तनावपूर्ण खेलमा भारतलाई पराजित गर्दै नेपाल फाइनलमा
साफ महिला च्याम्पियनशिप-२०२४ अन्तर्गत तनावपूर्ण सेमिफाइनल खेलमा भारतलाई पराजित गर्दै नेपाल फाइनलमा पुगेको छ।
काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार राति भएको खेलमा भारतलाई पेनाल्टी शूटआउटमा पराजित गर्दै नेपाल फाइनलमा पुगेकाे हो। पेनाल्टी शूटआउटमा नेपालले भारतलाई ४-२ गोल अन्तरले पराजित गर्यो।
यसअघि निर्धारित समयमा दुवै टोलीले एक-एक गोल गरेका थिए। नेपालका लागि सावित्रा भण्डारी र भारतका लागि संगीता बास्फोरले गोल गरेका थिए।
पहिलो हाफ बराबरीमा टुंगिएको खेलमा दोस्रो हाफ शुरू हुने बित्तिकै दुवै टोली आक्रामक बनेका थिए। खेलको ५१औं मिनेटमा नेपालकी रेखा पौडेलले रातो कार्ड पाइन्। दुई वटा पहेंलो कार्ड पाएका कारण उनी मैदानबाट बाहिरिएकी थिइन्।
त्यस लगत्तै दर्शक नाराबाजीमा उत्रिए। १० खेलाडीमा सीमित नेपाल पनि दबाबमा परेको थियो।
तथापि दुवै टोली आक्रामक ढंगले उत्रिए। खेलको ७१औं मिनेटमा संगीता बास्फोरले गोल गर्दै भारतलाई अग्रता दिलाइन्।
भारतीय खेलाडी खुशियाली मनाउन थाले। भारतका सबै खेलाडी मैदानमा फर्किन नपाउँदै नेपालले बल चलाएर जाली चुमायो।
रेफ्रीले गोलको मान्यता नदिएपछि विवाद शुरू भयो। दर्शकले नाराबाजी गरे भने नेपाली खेलाडीले विरोध जनाए। झन्डै आधा घन्टा खेल अवरुद्ध बन्यो।
लामो छलफलपछि नेपाली खेलाडी खेल्न तयार भएका थिए। पुरानै अवस्थाबाट शुरु भएको खेलको दोस्रो मिनेटमै सावित्रा भण्डारीले गोल गरिन्।
त्यसपछि निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टी शूटआउटमा गएको हो।
अञ्जनाले राेकिन् दुई प्रहार
पहिलो पेनाल्टी प्रहार गर्न आएकी भारतीय टीमकी कप्तान आशालता देवीलाई नेपाली किपर अञ्जना राना मगरले निराश पारिन्। आशालताले गोलपोस्टको बायाँ किनारा च्यापेर गरेको प्रहारलाई अञ्जनाले विफल तुल्याइन्।
नेपालका तर्फबाट पहिलो पेनाल्टी हानेकी साम्बाले सहजै गोल गरिन्। मनीषा कल्याणको प्रहारले जाली चुमेपछि खेल १–१ को बराबरीमा आयो। गीता रानाले गोल गरेपछि नेपालले २–१ को अग्रता लियो। करिश्मा शिभोकरको गोलले फेरि भारत बराबरीमा आउन सफल भयो। नेपालका लागि तेस्रो गोल सविता राना मगरले गरिन्। ३–२ गोलको अवस्थामा रञ्जना चानुको प्रहार राेक्न अञ्जना सफल भइन्। त्यसपछि अमिशा कार्कीको बलले जाली चुमेसँगै नेपाल ४–२ गोलले विजयी भयो।
फाइनलमा नेपालले बाङ्लादेशसँग प्रतिस्पर्धा गर्नेछ।