चेपाङ बस्तीका ‘चिउरी ब्वाय’
गाउँका वृद्धको कुरा सुनेर चिउरी संरक्षणमा लागेका राक्सिराङका आर्यन प्रजा अहिले ‘चिउरी ब्वाय’ का नामले परिचित छन्।
घर वरपर चहार्दै गर्दा चेपाङ किशोर आर्यन प्रजाको गाउँकै वृद्धसँग भेट भयो। सामान्य कुराकानीकै क्रममा वृद्धले चिउरीको प्रसंग निकाले। गाउँलेसँग गुनासो गर्दै वृद्ध बोले, “पहिला चिउरी संरक्षणका लागि वनले हामीलाई चिउरीको पुर्जा समेत दिन्थ्यो। छोरीको विवाहमा चिउरी दाइजो दिने चलन थियो। अहिलेको मान्छे चिउरीको महत्त्व बुझ्दैन, चिउरीको वास्ता गर्दैन।”
त्यति वेला त १९ वर्षीय आर्यनले टाउको मात्रै हल्लाए। घर फर्किंदै गर्दा भने दिमागमा घरीघरी वृद्धको भनाइले चक्कर लगाइरह्यो। मनमनै अठोट गरे, चिउरी संरक्षण गर्नुपर्छ।
अर्को वर्ष २०७८ सालमा आर्यनले चेपाङ चिउरी युवा क्लब गठन गरे। चिउरीको बोट र घाँस काट्नेलाई कारबाही गर्नुपर्ने आवाज उठाए। स्थानीय युवासँगै चिउरी संरक्षणमा सक्रिय भएर लागे।
मकवानपुरको राक्सिराङ गाउँपालिका-८, देवीटारका उनै आर्यन यतिवेला भने देश र विदेशका संरक्षणकर्मीमाझ ‘चिउरी ब्वाय’ का नामले परिचित छन्। गाउँमा पनि मानमनितो पाएका छन् भने चिउरी र चेपाङको सम्बन्धबारे अध्ययन गर्ने विद्यार्थी तथा अध्येताका लागि स्रोतव्यक्ति बनेका छन्।
चिउरी उत्पादनलाई व्यवसायमा बदलेर गाउँमै आयआर्जनको माध्यम पनि बनाएको उनी बताउँछन्। उनी भन्छन्, “चिउरी संरक्षणसँगै बेर्नादेखि मह उत्पादन लगायत काम गरिरहेका छौं।”
चेपाङ र चिउरी यात्रा
२०४६ सालअघि चिउरी संरक्षण र सदुपयोग गर्न रूख संख्या तोकेर जिल्ला वन कार्यालय, मकवानपुरले चेपाङ समुदायका व्यक्तिलाई ‘चिउरी पुर्जा’ दिने गरेको थियो। आर्यनले भेटेका वृद्धले त्यही कुरा झिकेका थिए। चिउरी अध्ययन र संरक्षणमा लागेका उनले पनि त्यो पुर्जाले काम गरेको पाए।
त्यति वेला स्थानीय बासिन्दा चिउरीमै निर्भर थिए। खाद्यान्नका रूपमा पनि यसको प्रयोग गरिन्थ्यो। “अन्नबाली त्यति लगाइँदैनथ्यो, चिउरी नै खाइन्थ्यो। बिहान-बेलुका चिउरी खाएर छाक टारिन्थ्यो,” आर्यन सम्झिन्छन्, “काँचो, छिप्पिएको चिउरी ल्याएर उसिनिन्थ्यो। दानाको तेल निकालेर प्रयोग गरिन्थ्यो।”
चिउरी पुर्जा हटेपछि स्थानीय बासिन्दा पनि संरक्षणबाट टाढिन थाले। चेपाङ समुदायले बिस्तारै चिउरीको प्रयोग छोड्दै आएको उनी सुनाउँछन्। “फल दिने चिउरीलाई घाँस काटेर बस्तुभाउलाई खुवाउन थाले,” उनी भन्छन्, “यसरी त चिउरी नाशिने भयो भन्ने चिन्ता लागेर संरक्षणमा लाग्ने निधो गरें।”
उनका अनुसार बेंसीतिर चिउरी हुँदैन। माथि खोरियामा चिउरी हुन्छ। आफैं उम्रेको चिउरी अझ राम्रो हुने उनी बताउँछन्। “माथिल्लो लेक र तल बेंसीमा चिउरी हुँदैन, बीचको भूभागमा मात्रै भेटिन्छ,” उनी भन्छन्, “रोपेर संरक्षण गर्दा छिटो हुर्कन्छ, नत्र धेरै समय लाग्ने रहेछ।”
चिउरी उपयोगी बिरुवाका रूपमा दरिएको छ। हिउँदमा प्रायः सबै रूखका पात झर्छन् भने चिउरी हराभरा नै रहन्छ। बरु वसन्त याममा पात झर्छ। कात्तिकदेखि फागुनसम्म फुल्ने चिउरीका पात, बियाँ, फल, फूल, रूख प्रयोगमा आउँछन्। पातबाट दुनाटपरी बन्छन् भने बियाँ पेलेर तेल निकालिन्छ। तेल निकालेर बचेको पिना पनि खेतबारीमा मलका रूपमा प्रयोग गर्न सकिने उनी बताउँछन्।
