परम आनन्द यस्तो पो हुँदो रहेछ!
परम आनन्दको शिखरमा पुगेको केही क्षणपछि नै मेरा सबै इच्छा र महत्त्वाकांक्षा गायब हुन पुगेको अनुभूति भयो। मेरा सबै दुःख र पीडा पनि मेरो हृदयबाट बगेर गएको महसूस भयो।
केही वर्ष पहिलेको कुरा हो। सिकाइ समूहको पुस्तक छनोट तथा सम्पादन कार्यको संयोजनकर्ताका नाताले म अंग्रेजी भाषाका त्यस्ता उपयुक्त किताबको खोजीमा थिएँ, जसको अनुवाद नेपाली पाठक विशेषगरी शिक्षक, अभिभावक र नयाँ पुस्ताका लागि नूतन, पठनीय र मूल्यवान् सावित हुन सकोस्। पुस्तकबारे खोजबिन गर्ने र जानकारी बटुल्ने सबैभन्दा सहज र प्रभावकारी ठाउँ इन्टरनेट नै भएकाले त्यतैतिर लागिरहें।
यस्तैमा एक दिन मेरा आँखा यस्तो एउटा किताबमा पुगेर टक्क रोकिए, जसको नाम र आवरण दुवै अलिक पृथक् थिए। आवरणले तानेपछि स्वाभाविक रूपमा विषयसूची सरसर्ती हेरियो, त्यसले आकर्षित गऱ्यो। पुस्तकको परिचय खण्डले थप प्रभावित गऱ्यो। अनि पुस्तक कत्तिको लोकप्रिय रहेछ, पाठकको प्रतिक्रिया के-कस्तो रहेछ भनेर जान्ने अभिलाषा पलायो।
अनि पुस्तकको ‘रिभ्यु’ खोज्न औंलाहरू किबोर्डमा सल्बलाए। पुस्तकलाई धेरै पाठकले मन पराएको देखियो। पाठकबाट लेखिएका गहकिला र मन छुने ‘रिभ्यु’हरू पुस्तकको ओज र महत्ता झल्काउन पर्याप्त थिए।
त्यसपछि यो पुस्तकको नेपाली अनुवाद सिकाइ समूहबाट प्रकाशन गर्ने रुचि जाग्यो। त्यसको केही हप्तामा पत्रकार मित्र एकल सिलवालसितको भेटमा यसबारे सरसल्लाह भयो। उहाँले यसका निम्ति लेखक/अनुवादक रोशन दाहालजीसित मलाई जोडिदिनुभयो, जसले यसअघि नै यसको अनुवादमा हात हालिसक्नुभएको रहेछ। रोशनजी यो अनुवादका निम्ति हामीसित काम गर्न राजी हुनुभयो।
अनुवादको एकसरो काम सकिसकेपछि केही महीनापछि रोशनजी पहिलो मस्यौदा सहित आउनुभयो। मैले सरसर्ती पढें। संस्कृतको पृष्ठभूमिबाट हुर्कनुभएका रोशनजीको भाषा सलल बगेको थियो। प्रस्तुतिमा मौलिकता पोखिएको पाएँ। तर विषयवस्तु मेरो बुताभन्दा बाहिरको कुरा थियो। त्यसैले मैले यो पाण्डुलिपि यसै विषयमा जानकार व्यक्तिलाई नै पृष्ठपोषणका निम्ति पढ्न दिनु उचित ठानें।रोशनजीले पनि सहमति जनाउनुभयो।
यस्तो व्यक्तिको नाम खोज्दै जाँदा पत्रकार मित्र मनोज दाहालजीलाई सम्झिन पुगें, जसले वरिष्ठ पत्रकार युवराज घिमिरेसित मिलेर केही वर्षअघि लिभिङ फुल्लीः फाइनिङ जोय इन इभ्री ब्रेथको प्रत्येक श्वासमा आनन्द शीर्षकमा नेपाली अनुवाद गर्नुभएको थियो। त्यो पुस्तक मैले उतिवेलै रस लिएर पढेको थिएँ। मनोजजीले सहर्ष पाण्डुलिपि पढेर पृष्ठपोषण दिनुभयो। त्यसका आधारमा रोशनजीले परिमार्जन गरेर सम्पादनका निम्ति दिनुभयो।
