मध्यरातमा आगलागीसँग जुध्दा
लक्ष्मीपूजाको मध्यराति बिजुलीको मिटरबाट सल्केको आगोसँग जुध्दा त्रसित मात्रै बनेनौं, यस्ता दुर्घटनासँग जुध्न बनाएका राज्य संयन्त्र कति अव्यवस्थित रहेछन् भन्ने पनि थाहा पायौं।
लक्ष्मीपूजा अर्थात् कात्तिक १५ गते राति २ बजेतिर फोन आयो। सँगसँगै तलबाट धनबहादुर भाइ कराई पनि रहेका थिए, “आगो लागेको छ तल!”
कराएको आवाज सुन्न गाह्रो भइरहेको थियो। स्वरभन्दा भयंकर चर्को थियो, के के पड्केको ‘बडाङ बडाङ’ आवाज। झ्यालबाट नै आगोको झिल्को र धूवाँ देखिन्थ्यो।
श्रीमान्लाई ब्युँझाएर अत्तालिंदै भर्याङतिर जान ढोका खोल्दा कुहिरीमण्डल थियो। त्यसपछि तौलियाले नाकमुख छोपेर हुत्तिंदै दुई तलामुनि पुग्यौं।
बिजुलीको मिटर भएको ठाउँबाट क्षण क्षणमा विस्फोटको आवाजसँगै आगोका झिल्का निस्किरहेका थिए। त्यहीं रहेको कुकुर सुत्ने लामो सोफा दनदनी जलिरहेको थियो। मेरो फुच्चे ‘म त बिजुली’ गाडी नजीकै आगोको लप्का नाचिरहेको थियो।
उत्तरतिरका छिमेकी सुरज भण्डारी बार्दलीमा उभिएर १०१ मा फोन गर्न सुझाइरहनुभएको थियो। उहाँसँग कुराकानी गर्दा पनि पड्केको आवाजले केही बाधा पुर्याइरहेको थियो। मैले फोन लगाउनुभन्दा अगावै उहाँले नै सम्पर्क गरेर मेरो फोन नम्बर दिनुभयो।
अघिल्लो रात छिमेकमा पटाकाको बुलन्द आवाज सुनेर कुकुर जेबु अत्तालिएको थियो। उसको भिडिओ सामाजिक सञ्जालमा पोस्ट गरेकी थिएँ। अहिले आफ्नै घरमा आगलागी भएर लगातार पटाका जस्तै विस्फोट भइरहेको थियो। म मूक भएर बस्न बाध्य भएकी थिएँ।
केही समयपछि विभिन्न ठाउँ, प्रहरी एकाइबाट भटाभट फोन आउन थाल्यो। आगोका झिल्का र पड्केको आवाज नथामिएसम्म केही गर्ने स्थिति थिएन।
अब गाडी जाने भयो भन्ने ठान्यौं। आगो सल्किँदै कता कता पुग्ने हो, के के भेट्ने हो भन्ने त्रासमै रह्यौं।
सबैभन्दा पहिले, सिंहदरबारतिरबाट प्रहरी टोली आयो। प्रहरी आउँदासम्म धनबहादुर र निर्मला बज्यै मिलेर इनारको पानीले सोफाको आगो फैलिन नदिन कोशिश गरिरहेका थिए।
बिस्तारै सुरक्षाकर्मी बाक्लिँदै गए। फोन अझै बज्दै थियो। विभिन्न ठाउँबाट ‘लोकेशन कता?’ भन्दै सोध्दै थिए।
केही बेरमा दमकल चालकको फोन आयो, ‘लोकेशन’ सोघ्दै। हतार हतारमा फोनमै बताएँ पनि। तर गल्लीतिरबाट सडकतिर हेर्दाहेर्दै उनीहरू साइरन बजाएरै तल पो हुइँकिए। फेरि सोधे, “कता हो?”
मैले ‘मेरो ठेगाना गूगलमा पिन गरेकी छु, पठाइदिऊँ’ भनेर सोधें। उनीहरूको जवाफ थियो, “हामीसँग नेट छैन।”
तारहरू जलिसकेपछि अन्यत्र सर्न नपाएर आगोका झिल्का आउन छाडेपछि बल्ल बिजुली गाडी घचेटेर बाहिर ल्याउन सक्यौं।
दमकलले पछि ठेगाना त पत्ता लगायो, तर गल्लीमा पार्क गरेका गाडीले गर्दा घरसम्म आउन सकेन। अग्निनियन्त्रकहरू हिंडेर आए। हाम्रै पाइपको पानीले बाँकी आगो निभाइदिए।
हामीसँग आगलागीको व्यहोरा बुझे। गाडीको बीमाबारे के गर्ने भन्ने सोधेर एक एक गर्दै फर्किए। छिमेकका रितेशजी र बार्दलीमा रहेका सुरजजी सबै जना नगएसम्म बस्नुभयो, हामीलाई ढाडस दिंदै।
केही समयपछि ज्वाइँ अभय बज्राचार्य ओढ्ने सामग्री, पानी, बिस्कुट लिएर आउनुभयो। घरभरि धूवाँ भएकाले अलि पछिसम्म पनि भित्र जान सकेनौं। बिहानीको चिसोबाट बच्न उहाँकै गाडीमा बस्यौं निकै बेर।
त्यति वेला मेरो मनमा आएका केही कुराको चर्चा गरौं। पहिलो, बाटो। काठमाडौंमा बढ्दो शहरीकरण र जथाभावी प्लटिङले गर्दा ससाना, घुमाउरा बाटा छन्। प्रायः त्यस्ता ठाउँहरू देख्दा आगलागी भयो भने ती घर कसरी जोगिन्छन् होला भन्ने लाग्थ्यो।
ती सबै हेर्दा काठमाडौंको बाघबजारस्थित हाम्रो घरको गल्ली त फराकिलो छ, दुई वटा ससाना गाडी ओहोरदोहोर गर्न मिल्छ। तर दिउँसो मोटरसाइकलले आधा सडक ढाकेको हुन्छ, अनि राति दुई–चार वटा वास बस्ने गाडीले। दमकल त के, कोही बिरामी पर्यो भने एम्बुलेन्स छिर्न पनि धौधौ पर्छ।
काठमाडौं महानगरपालिकाले ‘नो पार्किङ’ कडाइका साथ लागू नगरेसम्म र विभिन्न ठाउँमा पार्किङको व्यवस्था नहुँदासम्म नागरिकको सुरक्षा चुनौतीपूर्ण नै रहनेछ।
हामीले सोफाको आगोलाई मत्थर पार्न नसकेको भए, इनारमा पानी नभइदिएको भए र यसरी नै दमकल नजीकै पुग्न नसकेको भए त्यो आगोको लप्काले के के नष्ट पार्न सक्थ्यो होला! सोच्दै कहाली लाग्छ।
दोस्रो, दमकल चालक र छेउमा बस्ने सहायकलाई नेटको सुविधा दिनु पर्दैन? सक्दो चाँडो गन्तव्यमा पुग्न उनीहरूलाई सही सूचना पाउने विधि अपनाउन सहयोग गर्नु पर्दैन?
