परदेशमा सपना पछ्याउँदा छुटेको जिन्दगी
परदेशको व्यस्त दैनिकीबाट थोरै समय निकालेर कामो नदी किनारमा सुस्ताउँदा लाग्छ, सपना पछ्याउँदा पछ्याउँदै जिन्दगी त कतै छुटिसकेछ।
परदेश छिरेपछि सबैले सोध्ने एउटै साझा प्रश्न हुन्छ, ‘कहिले जाने नेपाल? कहिले आउने नेपाल?’
आउने र जानेबीच चेपिएको परदेशीको जिन्दगीमा कुनै निश्चित उत्तर हुँदैन। न अहिले नजाने वा नआउने भन्न नै सकिन्छ न त चूपचाप बस्न। त्यही भएर फिस्स हाँस्दै दिने एउटै उत्तर हुन्छ, ‘छिटै फर्कने, चाँडै आउने।’
तर त्यो छिटै भन्ने चिज घण्टा, दिन, महीना हुँदै कैयौं वर्ष बित्दा पनि आउँदैन। त्यो छिटै कहिले आउँछ भन्ने कुनै निश्चित समय छैन। त्यही भएर होला, भदौको एउटा अपराह्न उनले दिएको उत्तर मेरा कानमा अझै पनि गुन्जिरहन्छ।
दशैं आउन ठ्याक्कै एक महीना बाँकी थियो। परदेशीलाई दशैंतिहार लगायत चाडपर्वको दिनगन्ती त कण्ठस्थै हुन्छ। त्यो दिन सहकर्मी साथीलाई कुर्न कपडा परिवर्तन गर्ने कक्षमा प्रवेश गर्नुभन्दा कार्यालयकै एउटा कुनामा बस्न बेस मानें।
साँघुरो कार्यकक्षमा दुई थान कम्प्युटर छन्। जहाँ दुई नै थान घुम्ने कुर्सी सधैं हुन्छन्। त्यही एउटा कुर्सीमा बसिरहेका छन्, सेकिनिन्स्या अर्थात् इन्चार्ज। उनी घरी घुम्ने कुर्सीलाई अगाडि त घरी पछाडि सारिरहेका छन्। केही छटपटी मुद्रामा देखिन्छन्।
आँखामा निराशा झल्किन्थ्यो। त्योभन्दा बढी आँखामुनि काला धर्सा थिए। लाग्थ्यो, उनका आँखा र निद्राको वर्षौंदेखि भेट भएको छैन। मन स्थिर छैन।
केही बेरअघि मात्रै उनले पूर्वी नेपाल घर भनेकाले बोल्न मन लाग्यो। जापानमा उनलाई अलि घरछेउको मान्छे जस्तो मानें। यसअघिसम्म भेटेका अधिकांश पश्चिम नेपालका थिए। पूर्वी नेपाल भन्ने बित्तिकै आफू जन्मे-हुर्केको ठाउँ भएर होला, आफ्नै जस्तो लागिहाल्दो रहेछ।
एकछिनअघिसम्म ‘सर’ सम्बोधन गरिरहेको मैले ‘पूर्वी नेपाल’ सुनेपछि भने पल्लाघरे दाइ झैं महसूस गरे। अनि, एकाएक ‘दाइ’ सम्बोधन गर्न पुगें।
जापानमा आफूभन्दा ठूलो होस् वा सानो, सबैलाई नामका पछाडि ‘सान’ शब्दले सम्बोधन गरिन्छ। तर मलाई यो ‘सान’ शब्दलाई मान दिन मनै पर्दैन। नेपाली देख्ने बित्तिकै ‘सान’ लाई परै राखेर ‘दाइ’, ‘दिदी’ वा ‘भाइ’, ‘बहिनी’ आइहाल्छन्।
दशैं आउन अझै धेरै समय थियो। नेपालमा त्यति चाँडै नलागे पनि परदेशमा भने दशैंको रन्कोले पिरोल्दो रहेछ। साथीहरूलाई पर्खिंदा र सेकिनिन्स्या घरछेउकै जस्तो लागेपछि कुराकानी गर्न मन लागिहाल्यो।
जुनसुकै देश वा शहरमा भए पनि नेपालीलाई कुराकानी गर्नका लागि ‘कुरा’ को खासै अभाव हुँदैन। मलाई नि त्यस्तै भयो। अरूले मलाई सोध्ने प्रश्न सेकिनिन्स्यातिर तेर्स्याएँ, “दाइ, दशैं आयो नि! नेपाल कहिले जाने?”
