‘रेडियो नेपालमा गई ह्वाँह्वाँ रोएँ, तर कसैको मन पग्लेन’
‘मैले गाएका गीत फोहोरी छैनन्। कहि पनि अश्लिलता छैन। भावुक र नृत्यात्मक छन्। रोमान्टिक छन्। माया, प्रेम, विछोड, घात, दुःख, पीडा बोलेका छन्। तर पछिल्लो समय पप र हिपपप गीत छाडा पनि आएका छन्।’
भनिन्छ, ‘तन बुढो हुन्छ तर मन बुढो कहिल्यै हुँदैन।’ नेपालमा पप गीत भित्र्याउने ओमविक्रम विष्टको सक्रियता हेर्दा यो कथनको तारतम्य नमिलेको जस्तो लाग्छ। नब्बेको दशकमा ‘म मौनतामा अल्झिरहेको’, ‘को हो त्यो जसले मलाई’, ‘आवाज देऊ’ जस्ता गीत मार्फत युवाको मनमस्तिष्कमा जमेका नेपाली पप सम्राट विष्ट ६८ वर्षमा पनि तन्नेरी झैं स्टेजमा रमाइरहेका छन्।
केही समयका लागि नेपाल आएका विष्ट गीत रेकर्ड गराउन स्टुडियो धाइरहेका छन्। हिमालखबरको स्टुडियोमा गफिँदा पनि उनको मुहारमा उही पुरानै चञ्चलता र सक्रियता प्रष्ट दृष्टिगोचर हुन्थ्यो।
२०२८ सालमा रेडियो नेपालको स्वरपरीक्षा उत्तीर्ण गरी पप गीत गाउन थालेका विष्टलाई शुरूआती दिनमा ‘बेलायती बुख्याचा’ भनेर आलोचना गरिन्थ्यो। तैपनि उनी आफ्नो साधनाबाट कहिल्यै बिचलित भएनन्।
पप मार्फत नब्बेको दशकमा युवालाई स्टेजबाट नचाएका उनी पछिल्लो पटक कात्तिक ९ गते भरतपुरमा एकल साँझमा पनि पुरानै लयमा देखिए। उनै विष्टसँग हिमालखबरका लागि अनिता भेटवालले गरेको कुराकानी :
भरखरै अमेरिकाबाट नेपाल आउनुभएछ, केमा व्यस्त हुनुहुन्छ?
निकै वर्षपछि नेपाल आउने मौका पाएँ। कान्तिपुर पब्लिकेशनले लाइफ टाइम एचिभ्मेन्ट अर्वाडले सम्मान गरेकाले पनि आएको हुँ। मेरो अस्वस्थताका कारणले विदेश बस्नु परेको थियो। उपचार गराइरहेको थिएँ। मिर्गौला प्रत्यारोपण गरिएको थियो। त्यसैले आठ वर्षसम्म नेपाल आउन पाइनँ। उता रहँदा अन्त्यन्तै छटपटी हुन्थ्यो। धेरै गुमाए जस्तो लाग्थ्यो।
अहिले नेपाल आउँदा खुशी र आत्मसन्तुष्टि मिलेको छ। एक महीनाको लागि आएको हुँ, तर यति धेरै माया पाएँ की पाँच महीना भइसक्यो। अमेरिकामा पनि परिवारजन छन्। नेपाल र अमेरिका दुवैतर्फ छोराछोरी छन्। सबैलाई म एक्लैले बा र आमा भई हुर्काए। त्यसैले सबैतिरको माया लाग्छ। नेपाल त घर नै हो, झन धेरै माया लाग्छ।
६८ वर्षको उमेरमा पनि कन्सर्ट गर्नेदेखि गीत रेकर्डिङ गर्न व्यस्त हुनुहुन्छ। कसरी यति सक्रिय हुनु भएको छ?
मसँग अत्यन्तै आत्मबल पनि रहेछ। मेरो स्वास्थ्य समस्या पहिला धेरै नै थियो। तर अहिले ठिक छ। वेलावेला स्वरले दुःख दिइरहन्छ, स्वर भासिन्छ। बिहान ठिक हुन्छ, दिउँसो हुँदै गएपछि फेरि गाह्रो हुन्छ। साँझमा फेरि स्वर उस्तै हुन्छ। तर स्टेजमा चढेर आफ्नो लयमा गीत गाउन थालेपछिस्वर खुल्दै आउँछ।
२० वर्षअघि अन्तर्वार्तामा ‘संगीतमा म पागल छु। जब मलाई मृत्युले छुन्छ, तब मात्र म संगीतलाई छोडछु,’ भन्नुभएको थियो। संगीतप्रति यति धेरै लगाव कसरी जाग्यो?