सम्पादनका निम्ति योग्य सम्पादकको खोजीमा मेरो केही समय उसै बित्यो। किनभने यो यस्तो विषयवस्तु हो, जसमाथि काम गर्न भाषिक पकड भएर मात्र पुग्दैन, बुझाइ पनि उस्तै गहिरो हुनुपर्छ। यो सिद्धान्त या दर्शन सँगसँगै अभ्याससित पनि सम्बन्धित पुस्तक भएकाले कुनै न कुनै तहको साधनामा अभ्यस्त समेत भएको अनि बुझाइ र भाषिक पकड पनि राम्रै भएको व्यक्तिलाई सम्पादन गर्न दिनु उचित लाग्यो।
यस्तो पात्रको खोजी गर्दै जाँदा पुराना मित्र छत्र कार्कीजीलाई सम्झन पुगें। आध्यात्मिक अनुरागीका रूपमा दुई दशकभन्दा बढी समयदेखि नै साधनारत छत्रजी ‘माइन्डफुलनेस थिम’मा लुम्बिनी बौद्ध विश्वविद्यालयको विद्यावारिधि तहको शोधार्थी हुनुभएको तथ्यबाट पनि म अवगत थिएँ। वर्षौंदेखि लेखन र सम्पादनका कार्यमा अभ्यस्त छत्रजीलाई मैले सम्पादनका निम्ति आग्रह गरें। उहाँले ‘हामी दुई भाइ मिलेर काम गरौं’ भनेपछि सम्पादनको काममा म पनि जोडिन पुगें।
मूल पुस्तक र अनुवादलाई एकैठाउँमा राखेर पढ्ने हो भने पुस्तकको नेपालीकरण थप परिष्कृत हुने कुरामा हामी दुवै सहमत भयौं। एक-दुई चरण प्रत्यक्ष बसेपछि कोरोना महामारीको कारण हामी अनलाइन (जूम)मा बसेर काम गर्न थाल्यौं। जहाँ जहाँ हामी अलि बढी नै अड्कियौं, त्यहाँ हामीले हिन्दी अनुवादको सहयोग लियौं। एकाध यस्ता बिन्दुहरू पनि आए, जहाँ हामीले हिन्दीबाट पनि केही सहयोग पाउन सकेनौं।
एकसरो सम्पादनको काम ‘हार्ड कपी’ मै सकिएको केही हप्तापछि त्यो सामग्री मैले अनुवादक रोशनजीलाई दिएँ। कामविशेषले पूर्वी नेपालको ग्रामीण बस्ती आउने/जाने गरिरहनुभएका राेशनजी गाउँतिर बसेका बखत परिमार्जनको कामलाई अन्तिम रूप दिएर केही महीनापछि इमेल मार्फत पठाउनुभयो।
हामीले यसमाथि काम गरेको केही महीना बितिसकेकोले पनि के के गरेका थियौं भन्ने कुरा एक-एक स्मरण गर्न त्यही ‘हार्ड कपी’ चाहिने भइसकेको थियो। तर ‘हार्ड कपी’लाई त्यहीं छाडेर कामविशेषले उहाँ सुदूरपश्चिमको पहाडी इलाकामा पुगिसक्नुभएकाले पुन:प्राप्ति तत्काल सम्भव भएन। यसरी परिस्थितिले हामीलाई फेरि एक पटक पाण्डुलिपिलाई मूल अंग्रेजीसित तुलना गर्दै पढ्ने सुअवसर जुराइदियो।
केही समयपछि छत्रजी र म समय मिलाएर फेरि यतातिर लाग्यौं। सिकाइ समूहको कार्यालयमा बसेर रोशनजीले पठाउनुभएको सामग्री पढ्न थाल्यौं। रोशनजी कामको पक्का हुनुहुँदो रहेछ भन्ने थाहा पाउन हामीलाई धेरैबेर लागेन। थोरै भए पनि पुस्तकलाई थप परिष्कृत गर्न सकिन्छ कि भनेर हामी दोहोऱ्याएर पढ्नतिर लाग्यौं। हामी कहिले सिकाइ समूहको अफिसमा बस्थ्यौं त कहिले नयाँ बानेश्वरमा छत्रजीले पढाउने कलेज अगाडिपट्टिको क्याफेमा। एक बसाइमा एउटा अध्याय पनि सिध्याउन धौ-धौ हुन्थ्यो।
समयले हामीलाई दिइरहेको दबाबलाई झेल्न नसकेपछि दुई दिन त भक्तपुर दरबार क्षेत्र नजीकैको एउटा होटलमा बसेर काम गऱ्यौं। बिहानदेखि बेलुकासम्म मूल काममै जोतिइरह्यौं। तैपनि पाण्डुलिपिको अन्तिम खण्डको काम बाँकी नै रह्यो। छिटै बसेर काम फत्ते गर्ने सल्लाह सहित भोलिपल्ट दिउँसो त्यो होटलबाट बाहिरियौं।
