एक्काइसौं शताब्दीको मानिस बुद्ध बन्न सम्भव छ?
गाईले बाच्छीहरूको थुन चुस्नुको अर्थ दिए, कलियुगमा आमाबाबुसँग सञ्चित धन सकिंदै जान्छ र आफ्ना छोराछोरीको कमाइ खाएर गुजारा गर्नुपर्ने हुन्छ।
अधिकांश चित्र र मूर्तिमा गौतम बुद्ध भूमिस्पर्श मुद्रामा देखिन्छन्। मानौं, बुद्ध बोधिवृक्षमुनि ध्यानस्थ छन्। बोधिवृक्ष बुद्धकै आत्मिक शान्तिले झरिझुट्ट छ। बुद्धको यो हस्तमुद्रा ज्ञानोदयसँग सम्बन्धित छ। यसमा ज्ञान र पृथ्वी अनि भूमि र स्थिरताको सम्बन्ध मात्र होइन, ज्ञानको अनन्त गहिराइ पनि झल्किन्छ।
पछिल्लो छिमलको नेपाली आख्यान बुद्धबिम्बमय हुँदै गएको छ। यसलाई महाभारतीय पात्रहरूको पछुवा सवारी छाडेको भन्न नसके पनि बुद्धम् शरणम् गच्छामिको शाश्वत मार्ग भेटेको संकेत मान्न सकिन्छ। बुद्धगाथा, बुद्धशिक्षा र बुद्धमन्त्रको खोजी नेपाली आख्यानले बिहानी कोल्टे फेरेको दृष्टान्त हो।
आजको रोबोटिक युगमा पनि बुद्ध सर्वाधिक बिक्रीमा छन्। तिनको आख्यानीकरण कतिसम्म भएको छ भने बुद्ध-ह्यारी-पोर्टर बनेका छन्। बुद्धगाथालाई बांगोटिंगो वा टेढोमेढो नपारीकन लेखिएको असली आख्यान भेट्न मुश्किलै छ। शैलेन्द्र अधिकारी तिनै सत्पुरुष बुद्धका ऐतिहासिक तथ्यहरूमा टेकेर उभिएको उत्तम आख्यान लिएर आएका छन्, अर्हत्।
आख्यानको उठान नै बुद्ध महापरिनिर्वाण (आदाहनोत्सव)को विस्मयकारी दृश्य सहित भएको छ। आफ्नो अन्त्येष्टि चक्रवर्ती सम्राट्को जसरी हुनुपर्ने बुद्धको सदिच्छा आनन्दले सुनाएका छन्। प्रथम भिक्षु सम्मेलन (सांगायना) सँगै आख्यान अघि बढ्छ। तेस्रो अध्यायपछि बुद्ध स्वयं कथावाचक बनेर आउँछन् र आफ्नो पूर्व कथाको स्मरण गर्छन्। अनोमालाई सम्बोधन गरेर बुद्धले सुनाएका कथा उनका शिष्य आनन्दले जस्ताको तस्तै प्रस्तुत गर्छन्।
अनोमा कुनै स्त्रीनाम होइन, नदीनाम हो। कपिलवस्तुका राजकुमार सिद्धार्थ गौतमको महाभिनिष्क्रमण उनकै पवित्र काखमा भएको थियो। बौद्ध साहित्यमा निकै प्रचलित अनोमा किनारमा सिद्धार्थले राजसी वस्त्र, मुकुट र आभूषण उतारेर केशमुण्डन गरी कंथक घोडा र परिचारक छन्दकलाई बिदा गरेका थिए। त्यो प्रव्रज्या नै भिक्षु बनाउने शास्त्रीय विधान थियो। हालको उत्तर प्रदेश (भारत)को बस्ती जिल्लामा पर्ने अनोमाले आमी, ओमी नाम पाएकी छन् भने सिद्धार्थ सवार घोडाले कुदेर नदीपार गरेकाले कुदक पनि भन्ने चलन छ।
इच्छाले मानिसलाई ठूलो पनि बनाउँछ, सानो पनि बनाउँछ। राजकुमार सिद्धार्थले सांसारिक दुःखमोचनका लागि असल तर महत्त्वाकांक्षारहित बाटो लिए र ज्ञानको क्षितिज प्राप्त गरे। तर उनले आफूलाई कहिले पनि ईश्वरीय अवतार घोषणा गरेनन्। अनीश्वरवादी बुद्धले त्यस्तो दाबी गर्ने कुरा पनि भएन। तर उनलाई भगवान् भनेर पुजिएकै छ, मूर्तीकरण गरिएकै छ।
