प्रकाशको ‘शब्दथुम’ लाई दुई लाख राशिको विमल कृति पुरस्कार
लेखक प्रकाश थाम्सुहाङको निबन्ध कृति शब्दथुमलाई विमल कृति पुरस्कार-२०८० प्रदान गरिने भएको छ।
धरानस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयले दुई लाख राशिको विमल कृति पुरस्कार शब्दथुमलाई प्रदान गर्ने निर्णय गरेको पुस्तकालयका अध्यक्ष पूर्णबहादुर गुरुङले बताए। यो पुरस्कार ३३औं राष्ट्रिय कविता महोत्सवका अवसरमा कात्तिक २४ गते प्रदान गरिनेछ।
पुरस्कारका लागि देश तथा विदेशमा रहेका नेपालीभाषी लेखक, साहित्यकारबाट विभिन्न विधाका १०२ पुस्तक प्राप्त भएका थिए। तीमध्ये निर्णायक समितिको सिफारिशका आधारमा थाम्सुहाङको निबन्धसंग्रहलाई पुरस्कार प्रदान गर्ने निर्णय भएको पुस्तकालयका उपाध्यक्ष प्रदीप मेन्याङ्बोले बताए।
यस पुस्तकमा पूर्वेली पहिचान बोकेको रैथाने संस्कृति, रैथाने चेत र रैथाने जीवनशैलीलाई मिहिन रूपमा उतारिएकाले पुरस्कारका लागि छनोट भएको उपाध्यक्ष मेन्याङ्बोको भनाइ छ।
कविता महोत्सवमा साहित्यसँगै पत्रकारिता क्षेत्रमा सक्रिय विवेक विवश रेग्मीलाई यो वर्षको कवि विमल गुरुङ स्मृति पुस्तकालय युवा प्रतिभा सम्मान प्रदान गरिने पुस्तकालयका सदस्य चन्द्र गुरुङले बताए। त्यस्तै, १०३ वर्षीया ज्येष्ठ नागरिक दिलमाया गुरुङ, सिक्किमका लेखक टीबी चन्द्र सुब्बा र विरेन गुरुङलाई पनि सम्मान गरिने भएको छ।
कविता महोत्सवमा उत्कृष्ट तीन कवितालाई पनि नगद पुरस्कार प्रदान गरिन्छ। महोत्सवमा प्रथम, द्वितीय र तृतीय हुने कविलाई क्रमशः नगद २१ हजार, १८ हजार र १७ हजार रुपैयाँ तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।