पानी सफा पार्न बनाइने नागमती बाँधले फोहोर पारिदिन सक्छ काठमाडौंको हावा
निर्माणको चरणमा र बनिसकेपछि पनि काठमाडौं उपत्यकामा वायु प्रदूषण थप जटिल बनाइदिने भएकाले नागमती बाँधबारे पुनर्विचार गरिनुपर्छ।
कात्तिकको तेस्रो साता चल्दै गर्दा काठमाडौं उपत्यकामा साँझबिहान चिसो बढेको छ। नाक, आँखा, घाँटी सुक्खा हुने र नाक थुनिएर सास फेर्न गाह्रो हुने समस्या फेरि शुरू भएको छ। सञ्चारमाध्यमले हावामा २ माइक्रोमिटरभन्दा साना अर्थात् प्रदूषित कण बढेको भन्दै ‘मर्निङ वाक’मा ननिस्कन सजग गराइरहेका छन्।
प्रदूषणको प्रभाव थप विकराल बनाइदिने कचौरा जस्तो भौगोलिक अवस्थितिमा रहेको संघीय राजधानी संसारकै अति प्रदूषित शहरहरूको सूचीमा पर्न थालिसकेको छ। तर, स्थानीय, प्रादेशिक र संघीय सरकार कसैले पनि वायु प्रदूषण नियन्त्रणमा प्रभावकारी योजना ल्याएको देखिँदैन। बरु उल्टै जटिलता थपिरहेका छन्।
यस्तै जटिलता थप्ने परियोजना हो, नागमती बाँध। २५ अर्ब रुपैयाँ खर्चेर बागमतीको उद्गम थलो नजीकै ड्याम बनाउने, मनसुनका वेला पानी संकलन गरेर सुक्खा याममा बिस्तारै छोड्ने र नदीको फोहोर पखाल्ने परियोजनाले नदी जीवन्त राख्ने भनी प्रचार गरिएको छ। एशियाली विकास ब्यांक (एडीबी)को ऋण सहयोगमा शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्जभित्र निर्माण गरिने बाँध ९४.५ मिटर अग्लो हुने र करीब ९४.८४ लाख घनमिटर पानी संकलन गर्न सकिने जनाइएको छ।
बाँध फुट्दा आउन सक्ने बाढीबारे निकै चर्चा भए पनि यसले उपत्यकाको हावालाई थप फोहोर पार्न सक्नेबारे भने खासै सरोकार देखिएको छैन। जबकि परियोजनाको विस्तृत वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदनले नै यसतर्फ संकेत गरेको छ। प्रतिवेदन अनुसार परियोजना निर्माणका क्रममा करीब ८० हजार रूख-बिरुवा कटान गरिनेछ जस कारण वरपरको हरियालीमा कमी आउनुका साथै स्थानीय बुट्यानले वायु प्रदूषण कम सोस्न सक्नेछन्।
निर्माणका क्रममा गरिने उत्खनन, ढुंगा पिस्ने कार्य र कच्ची सडकमा सवारीसाधन आवतजावतले धूलो अझ धेरै उड्नेछ। परियोजनाका श्रमिकले शिविरहरूमा खाना पकाउँदा र सवारीसाधन सहितका मेशिनरीको प्रयोग गर्दा कार्बन उत्सर्जन बढ्ने अनुमान पनि प्रतिवेदनले गरेको छ।
यी सबै गतिविधिले स्थानीय हावा फोहोर बनाउने सम्भावना छ। बाँधस्थल बस्तीभन्दा टाढा भए पनि निर्माणमा संलग्न श्रमिकको स्वास्थ्यमा असर पर्न सक्ने स्विकार्दै प्रतिवेदनले यी गतिविधिका कारण निम्तिने वायु प्रदूषण निर्माणस्थल केन्द्रित हुने र प्रभाव लामो नरहने अपेक्षा पनि सँगसँगै गरेको छ। धूलो उड्ने ठाउँमा पर्याप्त मात्रामा पानी छर्केर जोखिम कम गर्न सकिने औंल्याएको छ। तर काठमाडौंको विशेष भौगोलिक अवस्थिति र निर्माण क्षेत्रमा यसअघि देखिँदै आएको हेलचेक्य्राइँ सम्झिँदा वायु प्रदूषणको फैलावट र प्रभाव यति कम होलाजस्तो लाग्दैन।
शुरूमा कुरा गरौँ बाँध निर्माणका चरण र काठमाडौंको हावामा पर्न सक्ने असरबारे। ईआईए प्रतिवेदन अनुसार परियोजना पूरै बनाउन १२ हजार ९०० टन सिमेन्ट लाग्नेछ। करीब ५० किलो प्रतिबोराका हिसाबले हेर्दा २ लाख ५८ हजार बोरा सिमेन्ट खपत हुने देखिन्छ। शहर-बजारमा १०-१२ बोरा सिमेन्टको काम गर्दा त धूलो अत्यधिक निस्किन्छ भने यति धेरै सिमेन्ट ढुवानी गर्दा, खोल्दा र त्यसको करीब दुई गुणा बालुवा तथा तीन गुणा गिट्टी मिसाउँदा उड्ने धूलो कति होला ?