हुन त यो प्रश्नको उत्तरले मलाई कुनै फाइदा हुनेवाला छैन, तर एक खालको सन्तुष्टि मिल्छ। कसैले ‘अर्को महीना’ भन्यो भने मेरो पनि यस्तो भन्ने दिन छिटै आउनेछ भन्ने आशा पलाउँछ। कसैले ‘खै, कहिले हो? टुंगो छैन’ भन्यो भने मेरो जस्तै रहेछ नि भनेर आफैंलाई सान्त्वना मिल्छ।
पूर्वी नेपालका दाइले नि निराशा जनाएर उत्तर दिए, “जानुपर्ने त अहिल्यै थियो नि, तर के गर्नु?”
तर शब्दले उनको घरलाई धेरै पर पुर्याएको थियो। घरलाई मात्रै हैन, शायद आफैंसँगको भरलाई पनि भत्काएको थियो। मलिन स्वरमा उनैले थपे, “बुबा म सानै छँदा आमालाई छोडेर बेपत्ता हुनुभयो। मामाले नै सबै रेखदेख गर्नुभयो। मामा पनि हिजो बित्नुभयो। यस्तो अवस्थामा पनि घर जान सकिनँ।”
आत्मग्लानिले भित्रभित्रै पिरोलिएका दाइलाई न सान्त्वना दिन सकें न त ‘यस्तै हो दाइ’ भन्न सकें। ‘दाइ, यस्तो वेलामा त छिटै जानुपर्छ नेपाल’ भन्ने शब्द पनि नमिले जस्तो लाग्यो। यो ‘छिटै’ शब्द पनि जिन्दगीको कुनै कुनामा मिल्छ जस्तो लागेन।
अर्को कुर्सीमा बसिरहेका दाइतिर इंगित गर्दै बोले, “उहाँको बुबा बितेको दुई महीना भयो। हुनुपर्ने त उहाँ पनि यति वेला नेपालमा हो नि। बुबाको निधनपछि आमालाई भरोसा दिएर साथै हिंड्नुपर्ने थियो। उहाँ त यहीं हुनुहुन्छ। परदेशी जिन्दगी यस्तै छ, मन भएर मात्रै कहाँ हुन्छ र?”
उनी पनि चूपचाप लागे। म पनि केही बोल्न सकिनँ। छेउको कुर्सीमा बसिरहेका अर्का नेपाली दाइ टोलाइरहे।
त्यसपछिको वाक्य मैले मनमनै पूरा गरें, ‘मन भएर मात्रै कहाँ हुन्छ र? धन परदेशमा भएपछि।’
हुनुपर्ने त यति वेला सबै नेपालमै हो, देश छोडेर परदेश लागेकाहरू। साउदी-कतार गएका हुन् या अमेरिका-अस्ट्रेलियामा नै किन नहुन्, अधिकांश नेपाली धन कमाउने आशामै परदेशिएका छन्। जिन्दगी सजह र सुन्दर हुने विश्वासमा गाउँबस्ती छोडेर हिंडेका छन्।
झापाकी २३ वर्षीया अप्पु तामाङ जापान आएको ६ महीना भयो। नेपालमा आमाबुबा र दिदीभाइ सहितको परिवार छ। अप्पुलाई तीन वटा दशैं मात्रै आमाबुबासँगै मनाएको याद छ। यो दशैं उनी र उनका भाइले जापानमा मनाए। बुबा कतारमा छन् भने आमा नेपालमा।
छोराछोरीको राम्रो लेखाइपढाइका लागि भनेरै उनका बुबा तेह्रथुमबाट झापा झरेका थिए। झापामा घर बनाउने सपना पूरा गर्न १८ वर्षअघि कतार उडेका थिए। अझै नफर्केको अप्पु सुनाउँछिन्। “बुबाको सहयोग सधैं थियो र रहनेछ पनि, तर खै यो भाग्यमा बुबाको साथ र हातसँगै हुन जुरेकै छैन,” उनी भन्छिन्।
अप्पुले पछिल्ला १८ वर्षमा नेपाल कहिले आउने भनेर बुबालाई पटक पटक प्रश्न गरिन्। तर बुवाको उस्तै उत्तर हुन्थ्यो, ‘छिटै आउँछु नानी, चाँडै आउँछु।’
बुबासँग खिचेका केही थान तस्वीर मात्रै छन्, अप्पुसँग। पछिल्लो पटकको कुराकानीमा उनका बुबाले ‘अब तिमीहरू पनि जापान पुग्यौ, म पनि दुई-चार वर्ष कतार बसेर नेपाल फर्कन्छु’ भनेका छन्।
तर आजभोलि उनलाई बुबाको कुरामा विश्वास लागेको छैन। किनकि उनलाई यति वेला आफैंसँग विश्वास छैन। अचेल उनी पनि आफन्तजनलाई उस्तै उत्तर दिन्छिन्, ‘छिटै आउँछु।’ परदेशको दलदल कस्तो रहेछ भन्ने उनले पछिल्लो ६ महीनामै महसूस गरिसकेकी छन्।
