नेपाल फाइनलमा पराजित, बाङ्लादेशले जित्यो उपाधि
साफ महिला च्याम्पियनशिप-२०२४ को फाइनल खेलमा नेपाल बाङ्लादेशसँग पराजित भएको छ।
काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार राति भएको खेलमा बाङ्लादेशले नेपाललाई २-१ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको छ। बाङ्लादेशले दोस्रो पटक साफको उपाधि जितेको हो।
साफ च्याम्पियनशिपको फाइनलमा नेपाल छैटौं पटक पराजित भएको छ। यसअघि सन् २०२२ मा पनि बाङ्लादेशसँग पराजित भएको थियो।
बाङ्लादेश तीन पटक फाइलनमा पुगेकामा दुई पटक उपाधि जितेको छ। यसअघि फाइनलमा एक पटक भारतलाई हराएको थियो भने एक पटक भारतसँग हारेको थियो।
बुधबारको खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन्। दोस्रो हाफको ५२औं मिनेटमा बाङ्लादेशकी मोनिका चक्माले पहिलो गोल गरिन्। लगत्तै खेलको ५६औं मिनेटमा अमिषा कार्कीले नेपालका लागि गोल गर्दै बराबरी गरेकी थिइन्।
त्यसपछि दुवै टोलीले आक्रामक खेल प्रदर्शन गरे। खेलको अन्तिमतिर बाङ्लादेशले अग्रता लियो। ८१औं मिनेटमा ऋतु पोर्ना चक्माले गोल गर्दै बाङ्लादेशलाई अग्रता दिलाइन्। त्यसपछि दुवै टोलीले गोल गर्न सकेनन् भने उनको गोल नै निर्णायक बन्यो।
प्रतियोगितामा भारतलाई पराजित गर्दै नेपाल र भूटानलाई पराजित गर्दै बाङ्लादेश फाइनलमा पुगेका थिए। नेपालले भारतलाई पेनाल्टी शूटआउटमा र बाङ्लादेशले भूटानलाई ७-१ गोल अन्तरले पराजित गरेको थियो।
प्रतियोगितामा नेपाल, बाङ्लादेश, भारत, पाकिस्तान, भूटान, श्रीलंका र माल्दिभ्सले प्रतिस्पर्धा गरेका थिए।