२०७९ फागुन ३० गते मंगलबार। अपराह्न करीब ३ बजे अन्तिम खण्डको काम गर्न हामी दुई भाइ नयाँ बानेश्वरको केएनके कलेज अगाडिको चिया सागर क्याफेमा भेला भयौं। मसलेदार दूध-चियाको चुस्की लगाउँदै सोझै आफ्नो कामतिर लाग्यौं। कम्प्युटर खोलेर मैले नेपाली सामग्री सस्वर वाचन गर्न थालें। छत्रजीले अंग्रेजी पुस्तकसित भाव रुजु गर्न थाल्नुभयो। खासमा हामीले यही तरीकाले काम गर्दै आएका थियौं।
स्वर निकालेर नेपाली पढ्दा कहाँनेर वाक्य संरचना मिलेको छैन भनेर आफैं थाहा हुने रहेछ। जहाँ जहाँ हामी अड्कियौं या जहाँ जहाँ अझै राम्रो बनाउन सकिन्छ भन्ने दुवैलाई लाग्यो, त्यहाँ त्यहाँ शब्दहरू चलायौं। पूर्ण सन्तुष्टि नआएका ठाउँमा फेरि काम गऱ्यौं। तर यस अध्यायमा उस्तो उल्लेख्य काम गर्नु परेन। पढ्दा मलाई ठाउँ ठाउँमा यस्तो पनि हुन्छ र भन्ने लागिरहेको थियो। एक-दुई ठाउँ यस्तो पनि थियो, जहाँ पुस्तकका हरफ मेरो हृदयको गहिराइभित्र प्रवेश गरेको प्रत्यक्ष महसूस भएको थियो।
करीब सवा ५ बजेको हुँदो हो- पुस्तकको अन्तिम अध्यायको काम पनि सकियो। मूल काम सकिएकोमा एकआपसमा प्रसन्नता साटासाट गऱ्यौं। र काम सकिएको उपलक्ष्यमा फेरि दूध-चियाको स्वाद लिएर बिदाबारी भयौं। छत्रजीलाई कक्षा लिने समय भइसकेकोले कलेजतिर लाग्नुभयो। म भने मित्र अच्युत कोइराला (लेखक/अनुवादक एवं पत्रकार)सित भेट्ने सल्लाह बमोजिम नयाँ बानेश्वरबाट अनामनगर हान्निएँ। अच्युतजीसित मिलेर गर्ने कामको सम्भावना पहिल्याउने सिलसिलामा भेट्न गएको थिएँ। म पुग्दा अच्युतजी चिया पसलमा बसिरहनुभएको थियो।
“सर कताबाट आउनुभयो?”
“बानेश्वरबाट। वर्तमानको शक्ति किताब सम्पादनको काम सकेर सीधै यता आएको।”
मनमस्तिष्कमा अघि भर्खर मात्र पढिसकेको किताब नै गुञ्जायमान भइरहेको थियो। कैयन् ‘बायोग्राफी’लाई अंग्रेजीबाट नेपालीमा अनुवाद गरेर एउटा पहिचान बनाइसक्नुभएका अच्युतजीलाई यो अनुवादको एउटा ‘पिस’ सुनाउन मन लाग्यो ताकि उहाँको स्वस्फूर्त प्रतिक्रिया पनि जान्न पाइयोस्। अनि झोलाबाट ल्यापटप झिकिहालें र खोलेर पुस्तकको शुरूमै रहेको ‘परिचय’ खण्ड पढ्न थालें, जसमा लेखक आफैंले यो पुस्तक कसरी अस्तित्वमा आयो भन्ने बडो रोचक प्रसंग लेखेका थिए। खासमा विषयवस्तु र भाषा दुवैप्रति अच्युतजीको प्रतिक्रिया जान्ने उत्सुकताले मैले यो हतारो गरेको थिएँ।
सानो चियापसलमा अरू मानिसतिर ध्यान समेत नदिई मैले ठूलो स्वर निकालेर पढिरहेको थिएँ। खै किन हो, म भित्रैदेखि कुतकुतिएको थिएँ। नरोकिईकन मैले परिचय खण्ड फटाफट पढिसिध्याएँ। पढ्दै जाँदा बीच बीचमा अच्युतजीको अनुहार पनि हेर्थें ताकि उहाँको मुखमण्डलको भाव पनि सँगसँगै पढ्न पाइयोस्। उहाँ अबोध बालक झैं बडो तन्मय भएर मलाई सुनिरहनुभएको छ जस्तो भान भयाे।
आमुख पढिसकेपछि सोधें, “अनुवादको भाषा कस्तो छ?”
