हराए भेडीगोठ, भेटियो मर्दी
माछापुच्छ्रे सामुन्नेका भेडीगोठ हराएसँगै भेटिएको नयाँ गन्तव्य मर्दीमा पर्यटकको घुइँचो त लाग्न थालेको छ, तर प्राकृतिक सौन्दर्य र स्थानीय स्वाद जोगाइराख्न चुनौती थपिएको छ।
सामुन्नेमा माछापुच्छ्रे। छेउमै हिमचुली। लहरै अन्नपूर्ण हिमशृंखला। सँगै ठिंग उभिएको मर्दीको काखैमा पुर्याउने बाटो हो, मर्दी पदमार्ग।
यति वेला यही पदमार्गमा बाह्यसँगै आन्तरिक पर्यटकको घुइँचो छ। सजिलो र छोटो अवधिमै थोरै खर्चमा प्रकृतिको नजीक, माछापुच्छ्रे र मर्दी हिमशृंखलासँग रमाउन सकिने भएकाले पनि पर्यटकको रोजाइमा परेको छ।
“मर्दी घुम्ने याम हो। मौसम खुलेको छ, हिमाल छ्यांगै देखिन्छन्,” मर्दी हिमाल पर्यटन व्यवस्थापन समितिका अध्यक्ष राजकुमार तामाङ भन्छन्, “अहिले त दैनिक ३०० भन्दा बढी पर्यटक पदयात्रा गरिरहेका छन्।”
झन्डै दुई दशकअघिसम्म पनि मर्दी क्षेत्रको पहिचान थियो, भेडीगोठ। घलेल, सिदिङ लगायत कास्कीका गाउँका बासिन्दा भेडीगोठका लागि मर्दी क्षेत्र आवतजावत गर्थे। भेडा, घोडा, भैंसी, याक चराउँथे। गुरुङ बाहुल्य बस्तीको पुर्ख्यौली थलो नै थियो, भेडीगोठ।
भेडीगोठका कथाले भरिएका अनेक किस्सा अहिले पनि यस भेगका प्रत्येक घरसँग छन्। पुर्खाले मर्दी आधारशिविरमाथिको वराह मन्दिरमा पूजा गर्ने गरेको स्थानीय बताउँछन्। मन्दिरमा पूजा गर्दा मनोकांक्षा पूरा हुने जनविश्वास छ।
३ जून १९५० मा अन्नपूर्ण हिमालको सफल आरोहण गरेर फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगले गण्डकी आसपासका भूभागलाई चर्चामा ल्याइदिए। त्यसै ताका माछापुच्छ्रेको आरोहणका लागि आएका बेलायती आरोही जिमी रोबर्टस् नयाँ हिमालको खोजीमा तल्लीन थिए।
त्यही क्रममा सन् १९६१ मा रोबर्टस्ले पाँच हजार ५८७ मिटर अग्लो मर्दी हिमाल पत्ता लगाए। उनकै आरोहण दलका सदस्य बसिल गुडफेलो मर्दी हिमालको चुचुरोमा पुगे। त्यही आरोहणका आधारमा तयार पारेको ट्रेकिङ गाइड बूकले संसारभरका आरोहीलाई मर्दीतर्फ आकर्षित गर्न थाल्यो।
माछापुच्छ्रे र अन्नपूर्ण हिमशृंखलाको नजीकबाट दृश्यावलोकन गर्न सकिने र सजिलो बाटो भएकाले विदेशी पर्यटकको रोजाइमा पर्न थाल्यो। विदेशी पर्यटक ‘क्याम्पिङ’ गर्न मर्दी क्षेत्र पुग्ने गरेका थिए। “मर्दी हिमालमा पहिल्यैदेखि विदेशी पर्यटक आउने गर्थे, हप्तौंसम्म क्याम्पिङ गर्ने गर्थे,” तामाङ सम्झिन्छन्।
