बाघको गर्जनले फर्काएको बालापन
पश्चिम तराईका राष्ट्रिय निकुञ्जमा जंगल सफारी गर्दा छेउछाउमै बाघ गर्जिएपछि खुशी र डर एकैपटक महसूस भयो।
गाउँबाट काठमाडौं छिर्दाका शुरुआती दिनमा जावलाखेल पुगेको थिएँ, सदर चिडियाखाना घुम्न। जंगली जनावर देख्दा साह्रै खुशी भएको थिएँ। दोहोर्याई-तेहेर्याई चिडियाखाना चहारेँ। जंगली जनावर हेरेर आनन्द लिइयो। तर, एकाएक चिडियाखाना जान मन लागेन।
कसरी चिडियाखानाका जनावरप्रति माया लाग्यो भन्ने मेसो मैले पाइनँ। यति थाहा छ, खोरमा थुनिएका वन्यजन्तुको बिजोग हेर्न मन मानेन। जनावर र पन्छीहरू उड्न, उफ्रिन र दौडन नपाएर मलिन अनुहार बनाई बसेजस्तो भान भयो। त्यो दृश्यले मन दुखाउन थाल्यो।
खोर जति ठूलो बनाइए पनि उनीहरूका लागि पर्याप्त हुँदैन। बजारबाट ल्याएका जतिसुकै महँगा र राम्रा खानेकुरा खुवाए पनि जनावरलाई आफैंले खोजेर खाए जस्तो हुँदैन होला। खोला, नाला र वनजंगल रम्ने उनीहरूलाई शहरको धूलोधूवाँमा बाँच्नुपर्दा साँच्चिकै रमाइलो लाग्छ होला र? यस्ता कुरा मनमा आउन थाले।
चिडियाखाना जान छोडेको दुई दशकपछि पश्चिम तराईतिर हुइँकिएँ, जंगल सफारीमा। ओहो, सदर चिडियाखानासँग बिरक्तिएको मनलाई जंगल सफारीले बाल्यकालमै फर्काइदियो। एकाएक प्रफुल्लित भएँ। मनमनै सोचेँ, जंगली जनावर हेर्न त जंगल सफारीमा जानुपर्दो रहेछ।
यो अवसर यस वर्षको दशैं बिदाले जुरायो। काठमाडौंबाट बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज हुइँकियौं।
संजोग पनि कस्तो भने विदेशी मित्र पर्यटनविद् टोनी पर्र भेटिए। बेलायती नागरिक ७७ वर्षीय टोनी पछिल्लो समय अस्ट्रेलियामा बस्दै आएका छन्। उनले लामो समय नेपालको पर्यटन क्षेत्रमा विज्ञ र व्यवसायी भएर काम गरेका छन्। यही दौरान तीन दशकअघि उनीसँग चिनजान भएको थियो।
नेपालमा होमस्टे पर्यटनको अवधारणा विकास गर्ने व्यक्ति टोनी नै हुन्। उनले यो अवधारणाको प्रयोगात्मक अभ्यास स्याङ्जाको सिरुबारीमा भारतीय गोरखाका अवकाशप्राप्त क्याप्टेन रुद्रबहादुर गुरुङ र हर्कबहादुर गुरुङसँग मिलेर लागू गरे। सिरुबारीको सफलतापछि घले गाउँ हुँदै अन्यत्र पनि होमस्टे सञ्चालन गरिएको उनले सुनाए। होमस्टे अहिले पर्यटन क्षेत्रमा सबैका लागि परिचित शब्दावली बनेको छ।
टोनीले पनि बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जंगल सफारी गर्ने इच्छा व्यक्त गरे। मेरो पनि दशैं बिदामा पश्चिमतिर हुइँकिने योजना थियो। कात्तिक पहिलो साता टोनी, पर्यटन व्यवसायी राज भट्ट र म जंगल सफारीका लागि हुइँकियौं।
बर्दिया बाघका लागि प्रख्यात छ। बाघको खुट्टाको डोब देखेपछि उत्साहित भयौं। भेट भइहाल्छ कि जस्तो लाग्यो। तर, बाघ हेर्ने इच्छा पूरा भएन। बाघका डोबमै चित्त बुझायौं। वार्डेन सरोजमणि पौडेल र गाइड शंकरप्रसाद भट्टराईले बर्दिया राष्ट्रिय निकुञ्जबारे सुनाए।
बर्दियामा बँदेल, मजुर, चित्तल, जरायो, मृग नजीकबाट नियाल्यौं। केही चराचुरुङ्गी छेउछाउबाट ओहोरदोहोर गरिरहे।
त्यसपछि पश्चिमी किनारको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज गयौं। रानी तालको छेउमा के पुगेका थियौं, घारीबाट बाघ गर्जेको आवाज सुनियो। एकातिर खुशी भयौं भने अर्कोतिर डर पनि लाग्यो। बाघ हेर्ने इच्छाले उत्साहित मनमा कहाँबाट डर आयो होला! छेवैमा गर्जन सुनिएकाले आक्रमण गरिहाल्छ कि भन्ने लाग्यो।