प्रतिवेदन अनुसार दैनिक करीब ३ सय जना कामदार परियोजना निर्माणमा खटिनेछन्। हाल सेनाको सुरक्षाघेराभित्र रहेको वनमा यति धेरै मानिसको निर्बाध आवतजावत हुँदा तिनीहरूबाट डढेलोको जोखिम पनि रहन्छ। शिवपुरी क्षेत्रमा आगो लागे काठमाडौंको शहरी क्षेत्रमा पनि असर पर्छ।
काठमाडौँको मौसमी प्रणाली अनुसार यहाँ जेठ-असार लागेपछि वर्षाका कारण निर्माण कार्य गर्न प्रायः असम्भव छ। मनसुनी वर्षा सकिँदा-नसकिँदै ठूला चाडपर्व शुरू हुने भएकाले कामदार तितरबितर भइदिन्छन्। त्यसैले धेरैजसो निर्माण कार्य छठपछि शुरू हुने हुन्। तर यही वेला वायुप्रदूषण उच्च भइदिन्छ।
मनसुनका वेला पूर्वबाट हावा चले पनि जाडो बढ्दै जाँदा यो प्रणाली कमजोर भई पश्चिमी वायुको प्रभाव बढ्न थाल्छ। भारतका पन्जाब र हरियाणा राज्यमा किसानले पराल जलाउने, नेपाल र भारतका विभिन्न ठाउँमा तिहार र दिवालीका नाममा अत्यधिक पटका पड्काउने र यिनले सिर्जना गरेको प्रदूषण पश्चिमी वायुले नेपाल भित्र्याउने काम एकसाथजसो हुन्छ।
यसरी आएको धूलो-धूवाँलाई घाम लागेका दिन दिउँसोको समयमा काठमाडौँको उत्तर र उत्तर-पश्चिमबाट बहने हावाले केही धकेलिदिन्छ। तर बाँध निर्माणस्थल उत्तर दिशामै पर्ने भएकाले यसरी चल्ने हावाले परियोजना निर्माण गर्न लाग्ने सात वर्षसम्म निस्कने धूवाँ-धूलो शहरभर फैलाउने आकलन गर्न सकिन्छ। वर्षौंदेखि बेवारिस छोडिएको चक्रपथको कलङ्की-वसुन्धरा सडक आयोजनाका कारण अत्यधिक धूलो सहिरहेका काठमाडौँवासीलाई सरकारका तर्फबाट अर्को धूलोको स्रोत उपहार मिल्ने देखिन्छ। ईआईए प्रतिवेदनले भनेजस्तो पानी छर्किएर धूलो कम हुन्थ्यो भने चक्रपथमा किन सम्भव नभएको त ?
