एनिमल सेन्टरमा तिहारले ल्याएको उमंग
सडकमा छाडिएका, घाइते, बेवारिसे कुकुर र बिरालालाई आश्रय दिइरहेको चाँदनी जनावर उद्धार तथा स्याहार केन्द्रमा कुकुर तिहारले उमंग ल्याएको छ।
पोखराको छोरेपाटनमा चाँदनी जनावर उद्धार तथा स्याहार केन्द्र सञ्चालनमा छ। केन्द्रमा विशेषत: सडकमा छाडिएका, घाइते र बेवारिसे अवस्थामा रहेका कुकुर र बिरालालाई ल्याएर स्याहार गरिन्छ।
कुकुर तिहारको अवसरमा तिनै कुकुर तथा बिरालालाई टीका तथा फूलमाला लगाइएको छ। बिहीबार छोरपाटन आसपासका जनवारप्रेमी स्याहार केन्द्र पुगेका थिए। उनीहरू कुकुर तथा बिरालालाई फूलमाला लगाइदिएका थिए।
सबै आएर घाइते तथा अंगभंग भएका कुकुर, बिरालासँग रमाउँदा आफूलाई पनि खुशी लागेको केन्द्र सञ्चालक चाँदनी थापा मगर सुनाउँछिन्। उनले चार वर्षअघि स्याहार केन्द्र स्थापना गरेकी थिइन्।
जनावरप्रतिको मायाले घाइते, सडकमा छाडिएका, बेवारिसे कुकुर र बिरालाको उद्धार र हेरचाह गर्न स्याहार केन्द्र खोलेको उनी बताउँछन्।
शुरूआतमा केन्द्र सञ्चालन गर्न धौधौ परेको थियो। बिस्तारै अरूले पनि सहयोग गर्न थालेको उनी बताउँछिन्।
स्याहार केन्द्रमा घाइते अवस्थामा भेटिएका कुकुर र बिरालाको उपचार गरिन्छ। कतिपयलाई निको हुन्छ भने कतिपय बाँच्दैनन्। केही अंगभंग भएका पनि छन्। अहिले स्याहार केन्द्रमा २४ वटा कुकुर र १७ वटा बिराला छन्।