पर्यटकको आगमनसँगै भेडीगोठ बिस्तारै बेंसी झर्न थाले। चहलपहल बढ्न थालेपछि भेडीगोठको चलन पनि कम हुँदै गएको उनी सुनाउँछन्। भेडीगोठ जाने चलन हराउँदै जानु र पर्यटकीय गन्तव्यका रूपमा विकसित हुन थालेपछि मर्दीको पहिचान बदलियो। “माओवादी सशस्त्र द्वन्द्वका कारण पर्यटकीय हिसाबले विकसित हुन पाएन,” अध्यक्ष तामाङ भन्छन्, “भेडीगोठ पनि माथि रहने अवस्था बनेन, बेंसी झरे।”
बदलिएको बाटो
२०६२/६३ सालको जनआन्दोलनपछि मुलुकमा व्यवस्था बदलियो। माओवादी पार्टी शान्तिपूर्ण राजनीतिमा आयो, राजतन्त्रको ठाउँ गणतन्त्रले लियो। सामाजिक र आर्थिक परिवर्तनका लागि पहल हुन थाल्यो।
त्यही क्रममा मर्दी क्षेत्रमा पनि एक युवकले परिवर्तनको प्रयास गरे। उनी थिए, युवा व्यवसायी सुदीप गौतम। कास्कीको माछापच्छ्रे गाउँपालिका-९, सिदिङका गौतम आमाबुबासँगै भेडीगोठ जान्थे। पानी पर्दा पर्यटकले भेडीगोठमै ओत लागेको देख्थे। कतिपय टेन्ट लिएर बसेका हुन्थे भने कतिपय भेडीगोठमै आश्रय लिन्थे।
उनलाई लाग्यो, पर्यटकलाई बस्ने व्यवस्था गर्नुपर्छ। २०६४ सालमा मर्दीको ‘हाई क्याम्प’ मा ट्रेकर्स प्याराडाइज होटल खोले। मर्दी क्षेत्रमा खोलिएको यो पहिलो होटल थियो। बाह्य पर्यटकको रोजाइमा रहेको मर्दी हिमालको हाई क्याम्पको होटलले कारोबार पनि गर्न थाल्यो। बिस्तारै अरूले पनि होटल र चिया पसल खोले।
होटल खोलेर मात्रै भएन, त्यहाँ बस्ने पर्याप्त पर्यटक पनि चाहिन्छन्। त्यसपछि उनी पदमार्ग प्रवर्द्धनमा लागे। स्थानीयसँगै संघीय सरकारलाई घचघच्याए। अन्य व्यवसायीसँग मिलेर पदमार्गलाई व्यवस्थित गरे। सजिलै हिमालको समीपमा पुर्याउने भेडीगोठको बाटो हेर्दाहेर्दै चर्चित पदमार्गमा बदलियो। पदमार्गले यस क्षेत्रमा आर्थिक गतिविधि बढेका छन् भने रोजगारी सिर्जना गरेको छ।
अहिले स्थानीय र गण्डकी प्रदेश सरकारले मर्दी पदमार्गलाई प्राथमिकतामा राखेर पर्यटन प्रवर्द्धन गरिरहेका छन्। माछापुच्छ्रे गाउँपालिकाका वडा नं. ७, ८ र ९ मा फैलिएको मर्दी पदमार्गमा यात्रा सिजनमा घुइँचो लाग्छ। बर्सेनि २० हजारभन्दा बढी पर्यटक मर्दी पदयात्रामा निस्किन्छन्।
यो पदमार्गको प्रवर्द्धन गरेका गौतम भने अहिले यो संसारमै छैनन्। २०७९ असोज १४ मा मर्दीकै बादल डाँडाको भीरबाट लडेर ३५ वर्षको उमेरमा उनको ज्यान गयो। बाँदल डाँडा नजीकै राखिएको शालिकले उनको स्मरण गराइरहन्छ।
कोकार बन्यो ‘फरेस्ट क्याम्प’
