बसाइँ सरी आउने ‘ग्रे-हेडेड ल्यापविङ’
बसाइँ सर्ने क्रममा ‘ग्रे-हेडेड ल्यापविङ’ लगातार उड्दैन। उड्दै जाँदा बाटोको सिमसार क्षेत्रमा पुगेपछि कैयौं दिन त्यतै विचरण गर्ने अनि फेरि उड्ने रहेछ।
हिउँदका वेला जाडो छल्न फिरन्ते चरा प्रायः उत्तरी सिमाना हुँदै नेपाल भित्रिन्छन्। हामीकहाँ प्रचलित कथन छ– फिरन्ते चरा साइबेरियाबाट आउँछन् र हिउँद अन्त्य हुन लाग्दा उतै फर्कन्छन्। तर सबै चरा साइबेरियाबाट आउने होइनन्। चीन, जापान, कोरियाबाट पनि आउँछन्।
चराबारे लेखिएका नेपालका पुस्तक तथा लेखहरूमा फिरन्ते चरा कुन देशबाट आउँछन् भन्ने लेखिएको पाइँदैन। गत असोज २० मा मैले बागमती नदीमा हुटिट्याउँ जस्ता चराको एक बथान देखें। बथानमा एउटा हुटिट्याउँ पनि थियो। टाढैबाट १०५ एमएम लेन्स जडित क्यामेराबाट केही तस्वीर खिचें।
त्यो चराको अंग्रेजी नाम ‘ग्रे–हेडेड ल्यापविङ’ हो। यो हुटिट्याउँ समाविष्ट विनलस् जाति अन्तर्गतको एक प्रजाति हो। यस प्रजातिलाई नेपालीले के नामले चिन्छन्, मलाई थाहा भएन। चराबारे लेखिएका नेपालका केही पुस्तकमा यसको नाम ‘राज हुटिट्याउँ’ उल्लेख छ। हुटिट्याउँका संसारभर करिब दुई दर्जन प्रजाति छन्। जसमध्ये नेपालमा पाँच प्रजाति सूचीकृत छन्। सूचीकृत भएकामध्ये ‘राज हुटिट्याउँ’ भनिने प्रजाति न निकै ठूलो छ, न सुन्दर छ। जुध्दा अन्य हुटिट्याउँ प्रजातिलाई जित्ने खुबी भएको भनेर प्रमाणित भएको पनि होइन। यत्तिकै ‘राज हुटिट्याउँ’ नाम लेखिदिए जस्तो देखिन्छ (द स्टेटस् अफ नेपाल्स बर्ड्सः द न्याशनल रेड लिस्ट, भोलम २, पृष्ठ ३०६)। ्
अध्येताले विज्ञानको निम्ति नयाँ जीव पत्ता लगाएको भए वैज्ञानिक नाम जुराउनुपर्छ। नेपालका चरा अध्येताले चरा प्रजाति विशेषको ‘कमन’ वा सामान्य नाम मनमौजी जुराउने प्रचलन छ। जुन गलत हो।
बनौट र विशेषता
मुख्य रूपमा चीनमा पाइने ग्रे–हेडेड ल्यापविङ फाट्टफुट्ट उत्तरपूर्वी रसिया, जापान, कोरिया र हङकङमा पाइन्छ। चीनमा यसलाई ‘हुई खो माई जी’ भनिँदो रहेछ। यो चरा हुटिट्याउँ जस्तै र जत्रै हुन्छ। ठुँडो पहेंलो हुन्छ टुप्पोमा एक तिहाइ जति कालो हुन्छ। वयस्कको आँखाभित्र तीन रङ देखिन्छ। गोलाकार आँखाको नानी कालो, त्यसपछि सेतो क्रिम रङको सानो घेरा र त्यसको वरिपरि कफी रङ केही चौडा आकारमा फैलिएको हुन्छ।
आँखा बाहिर झिनो पहेंलो रङको करिब वृत्ताकार घेरा हुन्छ। खुट्टा हल्का पहेंलो हुन्छ। पेट सेतो, घाँटी र टाउको फुस्रो हुन्छ र छातीमा हल्का कालो धर्सो हुन्छ। पखेटाको टुप्पोतिर एकतिहाइ कालो, पुच्छरको टुप्पो पनि कालो र उड्दा पेटदेखि पखेटाको दुई तिहाइ मुनितिरको हिस्सा सेतो हुन्छ। सेतो रङ पखेटामा पेटतर्फ साँगुरिएको हुन्छ।
ग्रे–हेडेड ल्यापविङले विशेष गरी उत्तरी चीनको यल्लो रिभर बेसिनसहित जापान र रसियामा बच्चा कोरल्दो रहेछ। यसले घाँस वा ससाना बुट्यान भएको सिमसार र धान खेतमा बचेरा कोरल्छ। कोरल्ने समय मेदेखि जुलाईसम्म रहेछ। बचेरा हुर्केपछि तापक्रम कम हुन शुरू हुने वर्षायामको अन्त्यतिर मध्य तथा दक्षिणपूर्वी चीनका सिमसारतर्फ पहिलो बसाइँ सर्दो रहेछ। दक्षिणपूर्वी चीनमा अगस्ट अन्तिमदेखि सेप्टेम्बरसम्म पुग्दो रहेछ।