यो सत्य कुरा हो। मैले संगीत छाड्ने भनेको मृत्युपछि नै हो। त्यसैले अहिले पनि गीत रेकर्ड गराइरहेको छु। नेपाल आएपछि १२ वटा गीत रेकर्ड गराइसकेको छु। आठ वटा त तयार नै भइसकेका छन्। गीत गाउने अरु मौका पनि आइरहेको छ। त्यो पनि गाउने प्रयास गर्नेछु।
तपाईंलाई नेपाली पप गीतको सम्राट भनिन्छ। खासमा तपाईका लागि पप गीतसंगीत के हो?
मैले पप गीत भनेर गाएकै हैन। पप गीत भनेर भन्दा पनि आधुनिक गीत भनेर गाएको हुँ। त्यसवेला नारायण गोपाल, प्रेमध्वज प्रधान, फत्तेमान, बच्चु कैलाश, मिरा राणा, तारा थापाहरूको भारतीय शैलीका गीतमा मात्र आकर्षण थियो। त्यसवेला पृथक गीत संगीत नै आएको थिएन। आठ वर्षको उमेरदेखि नै अंग्रेजी गीत सुन्न थालेको मैले १० वर्षको उमेरदेखि आफै सिकेर गीतार बजाउन थाले। विदेशबाट बुवाले ‘रेकर्ड प्लेयर’ पनि ल्याइदिनु भएको थियो। त्यसले गर्दा मेरो रुचि पश्चिमा संगीततिर गयो। मैले भरेको संगीत पनि पश्चिमातिर ढल्कियो।
शब्द, लय र संगीत नेपाली तरिकाको हुन्थ्यो, तर पश्चिमा बाजा धेरै प्रयोग हुन्थे। हामीले पियानो, अगेन, गिटार मगायौं। त्यसमा पनि नयाँ संगीत बन्यो। श्रोताले पनि नयाँ स्वाद लिन थाले। यो काम गर्दा बाधा पनि भयो। तर मैले गाउँदै गएपछि दोस्रो पुस्ता पनि आयो। दोस्रो पुस्ताको पालाबाट पप गीत भन्न थालियो। त्यसपछि मेरो गीतलाई पनि पप गीत भन्न थालिएको हो।
पप गीत गाउन बाजा मात्र पश्चिमा बजाएर हुँदैन, ड्रम र गिटार रेटेर मात्र हुँदैन, स्वर पनि त्यस्तै हुनुपर्छ। बेस्सरी ‘हाइ पिच’ हुनुपर्छ। नत्र त यहाँ नारायण गोपाललाई पनि पप गायक भन्छन्। नारायण गोपालले पनि गिटार प्रयोग भएको ‘आँखाको भाका, आँखैले राम्ररी बुझि सम्झनु’ गीत गाउनु भएको छ। तर उहाँको स्वर आधुनिक गीतकै लागि हो।
तपाईले गीत सँगसँगै भिडिओमा आफै खेल्ने र कन्सर्टहरुमा पनि गाउँदा झुमेर नाच्दै गाउने चलन ल्याईदिनुभो। कसरी गायकसँगै ‘पर्फमर’ पनि बन्नुभयो त?
