विवादमा मूर्ति : साँढेमा बाच्छाको रूप, बाघमा बिरालाको झल्को
आलोचना गर्नेहरूले मूर्तिकलामा गरिएको खर्चको औचित्य र मूर्तिकारको सीपमा समेत प्रश्न उठाइरहेछन्।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)को काठमाडौंस्थित कार्यालय परिसरमा केही दिनअघि ठड्याइएको साँढेको मूर्ति अहिले निकै ‘ट्रोल’ भइरहेछ। शेयर बजारको ‘बुलिस ट्रेन्ड’ झल्काउनुपर्ने साँढे बाच्छो जस्तो निम्छरो देखिएको भन्दै कतिपयले व्यंग्य गरेका छन्।
नेप्सेले परिसर सुन्दरीकरण योजना अन्तर्गत राख्न लगाएको करीब १० फिट उचाइ र १२ फिट लम्बाइको यो मूर्ति १४ महीना लगाएर तयार पारिएको हो। विश्वभरि नै साँढेलाई शेयर बजारको बढ्दो रूपको प्रतीक मानिन्छ। यसका लागि साँढेको शारीरिक भावभंगी आक्रामक देखिनुपर्ने मान्यता छ। यसले शेयर बजार आक्रामक रूपले बढेको देख्न चाहने लगानीकर्ताको मानसिकता पनि विम्बित गरिरहेको हुन्छ। नेप्से परिसरको प्रतिमामा यी कुरा नझल्किएको भन्दै व्यंग्य गर्नेहरूले मूर्तिकलामा गरिएको खर्चको औचित्य र मूर्तिकारको सीपमा समेत प्रश्न उठाइरहेका छन्।
नेप्सेका सूचना अधिकारी मुराहरि पराजुली भने उक्त मूर्ति सञ्चालक समितिबाट स्वीकृत गराएरै बनाइएको र यो प्रचार गरिए जस्तो नराम्रो नरहेको दाबी गर्छन्। अरू देशमै बनाइएको जस्तो साँढे बनाउँदा कपिराइटको मुद्दा उठ्न सक्ने भएकाले फरक खालकै बनाइएको पराजुलीको जिकिर छ। “फेरि कला भन्ने कुरा वस्तुगत नभएर, विषयगत हुन्छ। राम्रो-नराम्रो भन्नेमा वैज्ञानिक आधार छैन,” उनी भन्छन्।
नेप्सेको साँढे मात्र होइन, पछिल्लो समय देशका अन्य स्थानमा बनाइएका मूर्ति पनि विवादमा तानिएका छन्। दुई वर्षअघि सुर्खेतको वीरेन्द्रनगर नगरपालिकास्थित भैरव सामुदायिक वनमा बाघ संरक्षणको ध्येयले बनाइको मूर्ति बिरालाको जस्तो देखिएको भन्दै आलोचना भएको थियो।
मूर्तिकला यसरी आलोचित हुनुले मूर्तिकलामा देशको क्षमता खस्किएको संकेत गर्ने तारागाउँ संग्रहालयका निर्देशक रोशन मिश्र बताउँछन्। “बाघको मूर्ति भन्दैमा पहेंलो रङ र टाटेपाटे बनाएर मात्र पुग्दैन, बाघको प्रवृत्ति स्पष्ट झल्किनुपर्छ,” उनी भन्छन्, “सार्वजनिक स्थानमा राखिने मूर्तिहरू कस्ता हुनुपर्ने भन्ने नीति नरहेकाले जस्ता पायो त्यस्ता बनिरहेका छन्। सरकारी तहबाट कलाको गुणस्तर नियन्त्रण नहुँदासम्म यस्तो हेलचेक्य्राइँ चलिरहन्छ।”
सुर्खेतको बाघको मूर्ति सीताराम डिम्डुङले बनाएका हुन् जो १५ वर्षदेखि यो काम गरिरहेछन्। उनी आफूले बनाएको मूर्तिमा कमजोरी रहेको तर त्यसको कारण आफ्नो सीपमा कमजोरीभन्दा पनि पर्याप्त समय र ज्याला नपाउनुलाई औंल्याउँछन्। “पुग्दो समय र १५/२० लाख रुपैयाँसम्म पाएको भए साँच्चैको बाघ जस्तै बनाउने थिएँ,” उनी भन्छन्, “मैले जम्मा २५ हजार रुपैयाँ पाएँ, मूर्ति पनि जम्मा पाँच दिनमा बनाउन पर्यो।”
कतिपय कलाविद् मूर्तिकलामा देखिएका यस किसिमका आलोचनात्मक स्वरले कलाको स्तर सुधार्न झकझक्याएको ठान्छन्। तर मूर्तिलाई यथार्थपरक रूप दिन आवश्यक सीप विकास गर्ने तालीम, प्रविधि र साधनस्रोतको अभावलाई पनि नजरअन्दाज गर्न नहुनेमा उनीहरू एकमत छन्। उनीहरूका अनुसार मूर्तिकारले डिजिटल स्कल्प्चरिङ सफ्टवेयर जस्ता आधुनिक प्रविधि उपयोग गर्न पाएका छैनन्।