उहाँले आफ्नै अन्दाजमा भन्नुभयो, “बबाल छ।”
अरूको कुरालाई तारीफ गर्ने उहाँको यो शैलीबाट म परिचितै थिएँ। अनि ठट्यौली पारमा उहाँलाई भनें, “तारीफ होइन, सही पृष्ठपोषणको अपेक्षा गरेको हो है!”
“साँच्चै भनेको। भाषामा लय र मिठास छ,” अच्युतजीको कुराले म अलि आश्वस्त पनि भएँ।
यही किताबकै विषयवस्तुमा हामी एकछिन गफियौं। एक हप्तादेखि यही किताबमै घोत्लिएकाले होला, मेरो मनमस्तिष्क यसकै विषयवस्तुले रङमङ्गिएको थियो। मनमा नजानिंदो किसिमको प्रसन्नता बढ्दै गएको भान भइरहेको थियो। अरू कुरा गर्न मन पनि लागेन। यही किताबकै कुरा गर्दागर्दै करीब डेढ घण्टा बितेको पत्तै भएन। झमक्क साँझ पर्न लागेपछि हामी छुट्टियौं। मोटरसाइकलमा वासस्थानतिर हुइँकिएँ।
सातदोबाटोबाट जेम्स स्कूल हुँदै माथ्लो धापाखेलतिर जाने उकालो लागिसकेपछि मेरो टाउको झनझनाएको जस्तो लाग्यो। बाइकलाई अलिकति सुस्त बनाएँ र आफ्नै टाउकोतिर ध्यान दिएँ। आनन्द अस्वाभाविक रूपमा बढेको महसूस भयो। बाइकको गतिलाई तेज बनाएँ र केही मिनेटमै घर पुगें। घर पुग्दा खाना पाकिसकेको रहेछ। खाना कतिखेर खाएँ र बैठक काेठाको सानो खाटमा गएर कतिखेर बसें, मलाई पत्तै भएन।
एकैछिनमा मेरो टाउकोभित्र अद्भुत हलचल भइरहेको प्रत्यक्ष महसूस भयो। तर त्याे हलचलले मभित्र डर र त्रास होइन, आनन्द पो झन् झन् बढाउँदै लगिरहेको थियो। ओहो! एकैक्षणमा आनन्दको विस्फोट नै भयो। मेरो मनमस्तिष्क सम्पूर्ण रूपले आनन्दले भरिन पुग्यो। अनायासै मेरा दुवै हात सृजनकारप्रति कृतज्ञता अर्पण गर्न करबद्ध हुन पुगे।
परम आनन्द यस्तो पो हुँदो रहेछ!
एक घण्टा जति त्यही अवस्थामा एकजातै हलचल नगरी बसिरहें। भित्र घटित चामत्कारिक अनुभूतिमा डुबिरहें। मेरो नाकबाट श्वास यति ताजगीका साथ भित्र-बाहिर गरिरहेको थियो- जन्मेर होश आएदेखि त्यो स्तरको ताजगी कहिल्यै अनुभूति भएको थिएन। मध्य जाडोको बिहानीको चिसो हावामा जंगलमा बसेभन्दा कैयन् गुणा बढी ताजगीपन महसूस भइरह्यो। वास्तवमै त्यो ताजगी अद्भुत थियो। अभूतपूर्व थियो। रुद्रघण्टी रसाएर त्यहाँबाट आनन्दरूपी रस शरीरभरि बगिरहेको प्रत्यक्ष अनुभूति भयो।
परम आनन्दको शिखरमा पुगेको केही क्षणपछि नै मेरा सबै इच्छा र महत्त्वाकांक्षा गायब हुन पुगेको अनुभूति भयो। मेरा सबै दुःख र पीडा पनि मेरो हृदयबाट बगेर गएको महसूस भयो। हुनत म एक हिसाबले भाग्यशाली मानिस नै थिएँ। किनकि मैले केही अपवाद बाहेक ठूलो पीडाको महसूस गर्नुपरेको थिएन। जसको कारणले पीडा पाएको ठान्थें, मभित्र तत्क्षण उनीहरूप्रति क्षमाभाव प्रकट भयो। आनन्दको शिखर प्राप्तिमा उनीहरूको पनि भूमिका रहेको बोध भयो। त्यसैले उनीहरूप्रति भित्रैबाट विशेष आभार प्रकट भयो। मैले दुई हात जोडेर उनीहरूप्रति विशेष कृतज्ञता जाहेर गरें।
