कुकुरको सही हेरचाहले बाघको पनि संरक्षण
कुकुर तिहार मनाउँदा वर्षभरि कुकुरको सही हेरचाह गर्ने प्रण गरौं, जसले बाघ लगायत वन्यजन्तु संरक्षणमा पनि सहयोग पुग्नेछ।
हरेक वर्ष तिहार, विशेषगरी कुकुर तिहार मनाउँदै गर्दा मानिसको जीवनमा कुकुरको आवश्यकता, जनावर र मानव सम्बन्धबारे चर्चा हुन्छ। यो विशेष दिनमा कुकुरलाई फूलमाला लगाइएका, मीठोमसिनो परिकार खान दिइएका तस्वीर पनि सामाजिक सञ्जालमा छ्यापछ्याप्ती हुन्छन्।
यो आलेख कुकुर तिहारको सन्दर्भमा तयार पारिएको भए पनि माथिको विषय समेटिएको छैन। मान्छेले कुकुरलाई अरू दिनमा गर्ने व्यवहार (जुन कुकुर तिहारमा गर्ने व्यहारको ठीक विपरीत हुने गर्छ) र यसका कारण नेपालमा आधा शताब्दी लामो प्रयासबाट प्राप्त वन्यजन्तु संरक्षण सम्बन्धी उपलब्धि टिकाइराख्न चुनौती थपिएको विषयमा केन्द्रित छ।
झट्ट सुन्दा अचम्म लाग्न सक्छ। मान्छेले कुकुरलाई गर्ने व्यवहारले लोपोन्मुख बाघ, चितुवा, हिउँ चितुवा र हाब्रे जस्ता जनावरको संरक्षणमा कसरी असर पार्न सक्ला र?
यसको उत्तर खोज्नुअघि नेपालीले कुकुरप्रति गर्ने व्यवहारबारे चर्चा गरौं। भगवान् शिवको एउटा रूप भैरवको वाहनका रूपमा हिन्दू ग्रन्थमा वर्णित यो जनावर हिमाल, पहाड, तराई सबै भेगमा पाइन्छ। पहिले शहरबजारमा रातको समयमा घरमा चोर आउने आँट नगरोस् भनेर कुकुर पाल्ने गरिन्थ्यो भने आजकल सोखका रूपमा पनि विभिन्न आयातीत नश्लका कुकुर पाल्ने गरिन्छ। यो सोख बिस्तारै गाउँतिर पनि फैलिंदै गएको छ।
कुकुर पाल्न र हुर्काउन सहज भने छैन। यसलाई भनेको मान्ने बनाउन तालीम दिनुपर्छ। वेलावेलामा खोप लगाउनुपर्छ र पशु चिकित्सकलाई देखाइराख्नुपर्छ। यसका लागि समय र पैसा दुवै चाहिन्छ। यो सबै बुझेर कतिपयले रहर भए पनि कुकुर पाल्दैनन् भने कतिपय समय र पैसा दुवै खर्च गर्न तयार हुन्छन्।
कतिपय यस्ता पनि हुन्छन्, जो कुकुरलाई खेलौना सरह व्यवहार गर्छन्। रहर लागुन्जेल पाल्ने र झिंजो लागेपछि सडकमा लगेर छोडिदिने गर्छन्। विडम्बना, नेपालमा विदेशमा जस्तो कुकुरको स्वामित्व र दर्ताबारे कानून बनेको छैन। नयाँ कुकुर ल्याएर पाल्न होस् वा त्यसलाई चौबीसै घन्टा बाँधेर राख्दा होस्, कसैको अनुमतिको आवश्यकता पर्दैन।
यसरी छोडिएका कुकुर फैलिंदै जान्छन्। शहरबजारमा मात्रै होइन, अहिले त गाउँतिर पनि भुस्याहा भनिने यस्तो कुकुर जताततै देखिन्छन्। बस्ती नजीकै बसेर मान्छेकै खान्कीमा अभ्यस्त भइसके पनि उनीहरूको प्राकृतिक प्रवृत्ति शिकार गरेर खाने नै हुन्छ। यस्ता कुकुरले झुन्ड बनाएर चित्तल, मृग र नाउरलाई मार्ने गरेको र मानिसलाई समेत आक्रमण गर्ने गरेको संरक्षणकर्मी बताउँछन्।
नेपालमा यस्ता कुकुर कति छन् भन्ने यकीन तथ्यांक छैन। तर यस्ता कुकुरले सिर्जना गरेको समस्या यति विकराल बन्दै गएको छ कि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले हरेक वर्ष प्रकाशित गर्ने वार्षिक प्रतिवेदनमा कुकुरको आक्रमणमा परी मरेका वन्यजन्तुको छुट्टै तथ्यांक प्रकाशित गर्दै आएको छ। प्राकृतिक कारण, सडक दुर्घटना र चोरी शिकारी जस्ता कारणसित कुकुरको आक्रमणलाई तुलना गर्ने गरिएको छ।
विभागका अनुसार आर्थिक वर्ष २०७९/८० मा मात्रै कुकुरको आक्रमणबाट संरक्षित क्षेत्र आसपास ७९ वटा चित्तल मरेका छन्। चित्तल बाघको प्रमुख आहाराका रूपमा छ। त्यसको अघिल्लो वर्ष कुकुरको आक्रमणमा परी ५२ वटा बँदेल मरेका थिए। बँदेललाई चितुवाको एक प्रमुख आहाराका रूपमा लिइन्छ।
