स्पिकरमा लुकाएर ल्याएको सुन सहित विमानस्थलबाट तीन जना पक्राउ
स्पिकरमा लुकाएर ल्याएको सुन सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन जना विदेशी नागरिक पक्राउ परेका छन्।
पाँच किलोग्राम ७०० ग्राम सुनसहित एक जना चिनियाँ र दुई जना म्यानमारका नागरिक पक्राउ परेको सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ। उनीहरू कात्तिक २० गते साँझ शारजाहबाट एअर अरेबियाको विमानमा काठमाडौं आएका थिए।
सुन सहित पक्राउ पर्नेमा चिनियाँ नागरिक च्यान चोङ तथा म्यानमारका सात नाइङ तुन र एई एन्गोन फू रहेका सशस्त्र प्रहरीले जनाएको छ। भन्सार ब्यागेज क्षेत्रमा रिचेक (पुनः जाँच) गर्ने क्रममा लगेजभित्र राखेको स्पिकरमा सुन भेटिएको हो।
उनीहरूले १२ वटा स्पिकरमा सुन लुकाएर ल्याएका थिए। सबै स्पिकरबाट निकालेर तौलिँदा पाँच किलो ७०० ग्राम भएको सशस्त्र प्रहरीले जनाएको छ।
सुन सहित तीनै जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा राखेर अनुसन्धान भइरहेको छ।