मर्दी आधारशिविरसम्मका थुप्रै नामले अस्तित्व गुमाइसकेका छन्। भेडीगोठको बाटो पदमार्गमा बदलिएसँगै स्थानीय नाम पनि परिवर्तन भएर अंग्रेजी बनेका हुन्। गुरुङ बस्तीको बाहुल्य भएकाले यी ठाउँका नाम गुरुङ भाषामै थिए।
समुद्री सतहबाट ८५० मिटरको उचाइमा रहेको पोखराबाट शुरू हुने मर्दी यात्राको अन्तिम बिन्दु मर्दी हिमालको आधारशिविर हो। यो समुद्री सतहबाट चार हजार ५०० मिटरको उचाइमा अवस्थित छ। पोखराबाट तीनदेखि पाँच दिनमा यात्रा पूरा गर्न सकिन्छ।
यस यात्राका लागि अहिले तीन वटा बाटा छन्। पहिलो, एक हजार ७०६ मिटरको काँडे गाउँबाट अस्ट्रेलियन क्याम्प (१,९८० मिटर) हुँदै फरेस्ट क्याम्प (२,५५० मिटर), लो क्याम्प (२,९९० मिटर), हाई क्याम्प (३,६०० मिटर) र बेस क्याम्प (४,५०० मिटर) पुगिन्छ।
दोस्रो, धम्पुस हुँदै दुई हजार १० मिटरको उचाइमा रहेको पितम देउरालीबाट फरेस्ट क्याम्प पुगेर लो क्याम्प, हाई क्याम्प र बेस क्याम्प पुगिन्छ। तेस्रो बाटो हो, घलेल हुँदै एक हजार ८५० मिटरको उचाइमा रहेको सिदिङ गाउँबाट लो क्याम्प, हाई क्याम्प भएर बेस क्याम्प।
अहिले चलनचल्तीमा आएका ‘फरेस्ट क्याम्प’ लाई पहिले कोकार भनिन्थ्यो। त्यस्तै, ‘लो क्याम्प’ लाई होमाल र ‘हाई क्याम्प’ लाई क्यु भन्ने गरिएको थियो।
गुरुङ भाषामा राखिएका यी नामले ती ठाउँको पहिचान झल्काउँछन्। विदेशी पर्यटकको चहलपहलसँगै पुराना नाम परिवर्तन गरेर अंग्रेजी नाम राखियो। अहिलेको ‘फरेस्ट क्याम्प’ भएको ठाउँलाई पहिले भनिने ‘कोकार’ ले ठूलो अर्थ राख्छ।
उहिल्यै एकअर्का राज्यबीच लडाइँ हुँदा यस ठाउँमा धेरै सिपाहीको ज्यान गएको थियो, थुप्रै घाइते भएका थिए। स्थानीयले रगतका टाटा देखेका थिए। त्यसैले यस ठाउँको नाम ‘कोकार’ राखिएको थियो। कोकारको नेपाली उल्था हुन्छ, सुकेको रगत।
कोकारभन्दा माथि पुगेपछि ‘लो क्याम्प’ आउँछ। पहिले यो ठाउँलाई ‘होमाल’ भनिन्थ्यो। यसको अर्थ हो, पानीको सानो आहाल। आहाल भएकाले नै यो ठाउँको नाम ‘होमाल’ राखिएको थियो।
त्यसभन्दा माथि उक्लिएपछि आउँछ, ‘हाई क्याम्प’। यो ठाउँलाई पहिले ‘क्यु’ भन्ने गरिन्थ्यो। भेडा, घोडालाई पानी खुवाउने पोखरी थिए। त्यस कारण यस ठाउँको नाम क्यु रहेको थियो। अहिले भने पोखरी सुकिसकेका छन्।
यसभन्दा माथि चार हजार २०० मिटरको उचाइमा ‘भ्यू पोइन्ट’ छ। पहिले यसलाई ‘एक्ले देउराली’ भनिन्थ्यो। स्थानीयका अनुसार मर्दी हिमाल समीप रहेको वराह मन्दिर पुगेर फर्किने क्रममा यहीं एक जना महिलाको मृत्यु भएको थियो। त्यसकारण यस ठाउँलाई एक्ले देउराली र त्यसभन्दा पर अलि धेरै जनाको चट्याङ लागेर मृत्यु भएको ठाउँलाई बगाले देउराली भनिने गरेको स्थानीय बताउँछन्।
