विदेश भ्रमण विवादले कोशीका मन्त्रीको राजीनामा
विदेश भ्रमणको विषयमा विवाद उत्पन्न भएपछि कोशी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिएका छन्।
अधिकारीले बुधबार मुख्यमन्त्री हिक्मत कार्कीलाई राजीनामा बुझाएका हुन्। विदेश भ्रमणको विषयमा विवाद उत्पन्न भएपछि राजीनामा दिएको अधिकारीले उल्लेख गरेका छन्।
‘मैले गरेको निजी जापान भ्रमणको सन्दर्भमा भएका केही पक्रियागत विषयमा उडेका प्रश्नहरूको सन्दर्भमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ अधिकारीले राजीनामा पत्रमा भनेका छन्, ‘यस्तो विषयमा प्रश्न उठी सकेपछि म एक जिम्मेवार पार्टीको जिम्मेवार जनप्रतिनिधिको हैसियतले उच्च नैतिकताको आधारमा उक्त मन्त्री पदबाट राजीनामा गरी नेतृत्वलाई सहयोग पु¥याउनु उचित ठानी आन्तरिक मामिला तथा कानून मन्त्रालयको मन्त्री पदबाट राजीनामा गरेको छु।’
उनी तिहार बिदामा कात्तिक १३ गते जापान भ्रमणमा गएका थिए। उनको भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत भएको थिएन। मन्त्रीहरूले विदेश भ्रमण गर्दा मन्त्रिपरिषद्बाट स्वीकृत गर्नुपर्ने व्यवस्था छ।
मन्त्रिपरिषद्लाई जानकारी नै नदिएर विदेश गएको भन्दै आलोचना भएको थियो।