बागमती र टौदहमा देखिएका चराबारे एरेन्ड भान रिस्सेनले सन् २०१७ मा द बर्डस् अफ बागमती एन्ड टौदह एरिया २००३–२०१६ नामक पुस्तक लेखेका छन्। पुस्तकमा कुन चरा प्रजाति कुन कुन महीनामा देखिएका थिए भन्ने विवरण छ। जसमा ग्रे–हेडेड ल्यापविङ जून, जुलाई र अगस्ट बाहेकका महीनामा देखिएको लेखिएको छ। अक्टोबर ६ (असोज २०) मा मैले देख्दा एउटा बथानमा ३९ वटा भेटेको थिएँ। झापाका वाइल्डलाइफ फोटोग्राफर देवेन खरेलले यसकै एक बथान मेची नदीमा अक्टोबर १० (असोज २४) मा देखेर तस्वीर खिचेका रहेछन्। त्यहाँ यो चरा ५१ वटा थिए। खरेलले बताए अनुसार यसलाई बाज, चील आदिले आक्रमण गर्छन्।
बसाइँसराइको रुट
ग्रे–हेडेड ल्यापविङको बसाइँसराइ सम्बन्धमा चीनका यु ले, जु मी ली लगायतले गरेको अध्ययन द विल्सन जर्नल अफ अर्निथोलोजीको भोलम १३३, अंक २ (सन् २०२१)मा प्रकाशित छ। यस अनुसार, यो चराले मेदेखि जुलाईसम्म उत्तरपूर्वी चीन र जापानतिर बचेरा कोरल्छ। तापक्रम घट्न थाल्ने बित्तिकै दक्षिण तथा दक्षिणपूर्वी एशियातर्फ बसाइँ सर्दो रहेछ। न्यानो तापक्रमको खोजीमा चराले बर्सेनि गर्ने यस्तो बसाइँसराइलाई ‘फल माइग्रेसन’ भनिन्छ।
बसाइँ सर्ने क्रममा ग्रे–हेडेड ल्यापविङ राति प्रतिघन्टा २९.११ देखि ९१.१२ किलोमिटरको दरले उड्छ। तर यो चरा लगातार उड्दैन। बसाइँ सर्न उड्दै जाँदा बाटोको सिमसार क्षेत्रमा पुगेपछि कैयौं दिन त्यतै विचरण गर्ने अनि फेरि उड्ने रहेछ। यसो गर्दा ४÷५ हजार किलोमिटर पार गर्न हप्तादेखि महीनासम्म लगाउँदो रहेछ। यु ले, जु मी ली लगायतले गरेको अनुसन्धानमा ग्रे–हेडेड ल्यापविङले चीनको गुइझोउ प्रान्तबाट बसाइँ सर्न उड्दा प्रयोग गर्ने बाटोबारे अध्ययन गरेका थिए। यसका लागि तीन वटा चरामा सौर्य ऊर्जाबाट चल्ने जीपीएस–जिएसएम ब्याकप्याक ट्रयाकर जडान गरे। त्यस उपकरणको तौल करिब ७ ग्राम थियो। अध्येताहरूले हरेक ४ देखि ८ घन्टामा ती चरा कहाँ पुगे वा कहाँ छन् भन्ने थाहा पाउने प्रबन्ध मिलाएका थिए।
फल माइग्रेसन शुरू भएपछि एउटा ग्रे–हेडेड ल्यापविङ गुइझोउ प्रान्तबाट २९ सेप्टेम्बरमा युनानतर्फ लाग्यो र त्यसपछि म्यानमारतर्फ गयो। म्यानमारबाट हिउँदमा उत्तरपूर्वी भारत हुँदै ३४ दिनपछि बाङ्लादेश पुग्यो। यसले दैनिक ५०.८५ किलोमिटरको दूरी यात्रा गरेको थियो। दोस्रोले अक्टोबर ३० मा गुइझोउ प्रान्त छाडेको थियो। त्यो ५१ दिनपछि भारतको उत्तरपूर्वी राज्य मेघालयको सेल्सेल्ला पुगेको थियो। यसले प्रतिदिन ३९.९६ किलोमिटर पार गरेको थियो।
तेस्रोले पनि अक्टोबर ३० मै यात्रा शुरू गरेको थियो, तर त्यो तीन दिनमै उत्तरपूर्वी भारतको धेमाजी भन्ने ठाउँमा पुग्यो। यसले प्रतिदिन ४९१.३३ किलोमिटर दूरी यात्रा गरेको थियो। ती तीन वटै ग्रे–हेडेड ल्यापविङ अन्य फिरन्ते चरा झैं राति उडेका थिए। तिनले विश्राम गरेको ठाउँ साँझमा छाड्थे र उज्यालो नहुँदै अर्को स्थानमा रोकिन्थे। धेरैैजसो रोकिएको भूसतहको उँचाइ पाँच सय मिटरभन्दा कम थिए। तिनले आठ सयदेखि १९७० मिटरसम्मको उँचाइमा पनि विश्राम गरे, तर पाँच सय मिटरभन्दा बढी उँचाइमा छोटो समय मात्र रोकिएका थिए। बढी समय रोकिएको ठाउँमा १० देखि १३ दिनसम्म बिताएका थिए। एउटा चरा चाहिँ बाङ्लादेशमा ४६ दिन एकै ठाउँमा रोकिएको थियो। तिनीहरू विश्राम गर्न अन्नबाली लगाएको क्षेत्र, खोला वा तलाउका छेउमा रोकिन्थे।