यी ठाउँका असली नामको संरक्षण गर्ने प्रयास हुन सकेको छैन। माछापुच्छ्रे गाउँपालिका-९ का वडाध्यक्ष हरिबहादुर क्षेत्री पुराना नाम प्रयोगमा ल्याउने प्रयास गरिरहेको बताउँछन्। “नामसँगै यस क्षेत्रको पहिचान पनि जोडिएको छ। त्यसैले पुराना नामको अर्थसँगै प्रयोग बढाउनुपर्छ,” उनी भन्छन्।
पर्यटन व्यवस्थापन समितिका अध्यक्ष तामाङ पनि पुरानै नाम प्रयोगमा ल्याउने प्रयास भइरहेको बताउँछन्। “पदयात्राको प्याकेज बिक्री गर्ने ट्राभल एजेन्सीसँग छलफल गर्ने, होटलकै खानाको मेनु तथा बोर्डमा राखेर ती नामलाई प्रयोगमा ल्याउने कोशिश गरिरहेका छौं,” तामाङ भन्छन्।
एक्लै जानुका अप्ठ्यारा
मर्दीको बाटो सजिलो भए पनि एक्लै पदयात्रा गर्न भने जोखिम हुन्छ। कतिपयले ज्यान गुमाएका पनि छन्।
पदयात्राका क्रममा स्वीडिश नागरिक माइकल लिउ ब्लोमबर्ग २०८० माघमा एकाएक हराए। सबैतिर खोजी गरियो, तर कहीं भेटिएनन्। त्यसको सात महीनापछि २०८१ साउनमा मृत भेटिए। उनका सरसामान र केही अवशेष फेला परे। उनी एक्लै पदयात्रामा निस्केका थिए।
यसअघि पनि एक्लाएक्लै गएका पदयात्री हराएका छन्। अहिलेसम्म माइकल बाहेक पाँच जना पदयात्री हराएको अभिलेख छ।
पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) निर्देशिका, २०७९ ले विदेशी पर्यटकका लागि गाइड र भरिया अनिवार्य गरेको छ। तर यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन। एक्लै गएका पर्यटकको निगरानी गर्न सकिएको छैन। जसले पर्यटक असुरक्षित हुने गरेका छन्।
पर्यटन व्यवस्थापन समितिका अध्यक्ष तामाङ पदयात्रामा विदेशी पर्यटकलाई एक्लै नहिंड्न, गाइड राख्न अनुरोध गरे पनि बेवास्ता गर्ने गरेको गुनासो गर्छन्। “हाई क्याम्पदेखि माथि त ‘हाई अल्टिच्युड सिक्नेस’ अर्थात् लेक लाग्ने सम्भावना भएकाले संवेदनशील हुनुपर्छ,” उनी भन्छन्।
सन्तुलन गुम्ने जोखिम
मर्दीलाई लिएर संघीय सरकार मातहत रहेको राष्ट्रिय प्रकृति संरक्षण कोष, गण्डकी प्रदेश सरकार र स्थानीय सरकारबीच विवाद हुँदै आएको छ। विशेषगरी विदेशी पर्यटकबाट उठ्ने करोडौं राजस्वमा तीनै तहका सरकारले आँखा गाडेका छन्।