५० वर्षअघि ‘द ग्रिन्स लेन्स’ भन्ने मेरो आफ्नै ब्यान्ड थियो। त्यसमा अंग्रेजी गीत पनि गाउने गरिन्थ्यो। मुख्य गायक योगेन्द्र शाक्य र श्याम मानन्धर हुनुहुन्थ्यो। गिटार र ड्रम बजाउने संगीतकर्मीको ठूलो टिम थियो। हामी गीत गाउँदै नाच्थ्यौं। स्टेजमा पनि नाच्नै पथ्र्यो। झुम्दै, हल्लिदै, गाउँथ्यौँ। सायद, हामीले त्यो पश्चिमा शैली सिकेका थियौँ।
फेशन पनि त्यस्तै थियो- कपाल पाल्ने, डिंगो जुत्ता र प्यान्ट लगाउथ्यौं। बाटोमा हिड्ने वृद्धले मेरो लुगा देखेर, ‘आम्मा यसले कस्तो च्यातिएको लुगा लगाएको। के भयो बाबु तिमीलाई?’ पनि भने। त्यसरी लुगा लगाएर हिड्दा आनन्द आउँथ्यो। विस्तारै व्यक्तित्व पनि परिर्वतन भयो।
स्टेजमा खुलेरै नाच्न थाले। भिडिओ बनाउँदा पनि आफै खेल्न थाले। त्यो दर्शकलाई मन पर्न थाल्यो। आफू नाच्न थालेपछि दर्शक पनि स्टेज नजिक आएर नाच्न थाले। त्यसले गर्दा पनि चर्चामा पुगियो। २० वर्षसम्म त नाच्दै गीत गाइयो। डेढ सय वटा जति गीत एकदमै हिट पनि भए। तिनै गीत अहिले पनि हिट छन्। अहिले नयाँ पुस्ता आयो, राम्रा बाजा छन्, गाउने पनि उस्तै राम्रा छन्। तथापि, पहिलाका गीत अहिले पनि सुनिन्छ।
तपाईले भनेजस्तै आजका पुस्ताका श्रोताले धेरै पुराना गीत रुचाउँछन्। एकान्तमा ‘म मौनतामा अल्झिरहको एउटा जीवन’ जस्ता गीत सुनिरहेका हुन्छन्। यसरी नयाँ पुस्ताले पनि पुरानै गीत मन पराउनुको कारण के होला भन्ठान्नुहुन्छ?
खासमा राम्रा गीत सधै राम्रा नै हुन्छन्। सयौं वर्ष पुरानो गीत भए पनि राम्रो गीतको सम्मान सधै हुँदोरहेछ। अनि एकअर्कोका गीतसंगीतलाई सम्मान नै गर्ने हो। मैले पप गीत गाउँदा अर्को कुनै पप गायक नै थिएन। यस्तो गीत गाउँदा कतिले पागल पनि भने। तर गाउन छाडिनँ। यो जगल्टेले के गीत गाएको होला पनि भने। समाज बिगार्न लाग्यो पनि भने। पछि ती गीत नै चले। अहिलेसम्म बाँचिरहेका पनि छन्।
आफ्नो समयमा पप गीत गाउनै कठिन थियो भन्नुभयो। तपाईले पप गीत गाउन आइपरेका आपतको सामना चाँही कसरी गर्नुभयो?
त्यसवेला सारा दुनियाँले गलत भनिरहँदा पनि मलाई केही फरक नै परेन, मैले गाउन छाडिनँ। त्यो वेला पप गीतसंगीतमा त्यस्तो क्रेजी किन भए? मलाई नै थाहा छैन। रातैभरि गिटार रेटेर गाउँदै बस्थिम्। रातभरि इन्द्र चोकको भैरव थानमा गाउथ्यौं। मानिसहरू झ्यालझ्यालबाट हेर्थे।
बुवाले राम्रो स्कूलमा भर्ना गरिदिनु भएको थियो। तर पढ्न नगई गिटार लिएर चोकमा बसेर गाउँथे। दुई-चार पटक बुवाको लात र चड्कन पनि खाएको छु। घरबाट लखेट्नु पनि भयो। आमा चाँही बुवाबाट बचाउनुहुन्थ्यो।
हाम्रो बुवा हार्मोनियम बजाएर गाएको गीत मन पराउने, म परे गिटार र ड्रम बजाउने। त्यसैले स्विकार्य भएन। विस्तारै रेडियो नेपालमा गीत गाउन थालेपछि घरपरिवारले स्विकार्यो। साथै, पाटन कलेजबाट आईए र बीए पनि सके। अनि विभिन्न स्टेजमा गीत गाउनै अफर आउन थाल्यो।
२०३० सालतिर रेडियो नेपालमा पप गीतलाई सेन्सर जस्तै थियो रे, हो?