हुन त नेपालमा चाडबाडले नै हो, परदेशिएकालाई खोज्ने। गाउँबस्तीमा ‘यो सालको दशैंमा आउँछ कि तिहारमा आउँछ! नभए बिहे गर्न त मंसीर वा माघमा पक्कै आउँछ’ भन्ने अड्कल चलिरहेको हुन्छ। अब ‘फलानो छिटै आउँछ’ भन्ने वाक्यको ठाउँमा तिथि र मितिले पर्खिरहेका नेपाली परदेशमा छन्।
परिवारले अरू वेलाभन्दा धेरै याद गर्ने त चाडपर्वकै समयमा हो नि! अहिले जापानको क्योतोमा नेपालको जस्तै मौसम छ। बिहान-बेलुका हलुका चिसो हुन्छ। कति वेला चिसो सिरेटो चल्छ।
क्योतो स्टेशन नजीकै रहेको सिचिजोछेउ भएर कामो नदी आफ्नै धुनमा बगिरहेको छ। सफा र स्वच्छ नदी किनारका बाटोमा साँझपख केही नेपाली भेला हुन्छन्। कोही हातमा बियर समाउँछन् त कोही गिटार। खड्ग न्यौपानेका शब्दलाई हरिवंश आचार्य र लक्ष्मी न्यौपानेको स्वरसँग तालमेल मिलाउँदै गुनगुनाउँछन्, ‘सारंगी रेटौंला, मौका मिले फेरि भेटौंला।’
शायद साँझ झपक्कै परेकाले होला, मैले उनलाई ठम्याउन सकिनँ। कामो नदी किनारमा साथीहरूसँग मनको बह पोखिरहेका थिए, एक नेपाली तन्नेरी। “पोहोर साल हजुरबा बित्नुभयो। मलाई काँधमा राखेर डुलाउने हजुरबालाई अन्तिम पटक काँध हाल्न पाइनँ। साला अर्काको देश!” आफैंसँगै आक्रोश पोखे।
यस्तायस्तै आफन्तको वियोगमा छाती पोलिरहेका परदेशीले मन बहलाउने वरपीपल विनाको चौतारी हो, कामो नदी।
कक्षा १२ सकेर किशोरावस्थामै जापान आइपुगेकाहरू चार-पाँच वर्ष बित्दा पनि नेपाल फर्कन सकेका हुँदैनन्। जापानमा मात्रै होइन, अन्य देशमा छिरेका अधिकांश नेपाली युवाको अवस्था उस्तै छ। हत्तपत्त घर फर्किन सक्दैनन्।
जुनसुकै भिसामा होस्, अधिकांश नेपाली युवा परदेश पुग्नुको एउटै उद्देश्य हो, पैसा कमाउनु। तर पैसा कमाउने सपना देख्दादेख्दै जिन्दगी कहाँ छुट्छ, आफन्त कहाँ छुट्छन्, आफ्ना मान्छेको साथ कहाँ छुट्छ, पत्तो नहुँदो रहेछ। सबै छुट्दै गएपछि खुशीमा होस् कि पीडामा, साथमा कोही नहुँदो रहेछ परदेशमा।
धान झुल्नु, कोदो फुल्नु, मखमली मुस्कुराउनु, जमरा पहेंला हुनु, दशैं आउनु, पिङ खेल्नुसँग परदेशी जीवन जोडिएको हुँदैन। न तिहारको सप्तरंगी टीकासँग जीवनको रंग जोडिएको हुन्छ। मान्छे जोडिएको छ त केवल, महीनौंको तनाव भुल्न कामबाट निस्किएर होस् वा कलेजबाट, नदी किनार वा समुद्री छालसँग उभिएर जिन्दगीको हालचाल नदेखिने तस्वीर खिच्नुसँग। मुसुक्क मुस्कुराए जस्तो गरेको तस्वीर सामाजिक सञ्जालमा राखेपछि एकछिनअघि खेपेको दुःख बिर्सिए जस्तो हुन्छ।
दशैंको टीका आफ्नो साइत अनुकूल लगाएको भुल्छ, यमातोमा ठूल्ठूला भारी बोकेको भुल्छ, आफ्नो तौलभन्दा बडेमानका होटलका बेड तानेर मिलाएको भुल्छ। अनि भुल्छ, बेन्तोको लाइनमा बिताएका कैयौं रात, महीनौंको थकान, अनिदा आँखामा स्थायी बनेको पिरपिराहट। तर भुलेको छैन, ‘छिटै नेपाल फर्कने, चाँडै आउने’वाला वाक्य। यही सम्झना-बिर्सनाबीच जिन्दगी भने कता कता छुटिसकेको हुँदो रहेछ।