अध्ययनको खाँचो
चीनमा ग्रे–हेडेड ल्यापविङ बचेरा हुर्काएपछि केही मध्य चीन पुग्दा रहेछन्। त्यसपछि संभवतः तिब्बत हुँदै हिमालय शृंखलाको होचो भागबाट नेपाल प्रवेश गर्दो हो। तर, यसबारे जानकारी छैन। त्यताबाट प्रवेश गर्ने भए उपयुक्त मार्ग तिब्बतबाट अरुण नदी जहाँबाट नेपाल प्रवेश हुन्छ, पूर्वी नेपालको त्यही मार्ग भएर सप्तकोशीसम्म पुग्दो हो। त्यसपछि सुनकोशी किनारै किनार सिन्धुली, काभ्रे हुँदै काठमाडौं उपत्यका प्रवेश गर्न सजिलो हुनुपर्छ। त्यसो नभई मध्य नेपालको तराईमा आइपुगेकाहरू बागमती नदी भएर काठमाडौं उपत्यका आइपुगेको पनि हुन सक्छ। तर, झापामा अक्टोबरको पहिलो साता देखिएको नै तराई हुँदै काठमाडौं उपत्यका पुगेको पनि हुन सक्छ।
नेपालमा केही चरा प्रजातिको अध्ययनमा जीपीएस–जीएसएम ब्याकप्याक ट्रयाकर जडान गरेको चर्चामा आएको थियो। हाम्रा चरा अध्येताहरूले ग्रे–हेडेड ल्यापविङको गतिविधि ट्रयाक गर्न जीपीएस–जिएसएम ब्याकप्याक ट्रयाकर प्रयोग गर्न सहज देखिँदैन। किनकि यस्तो उपकरण निकै महँगो हुने भएकाले आर्थिक रूपमा कठिन छ। तर, नेपाल प्रवेशपछि यस्ता चरा कहाँ पुगे भन्ने ट्रयाक गर्न प्रयास गर्न सकिन्छ। यसका निम्ति चरा अवलोकन गर्न र तस्वीर खिच्न सौखिनहरूसँग समन्वय गरेर जानकारी जुटाउन सकिन्छ। संभावित यस्ता फिरन्ते चरा कहिले कहाँ पुगे भनेर विभिन्न जिल्लामा निगरानीबाट यसको बसाइँसराइको रुट थाहा पाउन सकिन्छ।
ग्रे–हेडेड ल्यापविङको बसाइँसराइ जानकारीले उत्तरबाट आउने चरा सोझै हिमालय पार गरेर आउँछ भन्ने मान्यता पूर्णरूपमा सही होइन भन्ने पुष्टि गरेको छ। उत्तरपूर्वी चीनबाट म्यानमार, थाइल्यान्ड भएर नेपालको पूर्वी सिमाना नजिक आइपुगेको पुष्टि भएको छ। पूर्वी नेपालबाट मध्य नेपाल हुँदै पश्चिम नेपालसम्म पनि जाने गरेको हुनसक्छ। अथवा, यो प्रजाति कुनै चीनबाट म्यानमार भएर र कुनै सीधै हिमालयको सिमाना पार गरेर आउने गरेको पनि हुन सक्छ। भविष्यमा यो चरा आउने बाटो जानकारीमा आउँला।
फिरन्ते चरा कुन कुन देशबाट कुन कुन महीना कुन मार्गबाट आउँछन् र तिनीहरू कहाँ–कहाँ देखिए, कति समय अडिए भन्नेबारे अध्ययन गरिनुपर्छ। यसबाट चरा संरक्षणका साथै पर्यटन प्रवर्द्धनमा सघाउ पुग्छ। कुनै पनि चरा वा जन्तुले हरेक वर्ष गर्ने बसाइँसराइमा बिसौनीका रूपमा प्रयोग गर्ने स्थललाई अध्येता र संरक्षणकर्मीले पहिचान गर्नुपर्छ। त्यस्ता स्थल पहिचान गरी सुरक्षित गर्न सके बसाइँ सरेर आउने चरालाई आहारा र केही दिनका लागि सुरक्षित आश्रय स्थल हुनेछ। साथै, त्यस ठाउँलाई व्यवस्थित ढंगले प्रयोग गर्न सके पर्यापर्यटन स्थल पनि बन्न सक्छ। यस्ता स्थल पहिचान गर्नाले संकटमा परेका चरा जोगाउन राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा पहल गर्न सजिलो पनि हुन्छ।