सेन्सर नै लगाएको त हैन, तर मलाई ‘यस्तो गीत नगाउन र बाजाहरू नबजाउनु’ भनेर बारम्बार भनिथ्यो। स्वर्गीय नातिकाजि, शिवशंखर, तारा देवीहरूले नै ‘ए बाबु के गीत गाएको ओ ओ गर्ने’ भन्नु हुन्थ्यो। त्यसवेला बुवा पनि रेडियो नेपालको मुख्य तहको पदमा नै हुनुहुन्थ्यो। सबै मिलेर गाली गर्थे। तर मैले गीत गाउन छाडिनँ।
जब ‘आँखाको प्यास’, ‘म मौनतामा’ जस्ता गीत हिट भए, त्यसपछि उहाँहरू पनि सकारात्मक हुन थाल्नुभयो। उहाँहरूले आफ्नो गीतमा पनि हाम्रो बाजाहरू बजाइदिनुपर्यो भन्न थाल्नुभयो। त्यसवेला रेडियोमा एउटा गीत गाएको २० रुपैयाँ पाइन्थ्यो। तर बाहिर कार्यक्रम गर्दा दुई हजारसम्म पाइथ्यो।
त्यतिवेला रेडियो नेपालले निकै दुःख दिएको हो। मेरा गीतको टेपमा चुरोटले प्वाल पारिदिएको हुन्थ्यो। २१ वटा त्यस्ता गीतमा प्वाल पारिदिएको छ। त्यो वेला म कत्ति रुएको छु। विस्तारै दर्शकले यहि गीतसंगीतलाई मन पराए। विश्वव्यापी पनि भयो।
तपाईका ३६ वटा गीत रेडियो नेपालबाट गायव बनाइएको छ रे! ती गीतको खोजी गर्नु भएन?
हो, गायव नै छ। खोजी पनि गरेको हुँ। तर कति धेरै खोजी गर्ने, कति धेरै धाउने? धेरै धाएपछि दिक्क लागेर हार खाएर छाडिदिएको हुँ। अब त त्यो सबै फालिसके होलान्। त्यो वेलाका धेरै मानिस मरिसके। सरकारी जागिर हो, कसले दुःख गरेर खोजिदिन्थे! घाममा चुरोट तान्यो, हाजिर गर्यो, अनि घर फर्कियो।
श्री ५ को सरकारको पालामा त्यस्तो थियो, रेडियो नेपाल। सबैले आलटाल मात्र गर्थे। अहिले पनि त्यहि नै छ। ति हराएका गीतको अझै माया लाग्छ। रेडियो नेपालमा गएरै ह्वाँह्वाँ रोएँ। भावुक पनि भए, तर गीत खोजिदिएनन्।
कुनै वेला पप गायकले आफैले आफ्नो पोस्टर टाँसेर क्यासेट बिक्री गर्नुपथ्र्यो। तपाईले पनि गर्नुभयो?
खासमा त्यो म पछिको पुस्ताले गरे। किनभने त्यो वेला पनि रेडियो र टेलिभिजनले पप गीत बजाइदिन्थेन। त्यसैले आफ्नो गीत आफै बिक्री गराउनुको विकल्प थिएन। उनीहरूप्रति मलाई सम्मान छ। त्यस्तो संघर्ष गरेअनुसार कलाकारले केही पनि पाएनन्। त्यो वेला पनि क्यासेट कम्पनीलाई नै धेरै फाइदा चाहिन्थ्यो। कलाकारलाई थोरै दिएर पन्छाउँथे। त्यसैले त त्यो वेला गीत चले, गायक हिट पनि भए तर क्यासेट बिक्री भएको पैसा कम्पनीले खाइदिए। कलाकार मारमा परे। कतिसम्म भने चलेका कलाकारसँग समेत उपचार गर्नेवेला पनि पैसा हुँदैनथ्यो।
त्यो समयमा हामीलाई पनि धेरै दिक्क लाग्यो। अनि गीत बजाउन रेडियो र टेलिभिजनमा नै ढुकेर बस्न थालियो। उनीहरूले साँझमा रक्सी खुवाउनेको मात्र गीत बजाउँथे। त्यसैले ‘गीत बजेन भने कुटाई खान्छस्’ भन्थ्यौं। नेपालमा पहिलादेखि नै हरेक तहमा सानो ठूलो भ्रष्टाचार हुँदै आएको छ।
पुरुष गायकले गाउँदा त उच्छृंखल भन्ने वेलामा महिला पप गायकलाई कस्तो थियो?
