माओवादी चार वर्षपछि फेरि सरकार विरुद्ध सडकमा
सधैं सत्तामा रहँदै आएको नेकपा (माओवादी केन्द्र) चार वर्षपछि सरकार विरुद्ध सडकमा आएको छ।
माओवादी अध्यक्ष पुष्पकमल दाहालको अगुवाइमा शनिबार काठमाडौंमा प्रदर्शन गरिएको छ। सडक प्रदर्शनपछि माओवादीले प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा खबरदारी सभा आयोजना गरेको हो।
यसअघि नेकपा (एमाले) र माओवादीको एकीकरणपछि नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको आफ्नै सरकार विरुद्ध दाहाल सडकमा उत्रिएका थिए। त्यति वेला तत्कालीन नेकपा नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल लगायत पनि प्रदर्शनमा उत्रिएका थिए। उनीहरू प्रधानमन्त्री ओलीलाई नेतृत्वबाट हटाउन सडक संघर्षमा आएका थिए।
त्यसयता सत्तामा रहँदै आएको माओवादी अहिले फेरि ओली नेतृत्वको सरकार विरुद्ध प्रदर्शनमा उत्रिएको हो। अहिले भने सरकारलाई खबरदारी गर्न सडकमा आएको अध्यक्ष दाहालले जिकिर गरेका छन्।
भृकुटीमण्डपमा खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सरकार ढाल्न सडकमा नआएको बताए। “खबरदारी सभा घोषणा गर्ने बित्तिकै सत्तापक्षमा आतंक सिर्जना भयो कि सरकार आजै ढल्छ, भोलि नै ढल्छ। हामीले भनेका छैनौं, उहाँहरूले नै भन्नुभएको छ। तपाईंहरू सरकार ढल्छ भन्ने डरले अझ बढी बेथितितिर नजानुहोला, भ्रष्टाचारीको संरक्षणतिर नजानुहोला,” दाहालले भने, “अहिले सरकार ढाल्नका लागि खबरदारी सभा गरेको होइन।”
सरकारलाई खबरदारी नगरे संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा पर्ने भएकाले सडकमा आएको उनको भनाइ थियो। “लोकतन्त्र र संविधान माओवादी केन्द्रको त्याग र बलिदानबाट बनेको छ। त्यसमाथि आघात नपुगोस् भन्नेमा हामी अझ बढी गम्भीर र जिम्मेवार छौं,” दाहालले भने, “हामीले यो खबरदारी सभा नगर्ने हो, सरकारका बेथिति र भ्रष्टाचारका गतिविधिको विरोध नगर्ने हो भने संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा पर्छ। अराजकतावादी, प्रतिगमनकारीले टाउको उठाउने खतरा हुन्छ।”
पूर्व प्रधानमन्त्री समेत रहेका दाहालले कसैलाई बचाउनका लागि खबरदारी सभा नगरिएको बताए। सरकारले प्रतिपक्षीलाई मात्रै पक्राउ गर्न थालेकाले सडकमा आएको जिकिर गर्दै उनले भने, “खबरदारी सभा कसैलाई बचाउनका लागि होइन।”
सरकारका क्रियाकलापप्रति उनले आपत्ति जनाए। “अहिले सरकारले जे रवैया अपनाएको छ, हाम्रो आपत्ति छ,” दाहालले भने, “प्रतिवेदनमा एमाले र नेपाली कांग्रेसको पनि नाम छ, त्यो नामलाई केही गर्न नपर्ने, राजनीतिक पूर्वाग्रहले मात्र प्रतिपक्षीलाई मात्र गिरफ्तार गर्ने सरकारको तरीका बेठीक छ।”
उनले अबको चुनाव एक्लै लड्ने बताए। कांग्रेस र एमाले मिलेर सरकार बनाउँदा माओवादीलाई गल्ती सच्याउने मौका मिलेको उनको भनाइ थियो। “एक्लै चुनाव लडेर कांग्रेस र एमालेलाई उचित सजाय जनताकै तहबाट दिइन्छ,” दाहालले भने।
त्यस्तै, माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भ्रष्टाचार र ठगी सम्बन्धी अनुसन्धान निष्पक्ष हुनुपर्ने बताए। “हामी कुनै पनि भ्रष्टाचार विरोधी कारबाही, ठगी विरुद्ध कारबाही कानूनसम्मत ढंगले अगाडि बढोस् भन्ने चाहन्छौं,” श्रेष्ठले भने, “हामीले भनेको के हो भने त्यस्ता अनुसन्धान स्वच्छ र निष्पक्ष हुनुपर्छ र भेदभाव गर्नु हुँदैन। भ्रष्टाचार र ठगी विरुद्धको अनुसन्धान अघि बढोस् भन्ने चाहन्छौं।”
खबरदारी सभालाई माओवादी नेताहरूले सम्बोधन गरेका थिए। उनीहरूले सरकारलाई सचेत गराउन सडकमा आएको जिकिर गरेका छन्। सरकार नसच्चिए आन्दोलनमै उत्रिने उनीहरूको चेतावनी थियो।