विश्वविद्यालयमा मूर्तिकला, चित्रकला र दृश्यात्मक कला सम्बन्धी विषय रहे पनि तिनको अध्ययन-अध्यापन गहिरो छैन। मूर्तिकलाको गुणस्तर सुधार्नमा उनीहरूले देखेको अर्को बाधा भनेको कलासंरक्षणमा प्रभावकारी नीति, बजेट र दीर्घकालीन योजनाको अभाव हो।
मूर्तिकार एवं प्राध्यापक लय मैनाली कलासिर्जनामा अभिव्यक्तिगत भिन्नता स्वाभाविक भए पनि आकृतिलाई यथार्थपरक रूप दिने मामिलामा सुधार आवश्यक रहेको बताउँछन्। मैनाली भन्छन्, “कलाकारले आफ्नो अनुकूलता अनुसार सिर्जनात्मकतामा जोड दिनु सामान्य हो। तर जनताको अपेक्षामा रहेको कला र यथार्थ परिपूर्णतामा कमी आएको देखिन्छ।” त्यो कमी पूरा गर्न अहिले भइरहेको आलोचनालाई नयाँ शैली सिक्ने र सिर्जनात्मकता सुधार्ने प्रेरणाका रूपमा लिनुपर्ने मैनाली ठान्छन्।
कलाकार शिलाशा राजभण्डारीको मतमा भने कलाको परिधि निकै फराकिलो हुने भएकाले हरेक कला यथार्थसँग मिल्नै पर्ने र वस्तुको यथार्थसँग दुरुस्त नरहेका कलालाई त्रुटिपूर्ण ठान्ने सोच नै सही होइन। त्यसैले सबै मूर्तिलाई एकै रूपमा हेरेर धारणा बनाउन हुँदैन। देशभरिका मूर्तिकलालाई काठमाडौं उपत्यकाको दृष्टिकोणबाट मात्र हेर्ने र देशका विविध समुदायको कलाको शैलीमा पनि विविधता हुने यथार्थ नबुझ्नेहरूले मूर्तिमा अनावश्यक ‘ट्रोल’ गरिरहेको उनको बुझाइ छ। “स्थानीय समुदायमा आफ्नै तरीकाले मूर्ति बनाउने चलन छ। यसलाई राम्रो वा नराम्रो भनेर छुट्याउने मापन हुँदैन। हामीमा नेचुरल रियालिज्मको अवधारणा लादिएकाले मात्र यस्तो सोच हावी भएको मात्र हो,” आर्टट्री नेपाल र कलाकुलोको संस्थापक सदस्य समेत रहेकी उनी भन्छिन्।
राम्रा कला सिर्जना गर्न आधुनिक सीप र पढाइलाई नै सर्वेसर्वा ठान्ने धारणासँग पनि राजभण्डारी सहमत छैनन्। “पढेकालाई मात्र कलाकार ठान्ने हाम्रा बुद्धिजीवी वर्गको मान्यता छ, तर राम्रो कलाकार बन्न परम्परागत ज्ञान नै पर्याप्त हुन्छ। हरेकको ज्ञानले आफ्नै खाले सौन्दर्य बोक्ने कुरा पनि स्विकार्नुपर्छ,” उनी भन्छिन्।
अर्का कलाकार तथा काठमाडौं विश्वविद्यालयका प्राध्यापक भुवन थापा पनि राजभण्डारीसँग सहमत छन्। थापा भन्छन्, “मौलिक जस्ताको तस्तै बनाउन कुनै पनि कलाकारले सक्दैन। सबैको आआफ्नो शैली हुन्छ, त्यसलाई स्विकार्नुपर्छ।”
प्राध्यापक मैनाली काठमाडौं उपत्यकाका काष्ठ, धातु र पत्थरका प्राचीन मूर्तिहरू निकै जीवन्त रहे पनि तिनमा प्रयोग भएको सीप पछिल्लो पुस्तालाई हस्तान्तरण नहुँदा मूर्तिकलाको स्तर खस्किएको ठान्छन्। त्यो स्तर बढाउन पालिकाहरूले पनि मूर्ति जस्तो आयो, त्यस्तै स्विकार्न नहुने र त्यसो गर्दा कलाकारलाई थप राम्रो बनाउन दबाब पर्ने उनको धारणा छ।
तर अहिले जेजस्ता मूर्ति बनिरहेका छन्, ती पनि आफैंमा उपलब्धि रहेकाले व्यंग्य गर्नुको औचित्य नरहेको मैनालीको भनाइ छ। “जनावरका मूर्तिको हकमा तिनकै कारण जनावर जोगाउने चेतना बढेको छ,” उनी भन्छन्, “प्राकृतिक स्वरूप आयो/आएन, एउटा कुरा हो, तर मूर्ति बन्नु मात्रैलाई पनि उपलब्धि मान्नुपर्छ।”