एकातिर, कुकुरले ठूला मांसाहारी जनावरको आहारा खाइदिने गर्दा समस्या उत्पन्न भएको छ। अर्कातिर, कुकुर तथा बाघ र चितुवा जस्ता प्रजातिले एउटै जनावरको शिकार गर्दा विशेषतः कुकुरमा लाग्ने रोग संरक्षित जनावरमा सर्ने जोखिम बढेको छ।
कुकुरलाई लाग्ने विभिन्न रोगमध्ये हाल घातक देखिएको छ, क्यानाइन डिस्टेम्पर भाइरसका कारण लाग्ने रोग। यसले मान्छेलाई असर नगरेको भए पनि कुकुरको स्नायु प्रणालीमा असर गर्छ। स्तनधारी जनावरमा सजिलै सर्ने यो रोगका कारण जनावरलाई ज्वरो आउने, खान र पिउन मन नलाग्ने, खोकी लाग्ने, वाकवाकी लाग्ने र बेहोश हुने जस्ता लक्षण देखिएका छन्। कतिपय अवस्थामा मर्ने समेत गरेको संरक्षणकर्मी बताउँछन्।
सन् २०१८ को अक्टोबरमा भारतको गुजरातस्थित गिर राष्ट्रिय निकुञ्जमा यो घातक रोग फैलिएको थियो। यसका कारण ३९ वटा सिंह मरेको गुजरात सरकारको तथ्यांक छ। भारतमै यो भाइरस हाब्रे (रेड पान्डा)मा पनि देखिएको छ।
नेपालमा भएका विभिन्न अध्ययनले पनि बाघ र चितुवामा यो भाइरस फैलिएको हुन सक्ने औंल्याएका छन्। अझ भारतसँगको खुला सिमानाका कारण ढुक्क भएर बस्ने अवस्था छैन। बाघको संख्या बढेर व्यवस्थापन कसरी गर्ने भन्ने चुनौती बढिरहेको वेला गुजरातमा सिंह जस्तै नेपालमा बाघ मरे भने फेरि पुरानै अवस्थामा पुर्याउन दशकौं लाग्नेछ।
काठमाडौं लगायत देशका शहरी क्षेत्र आसपासमा देखिन थालेका चितुवाका लागि त जोखिम झनै बढी छ। किनकि तिनीहरूले शहर वरपरका कुकुरको शिकार गर्ने गरेको विभिन्न अध्ययनले देखाएका छन्। यसका कारण कुकुरबाट क्यानाइन डिस्टेम्पर भाइरस सीधै चितुवामा सर्न सक्छ।
सामान्यतया चितुवाले मानिसलाई आक्रमण गर्दैन, मानिसबाट जोगिएर हिंड्छ। तर क्यानाइन डिस्टेम्पर जस्तो स्नायु प्रणालीलाई आक्रमण गर्ने रोग लागेको चितुवाको निर्णय गर्न सक्ने क्षमता कम हुन्छ र यसका कारण मानिसका नजीक आउने वा आक्रमण गर्ने गरेको हुन सक्ने केही अनुसन्धाताको तर्क छ।
क्यानाइन डिस्टेम्परको औषधोपचार कठिन छ। जंगली जनावरमा त यसो गर्नु असम्भव जस्तै हुन्छ। यसलाई फैलिन नदिने तरीका भनेको कुकुरलाई यसका विरुद्धको खोप दिनु हो।
त्यसैले नेपालमा जैविक विविधता संरक्षणको दृष्टिकोणले कुकुरको स्वामित्व र पालन सम्बन्धी कानून आवश्यक देखिन्छ। यस्तो कानून राष्ट्रिय मात्रै होइन, स्थानीय स्तरमा पनि बनाएर लागू गर्नुपर्छ। त्यस्तै, क्यानाइन डिस्टेम्पर भाइरस विरुद्धको खोप निःशुल्क उपलब्ध गराएमा पनि यो रोग फैलिनबाट रोक्न सकिन्छ।
यससँगै समुदायको सहभागिता पनि महत्त्वपूर्ण देखिन्छ। किनकि, कुकुरलाई मारेर समस्याको समाधान हुने देखिंदैन। एकातिर, कुकुर मार्नु अशोभनीय त छँदै छ, अर्कातर्फ, कुकुर कम हुने बित्तिकै अर्को ठाउँबाट आएर बसिहाल्छन्। नेपालमा सबै कुकुर मारियो भने पनि भारतबाट आइहाल्नेछन्, किनभने भारतमा पनि समस्या विकारल छ।
कुकुर तिहारको मुख्य अन्तर्य भनेको भैरवको वाहन तथा ‘मानिसको असल साथी’ लाई माया र सम्मान गर्नु हो। वर्षको एक दिन कुकुरसित सेल्फी खिच्ने र अरू दिन वास्ता नगरेर सडकमा छोडिदिने हो भने यो चाड मनाउनुको अर्थ रहँदैन। आफ्नो संरक्षणमा रहेको कुकुरको उचित रेखदेख र समय समयमा चाहिने खोप लगाइदिने गरेमा मात्र कुकुर तिहारको सार्थकता रहन्छ र बाघ संरक्षणमा पनि सहयोग पुग्छ।
यो पनि पढ्नुहोस् :