वायु प्रदूषण रोकथामका लागि कदम चाल्न सरकारलाई आग्रह
हिउँद नजिकिंदै जाँदा बढ्दै गएको वायु प्रदूषण रोकथामका लागि कदम चाल्न सरकारको ध्यानाकर्षण गरिएको छ।
नेपाल वातावरण पत्रकार समूहले प्रेस विज्ञप्ति जारी गरी डढेलो जोखिम र वायु प्रदूषण रोकथामका लागि तीन तहका सरकारको ध्यानाकर्षण गराएको हो। समूहले भनेको छ, ‘मनसुन सकिएसँगै काठमाडौं उपत्यका सहित मुलुकका अन्य शहरमा वायु प्रदूषणको ग्राफ उकालो लागेको र आगलागी-डढेलोका घटनामा वृद्धि भइरहेकोप्रति नेपाल वातावरण पत्रकार समूह संघ, प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण गराउँछ।’
पछिल्ला केही दिनयता काठमाडौंमा वायु प्रदूषणको मात्रा बढेको छ। वनजंगलमा डढेलो लाग्न पनि शुरू भइसकेको छ। आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार गत साता ३२ ठाउँमा आगलागी भएको छ।
यस्तो अवस्थामा समयमै प्रभावकारी कदम चाल्न समूहले सरकारलाई आग्रह गरेको छ। महासचिव कमलदेव भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘राज्य संयन्त्रले डढेलोको जोखिम घटाउन र वायु प्रदूषण रोकथामका लागि समयमा नै कदम चाल्न नेपाल वातावरण पत्रकार समूह सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ।’
आउँदो मनसुनसम्म वायु प्रदूषण बढ्दै जाने गर्छ। त्यस्तै, हिउँदमा आगलागी र डढेलो पनि बढ्छ। यस्तो अवस्थामा तीनै तहका सरकारलाई रोकथामको तयारी गर्न अपील गरिएको हो।
यो पनि पढ्नुहोस् : बिखालु हावा बहने याम शुरू, सर्वसाधारणको स्वास्थ्य जोखिममा