यी सब कुरा एकसाथ मभित्र घटित भए। जीवन यति धेरै र अविच्छिन्न रूपले आनन्ददायी हुन सक्दो रहेछ भनेर पहिलोपल्ट अनुभव भयो। भित्रैबाट सबैखाले पीडा, दुःख, अहंकार र द्वेषरहित हुन सकिंदो रहेछ भन्ने पनि जीवनमा पहिलोपल्ट त्यस क्षणमा बोध भयो। यस पुस्तकका लेखक बुद्ध पुरुष एक्हार्ट टोल अनायासै मेरो गुरुका रूपमा अवतरित हुन पुगेको अनुभूति भयो। उहाँप्रति पनि करबद्ध भएर कृतज्ञता प्रकट गरें।
यस बीचमा एकपटक यो अनुभूतिलाई वास्तविक समयमै संक्षिप्त भए पनि लिपिबद्ध गर्न सकिन्छ कि भन्ने लाग्यो। अनि हत्तपत्त छेउमै रहेको ल्यापटपको ‘स्क्रिन’ उघारें र लेख्नका निम्ति फाइल खोलें। लेख्न के सकिन्थ्यो र! तुरुन्तै कम्प्युटर बन्द गरेर पुनः दुई हात जोडेर उही अवस्थामा बस्न पुगें। लगभग चार घण्टा म यही अवस्थामा रहिरहें।
वास्तवमा त्यो अनुभव र अनुभूतिलाई ठ्याक्कै अभिव्यक्त गर्ने शब्द मसित छैनन्। त्यो अनुभूति शब्दातीत छ। यहाँ मैले जति व्यक्त गर्न सकें, त्यो वास्तविक अनुभवतर्फको इशारा मात्र हो।
रातको १२ बजेपछि चाहिं म ओछ्यानमा पल्टिएँ। तर म परम उल्लासको उही अवस्थामा थिएँ। त्यो रात मेरो जीवनको सबभन्दा विशेष रात रह्यो। न निदाएको, न ब्युँझिएको जस्तो अवस्थामा त्यो रात कति छिटो बित्यो, पत्तै भएन।
परम-प्राप्तिको एक हप्तापछि अर्थात् २०७९ चैत ८ गते बुधबार राति मैले यस अनुभव र अनुभूतिबारे संक्षिप्त डायरीमा यस्तो लेखेको रहेछु- “यस्तो लागिरहेछ, आनन्दको खोज पूरा भएको छ। जीवनको सबभन्दा ठूलो प्राप्ति नै यही लागिरहेछ। परम आनन्द अकारण छ र यो अविच्छिन्न प्राप्त भइरहन सक्छ भन्ने हाम्रा आध्यात्मिक मुमुक्षहरूको भनाइ एक हप्तादेखि मेरो आफ्नै जीवनमा परम-सत्यको रूपमा अवतरित भइरहेको छ। आनन्दको निम्ति ‘केही गर्नुपर्ने’ होइन रहेछ। आनन्द बाहिरबाट या खास कार्यबाट पाउने चीजै होइन रहेछ।”
मैले यो अद्भुत अनुभव केही दिनपछि सर्वप्रथम मेरा आत्मीय मित्र एवं यसै पुस्तकका प्रमुख सम्पादक छत्र कार्कीजीलाई सुनाएँ। उहाँ हर्षविभाेर हुनुभयो। उहाँले यो नयाँ अनुभवलाई साक्षी भावले ‘फिल’ गरिरहन सल्लाह दिनुभयो। मैले त्यसै गर्न थालें। यो अनुभव मबाट पुनः खोसिन सक्छ कि वा मलाई कतै भ्रम पो भइरहेछ कि भनेर केही महीनासम्म चुपचाप आफैंलाई हेरिरहें। जब यो अनुभव फर्केर बारम्बार आइरह्यो र मैले पाएको अनुभव मिथ्या होइन भन्नेमा ढुक्क भएँ, अनि निकटका केही मानिसलाई सुनाएँ।
