इजरायलले जनसंहार मच्चाएको फलस्तीनप्रति दल र नागरिक समाजको ऐक्यबद्धता
इजरायलले फलस्तीनमा गरिरहेको जनसंहारको विरोध गर्दै नेपालका प्रमुख राजनीतिक दल र नागरिक समाजले फलस्तीनी नागरिकप्रति संयुक्त रूपमा ऐक्यबद्धता प्रकट गरेका छन्।
मंगलबार काठमाडौंस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा प्रगतिशील रूपान्तरण आन्दोलन, नेपालद्वारा आयोजित विशेष अन्तरक्रिया कार्यक्रममा दलका नेता, नागरिक समाजका प्रतिनिधि, मानव अधिकारवादी, अभियन्ता र बौद्धिक व्यक्तिहरूले इजरायली जनसंहारको विरोधमा एकताबद्ध भएर आन्दोलन गर्ने घोषणा गरे।
आन्दोलन अन्तर्गत शान्ति र न्यायको सन्देश फैलाउने गरी शान्तिपूर्ण प्रदर्शन, संवाद कार्यक्रम र सामाजिक सञ्जाल अभियान चलाइने आयोजकमध्येका श्याम श्रेष्ठले बताए।
फलस्तीनी लडाकू समूह हमासले गत वर्षको असोज २० गते गरेको आक्रमणको प्रतिवादमा उत्रिएको इजरायलले फलस्तीनमा बर्बर युद्ध मच्चाइरहेको छ। इजरायल युद्धमा उत्रिएको एक वर्ष नाघिसक्दा फलस्तीनको गाजापट्टीमा ४३ हजारभन्दा बढीको ज्यान गइसकेको छ। मारिनेमा बालबालिकाको संख्या १७ हजारभन्दा धेरै रहेको फलस्तीनी अधिकारीहरूको तथ्यांक छ।
युद्धरत इजरायलमा नेपाली कामदार पनि असुरक्षित बनेका छन्। हमासको नियन्त्रणमा रहेका भनिएका कञ्चनपुरका विपिन जोशीको अवस्था एक वर्षयता अज्ञात छ। युद्ध जारी रहेकै अवस्थामा नेपालबाट ‘केयरगिभर’ का रूपमा सयौं कामदार इजरायल पठाइन लागिएकोप्रति नागरिक स्तरबाट तीव्र विरोध हुँदै आएको छ।
फलस्तीनी नागरिकप्रति ऐक्यबद्धता जनाउँदै केही महीनाअघि काठमाडौंमा इजरायली दूतावास अगाडि अधिकारकर्मीले प्रदर्शन पनि गरेका थिए।
इजरायल-फलस्तीनबीचको दशकौं पुरानो द्वन्द्वले फेरि बल्झिएर जनधनको ठूलो क्षति र मानवीय संकट निम्त्याएपछि नेपालका राजनीतिक दल, नागरिक समाजका विभिन्न समूह र अभियन्ताहरूले सर्वपक्षीय भेला गरेर चिन्ता प्रकट गरेका हुन्।
दलका नेताहरूले दुई देशबीचको तनाव समाधानका लागि वार्ताको आवश्यकता रहेकोमा जोड दिए।
नेकपा (माओवादी केन्द्र)का नेता देव गुरुङले इजरायल र फलस्तीनको युद्ध अन्त्य गर्न आफूहरू संवादको पक्षमा रहेको बताए। “हामी हिंसाको विरोध गर्छौं र संवादको पक्षमा उभिन्छौं। फलस्तीनको स्वतन्त्रता र न्यायको पक्षमा छौं,” उनले भने।
नेकपा (एमाले)का नेता भीम रावलले इजरायलको जनसंहार विरुद्ध राजनीतिक दलहरूको सहकार्यले अन्तर्राष्ट्रिय विवादको शान्तिपूर्ण समाधानका लागि नेपालको तटस्थ र अहिंसात्मक परराष्ट्र नीतिलाई प्रतिविम्बित गरेको बताए।
नागरिक आन्दोलनका वसन्त रञ्जित फलस्तीनमाथि इजरायलको आक्रमण भूराजनीतिक मुद्दा मात्र नभई मानवीय संकट भएको बताए। “विश्वले फलस्तीनी जनताको पीडालाई बेवास्ता गर्न मिल्दैन। उनीहरूप्रति ऐक्यबद्ध हुनु हाम्रो कर्तव्य हो,” उनी भन्छन्।
सर्वपक्षीय भेलाले मध्यपूर्वको यो संकट समाधानका लागि सक्रिय सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान पनि गरेको छ। भेलाका सहभागीले संयुक्त राष्ट्रसंघ र अन्य अन्तर्राष्ट्रिय निकायलाई इजरायल र फलस्तीनबीच युद्धविरामका लागि शान्तिवार्ताका लागि पहल गर्न आग्रह गरेका छन्।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेकपा (मसाल), राष्ट्रिय जनमोर्चा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेकपा (बहुमत), नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपाल, बृहत् नागरिक आन्दोलन, सामाजिक दायित्वका लागि चिकित्सकहरू, पिपुल्स हेल्थ मुभमेन्ट नेपाल, नेपाल फर फलस्तीन पिपुल, फलस्तीन सोलिडारिटी नेपाल, मानव अधिकारवादी संगठन र व्यक्तित्वहरू, बौद्धिक व्यक्ति र मिडियाका प्रतिनिधि सहभागी थिए।