त्यसवेला गाउने त्यति धेरै महिला थिएनन्। मैले गाएको वेलामा दार्जिलिङबाट पनि केही महिला कलाकार आउनु भएको थियो। रेणु थापासँग धेरै गाइयो। त्यसपछि तारा थापाजी आउनुभयो। तर वहाँ पप गीतमा त्यति धेरै फिट हुनुभएन। उहाँहरूले पनि स्टेजमा चढेर गीत गाउँदा सबै दंग पर्थे। सुक्मित गुरुङसँग गीत गाउँदा दर्शक पागल भएका थिए। उहाँसँगका मेरा धेरै गीत हिट पनि भए। अहिले त पप गीत गाउने गायिका कति भए, भए। उनीहरू आफै वाद्यवाधन बजाएर गाउने गर्छन्। त्यो देख्दा रमाइलो लाग्छ।
पप गीतलाई अहिले पनि उच्छृंखल गीत भन्ने गरिन्छ। खासमा पप गीतले कस्तो मर्म बोकेको हुन्छ, के भन्न खोज्छ?
मैले गाएका गीत फोहोरी छैनन्। कहि पनि अश्लिलता छैन। भावुक र नृत्यात्मक गीत छन्। यी रोमान्टिक छन्। गम्भिर छन्। माया, प्रेम, विछोड, घात, दुःख, पीडा बोलेका छन्। तर पछिल्लो समय पप र हिपपप गीत छाडा पनि आएका छन्। यो हुनुहुँदैन। गाउन नसक्ने गरिका छाडा गीत आएका छन्। जुन अन्तर्वार्तामा भन्न पनि सक्दिनँ। यो रोकिनुपर्छ। कतिले नराम्रो नै गरे तर कतिले अहिले पनि राम्रो नै गाएका छन्।
भिटेनहरूले अहिले गाएको र्यापशैली पहिलापहिला विवाहमा गाइने शैली हो। त्यति वेला पनि अहिले लान्छु, भगाउँछु, कुटछु, ठोक्छु भनेर गाउँथे। तर त्यो त्यस्ता कार्यक्रममा मात्र सुन्थे। अब अहिले इन्टरनेटमा हालेपछि सबैले सुन्ने भए।
तपाईको पालादेखि अहिलेसम्मको नेपाली संगीत क्षेत्रमा राम्रो के भयो, नराम्रो के भयो जस्तो लाग्छ?
अहिले त म धेरै राम्रो देख्छु। गाउनेहरू प्रतिभाशाली छन्। प्रविधिले बिग्रेको स्वर पनि सपारिदिन्छ। पहिला एकपटक एउटा शब्द बिग्रिए, शुरूबाटै गाउनुपथ्र्यो। ‘टिमी’ले भनेर बिगार्यो भने पनि अहिले ‘तिमी’ भनेर प्रविधिले मिलाइदिन्छ। तर लगानी चाही पप गीतमा अझै पनि कम छ। अझै पनि पप गीतलाई युवाले मात्र गाउने र सुन्ने गीत भनेर लिइन्छ। लगानी पनि उनीहरुले नै गर्नुपर्छ भन्छन्।
अहिले पनि उच्च वर्गीय परिवारका छोराछोरीले आफ्ना बुवाआमासँग पैसा मागेर गीत रेकर्ड गर्नुपर्ने स्थिति छ। व्यवसायिकरणमा अझै पनि जान सकेको छैन। अहिले त पैसा भयो भने इन्टरनेटमा ‘लाइक’ र ’कमेन्ट’ पनि पाइनेरहेछ। रक्सी खुवाउन सक्यो भने गीतको चर्चा मिडियामा पनि हुने रहेछ। त्यो विकृति हट्नुपर्छ। कलाकार र गायकले नै संवेदनशील भएर यस्तो विषय उठाउनुपर्छ।
अहिले पनि कलाकार र गायककै लगावमा पप गीत संगीत चलिरहेको छ। तपाईमा पनि त्यस्तै लगाव थियो। २०६२ सालमा श्रीमती आईसीयूमा भएको वेला पनि भक्तपुरमा कन्सर्टमा जानु भएको थियो?