गत दशैंको मुखमा मलाई अचानक परमहंस योगानन्दको योगीको आत्मकथा पुस्तक पढ्ने प्रेरणा जाग्यो। त्यो पुस्तक मैले करीब एक दशकभन्दा पहिल्यै पढिसकेको थिएँ। अध्यात्ममा बुबाको रुचि भएको कारणले उहाँका निम्ति उपयोगी हुन्छ भनेर कुनै दशैंमा गाउँको घर (दक्षिण ललितपुरको आस्रांग) जाँदा बुबालाई दिएको थिएँ। नेपालीमा अनूदित त्यो किताबका केही प्रति ‘सिकाउनलाई पढौं’ अभियान सञ्चालनको सिलसिलामा हाम्राे कार्यालयमा पनि मगाइएको थियो। त्यही किताब घर लगेर राति सुत्नुअघि पढ्न थालें।
पुस्तक समाउँदा नै एउटा विशेष अनुभूति भयो। यो पुस्तक सस्वर वाचन गरेर पढ्न थालें। खाना खाएपछि हरेक रात पढिरहें। लामा च्याप्टर भए एउटा र छोटा भए दुई वटाका दरले दिनदिनै पढिरहें। योगीको आत्मकथा पढिरहँदा म लगभग त्यही स्तरको अनुभूतिमा पुगें। करीब एक महीनामा त्यो पुस्तक पढिसकियो।
उवेला यो पुस्तक पढ्दा त्यसले मलाई खास प्रभावित तुल्याएको सम्झना छैन। यस पटक पढिरहँदा दिव्यानुभूति भइरह्यो। त्यसपछि मैले स्वामी रामको हिमालय के सन्तो के संग निवास पुस्तक पढें। यो पुस्तक पढ्दा पनि त्यही स्तरको अनुभूति दोहोरिएर आयो।
आज झन्डै चौध महीनापछि यी पंक्तिहरू लेखिरहँदा पनि म लगभग उही अवस्थामा छु। अखण्ड आनन्दकै अवस्थामा छु। यसबीचमा मैले थाहा पाएँ- यसै पुस्तकको सम्पादनको काम गर्दागर्दै म यस पुस्तकमा घुल्न पुगेछु। ‘समर्पणको अर्थ’ अध्याय खासगरी ‘आत्मोत्सर्गको मार्ग’मा निहित भावसित म एकाकार हुन पुगेछु। भित्रैबाट समर्पण निःसृत हुन पुगेछ। त्यही समर्पणका कारण मभित्र रूपान्तरण घटित भएको रहेछ।
जब जब म विचाररहित हुन्छु, या परम अस्तित्वकाे स्मरण गर्न पुग्छु, यो अनुभूति फर्किएर आउने गर्छ। बुबाको प्रेरणाले मैले सानैमा (नौ वर्षको उमेरमा) स्वाद लिएर रामायण पढेको थिएँ, जहाँ भनिएको थियो- ईश्वरको स्मरणले मात्र सबै दुःख समाप्त हुन्छन्। मैले यस भावलाई पोहरसम्म बुझ्न सकेको थिइनँ। (खासमा पोहरसम्म त्यो भनाइ वाहियात नै लागिरहन्थ्यो) अहिले बल्ल तिनका गूढ अर्थ मेरा सामु प्रकट हुन पुगेका छन्। मेरो अनुभवमा आएका छन्।
मलाई लाग्छ, यो पुस्तक शिक्षक र अभिभावकलाई मात्र होइन, समाजका सबै तप्काका सबै खाले मानिसका निम्ति उत्तिकै उपयोगी हुनेछ। त्यसैगरी माध्यमिक तह या त्यसभन्दा माथिका सबै विद्यार्थीका निम्ति पनि उत्तिकै मूल्यवान् हुनेछ। आफ्नो एकदमै सीमित अनुभवको आधारमा म यत्ति चाहिं ढुक्कले भन्न सक्छु- दुःख र पीडामा रहेका यहाँसम्म कि आत्महत्या गर्न मानसिक रूपमा तयार भइसकेका मानिसले पनि ती पीडा र दुःखबाट तत्क्षण मुक्ति पाउन सम्भव रहेछ। यो पुस्तक र यसको शिक्षा ती प्रत्येक मानिसका लागि विशेष रूपले उपयोगी हुनेमा म विश्वस्त छु।
सबैको मंगल होस्!
(सिकाइ समूहले भर्खरै बजारमा ल्याएको पुस्तक वर्तमानको शक्तिको प्रकाशन अनुभूतिबाट।)