लाग्न सक्छ- सात वर्ष (नेपालमा आयोजनाहरू तोकिएको समयमा विरलै बनिसक्छन्) लाई वायु प्रदूषण सहिदिए बाँधले दिने फाइदा निकै राम्रो छ, बागमती सङ्लिँदै छ। तर वायु प्रदूषणले थोरै समयमा पनि धेरै हानि गर्न सक्छ। प्रदूषणका आँखाले देख्न नसकिने २.५ माइक्रोमिटरभन्दा साना कणलाई एम्बुलेन्ससित तुलना गरिन्छ। जसरी बिरामी बोकेर गुडेको एम्बुलेन्सलाई हत्पती कसैले रोक्दैन, हाम्रो श्वासप्रश्वास प्रणालीले पनि यस्ता साना कण रोक्न सक्दैन। फोक्सोको माध्यमबाट सीधै रगतमा पुग्छ। यी कणले शरीरका विभिन्न अङ्गमा असर पार्ने र विशेष गरी क्यान्सरको जोखिम बढाउने विभिन्न अध्ययनले देखाएका छन्।
त्यस्तै बालबालिका र वृद्धवृद्धामा दमको समस्या देखिन्छ। विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार २४ घण्टामा १५ माइक्रोग्राम प्रतिमिटर ‘क्यूब’ सम्मलाई सुरक्षित मानिन्छ तर काठमाडौँमा यो आँकडा ३६६ माइक्रोग्राम प्रतिमिटर ‘क्यूब’ सम्म पुगेको रेकर्ड छ। हावामा प्रदूषणको कणको मात्रा बढ्दा जनस्वास्थ्यमा प्रत्यक्ष पर्ने कुरा अनुसन्धानले पनि देखाएको छ।
वैज्ञानिक अनोभा गुरुङ लगायतको समूहले सन् २०१७ मा गरेको अध्ययन अनुसार काठमाडौँमा प्रदूषणको मात्रा १० माइक्रोग्राम प्रतिमिटर क्यूबले बढ्दा अस्पताल भर्ना हुनेको संख्या १ प्रतिशतले बढेको थियो। यसमा पनि श्वासप्रश्वाससम्बन्धी समस्या हुनेको संख्या १.७० प्रतिशत र मुटुसम्बन्धी समस्या हुनेको संख्या २.२९ प्रतिशतले बढेको थियो।
बाँध निर्माणको चरणमा मात्र होइन, बनिसकेपछि पनि त्यसको असर काठमाडौँको हावापानीमा पर्ने देखिन्छ। ठूला मानवनिर्मित तालले वरपरको स्थानमा सूक्ष्म जलवायु परिवर्तन गराउँछन्। ताल आसपासको हावामा बाफ र धूलोको मात्रा धेरै हुने, यसका कारण निकुञ्ज वरपरका वन्यजन्तु र वनस्पतिमा तनावको मात्र बढेर तिनको प्रजननमा पनि असर पर्ने ईआईए प्रतिवेदनले स्विकारेको छ।
कृत्रिम ताल बनाउँदा प्रायः जमिनको ठूलो क्षेत्र डुबानमा पर्छ। तब पहिल्यैदेखि रहेका वनस्पति डुब्छन् र तिनले कुहिएर मिथेन ग्यास उत्सर्जन गर्छन्। मिथेनलाई पृथ्वीको तापक्रम कार्बन डाइक्साइडले भन्दा पनि बढाउन सक्ने ग्यास मानिन्छ।
त्यस्तै, तल्लो तटमा पानीको मात्रा घटबढ गर्न बनाइने नागमती जस्ता कृत्रिम तालको पानीमा पोषक तत्त्वको असन्तुलन हुन्छ। नाइट्रोजन र फस्फोरस जस्ता पोषक तत्त्व धेरै भई पानीमा लेउ लाग्न थाल्छ। यस्तो लेउ कुहिँदा अमोनिया र मिथेन जस्ता ग्यास निस्कन्छन् जसले हावा र पानीको गुणस्तर बिगारिदिन्छन्।
कृत्रिम ताल मनोरञ्जन र पर्यटनका हिसाबले लोकप्रिय हुन्छन्। बाँध क्षेत्रमा पर्यटकको आगमनलाई प्रोत्साहन गर्नु परियोजनाको प्रमुख उद्देश्यमा पर्छ। तालमा गरिने प्रमुख पर्यटकीय काम डुंगा सवारी पनि हो। पेट्रोलबाट चल्ने डुंगाले कार्बन मोनोअक्साइड, हाइड्रोकार्बन र नाइट्रोजन अक्साइड जस्ता प्रदूषक उत्सर्जन गर्छन्।
तसर्थ ३० लाखभन्दा बढी मानिसको स्थायी बसोबास रहेको र वायु प्रदूषणबाट आक्रान्त शहरका लागि नागमती बाँध अनुपयुक्त रहेकाले परियोजनाबारे पुनर्विचार गर्नुपर्ने देखिन्छ। खर्चिलो बाँध बनाउनुभन्दा सरकारको ध्यान प्रदूषणका स्रोत तत्काल नियन्त्रण गर्नेतिर लाग्नु बढी महत्त्वपूर्ण छ।
यो पनि पढ्नुहोस् :