खासमा त्यो वेला आयोजकसँग ‘कन्ट्रयाक्ट’ भइसकेको थियो। धेरैतिर विज्ञापन पनि भइसकेको थियो। त्यो वेला श्रीमती निमोनिया भएर अन्तिम अवस्थामा थिइन। मैले रोएरै भए पनि आफ्नो कलाकर्मको धर्म निभाएको थिएँ। मेरो कर्तव्य पूरा गरेको थिएँ।
म रोइरहेको टाढाबाट मात्र देखिएन। तर मैले रुदै, ‘म मौनतामा’ भन्ने गीत गाएँ। गाइसकेपछि तल झर्न पनि सकेको थिइनँ। अरुले नै सहायता दिएर तल झारे। त्यसपछि सिधा अस्पताल गएँ र त्यसको १२ घन्टापछि श्रीमती मेरै काखमा बितिन्।
२०३० को दशकमा स्टेज तताएको गायकलाई आजभोलि पनि स्टेजमा गाउँदा कस्तो महसूस हुन्छ?
मैले आजका संगीतकर्मीसँग काम गरेको छैन। अहिले पनि मेरो पुरानै साथीहरू हुनुहुन्छ। सुवर्ण लिम्बू, सञ्जिम, देव राणा, अमोल, जेनिसा कार्की, प्रदिप, विशाल गुरुङ, सबै छौं। आठ जनाको समूहले अहिले पनि कन्सर्ट गर्दै छौं। मलाई बुढो भए भन्ने लाग्दैन। उस्तै रमाईलो गर्छु। तैपनि अनौठो चाँही लाग्दोरहेछ। म त्यो ओमविक्रम हो र भन्ने लाग्दो रहेछ। गीतको अभ्यास गरिरहँदा ‘बुढो मान्छे, अझै पनि तगडा छ है’ भनेर जिस्काउँछन्।
सरकारी सेवामा भए त उमेरहदले अवकास लिइसक्नु हुन्थ्यो। अब त आराम गरौं भन्ने विचार आउँदैन?
त्यस्तो विचार आउँदै आएन। मैले जस्तै बिरामी हुँदा पनि गाउन छाडेको छैन। मिर्गौला प्रत्यारोपण गरेको वेला शरीरभरि पोकैपोका झुण्ड्याउँदा पनि गिटार बजाइरहे। म गिटार नबजाई र गीत नगाई बस्नै सक्दिनँ। ९० वर्षसम्म गीत गाउने रहर छ। त्यसैले किन डराउने?
अमेरिकामा पनि ८५ वर्षसम्म त गाएकै देखेको छु। त्यसैले नसक्ने भन्ने छैन। तर हामीले खानपानमा ख्याल गर्नुपर्ने रहेछ। माछामासु नखाने, रक्सी, चाँड, चुरोट नखाने र साजसब्जी खाने गरेर स्वास्थ्यको ख्याल राख्नुपर्छ।
अमेरिका र नेपालमा आधाआधा समय बिताउँदै आउनु भएको छ। तपाईका लागि यी दुई देश के हुन्?
मातृभुमी कुनै पनि हालतमा छोड्न सकिँदैन। यहाँ त हिमाल हेरेर बस्दा पनि आनन्द आउँछ। बाटोमा बुढाबुढी, नेपाली खाना सबै रहरलाग्दो लाग्छ।
अमेरिका आधुनिक देश भयो। जहाँ हेर्यो, शहर छ। उस्तै गाडी, भवन काम मात्र बढी। काम गरेपछि पनि खाना खान परिवारसँगै हुँदैन। कसैलाई पनि आफ्नो देश छाडेर विदेश जाँऔं भन्ने रहर हुँदैन। बाँच्नका लागि पैसा चाहिन्छ। त्यसैले बिदेशिने बाध्यता छ।
कतिपयले तपाईलाई अमेरिकी भयो पनि भन्छन्। अर्को देशको नागरिक हुनुले कति फरक पार्छ?