अर्हत्ले बुद्धलाई मरुभूमिमा फुलेको फूलका रूपमा प्रस्तुत गरेको छ। बुद्धको बाटो पक्कै सहज थिएन। दरबारबाट रात्रि प्रहरमै सुटुक्क भाग्नुपर्यो। राजकुमारको रेशमी वस्त्र छाडेपछि कषाय वस्त्रका निम्ति श्रमणसँग याचना गर्नुपर्यो। उनको चतुर्दिक ख्याति र भिक्षु संघको आकर्षणका कारण तीर्थंकरहरूको योजना अनुसार पणसुन्दरी चिन्चा माणविकालाई दोजिया बनाएको आरोप समेत खेप्नुपर्यो। भिक्षु संघको अधिपति हुन नपाएपछि भाइ देवदत्तको षड्यन्त्र पनि सामना गर्नुपर्यो।
संस्कृत शब्द ‘अर्हत्’ लाई ‘अरहन्त’ को समानान्तर मानिएको छ। यसको अर्थ ठूलो ज्ञानी, आराध्य, पूजायोग्य, तीर्थंकर, पूर्ण मनुष्य, बुद्ध, मोक्षप्राप्त व्यक्ति हो। ‘अर्हत्’ बुद्धकै अर्को सुनाम हो। जैन धर्ममा महावीर चौबीस (अन्तिम) तीर्थंकर मानिन्छन्। आख्यानमा बुद्ध सर्वज्ञ देखिन्छन्। उनले ८० वर्षको उमेरमा आयुसंस्कार गरी तीन महीनापछि कुशीनगरमा आफ्नो परिनिर्वाणको शुभ समय भएको बताएका छन् र आफू उपस्थित नभएको घटना समेत हूबहू वर्णन गरेका छन्। त्यसमा कतिपय पाठकले संशय गर्नु पनि अस्वाभाविक हुनेछैन।
बुद्धजीवनका विराट् आयाम छन्। बुद्धदर्शन अथाह छ। उनका धर्मोपदेशहरू पनि अनगन्ती छन्। तिनलाई एउटै पुस्तकमा समेट्नु पक्कै सम्भव छैन। शैलेन्द्र अधिकारीले आफ्नो आख्यानलाई चाहिने जति सर्जाम मात्र जोगाड गरेका छन्। तर जति ल्याए पनि सागरबाट गागर उठाए जस्तो हो।
त्यसो त बुद्धका धेरैजसो कथा ‘क्लिसे’ अर्थात् रूढोक्ति भइसकेका छन्। तर अर्हत्कारको प्रखर आख्यानशिल्पका कारण जिज्ञासु पाठकले नवीनता नै पाउनेछन्। यसमा अढाई हजार वर्षअघिको बुद्धकालीन विम्बहरू प्रशस्त आएका छन्। यसले हरेक अध्यायमा बुद्धबारे विभिन्न ग्रन्थमा छरिएर रहेका धेरथोर खुराक दिइरहन्छ। बुद्धविचार आलोकित गरिरहन्छ।
अर्हत्मा गौतम बुद्धको मृत्युदेखि राजकुमार सिद्धार्थको जन्मसम्मका सम्पूर्ण गाथा उतारिएको छ। त्यस निम्ति बौद्ध दर्शन, धर्मोपदेश र जातक कथालाई पनि आधार बनाइएको छ। एकल शब्दनिर्मित यस आख्यानभित्रका ४७ अध्याय पनि एकल शब्दमै नामकरण गरिएको छ। सुवर्ण हुमागाईंको आवरणकला पनि आख्यानलाई गरिमामय र रमणीय बनाउन सहयोगी छ।
यति विशाल र व्यापक बुद्धजीवनलाई पेन्टिङ जसरी सुन्दर चित्रण गर्न सक्नु चानचुने काम होइन। तर बुद्धज्ञानका बिटालाई भारी बाँध्ने क्रममा केही छुट्ने नै भए। उदाहरणका लागि कुनै वेला बुद्धले कलाकार शिष्यलाई आफ्नो जीवनबारे चित्र बनाउन भनेका थिए। त्यसकै एउटा हिस्सा भइदियो, थांका चित्र।