मेरो घरको ‘लोकेशन’ गूगल नक्शामा पठाउन सकेको भए उनीहरू ‘कुहिराको काग’ जस्तो अलमलिएर यताउता खोज्दै जानुपर्ने थिएन। १५ मिनेट ढिलोचाँडोले कति नोक्सानी हुन सक्थ्यो, हाम्रै घरमा पनि। मेरो विनम्र अनुरोध, सबै दमकल चालक र सहयोगीलाई नेट, जीपीएसको सुविधा भएको स्मार्टफोन उपलब्ध गराइयोस्, ड्यूटी गर्दा। यतिले धेरै जनधन जोगाउन सहयोग पुग्छ।
तेस्रो, दुर्घटनामा खटिने टोली। हो, लक्ष्मीपूजाको रात थियो, आगलागीका घटना थुप्रै थिए होलान्। हतार थियो होला। तर उनीहरूले गर्नुपर्ने दुई वटा कुरामा चुके।
एउटा, आफ्नो काम पूरा भयो कि भएन भनेर शतप्रतिशत पक्का हुनुपर्थ्यो, फर्किनुअघि। उनीहरू गएपछि, चिनजानका बिजुली मिस्त्री बालकृष्ण सिंह राति ३ बजे आउनुभयो। बगलको स्टोरमा रहेको बिजुलीको डीबी (डिस्ट्रिब्यूशन बोर्ड) मा केही क्षति भएको छ कि भनेर ढोका खोल्दा धूवाँको मुस्लो निस्क्यो।
भित्रतिर अर्को ढोकामा आगोको छाया देखेपछि बालकृष्णजी मास्क लगाएर जानुभयो र बलिरहेको रबरको म्याटको आगो निभाउनुभयो। बाहिरको मिटरबाट डीबीमा आउने प्वालबाट आगोभित्र छिरेको रहेछ। हामी ढुक्क भएर सुत्न गएको भए र त्यो स्टोरमा रहेका सामानमा आगो सल्केको भए के हुन्थ्यो भनेर कल्पना गर्न पनि डर लाग्यो।
अर्को, घरभित्र धूवाँ हुँदा कतिपय मानिस त थाहा नपाएर भित्र जान्छन्। त्यो दूषित हावामा सास फेर्दा अचेतसम्म हुन सक्छन्। बढ्तै दूषित हुँदा त ज्यानै जाने जोखिम हुन्छ।
त्यसको यकीन गर्न अग्निनियन्त्रकहरूले कुनै यन्त्र बोकेर, मास्क लगाएर, भित्र या माथिको हावा कत्तिको दूषित छ भनेर जाँच्नु पर्दैन? आगलागीमा खटिने सुरक्षाकर्मी तथा अग्निनियन्त्रकलाई यस्तो उपकरण किन उपलब्ध नगराइएको होला? अनि पो उनीहरूले जाँच गरेर मानिसलाई भित्र नजानु या यति समयपछि मात्र जानु भनेर सल्लाह दिन सक्थे। यसरी खटिने टोलीलाई जीवनरक्षा गर्ने सामग्रीले सुसज्जित बनाउन सुरक्षा निकायले कन्जुस्याइँ नगरोस्!
त्यसपछि नेपाल विद्युत् प्राधिकरण। आफूले जडान गरेको मिटरमा किन एक्कासि यसरी आगो लाग्यो, विस्फोट भयो भनेर खोजबिन गरेर निर्क्योलमा पुगोस्। जसले गर्दा अरूले यस्तो भोग्नुपर्ने अवस्था आउन नदिन काम गर्न सकिन्छ।
आगलागीमा जलेका सामग्रीका कारण कालो हातगोडा लिएर हामी माथिल्लो तलामा आउँदा मन्दिरका घण्टा बज्न थालिसकेका थिए। काग सलबलाउन थालिसकेका थिए। अघिल्लो रातमा पड्काएका पटकाले आकाश धमिलो देखिंदै थियो, त्यसमा हाम्रो घरबाट निस्केको धूवाँ पनि अवश्य मिसियो।
सकुशल रहेकामा मन शान्त बनाएर भोलिका दिनसँग जुध्न तयार छौं। हाम्रो यो सिकाइ अरूलाई पनि पाठ बनोस्।