यसबारे मेरो भन्नु केही छैन। नागरिकता लिए पनि, नलिए पनि, मैले मेरो मातृभुमीप्रति कर्तव्य पूरा गरेको छु। त्यो भन्दैमा मातृभुमीप्रति माया कम हुने पनि होइन।
२०३० सालदेखि नेपाली संगीत क्षेत्रबारे अवगत हुनुहुन्छ। नेपाली सगीत क्षेत्रमा अहिलेको समस्या के के हुन्? समग्र संगीत क्षेत्रको प्रगति कसरी होला?
हामीले जतिसुकै गनथन गरे पनि निष्कर्ष चाहिन्छ। पहिला गायकगायिका हुन रेडियो नेपालमा स्वर परीक्षण हुनेगथ्र्यो। त्यतिवेला गाउनेहरूको ताल, सुर, क्षमता सबैको परीक्षण हुँदा गुणस्तरीय कलाकारको उत्पादन हुन्थ्यो भने उनीहरू स्वर परीक्षामा पास भएपछि निश्चित पारिश्रमिक पनि पाउँथे। स्वर परीक्षणमा पास नहुनेले गाउन पाउँदैनथे। स्वर परीक्षणमा पास भएकाले पनि राम्रो गीत गाएनन् भने पलायन हुन्थे। तर अहिलेको जस्तो खस्किएको जनशक्ति संगीत बजारमा आउँदैनथ्यो।
अहिले रेडियो नेपालमा स्वर परीक्षणको त्यो सुविधा छैन। आजभन्दा २० देखि ३० वर्षअघि दुई करोडको रेडियो नेपालको स्टुडियो पनि खेर गएको छ। त्यो जापानले बनाइदिएको स्टुडियो हो।
विभिन्न सञ्चारमन्त्री आए, तर कसैले काम नगर्ने भए। त्यसैले नीजि क्षेत्रका स्टुडियो खुले। त्यहाँ रुने, कराउने, चिच्याउने जे गरेर गाए पनि हुने स्थिति बन्यो। आज त संगीत क्षेत्रमा बदमासी गर्नेलाई न समाउने कोही छ, न त राम्रो गर्नेहरूलाई स्थान दिने कोही छ। त्यसैले पनि गीत गाउने मान्छेको सुर, ताल, लय, गान, सबैको परीक्षण भएर प्रमाणपत्र सरकारले दिनुपर्छ। त्यसपछि सरकारी स्टुडियोमा नै रेकर्ड गर्न पाउने व्यवस्था पनि मिलाउनुपर्छ।
यसरी सरकारले गायकगायिकाको प्रमाणपत्र दिएकाहरूले गाउँदा केही निश्चित रकम दिइयोस्। दाल, भात र तरकारी खाने पैसा आए पनि कला मर्दैन। राम्रो गाउनेको माग बढ्छ, कमाउँछ, तर नराम्रो गाउनेले कमाउँदैन र नराम्रो गाउनेको स्थान पनि रहँदैन। त्यो नै उपयुक्त हुन्छ।
यसरी मूल्यांकन गरिएमा संगीत क्षेत्रमा विकृति कम हुन्छ। यसका लागि निश्चित संगीत कोष वा संस्थानमा रकम राखिदिए त्यो काम गर्न सकिन्छ। तर यहाँ कुरा मात्र गर्ने सरकारमा हाबी भएर सबै क्षेत्रको हरिविजोक भयो।
अन्तिममा तपाईलाई चाहिँ संगीत क्षेत्रमा यो काम गर्न पाए हुन्थ्यो भन्ने केही छ?
मेरो सपना सबै पूरा हुँदैन। किनभने पढेर कहिल्यै नसकिए जस्तै संगीत क्षेत्रमा सिकेर, गाएर, काम गरेर पनि कहिल्यै सकिँदैन। अब आफ्नो शरीरले विस्तारै काम गर्न छाड्छ। मैले त्यो पनि स्विकार्नुपर्छ।
यस क्षेत्रमा राम्रा नयाँ कलाकार आउनुभएको छ। उनीहरूले आफ्नोसँगै यो क्षेत्रको व्यवस्थापन र प्रगतिको लागि सोच्नुपर्छ। म पनि सकुन्जेल गीत संगीतमा काम गर्नेछु। अहिले पनि मेरो कन्सर्टहरू हुँदैछन्। आठ वटा गीतहरू पनि रेकर्ड गराएको छु। म उमेर बित्दै गयो भनेर तर्सिने र दुःखी हुने गर्दिनँ।