गस्तीमा रहेका सैनिकले नबोल्न सुझाए। केहीबेर चुपचाप लाग्यौं। बाघ देखिन्छ कि भनेर सैनिक टोलीसँग केही मिटर गुड्यौं। आँखा तन्काई-तन्काई र कान चनाखो पार्यौं। तर बाघले दर्शन दिएन।
शुक्लाफाँटामा पनि चित्तल, मृग, बँदेल, बाँदर, जरायो, सुन ढुकुर, सुन मजुर, हात्ती हेरेर चित्त बुझायौं। तर चिडियाखानामा थुनिएका जनावर हेर्दा दुःखी बनेको मन स्वच्छन्द रूपमा विचरण गरिरहेका जनावर र चराचुरुङ्गी देखेर आनन्दित भयो।
सायद, मेरो हृदयले वर्षौदेखि यही खोजेको रहेछ जुन यसपटक जंगल सफारीमा पाएँ। मनमनै निधो निधो गरेँ, अन्य संरक्षित क्षेत्रमा पनि जंगल सफारी गर्ने।
विशेष गरी शहर–बजारमा जन्मेहुर्केका मान्छेले जंगल सफारी गर्नै पर्दो रहेछ। दैनिक अड्डा-अदालत वा कार्यालय धाउने, व्यापार व्यवसायमा व्यस्त मान्छेका लागि जंगल सफारी थेरापी नै हुन्छ। शारीरिक र मानसिक ताजगी दिन्छ।
चारैतिर हेर्न सजिलोका लागि खुला राखिएको जीपमा जंगलभित्रका कच्ची र ग्राभेल सडकमा हुइकिँदा शरीरको शक्ति नै फेरिँदो रहेछ। जीपको हल्लाइसँगै शरीरले आफैं सन्तुलन मिलाउँछ। एकैपटक शरीर, मन र आँखाको सन्तुलन मिलाउँदै जंगल चियाउँदा गाह्रोसाह्रो, दुःखकष्ट सबै बिर्सिइन्छ। वन्यजन्तु र चराचुरुङ्गीसँगै मनमस्तिष्क खुशीले एकहोरो उफ्रिन्छ।
जंगल सफारीमा निस्कनुअघि गाइडले जंगलमा के–के पाइन्छन्, निकुञ्जको नियम के कस्तो छ, सफारी गर्दा के कति समय लाग्छ आदि जानकारी दिँदो रहेछ। यस्ता जानकारीले खासै नताने पनि ध्यान दिएर सुन्नुपर्छ। सफारीमा काम लाग्छ।
जंगलभित्र प्रवेश गरेपछि अर्कै अनुभूति भयो। गाइडले आवश्यकता अनुसार कुन ठाउँमा कति वेला कुन जनावर आउँछन् भनेर बताउँदै गयो। त्यसै अनुसार अगाडि बढ्यौं ।
जंगल सफारीका लागि अहिले कसैले कुनै किसिमको कष्ट बेहोर्नु पर्दैन। प्रायः वर्षको तीन महीना (साउन, भदौ र असोज) मा भारी वर्षाका कारण जंगल सफारी बन्द हुन्छ। त्यसबाहेक अन्य जुनसुकै महीना पनि बर्दिया र शुक्लाफाँटामा जंगल सफारी गर्न सकिन्छ।
हवाई र सडक दुवै मार्गबाट यी निकुञ्ज पुग्न सकिन्छ। काठमाडौंबाट एकै दिन हवाईमार्गबाट नेपालगन्ज ओर्लिएर गाडीमा बर्दिया पुगिन्छ।
बर्दियाबाटै शुक्लाफाँटा हुइँकिंदा हुन्छ वा काठमाडौंबाट जहाजमा धनगढी ओर्लिएर गाडीमा एक घन्टामै शुक्लाफाँटा पुगिन्छ। जुनसुकै उमेर समूहका मानिसले जंगल सफारीको मजा लिन सक्छन्।
बसाइ पनि त्यति गाह्रो हुँदैन। निकुञ्जभित्र र बाहिर होमस्टे र रिसोर्ट छन्। बजेट र रुचि अनुसार होमस्टे वा सुविधासम्पन्न होटल रोज्न सकिन्छ। बर्दियामा भने होमस्टे उपयुक्त हुन्छ। थारू समुदायको बाक्लो बसोबास रहेको यो क्षेत्रमा रैथाने संस्कृति, खानपानमा रमाउन सकिन्छ।
निकुञ्ज कार्यालयसँग सम्पर्क गरी जंगल सफारीका लागि आफैले अनुमति लिन मिल्छ। रिसोर्ट वा होमस्टेमा सम्पर्क गरेर भाडामा जीप र गाइड पनि लिन सकिन्छ।
जंगल सफारी गरेर फर्किंदै गर्दा टोनीको अनुहारमा खुशी देखिन्थ्यो। उनी बिस्तारै बोले, “आई विल भिजिट नेक्स्ट इयर दिस् नेशनल पार्क अगेन विथ माई ग्रूप। आई लाइक टु सी टाइगर (म अर्को साल मेरो समूहसँगै फेरि निकुञ्ज भ्रमणमा आउनेछु। मलाई बाघ हेर्ने मन छ।)”
बाघ हेर्ने मन त मेरो पनि छ। तपाईंलाई पनि हेर्न मन छ भने बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज स्वागत गर्न तयार छन्।