अहिले पर्यटकले तिर्ने शुल्क सीधै संघीय सरकारलाई जान्छ। प्रदेश र स्थानीय सरकारले केही नपाउने भएपछि विवाद बढ्दै आएको हो। यसको प्रतिवाद गर्दै माछापुच्छ्रे गाउँपालिकाले २०८० कात्तिकमा पदयात्रामा आउने विदेशीसँग ५०० रुपैयाँ र नेपालीसँग १०० रुपैयाँ शुल्क लिने निर्णय गर्यो। शुल्क उठाउन सूचना केन्द्र पनि स्थापना गर्यो। पर्यटन व्यवसायीले चर्को विरोध गरेपछि पर्यटकबाट शुल्क लिन रोकिएको छ।
तर तीनै तहका सरकारबीच विवाद हुँदा अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) मर्दी क्षेत्रका व्यवसायको सात वर्षदेखि नवीकरण हुन सकेको छैन।
मर्दी पदयात्रामा पर्यटन व्यवस्थापन समितिसँग आबद्ध होटल, चियापसल लगायत ८२ वटा छन्। आठ वर्षअघि तीन वटा मात्र होटल रहेको ‘हाई क्याम्प’ मा अहिले १४ वटा होटल छन्।
त्यस्तै, पदमार्गको छोटो दूरीमा नै ससाना संरचना बनिरहेकै छन्। जबकि अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने यो भूभागमा प्रकृतिलाई असर पुग्ने गरी स्थायी भौतिक संरचना बनाउन मिल्दैन। यसरी मनपरी बनिरहेका संरचनाले मर्दीको वातावरणमा असर पर्ने जोखिम छ।
अर्कातिर, व्यवस्थापन नहुँदा कोलाहल पनि बढेको छ। चैतदेखि जेठ र असोजदेखि मंसीर मर्दी यात्राको याम हो। अहिले दैनिक ३०० भन्दा बढी पर्यटक पदयात्रा गरिरहेका हुन्छन्। पर्यटक संख्या बढेसँगै पदमार्गमा भीडभाड हुन्छ।
पदयात्रामा लैजाने तयारी खानेकुरा, जथाभावी फ्याँकिएको फोहोर, बाटामा पदयात्रीले बजाउने चर्को ‘साउन्ड सिस्टम’, होटल व्यवसायीको अस्वाभाविक प्रतिस्पर्धाले समस्या थपिएको छ। यससँगै पदयात्री ठगिने जोखिम पनि उत्तिकै छ। यसलाई सन्तुलनमा राखेर प्रकृति र स्थानीय स्वाद संरक्षण गर्दै मर्दी पदयात्राको साख जोगाइराख्नु आवश्यक देखिएको छ।
सरोकारवाला निकाय भने मर्दीको प्राकृतिक सन्तुलन जोगाउनभन्दा पनि राजस्व असुलीमा ध्यान दिइरहेका छन्। एक्याप प्रमुख रविन कडरिया स्थानीय सरकार र व्यवसायीसँग छलफल गरेर यस विषयलाई केन्द्रमा पुर्याएको बताउँछन्। “राजस्व बाँडफाँड, संरक्षण, नवीकरण लगायत महत्त्वपूर्ण विषयको निष्कर्ष छिटै निस्कनेछ,” कडरिया भन्छन्।
माछापुच्छ्रे-९ का वडाध्यक्ष क्षेत्री एक्यापसँगको छलफलमा २०७९/८० अघि बनेका संरचनालाई मात्रै नवीकरण गर्ने सहमति भएको बताउँछन्। गाउँपालिकालाई पनि राजस्व बाँडफाँड गर्नुपर्ने विषयमा सहमति भएको बताउँदै उनी भन्छन्, “बाह्य खानेकुराभन्दा गाउँमै बनेका खान्कीलाई प्रवर्द्धन गर्ने, नियमित निगरानी गर्ने, मर्दीको वातावरणलाई कसरी संरक्षण गर्ने भन्ने विषयमा छलफल गरिरहेका छौं।”