चिउरीबारे बुझ्न गाउँघरबाट आर्यनलाई नै फोन आउँछ। छरछिमेकका जिल्लाबाट पनि सोधखोज हुन्छ। पछिल्लो पटक विश्वविद्यालयका तीन जना विद्यार्थीले शोधपत्रका लागि पनि उनैलाई सम्झिए।
विदेशीले दिएको नाम
चेपाङ चिउरी क्लब मार्फत चिउरी संरक्षणमा लागिरहेका आर्यनको एक दिन वन विज्ञ भोला भट्टराईसँग भेट भयो। भट्टराईको संस्था राष्ट्रिय जन वकालत मञ्च (नाफान)ले राक्सिराङमा वन संरक्षण, चेपाङ भाषा, संस्कृति र परम्परा संरक्षणमा काम गरिरहेको थियो। उनीसँगै फिनल्यान्डबाट दुई जना विज्ञ पनि आएका थिए।
उनीहरूसँग चिउरीबारे लामो कुराकानी गरे। दुवै जना प्रभावित भए। चिउरीबारे आर्यनको ज्ञानबाट प्रभावित भएर तिनै फिनल्यान्डका विज्ञले नाम राखिदिए, ‘चिउरी ब्वाय।’ त्यसपछि त के थियो, उनलाई गाउँभरि नयाँ नामले बोलाउन थालियो। “चिउरीसँग लगाव भएकाले ‘चिउरी ब्वाय’ नाम दिएका रहेछन्,” उनी भन्छन्।
अहिले उनी यही नामले परिचित छन्। गाउँघरमा होस् कि विदेशमा, संरक्षणकर्मीले ‘चिउरी ब्वाय’ भनेरै बोलाउँछन्। उनलाई पनि नयाँ नाम सहज लागिसकेको छ।
महँगो मह
पहिला चेपाङ चिउरी युवा क्लब दर्ता थिएन। टीकाटिप्पणी हुन थालेपछि उनीहरूले गत वर्ष मात्रै क्लबलाई दर्ता गरे। क्लबमा राक्सिराङका चार वटा वडाका २८ जना आबद्ध छन्।
क्लब दर्ता भएसँगै सहयोग पनि पाउन थालेका छन्। राक्सिराङ-८ को वडा कार्यालयले दिएको एक लाख रुपैयाँ अनुदानबाट चिउरी नर्सरी बनाएको आर्यन बताउँछन्। “बिरुवा उम्रिसकेको छ। सारेर राख्छौं, सिजनमा खोरियामा रोप्छौं,” उनी भन्छन्।
त्यस्तै, चिउरी संरक्षणका लागि नाफानले रु. एक लाख ७८ हजारको कार्यक्रम दिएको छ। त्यसबाट राक्सिराङमा चिउरी संरक्षण अभियान चलाएका आर्यन अहिले मह उत्पादनमा लागेका छन्।
चिउरीको मह महँगोमा बिक्री हुने गरेको छ। व्यापारीले गाउँमै आएर प्रतिकिलो ८०० रुपैयाँ दिने गरेका छन्। “गाउँ बाहिर पठाउन त मूल्य थपिन्छ, एक हजार २५० रुपैयाँ प्रतिकिलोमा अर्घाखाँची पठाएँ,” उनी भन्छन्।
केही स्थानीय त परम्परागत रूपमै चिउरीको मह उत्पादन गर्छन्। जसबाट लाखौं आम्दानी भइरहेको उनी सुनाउँछन्।
चिउरीसँगै संस्कृति संरक्षण
आर्यन नेतृत्वको क्लब चिउरीसँगै चेपाङको पहिचान भाषा, वेशभूषा, संस्कृति र परम्परागत खानेकुरा संरक्षण अभियानमा पनि लागेको छ। पछिल्लो समय चेपाङले नेपाली भाषा प्रयोग गर्दा आफ्नो भाषा बिर्सिंदै गएकाले संरक्षणमा लाग्नुपरेको उनी सुनाउँछन्।
यसका लागि हरेक वर्ष दशैंमा सांस्कृतिक कार्यक्रम आयोजना हुन्छ। जहाँ परम्परागत खानेकुरा, वेशभूषा प्रदर्शन गरिन्छ। त्यस्तै, भाषा र संस्कृतिबारे जानकारी दिइन्छ। “चेपाङको पहिचान हराउन नदिन कला, संस्कृति, वेशभूषा संरक्षण गर्न जरूरी भइसकेको छ,” आर्यन थप्छन्, “पुरानै अवस्थामा रहनुपर्छ भनेको होइन, समयसँगै अघि पनि बढ्ने हो, आफ्नो पहिचान पनि जोगाउने हो।”