रैथाने स्वादमा रमाउन मेघौली
रैथाने स्वादसँगै प्राकृतिक सौन्दर्यमा रमाउन बाह्य तथा आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ मेघौली।
ठ्याक्कै ६ दशकअघि अमेरिकी नागरिकद्वय टुडी ली वाने र हेर्ब केलिनले भारतसँगको सीमा क्षेत्र नजिकै चितवनको मेघौलीमा सानो जंगल लज खोले, टाइगर टप्स्। सिकार गर्नका लागि मेघौलीको वन क्षेत्रमा टाइगर टप्स् जंगल लज खोलिएको थियो। सिकारका सौकिन विदेश पाहुना टाइगर टप्स् पुग्थे।
नेपाल घुमफिरकै क्रममा बेलायती नागरिक जिम एडवर्डस्ले टाइगर टप्स् जंगल लजबारे सुने। साहसिक क्रियाकलापका सौकिन जिमलाई जंगलबीचको लजले लोभ्यायो। स्थापनाको सात वर्षपछि २०२८ सालमा किनिहाले।
उनले यसको स्वरुपै परिवर्तन गरे। देशभित्र र बाहिर परिचित बनाए। राजपरिवारका सदस्यसँगै विदेशी पाहुनाको रोजाइमा पर्न थाल्यो टाइगर टप्स्।
त्यसको दुई वर्षपछि २०३० सालमा जिमकै सल्लाहमा राजा वीरेन्द्रले चितवन राष्ट्रिय निकुञ्ज स्थापना गरे। “टाइगर टप्स् लजका कारण चितवन राष्ट्रिय निकुञ्ज स्थापनाअघि नै मेघौली क्षेत्रमा पर्यटक आउँथे,” स्थानीय वेदकुमार चौधरी सम्झिन्छन्, “मेघौली विमानस्थल सञ्चालनमा थियो। हरेक दिन जहाज अवतरण हुन्थे। घुम्न आउने राजपरिवारदेखि विदेशी पाहुनाको राम्रो जमघट हुन्थ्यो।”
टाइगर टप्स विश्वप्रसिद्ध जंगल लज बन्यो। मेघौलीकै बाटो लजसम्म पुगिन्थ्यो। त्यसैले निकुञ्ज हुनुअघि नै आन्तरिक तथा वाह्य पर्यटक मेघौली पुग्ने गरेको चौधरी सुनाउँछन्।
अहिले भने टाइगर टप्स् जंगल लज बन्द छ। मेघौली विमानस्थलमा पनि जहाजको उडान अवतरण हुँदैन। त्यही बन्द रहेको मेघौली विमानस्थलको आडैमा पर्यटक लोभ्याउने मेघौली होमस्टे सञ्चालन भएको छ।
भरतपुरबाट झन्डै २५ किलोमिटर दक्षिण-पश्चिमको मेघौली गाउँको नयाँ आकर्षणका रुपमा होमस्टे रहेको छ। भरतपुर महानगरपालिका-२७ स्थित होमस्टेका सञ्चालक वेदकुमार चौधरी भन्छन्, “टाइगर टप्स् जस्तो संसार प्रसिद्ध त छैन, तैपनि आन्तरिक तथा वाह्य पर्यटकको घुइँचै लाग्छ।”
यो होमस्टे २०६७ माघ १४ मा स्थापना गरिएको हो। शुरुआतदेखि नै पर्यटकलाई आकर्षित गरेको होमस्टेलाई कोभिड-१९ महामारीले नराम्ररी पिरोल्यो। अब चल्दैन कि भन्ने लागेको स्थानीय सुनाउँछन्। जसै महामारी सकियो, फेरि ब्युँतियो। “कोरोना सकिएपछि त पर्यटकको रोजाइमा परिहाल्यो,” सञ्चालक चौधरी भन्छन्।
केही वर्षअघिसम्म आन्तरिक पर्यटक चितवनको सौराहातिर हुँइकिन्थे। पछिल्लो समय भने मेघौलीले तानिरहेको छ। आदिवासी थारू र कुमाल समुदायको बसोबास रहेको मेघौलीमा फरक स्वाद लिन सकिन्छ, खानपिनसँगै घुमफिरको। त्यसैका लागि पनि पर्यटक आउने गरेको उनी सुनाउँछन्।
मेघौली होमस्टे पुग्ने पाहुनालाई नजिकैको राधाकृष्ण सामुदायक वनमा सफारी गर्ने व्यवस्था मिलाइएको छ। जहाँ बाघ, गैंडा, हरिण, चितल, मयूर लगायत वन्तयजन्तु र चराचुरुङ्गी सजिलै अवलोकन गर्न सकिन्छ।
गाउँसँगै जोडिएको वन संरक्षण गरिएकाले वन्यजन्तु सहजै हेर्न सकिने अवस्था बनेको चौधरी सुनाउँछन्। वन्यजन्तुकै कारण पर्यटक आउने भएकाले स्थानीय पनि सचेत बनेको उनको भनाइ छ। “पहिला मानव र जनावरबीच द्वन्द्व भइरहन्थ्यो। अहिले भने स्थानीय संरक्षणमा जुटेका छन्,” उनी भन्छन्, “वन्यजन्तुका लागि वनमै प्रशस्त आहारको व्यवस्था गरेका छौं, जसले गर्दा बस्तीमा आउँदैनन्।”
