग पनि उनको पहिलो कार्यकालमा झै कम हुन सक्छ। त्यस्तै, यूएसएआईडीमार्फत दिइने विदेशी सहायता पनि कटौती हुन सक्छ।
नेपालको लागि ट्रम्प राष्ट्रपतित्वको अप्रत्यक्ष असर भनेको जलवायु परिवर्तन न्यूनीकरण गर्ने अमेरिकाको प्रतिबद्धता कमजोर हुन सक्छ। यसले हिमालयको हिउ पग्लिने गतिलाई तीव्र पार्ने र एशियाको तल्लो क्षेत्रमा पानीको आपूर्तिमा ठूलो असर पार्नेछ।
“ट्रम्प जलवायु परिवर्तनमा विश्वास गर्दैनन्, जसको कारण अमेरिकाका जलवायु सम्बन्धी प्रतिबद्धता र लक्ष्यहरू प्रभावित हुनेछन्,” पौड्याल भन्छिन्, “जलवायु संकटसँग सम्बन्धित ‘लस एन्ड ड्यामेज’ तथा कार्बन व्यापार जस्ता कार्यहरू ठूलो मात्रामा अमेरिकी वित्तीय सहायतामा निर्भर छन्। त्यसैले अमेरिका सक्रिय भएर लागोस् भन्ने संसारले अपेक्षा गर्छ।”
यदि ट्रम्प रूसी राष्ट्रपति भ्लादमिर पुटिनसँग नजिक भएर युक्रेनको युद्ध रोक्न सक्छन् भने यो शान्ति सम्झौताले संसारभरको ईन्धन र खाद्य पदार्थ आपूर्तिमा सुधार आउनसक्छ। साथै, रूसी सेनामा रहेका हजारौं नेपाली घर फर्कन सक्नेछन्।
नेपालको सन्दर्भमा उपाध्याय भन्छन्, “ट्रम्प प्रशासनले नेपाललाई अमेरिका र चीनबीचको महाशक्ति प्रतिस्पर्धाको मुद्दाको रूपमा हेर्नुभन्दा पनि स्वतन्त्र राष्ट्रका रूपमा हेर्नुपर्छ।”
(नेपाली टाइम्सबाट अन्शु खनालले गरेको अनुवाद। अंग्रेजीमा पढ्न यहाँ क्लिक गर्नुहोस्।)