मानिसका मनोवृत्ति र परिस्थिति कसरी बदलिंदै जान्छ भनी बुद्धले कोशल नरेशका १६ वटा सपनाबारे बुझाएका थिए। त्यस अनुसार ससाना रूख र बिरुवामा फल लाग्नुको अर्थ लगाए, कलियुगमा उमेरै नपुगीकन कामतृष्णा बढ्छ र केटाकेटी छँदै बच्चा जन्माउन थाल्नेछन्। गाईले बाच्छीहरूको थुन चुस्नुको अर्थ दिए, कलियुगमा आमाबाबुसँग सञ्चित धन सकिंदै जान्छ र आफ्ना छोराछोरीको कमाइ खाएर गुजारा गर्नुपर्ने हुन्छ। यस्तो कुराले उपन्यासलाई रोमाञ्चक बनाउन सक्थ्यो।
अझ भन्ने हो भने, अर्हत्लाई आख्यान मानेर आनन्द लिने सुविधा पनि छ, गैरआख्यान मानेर ज्ञानकोष बढाउने छूट पनि। तर आम गैरआख्यानमा जस्तो तिथिमिति, सन्दर्भ सामग्रीको किचघान छैन। आख्यानको जस्तो सनसनी र उतारचढाव पनि छैन। आख्यानको नाममा कल्पित गगनमा उडान भर्ने 'लक्जरी' शैलेन्द्रले लिन चाहेका छैनन्।
शैलेन्द्रकै लेखनको सन्दर्भमा भने उनको पहिलो आख्यान निर्वेद र अर्हत्मा घरछाडुवा साम्य छ । अघिल्लोमा जोगीको जिन्दगी छ भने पछिल्लोमा राजकुमारको बुद्धत्वसम्मको यात्रा। उनको कथासंग्रह ब्रह्मास्त्रको जस्तो प्रयोगधर्मी ‘सिग्नेचर’ भने भेटिंदैन। अर्हत्को आख्यानशिल्प जटिल छैन। भाषा प्राञ्जल छ। तर कता कता आख्यानकार संस्कृतको सम्मोहनमा परे जस्तो लाग्छ। अहिलेको समयमा संस्कृतनिष्ट हुनासाथ क्लिष्ट भइहाल्यो। आख्यानकारको मिहिनेत भने कृतिलाई विशिष्ट बनाउनतिरै छ।
यस आख्यानमा बुद्ध बाहेक अरू पात्र स्थायी छैनन्। बुद्धत्वको उत्कर्ष देखाउने प्रमुख उद्देश्य राखिएकाले अरू पात्रको आवश्यकता पर्दैनथ्यो। उनको जीवनाध्यायमाथि कुनै ‘फिक्सनल पोस्टमार्टम’ गर्ने जोखिम नउठाएकाले यसको रोचकता धेरै हदसम्म सीमित हुन गएको छ। यशोधरा र बुद्धको शास्त्रार्थ मात्र राखिदिएको भए पनि यसले त्यसरी सीमाबद्ध हुने अवस्था आउने थिएन।
अर्हत्मा बुद्धलाई नै ‘ओभरटाइम न्यारेटर’ बनाएपछि शैलेन्द्रसँग ‘फिक्सनल लाइसेन्स’ छँदै थियो। बुद्ध भगौडा हुन् कि होइनन्? उनले पत्नी यशोधरा र छोरा राहुललाई अन्याय गरेका हुन् कि होइनन्? एक्काइसौं शताब्दीको मानिस बुद्ध बन्न सम्भव छ कि छैन? स्मार्टफोनमा छिनछिनको नोटिफिकेशन आइरहँदा ध्यान र साधनाको मार्ग सही साबुत रहन सक्छ कि सक्दैन?
बुद्धले यस्ता प्रश्नावलीको स्पष्टीकरण दिन पनि सक्थे। तर आख्यानकारले त्यो अथाह सम्भावना छाडेर बुद्ध चिनाउने झिनो उद्यममा विराट् आख्यानको समापन गरिदिएका छन्। तर बुद्धका बारेमा छेउटुप्पो थाहा नभएका जिज्ञासु पाठकलाई यसले कखरा मात्र होइन, त्रिशरणको महत्त्व समेत सिकाउनेछ। एउटै वाक्यमा भन्नुपर्दा, अर्हत् आद्योपान्त पठनीय छ।
पुस्तक: अर्हत् लेखक: शैलेन्द्र अधिकारी पृष्ठ: ३०८ मूल्य: रु.७२५ (मोटो गाता) प्रकाशक: शिखा बूक्स