होमस्टेमा पनि रैथाने परिकारको स्वाद लिन सकिन्छ। थारू समुदायका विभिन्न थरी परिकार पाइन्छन्। विशेष गरेर माछा र हासका परिकार पर्यटकले रुचाउने गरेका छन्।
आगन्तुकलाई बिहान खाजामा चिचर भात (अनदीको उसिनेको चामलको भात), नोनमिर्चा (नुन र खुर्सानीको अचार) र आलुको अचार खुवाउने गरिन्छ। लोकल कुखुरा र बंगुरको मासु, घोंघी, सिध्रा माछाका विशेष परिकार खानामा हुन्छन्।
मेघौली होमस्टेको बसाइ महंगो पनि छैन। ३५० रुपैयाँमा खाना र सय रुपैयाँ खाजा पाइन्छ। घरकै जस्तो बसाइमा एक रातको ५०० रुपैयाँ पर्छ। “सस्तो र मीठो परिकार, आरामदायी बसाइ हुन्छ,” चौधरी थप्छन्, “अहिलेसम्म होमस्टेमा आएका कसैले पनि गुनासो गरेका छैनन्, खुशी भएर फर्किएका छन्।”
गाउँसम्म पुग्ने बाटो पनि सहज छ, कतै अलमल हुँदैन। भरतपुरबाट कालोपत्रे गरिएको सिधा सडक मेघौलीमै टुंगिन्छ। भदौ र असोजमा मात्रै ४०० पर्यटक होमस्टेमा बास बसेका छन्।
डेढ दशकअघि शुरू गर्दा दुई घरमा होमस्टे बनेको थियो, बेदकुमार र बाबुराम चौधरीको। त्यतिवेला सात-आठ जनालाई बास बसाउन सकिन्थ्यो। अहिले बढेर आठ वटा घरमा २७ वटा कोठा छुट्याइएको छ। एउटा कोठमा तीन जनासम्म राख्ने गरिन्छ।
आठ घरमा होमस्टे भए पनि यसले फाइदा भने गाउँलाई नै पुगेको छ। पाहुनालाई खुवाउने स्थानीय उत्पादन गाउँघरबाटै खरीद गरिन्छ। हाँस, कुखुरा र माछा गाउँमै पालिएका छन्। “गाउँघरका मान्छेले कुनै न कुनै किसिमले आयआर्जन गरिरहेका छन्,” मेघौली पर्यटन विकास समितिका अध्यक्ष हरिचन्द्र महतो भन्छन्।
मेघौलीमा होमस्टे मात्रै होइन, साना-ठूला होटल, रेस्टुरेन्ट पनि छन्। जहाँ स्थानीय उत्पादन नै बिक्री हुन्छ।
मेघौलीको अर्को आकर्षण सांस्कृतिक झाँकी हो। होमस्टेमा बस्ने हुन् वा बाहिर होटलमा, पाहुनलाई हरेक साँझ थारू सांस्कृतिक कार्यक्रमले मनोरञ्जन प्रदान गरिन्छ। यसका लागि दुई वटा थारू सांस्कृतिक समूह रहेका छन्।
दुवै टोलीले थारू संस्कृति अनुसार, नृत्य र कला प्रस्तुत गर्छन्। परम्परागत लठ्ठी नाच, झम्टा नाच, झुमरा नाच, डम्फु नाच लगायतका मौलिक प्रस्तृतिले पाहुनालाई पनि नाच्न बाध्य पार्छन्। सांस्कृतिक समूहले एक रातको कम्तीमा तीन हजार रुपैयाँ पाउने गरेको छ।
रमणीय गाउँ मेघौली चितवन राष्ट्रिय निकुञ्जको आडैमा छ। यो क्षेत्रमा रहेका नौ वटा मध्यवर्ती सामुदायिक वनले प्राकृतिक सौन्दर्य जोगाएका छन्। गाउँलाई नारायणी र राप्ती नदीले तीनतिरबाट घेरेको छ। राप्ती र नारायणीको संगमस्थल घोलागाटबाट सूर्यास्तको निकै आकर्षक दृश्य देखिन्छ। जसका लागि पर्यटक एक साँझ मेघौलीमै बिताउन रुचाउँछन्।
मेघौलीका रमणीय दृश्यमा रमाउने धेरै जसो विदेशी पर्यटक हुन्छन्। होमस्टेको बसाइमा पनि वाह्य पर्यटकै बाहुल्य रहेको सञ्चालक चौधरी सुनाउँछन्। यसको श्रेय उनी जिम र टाइगर टप्स् जंगल लजजाई दिन्छन्। “अहिलेसम्म वाह्य पर्यटकले नै चलेको छ, धेरै जसो विदेशकै आउँछन्,” उनी भन्छन्, “स्वदेशी पर्यटकलाई तान्न सकिएको छैन, अब त्यतातिर लाग्छौं।”